


बाजुरा, पुस २८ गते ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाजुरामा एक हजार ६० जना निर्वाचन प्रहरी भर्ना गरिने भएको छ ।
निर्वाचनलाई सहज, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गर्न जिल्ला प्रहरी कार्यालय बाजुराबाट ९६४ जना तथा सशस्त्र प्रहरी बल, नेपाल बाजुराबाट ९६ जना गरी कुल १ हजार ६० जना निर्वाचन प्रहरी भर्ना गरिने जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपालको संयुक्त कार्यविधि–२०८२ अनुसार निर्वाचन प्रहरी छनोट, नियुक्ति तथा परिचालन गरिने जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक गगनसिंह भाटले जानकारी दिनुभयो । उहाँका अनुसार योग्यता पुगेका नेपाली नागरिकबाट एकीकृत रूपमा दरखास्त आह्वान गरिएको छ ।
निर्वाचन प्रहरीमा भर्ना हुन इच्छुक उम्मेदवारले माघ १ गतेसम्म निवेदन दिन सक्नेछन् । दरखास्त जिल्ला प्रहरी कार्यालय बाजुरा तथा सशस्त्र प्रहरी बलको सम्बन्धित गुल्ममा बुझाउन सकिनेछ । दरखास्त फाराम दर्ता गर्ने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिक उम्मेदवार हुन सक्नेछन् ।
उम्मेदवार सामान्य लेखपढ गर्न जान्ने, फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, कुनै राजनीतिक दलको सदस्य नरहेको, शारीरिक तथा मानसिक रूपमा स्वस्थ, साथै आतङ्ककारी वा विध्वंसात्मक सङ्गठनसँग सम्बन्ध नरहेको हुनुपर्ने शर्त राखिएको छ ।
शारीरिक मापदण्डअनुसार पुरुष उम्मेदवारको न्यूनतम उचाइ पाँच फिट तीन इन्च, छाती ३१–३३ इन्च र तौल कम्तीमा ५० केजी हुनुपर्नेछ । महिलाको हकमा न्यूनतम उचाइ पाँच फिट र तौल कम्तीमा ४२ केजी तोकिएको छ । महिलाका लागि गर्भवती नभएको वा गर्भावस्था समाप्त भइसकेको हुनुपर्ने व्यवस्था गरिएको छ ।
त्यसैगरी दरखास्तका लागि सम्पर्क मिति माघ ४ गते तोकिएको छ भने माघ ५ गतेदेखि ९ गतेसम्म उम्मेदवार छनोट प्रक्रिया सञ्चालन गरिनेछ । छनोट भई नियुक्ति पाउने निर्वाचन प्रहरीको कार्यावधि ४० दिन रहनेछ । बिदाका दिनमा पनि दरखास्त संकलन गरिने प्रहरी निरीक्षक भाटले जानकारी दिनुभयो ।

घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
कार्यालय प्रमुख : इन्दु के. सी.
प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री
बजार व्यवस्थापक :
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी