ई-घोडाघोडी खबर

१७ माघ २०८२, शनिबार

  • Mohrain Tours and Travels
  • अनाथ बालबालिकालाई चिसोभन्दा बढी पढाइको चाहना

    अनाथ बालबालिकालाई चिसोभन्दा बढी पढाइको चाहना
    Spread the love

    बाजुराको बुढीनन्दा नगरपालिका–९ डप्कमा रहेको श्री सिद्धेश्वरी अनाथ, विपन्न तथा जनजाति आवासीय आधारभूत विद्यालयमा अध्ययनरत अनाथ बालबालिकाहरूलाई चिसोभन्दा पनि पढाइप्रतिको चाहना बढी देखिएको छ ।

    अभिभावकविहीन बालबालिकालाई संरक्षण र शिक्षालाई प्राथमिकता दिँदै आएको यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरू चिसोका बाबजुद पनि पढाइ नछुटाउने प्रयासमा जुटेका छन् । हिमाली भेगको उचाइमा अवस्थित विद्यालयमा हिउँद याम अत्यन्त चिसो हुने गर्छ । आकाशमा सामान्य बादल लाग्दा पनि चिसो बढ्ने र पानी परेपछि हिमपात सुरु हुने गरेको विद्यालयका शिक्षकले जनाएका छन् ।

    यस विद्यालयमा प्रायः अनाथ, भोटे जनजाति तथा गरिब–विपन्न परिवारका बालबालिकाहरू अध्ययन गर्छन् । हिउँदमा नियमित रूपमा हुने हिमपातका कारण पठनपाठनमा कठिनाइ भए पनि विद्यार्थीहरूको उत्साह कम भएको छैन ।

    विद्यालयका कक्षा छात्र कार्मा बोहराका अनुसार अन्य विद्यालयको तुलनामा यहाँ पढाइलाई बढी प्राथमिकता दिइन्छ । “शिक्षकहरूले हाम्रो पढाइलाई निरन्तरता दिन शनिबार पनि कक्षा लिनुहुन्छ,” उहाँले भन्नुभयो ।

    बोहराले थप्नुभयो, “म विद्यालयमै बस्छु । यहाँ खाने–बस्ने सबै व्यवस्था छ । अहिले बाक्लो हिमपातका कारण विद्यालय वरिपरि हिउँ जमेको छ । हिउँ लामो समय नपग्लिने हुँदा चिसोमा पढ्न गाह्रो हुन्छ । तर चिसोभन्दा पनि हामीलाई पढाइको माया बढी छ । आगो बालेर भए पनि कक्षाकोठामै बसेर पढ्छौँ । बाक्लो लुगा भएको भए अझ सहज हुन्थ्यो ।”

    विद्यालयका अधिकांश विद्यार्थी अनाथ, दलित तथा जनजाति समुदायका हुन् । जिल्लाभर यस्तै प्रकृतिको आवासीय विद्यालय यही मात्र भएकाले विभिन्न ठाउँबाट अनाथ बालबालिका यहाँ आउने गरेका छन् । तर विद्यालयको आर्थिक अवस्था कमजोर भएकाले चिसो मौसममा न्यानो लुगा अभावले समस्या भइरहेको विद्यालयका प्रधानाध्यापक तुलाबहादुर रावतले बताउनुभयो ।

    “हिउँदमा घाम लागेको दिनमा पनि यहाँ निकै चिसो हुन्छ । अहिले परेको हिमपातले विद्यालय पूरै ढाकिएको छ । यस्तो अवस्थामा बालबालिकालाई चिसोबाट जोगाउन चुनौती भएको छ,” रावतले भन्नुभयो ।

    हाल विद्यालयमा १० जना टुहुरा, एक जना अनाथ, १५ जना जनजाति, द्वन्द्वपीडित र दलित तथा ४० जना भोट समुदायका गरी जम्मा ६६ जना बालबालिका अध्ययनरत छन् । उनीहरूका लागि न्यानो लुगाकपडाको अत्यन्त आवश्यकता रहेको प्रधानाध्यापक रावतले उल्लेख गर्नुभयो । “यदि कतैबाट न्यानो लुगा सहयोग प्राप्त भए बालबालिकालाई ठूलो राहत हुने थियो,” उहाँले भन्नुभयो ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिंह गुरुङका अनुसार जिल्लामै सम्भवतः यही एक मात्र आवासीय विद्यालय हो । “हामीले आफ्नै पहलमा विद्यालय सञ्चालन गरेका हौँ। विभिन्न ठाउँबाट अनाथ तथा टुहुरा बालबालिका यहाँ आउँछन् । तर आर्थिक अवस्था कमजोर हुँदा उनीहरूलाई राखेर पढाउन कठिनाइ भइरहेको छ,” उहाँले बताउनुभयो ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    कार्यालय प्रमुख : इन्दु के. सी.

    प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री

    बजार व्यवस्थापक :

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी