धनगढी । थारु आन्दोलनमा महिलाहरूले खेलेको भूमिकाको सम्मानमा थारु आन्दोलनका महिला नामक फोटो पुस्तक विमोचन गरिएको छ । महिला अधिकारको क्षेत्रमा काम गर्ने संस्था लुम नेपालले प्रकाशन गरेको सो पुस्तकको शुक्रवार सुदूरपश्चिम प्रदेशकी उप–सभामुख कोइली देवी चौधरीले एक कार्यक्रमका बिच विमोचन गरेकी हुन् । 
 
विभिन्न थारु आन्दोलनमा आफू जस्तै थारु महिलाहरूको भूमिकालाई ऐतिहासिक दस्ताबेजका रूपमा सुरक्षित गर्ने काम गरेको भन्दै उनले लुम नेपाललाई धन्यवाद दिइन । “नेपालका हरेक आन्दोलनमा महिलाहरू प्रयोग हुने तर इतिहास पुरुषको मात्रै बन्ने अभ्यासका बिच महिला सशक्तीकरणमा लुम नेपालले थालेको अभियान ऐतिहासिक छ । अरूले यसको सिको गर्न पनि आवश्यक छ । उनले भनिन् , यती मात्र होइन कुनै पनि वर्ग, समुदायमा विभाजित नभई अधिकारका लागि महिलाहरू एकताका साथ अघि बढ्नु पर्ने अहिलेको आवश्यकता हो ।” 
 
सन २०१६ देखी महिला अधिकारका क्षेत्रमा काम गरी पहिचान बनाएका महिला अधिकारकर्मीहरूको इतिहासको अभिलेखीकरण गर्ने काम सुरु गरेको लुम नेपालकी उपाध्यक्ष पुष्पा जोशीले बताइन । सन २०१९ देखी थारु आन्दोलनमा सक्रिय बनी योगदान दिएका १५ देखी २० जना सम्मको इतिहास अभिलेखीकरण गर्दै आएका छौ । सोही अनुरूप हामीले फोटो पुस्तक निर्माण गरेका हौ । उनले भनिन् ।  


१६ फोटो एल्बम नाम दिइएको उक्त पुस्तकमा थरुहट तथा मुक्त कमैया आन्दोलनमा महत्त्वपूर्ण भूमिका खेलेका १६ जना थारु महिलाको फोटो तथा इतिहासको अभिलेख समावेश गरिएको छ ।