कैलाली, २४ भदौ, सुखड – घोडाघोडी नगरपालिकाले सङ्घीय शिक्षा ऐनको विपरीत प्रधानाध्यापक (प्रअ) नियुक्त गरेको भन्दै नेकपा माओवादी केन्द्र घोडाघोडी नगर कमिटीले ६ बुँदे ज्ञापन पत्र बुझाएको छ। नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उत्तम कुँवरलाई ज्ञापन पत्र बुझाउँदै नगर कमिटीले उक्त माग सम्बोधन नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएको छ।

नेकपा माओवादी केन्द्रले विद्यालय व्यवस्थापन समितिलाई प्रअ छनोट प्रक्रिया र करार शिक्षक छनोटको अधिकार दिनुपर्ने, काजमा पठाइएका शिक्षकहरूको काज फिर्ता गर्नुपर्ने प्रमुख माग राखेको छ।

ज्ञापन पत्रमा नगर शिक्षा ऐनमा रहेका सङ्घीय शिक्षा ऐनसँग बाझिएका बुँदा सच्याउनुपर्ने, सर्वोच्च अदालत र उच्च अदालतमा विचाराधीन मुद्दाको टुङ्गो नलागेसम्म प्रअ छनोट प्रक्रिया स्थगित गर्नुपर्ने, र स्थानीय भाषा पाठ्यक्रमका शिक्षकको नियुक्तिमा विज्ञ शिक्षकमात्र चयन गर्नुपर्ने माग गरिएको छ।

सम्बोधन नभए तीन दिन भित्र पार्टीले आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी पनि नगर कमिटीले दिएको छ।