धनगढी, भदौ २५ गते।  भारतीय वन विभागले काम गर्न गएका नेपाली मजदुरलाई पक्राउ गरेको छ।

सीमावर्ती भारतीय बजार चन्दन चौकीमा घर बनाउने काम गर्न गएका मजदुर कैलारी गाउँपालिका–३ का ७० वर्षीय सलेफु चौधरी र ३५ वर्षीय सोनु गिरीलाई वन विभागले पक्राउ गरेको हो।  उनीहरूलाई पक्राउ गर्नुको कारणबारे यथेष्ट जानकारी प्राप्त हुन नसके पनि वन क्षेत्रमा पर्ने बजारमा घर बनाउन आएको भन्दै पक्रेर लखिमपुर पुर्‍याएको स्थानीयले जानकारी दिएका छन्।

चन्दन चौकी बजार दुधुवा नेशनल पार्क क्षेत्रमा रहेको छ।  सो बजारमा गुप्ता मिष्ठान भण्डारको घर बनाउन गएका दुवै मजदुरलाई भदौ १७ गते वन विभागले पक्राउ गरेको स्थानीय जीतबहादुर चौधरीले जानकारी दिनुभयो।

पक्राउ गरेका दुवैलाई जनही नेपाली चार लाख रुपियाँ जरिवाना तोकेको बताइएको छ।  वन विभागमा काम गर्ने शिवचरण रानाले दुवै कामदारलाई पक्रेको जनाइएको छ।  रानाले सीमा क्षेत्रमा हिँड्दा पनि पक्राउ गर्ने गरेको भन्दै स्थानीयले ज्यादती बढेको बताएका छन्।

यसैबिच, कैलाली ३ बाट प्रतिनिधित्व गर्नु हुने सङ्घीय सांसद गङ्गाराम चौधरीले दुवै कामदारलाई रिहाइको पहल गर्न नेपाल सरकारलाई आग्रह गर्नुभएको छ।  सदनमा बोल्दै उहाँले घरको मालिकलाई पक्राउ गर्नु पर्नेमा भारतीय वन विभागले मजदुरलाई पक्रेर जरिवानासमेत तोकेका सदनलाई जानकारी गराउनुभयो।