


धनगढी, भदौ २७ गते । धनगढीमा आयोजित जलवायु परिवर्तनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा कानुनी एकरूपता र प्रभावकारी कार्यान्वयनको आवश्यकता प्रमुख रूपमा उठाइएको छ। कार्यक्रममा सहभागी प्रदेश सभा सदस्य, प्राध्यापक, सुरक्षा अधिकारी, र नागरिक समाजका अगुवाहरूले जलवायु परिवर्तनका असर कम गर्न कानुनमा समन्वय गर्नुपर्ने भन्दै ठोस सुझाव दिएका थिए।
नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभाका प्रमुख सचेतक विक्रमसिंह धामीले स्थानीय रूपमा उपलब्ध काठको सही प्रयोग र वृक्षारोपणमा फलफूलका बोटहरूलाई प्राथमिकता दिनुपर्ने कुरा उठाउनु भयो। यो उपायले जीविकोपार्जनमा सहयोग पुर्याउने र राष्ट्रिय आयमा पनि योगदान दिने उहाँको विश्वास थियो।
नेकपा (एमाले) का उपनेता सन्तोष शर्मा थापाले प्लास्टिकमुक्त र धुवाँरहित चुलो प्रवर्द्धन गर्दै नमुना पालिका निर्माणमा जोड दिनुभयो भने नेकपा (माओवादी केन्द्र) का नेता मानबहादुर धामीले नेपालले कम मात्रामा कार्बन उत्सर्जन गर्ने मुलुक भएकोले क्षतिपूर्ति पाउनुपर्ने कुरा उठाउनुभयो।
अन्य वक्ताहरूले जलवायु परिवर्तनको असर कम गर्न बनेका नीतिहरू कार्यान्वयनमा ध्यान नदिइएको गुनासो गर्दै नीति कार्यान्वयनमा प्रभावकारी कदम चाल्नुपर्ने धारणा राखे। सुदूरपश्चिम विश्वविद्यालयका सहप्राध्यापक डा. राजेन्द्रवीर चन्द लगायतले तीनै तहका सरकारले जलवायु परिवर्तन नियन्त्रणका लागि पर्याप्त बजेट छुट्याउन नसकेको आलोचना गरे।
कार्यक्रममा सुरक्षा अधिकारीहरूले विपद् व्यवस्थापनमा सुरक्षाकर्मीको स्पष्ट भूमिका नखुलाइएका कारण चुनौती थपिएको बताए।
अन्तमा, सहभागिहरूले तीनै तहका सरकारले मिलेर जलवायु परिवर्तनका चुनौतीहरू सामना गर्नुपर्ने, विद्यालयस्तरमै जलवायु परिवर्तनको विषय पठनपाठन गराउनुपर्ने, र नागरिक स्तरमा पनि सचेतना जगाउनुपर्नेमा जोड दिएका थिए।

घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
कार्यालय प्रमुख : इन्दु के. सी.
प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री
बजार व्यवस्थापक :
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी