


घोडाघोडी (कैलाली), असोज १० गते। २०७७ सालमा तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ शिलान्यास गरिएको घोडाघोडी नगरअस्पताल भोकाधिकारका समस्याका कारण अझै निर्माणको काम अघि बढ्न सकेको छैन।
कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर २ साँडेपानीमा २०७७ मङ्सिर १५ गते तत्कालीन प्रतिनिधिसभा सदस्य तथा पूर्व कृषि मन्त्री गौरीशङ्कर चौधरीले अस्पतालको शिलान्यास गर्नुभएको थियो। ७५३ वटै पालिकामा अस्पताल निर्माण गर्ने सरकारी नीति अनुसार यो काम सुरु भए पनि घोडाघोडी नगरअस्पतालको निर्माण जगमै अड्किएको छ।
छिमेकी पालिकाहरू बर्दगोरिया र लम्कीचुहा अस्पताल निर्माणले पूर्णता पाइसकेका छन्, तर एउटै समयमा सुरु भएको घोडाघोडी नगरअस्पतालको काम भने प्रगति हुन सकेको छैन। घोडाघोडी नगरपालिकाको योजना शाखाका प्राविधिक किशोर भट्टका अनुसार सुरुको वर्षमा आएको एक करोड बजेटले जगको काम सम्पन्न भए पनि डीपीआर र भोकाधिकारका समस्याका कारण थप बजेट नआएको हो।
नेपाल सरकारको स्वास्थ्य मन्त्रालयअन्तर्गतका अस्पतालहरूका लागि नेपाल हेल्थ सेक्टर सपोर्ट कार्यक्रममार्फत विशेषज्ञहरूको सहयोगमा घोडाघोडी नगरअस्पतालको डिजाइन र कागजातहरू तयार पार्ने काम भएको थियो। तर, विशेषज्ञ जुम गुरुङका अनुसार अस्पतालको जग्गा र भवनको डिजाइन अधुरो रहेको छ।
नगर प्रमुख खडकबहादुर रावतले अस्पताल निर्माणका लागि ऐलानी रहेको करिब चार विगाह क्षेत्रफलको जग्गाको भोकाधिकार प्रक्रिया पूरा गरी फाइल संघीय मन्त्रालयमा पठाइसकेको र आधिकारिकता प्राप्त भएपछि निर्माण अघि बढ्ने बताउनुभयो।
कुल १८ करोड लगानीमा १५ शय्याको दुईवटा भवन निर्माण गर्ने योजना थियो। पहिलो भवनका लागि नौ करोड ५३ लाखमा ठेक्का दिइएको थियो, तर बजेट अभावका कारण निर्माण रोकिएको छ। घोडाघोडी स्वास्थ्य शाखा प्रमुख कैलाशकुमार रावतले ठेकेदारले ८० लाख पेस्की लगेको तर काम नगरेको बताए। उनका अनुसार काम भए मात्र थप बजेट प्राप्त हुने थियो, तर काम नभएका कारण बजेट रोकिएको हो।
हाल निर्माणाधीन अस्पतालसँगै रहेको पुरानो स्वास्थ्य चौकीको भवनबाट सेवा प्रवाह भइरहेको छ। तीनजना चिकित्सकसहितका स्वास्थ्यकर्मीहरूले साँगुरो ठाउँबाट सेवा दिइरहेका छन्। असोज १ गतेदेखि अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रमसमेत लागू भएको छ। अस्पताल प्रमुख डा. हेमनाथ आचार्यले संरचनागत अभाव हुँदासमेत बिरामीलाई गुणस्तरीय सेवा दिइरहेको बताउनुभयो।

घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
कार्यालय प्रमुख : इन्दु के. सी.
प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री
बजार व्यवस्थापक :
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी