त्रिभुवन विमानस्थल खुलेपछि नेपाली यू–२३ फुटबल टिम दुबई हुँदै काठमाडौं फर्किदै, बंगलादेशी टिम पनि ढाका जाने तयारीमा

काठमाडौं– निर्धारित योजनामा कुनै परिवर्तन भएन भन् एएफसी यू–२३ एसियनकप छनोट खेल्न ताजाकिस्तान गएको नेपाली फुटबल टिम बिहीबार नेपाल फर्कदैछ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल खुल्ने भएपछि नेपाली टिम तय कार्यक्रम अनुसार दुबई भएर काठमाडौं फर्कन लागेको हो ।

टिमसँग रहेका पत्रकार आभाष घिमिरेका अनुसार नेपाली टिम दुई समूह भएर फर्कन लागेको छ । नेपाली टिमले मंगलबार आफ्नो अन्तिम तथा तेस्रो खेल फिलिपिन्सविरुद्ध खेलेको थियो । मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेल्न नेपाल आएको बंगलादेशी राष्ट्रिय टिम बिहीबार नै ढाका फर्कने प्रयासमा छ ।

तर प्रक्रिया भने मिल्न सकेको छैन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार बंगलादेशी टिमले विशेष विमानमा ढाका जाने प्रयास गरेको भएता पनि त्यो सम्भव हुन सकेको छैन् । त्यसैले सम्भवतः बिहीबार दिउँसोको नियमित विमानमा ढाका फर्कनेछ ।

जेन–जीको प्रदर्शनपछि उत्पन्न भएको परिस्थितिका कारण नेपाल र बंगलादेशबीचको दोस्रो खेल मंगलबार हुन सकेको थिएन् । पहिलो खेल भने गोलरहित बराबरीमा टुंगेको थियो । नेपाली टिमसँग बंगलादेशी टिम पनि अहिले रविभवनको होटल क्राउन इम्पेरियलमा बसिरहेको छ ।

कञ्चनपुर उच्च जोखिम क्षेत्र : अवैध नाका र गरिबीका कारण मानव बेचबिखन घटना बढ्दो

कञ्चनपुर,  भदौ २१ गते ।  मानव बेचबिखन तथा ओसारपसारका दृिष्टकोणले कञ्चनपुर जिल्ला उच्च जोखिम क्षेत्रका रूपमा रहेको छ ।

जिल्ला भएर भारत आवतजावत गर्ने मुख्य नाका गड्डाचौकी भए पनि अन्य क्षेत्रमा खुला सीमाका कारण अवैध नाकाहरू विद्यमान रहेका छन् । अवैध नाकाहरू मानव बेचबिखनको प्रमुख चुनौतीका रूपमा देखा परेको माइती नेपालका कञ्चनपुर संयोजक महेश्वरी भट्टले बताउनुभयो ।

उहाँका अनुसार पछिल्लो समयमा जिल्लामा सीमा नाका प्रयोग गरी बालबालिका, किशोरी, तथा महिलालाई भारत, खाडीमुलुक र अन्य देशतर्फ बेचबिखन हुने घटनाहरू बढ्दै गएका छन् । मानव बेचबिखनका घटनाहरू बढ्दै जानुमा गरिबी, बेरोजगारी, अशिक्षा, लैङ्गिक असमानता, घरेलु हिंसा र सामाजिक कुरीतिहरू मूल कारणका रूपमा रहेको संयोजक भट्टले बताउनुभयो ।

खुला सीमा, प्रविधिमैत्री निगरानीको अभाव, स्रोतसाधन र जनशक्तिको कमी, उजुरी दिन डराउने पीडित तथा परिवार, मुद्दा प्रक्रियामा ढिलाइ र सीमापार गराउन आफन्त वा परिवारकै संलग्नता रहने गरेको उहाँले उल्लेख गर्नुभयो ।

“मानव बेचबिखन नियन्त्रण सबैको साझा जिम्मेवारी हो”, संयोजक भट्टले भन्नुभयो, “यसलाई रोक्न सचेतना, समन्वय र सहकार्यनै मुख्य आधार हो ।” मानव बेचबिखनको स्वरूप समयसँगै बदलिँदै गएको उल्लेख गर्नु हुदै उहाँले वैदेशिक रोजगारी, विवाहको प्रलोभन, पर्यटनका नाममा, तथा प्रविधि प्रयोग गरेर हुने ‘साइबर ट्राफिकिङ’का घटना बढिरहेको बताउनुभयो ।

“यस्ता गतिविधिमा अन्तरराष्ट्रिय अपराध सञ्जाल सक्रिय रहँदै आएको छ”, उहाँले भन्नुभयो, “यसरी बेचबिखनमा परेकालाई अङ्ग बेच्ने, बालश्रममा लगाउने, यौन शोषण गर्ने वा जबर्जस्ती आपराधिक गतिविधिमा प्रयोग गर्ने गरिएको पाइएको छ ।”

मावन बेचबिखनजस्तो जघन्य अपराधले राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय सुरक्षा र मानव अधिकारलाई समेत गम्भीर चुनौती सिर्जना गरेको सामाजिक कार्यकर्ता हरिदत्त भट्टले बताउनुभयो । उहाँका अनुसार, सीमा क्षेत्रमा प्रविधि–आधारित निगरानी (सिसिटिभी, बायोमेट्रिक प्रणाली), विद्यालय तहमा सचेतना, कानुनी र सामाजिक पुनःस्थापना कार्यक्रम सञ्चालन अनिवार्य भइसकेको छ ।

माइती नेपालका कञ्चनपुर संयोजक भट्टका अनुसार गत १६ जुलाई २०२४ देखि १५ जुलाई २०२५ सम्मको अवधिमा भारततर्फ जान लागेका २८६ जनालाई रोकथाम गरेको छ । जसमध्ये  १२७ जना गड्डाचौकी नाकामा, ४८ जना चारलेन पुलमा र ३८ जना झोलुङ्गे पुलमा रोकथाम गरिएको थियो । रोकथाम गरिएका व्यक्तिहरूमध्ये एक सय २९ जना बालबालिका र १५७ जना महिला रहेका छन् ।

सीमा नाकामा रोकथाम गरिएका मध्ये सुदूरपश्चिम प्रदेशका २४८ जना रहेका छन्भने कञ्चनपुर जिल्लाका मात्रै १३६ जना रहेका छन् । त्यसै अवधिमा भारतको हरियाणा, मुम्बई, पिथौरागढ, पुना, विहार र चमौलीबाट बेचबिखनमा परेका आठ जनाको उद्धार गरी ल्याइएको उहाँले जानकारी दिनुभयो ।

सोही अवधिमा माइती नेपालले सीमा नाकामा १२ हजार ८३२ सवारी साधन चेकजाँच गरेको छभने ४६ हजार ५६ जनालाई मानव बेचबिखन तथा सुरक्षित बसाइसराइबारे परामर्श दिएको छ । दुई सय ९० जनाको पारिवारिक पुनर्मिलन गरिएको छ । पैँतीस जनालाई सीमा नाकाबाटै प्रत्यक्ष परामर्श दिएर घर फर्काइएको छ ।

माइती नेपालमा खोजतलासका लागि १८० वटा निवेदन दर्ता भएको र जसमध्ये ७३ जना  खोजतलास गर्दा भेटिएका छन् । घरेलु हिंसासम्बन्धी २२ वटा उजुरी दर्ता भएकामध्ये १८ वटा समाधान गरिएको छ भने मानव बेचबिखनविरुद्ध एक मुद्दा दर्ता भएको संयोजक भट्टको भनाइ रहेको छ ।

मानव बेचबिखन रोकथामका लागि माइती नेपालले समुदायस्तरमा घरदैलो कार्यक्रम, पर्चा–पम्पलेट वितरण, किशोरीलाई कानुनी अनुशिक्षण, सडक नाटक लगायतका अभियान सञ्चालन गर्दै आएको छ । यसरी गाउँ–गाउँमै सचेतनासम्बन्धीका कार्यक्रम गरिए मानव बेचबिखनजस्तो जघन्य अपराध न्यूनीकरण गर्न सकिने शुक्लाफाँटा नगरपालिकाका नगर उपप्रमुख कल्पना पन्तले बताउनुभयो ।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक राजेश बस्नेतले सीमा क्षेत्रमा मानव बेचबिखन रोकथाम चुनौतीपूर्ण भए पनि समुदायको सक्रियता र सरकारी–गैरसरकारी निकायको सहकार्यलाई बढाउन सकिए समस्या कम गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

“मानव बेचबिखन नियन्त्रणका लागि स्थानीय, प्रादेशिक र सङ्घीय सरकारबिच बलियो समन्वय र सहकार्य अपरिहार्य छ”, उहाँले भन्नुभयो, “न्यायिक प्रक्रियालाई छिटोछरितो बनाउन, तालिम तथा सीप विकासमार्फत रोजगारीको अवसर सृजना गर्न र डिजिटल माध्यम प्रयोग गरेर दीगो सेवा सुनिश्चित गर्न आवश्यक छ ।”

मानव बेचबिखन रोकथामका लागि सचेतना, कानुन कार्यान्वयन, सुरक्षा सुदृढीकरण र समुदायस्तरको सक्रिय अभियान नै प्रभावकारी उपाय रहेको उहाँ बताउनुहुन्छ । रासस

गृहमन्त्री लेखक : राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार गठन,

दोधारा चाँदनी (कञ्चनपुर), भदौ २१  गते ।  गृहमन्त्री रमेश लेखकले राजनीतिक अस्थिरता अन्त्यका लागि वर्तमान सरकार गठन भएको बताउनुभएको छ ।

निजामती सेवा दिवसका असवरमा महाकाली प्रादेशिक अस्पतालमा आज आयोजित रक्तदान कार्यक्रममा उहाँले तीन–तीन महिनामा सरकार परिवर्तन भएपछि राजनीतिक स्थायित्वका निम्ति वर्तमान सरकार गठन भएको स्पष्ट गर्नुभयो । उहाँले निजामती कर्मचारीप्रति शुभकामना व्यक्त गर्दै स्थायी सरकारको भूमिकामा रहेका कर्मचारीेले राष्ट्र र जनतालाई केन्द्रमा राखेर सेवा गर्नुपर्नेमा जोड दिनुभयो ।

“वर्तमान सरकारले कानुन र नीतिगत सुधारलाई प्राथमिकता दिएको छ, २०७२ सालमा संविधान बने पनि निजामती सेवा विधेयक सदनबाट पारित हुन सकेको थिएन,” गृहमन्त्री लेखकले भन्नुभयो,  “निजामती सेवा, शिक्षा ऐनलगायत विधेयक पारित हुने क्रममा छन् ।” उहाँले निजामति सेवा विधेयक यसै महिना पारित हुने बताउनुभयो । रासस

अपि नाम्पा संरक्षण क्षेत्रको पञ्चवर्षीय कार्ययोजना स्वीकृत नभएर संरक्षण प्रभावित

दार्चुला, भदौ २० गते । अपि नाम्पा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् गठन हुन नसक्दा संरक्षण क्षेत्रको पञ्चवर्षीय कार्ययोजना स्वीकृत हुन सकेको छैन ।

कार्ययोजना स्वीकृत नहुँदा संरक्षणको क्षेत्रमा ठुलो असर परेको अपि नाम्पा संरक्षण कार्यालय दार्चुलाका वरिष्ठ संरक्षण अधिकृत (वार्डेन) विनयकुमार झाले बताउनुभयो । यहाँका स्थानीय तहहरू व्यास, अपि हिमाल, मार्मा, नौगाड गाउँपालिकाका पाँच वटा वडाहरू, दुहुँ गाउँपालिका र महाकाली नगरपालिकाका १, २ र ३ वडालाई समेटेर विसं २०६७ सालमा अपि नाम्पा संरक्षण क्षेत्र स्थापना गरिएको थियो । स्थापना भएको पाँच वर्षपछि अपि नाम्पामा २०७२ सालमा परिषद् गठन गरिएको थियो । तत्कालीन परिषद्ले निर्माण गरेको पञ्चवर्षीय कार्य योजनाको म्याद २०७७ साउनमा सकिएको हो ।

परिषद्को निर्णयसहित, एकीकृत वार्षिक कार्यक्रमलगायतका कार्ययोजना समितिले राष्ट्रिय निकुञ्ज वन्यजन्तु संरक्षण विभागमा पेस गरेपछि विभागले पञ्चवर्षीय कार्ययोजना स्वीकृत गर्ने तथा कार्यालयले कार्ययोजना अनुरूप कार्यसम्पादन गर्नुपर्ने कानुनी प्रावधान रहेको वार्डेन झाले जानकारी दिनुभयो । पञ्चवर्षीय कार्ययोजना स्वीकृत नहुँदा संरक्षण क्षेत्रभित्र रहेका संरक्षण सामुदायिक वनमा उत्पादन भइरहेका जडीबुटीको उपभोग, सङ्कलन तथा वन पैदावार त्यत्तिकै खेर गइरहेको उहाँले बताउनुभयो । अपि नाम्पा संरक्षण क्षेत्रमा परिषद् पुनर्गठनको प्रव्रिmया थालिए पनि निकै सुस्त भएको यहाँका स्थानीयले बताएका छन् । गत चैत पहिलो सातादेखि सुरु गरिएको संरक्षण क्षेत्रभित्रका टोल समूह गठनकै काम सकिएको छैन ।

विभागबाट बेला बेला परिषद् पुनर्गठन गरेर सक्न मौखिक आदेश हुने गरेको भए पनि यहाँ समिति गठनले खासै गति लिन नसकेको उपभोक्ताले बताएका हुन् ।

सुदूरपश्चिमको गौरवमय हुडकेली नृत्य लोप हुने सङ्घारमा

कञ्चनपुर, भदौ २०  गते । सुदूरपश्चिमको ऐतिहासिक लोकनृत्य हुडकेली लोप हुने सङ्घारमा पुगेको छ । वीरविरङ्गनाहरूको गीति कथामा गरिने नृत्य पुस्तान्तरण हुन नसक्दा लोप हुने अवस्थामा पुगेको हो । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुर निवासी ५० वर्षीय गङ्गाराम दमाई हुडकेली नृत्यमा निपूण भए पनि यस नृत्यको माग कतैबाट नआउँदा निकै चिन्तित छन् ।

उहाँले बाजेबाट हुडके ९ठूलो डमरुजस्तै बाजा० बजाउने र हुडकेलीमा गीतिकथा गाउने कला सिकेका हुन् । “धार्मिक कार्य, विवाह, व्रतबन्ध, न्वारन, छैटी, अन्नप्राशनलगायत शुभ अवसरमा हुडकेली नृत्यको निकै माग हुन्थ्यो”, उहाँले भन्नुभयो, “बाजेबाटै १७ वर्षकै उमेरमा हुडकेली लगाउने कला सिकेको हँु, मौखिक रूपमा इतिहासका पात्रहरू ९वीरविरङ्गनाहरू०को कथा गीतमा ढालेर रोचक तरिकाले प्रस्तुत गरिन्थ्यो, निकै सुन्ने गर्दथे, अहिले यो नृत्य ओझेलमा परेको छ ।”

“पहिले वर्षमा धेरै ठाउँमा बोलाइन्थ्यो, अहिले वर्षमा एकपटक पनि हुडकेली नाच्न माग हुँदैन”, उहाँ थप भन्नुहुन्छ । डडेल्धुराको अजयमेरु गाउँपालिका–२ बसना गाउँमा जन्मिएका गङ्गाराम २५ वर्षको उमेरमा तराई झरेका हुन् । उहाँले हुडकेली कला पनि साथमै ल्याउनुभयो तर यसैमा जीवन धान्न भने नसकिएको अनुभव सुनाउनुहुन्छ । उहाँका अनुसार पहिलाका दिनमा हुडकेली विशेषगरी हुनेखाने परिवारले मात्र लगाउँथे । हुडकेली प्रदर्शनबापत कलाकारलाई पाथी चामल, खसी, बोका दिने चलन थियो ।

ताउला भादला, चरुलगायत भाँडाकुँडा दिने प्रचलन पनि थियो । त्यतिबेला हुडकेलीमै जीविका चल्थ्यो । तर, आधुनिक रहनसहन, वेशभूषा र जीवनशैलीसँगै यो परम्परा विस्तारै हराउँदै गएको छ । “पुरानो पुस्ताले हुडकेली गाए, नाचे, नयाँ पुस्ताले सिक्नै चाहेन”, गङ्गाराम भन्नुहुन्छ, “अहिले सबैलाई आधुनिक साउण्ड सिस्टम, व्याण्डबाजाको मोह छ, त्यसैले हुडके बाजा पाउन पनि मुस्किल भएको छ ।”

सुदूरपश्चिमको लोककलाका जानकार गोरे दमाई भन्नुहुन्छ, “लोकसंस्कृतिलाई जोगाउनुपर्छ भन्ने सबैको भनाइ हुन्छ, तर कसैले पनि हुडकेली सिक्ने, अभ्यास गर्ने चासो देखाउँदैनन्, हुडकेली लोप हुनै लाग्दा पनि चासो छैन ।”

पूर्वजनप्रतिनिधि टेकबहादुर हमालका अनुसार युद्धमा लड्ने सैनिकहरूको मनोबल उच्च राख्न वीरगाथा सुनाएर मनोरञ्जन दिने माध्यमका रूपमा यसको प्रयोग हुन्थ्यो । हुडकेली नृत्यका प्रस्तुतकर्ताले वीरगाथा, ऐतिहासिक घटना र वीरताको कथा गीतमार्फत प्रस्तुत गर्ने उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “यसै क्रममा नृत्यमा तलबार र ढालको करतब देखाइन्छ । गायनलाई दमाहा, हुडका र घुँघरुको तालले साथ दिइन्छ, हुडकेलीका नृत्यङ्गनाले टाउकोमा मखमलको पगडी, शरीरमा भोटो र सेतो रङको झकुलो ९विशेष पहिरन० लगाउँछन् ।”

हातमा हुडका, हुडकाको डोरीमा घुँघरु, चौँरीगाईको चमर, कम्मरमा कूलदेवताका घण्टी, चौँरीगाईको पुच्छरको सजावटसहित नृत्य गरिने चलन रहेको उहाँले बताउनुभयो । “परापूर्वकालमा राजारजौटाहरू युद्धमा जितेर फर्केपछि खुसीयालीस्वरूप हुडकेली लगाउने चलन थियो, यो नृत्य डोटी र कुमाउँको इतिहाससँग जोडिएको मानिन्छ”, उहाँ भन्नुहुन्छ ।

एक जना नाच्दै हुडका बजाउँछन् र गीतिकथा भट्याउँछन् । दुई जनाले युद्धको झल्को दिनेगरी तलबार र ढालको करतब देखाउँछन् । पाँच जनाले दमाहा बजाउँदै गीतमा साथ दिने गर्छन् । नृत्यङ्गनाको सिको गर्दै गाउनेलाई पछुवा वा ‘जोले’ भनिन्छ ।

यसरी प्रस्तुत हुने हुडकेली आफैँमा रोमाञ्चकमात्र नभई डोटेली इतिहासका पात्रहरूको सम्झना गर्ने माध्यम रहेको उहाँ उल्लेख गर्नुहुन्छ । “पहिलाका दिनमा हुडकेली लगाउँदा गाउँभरिका मानिस एकैठाउँमा भेला भएर हेर्ने प्रचलन थियो”, टीका दमाईले भन्नुभयो, “दलित समुदायका हुडकेली लगाउने कलाकारलाई थितो दिने, जग्गामा बालो बर्सी ९एक वर्ष अन्न कमाएर खाने अधिकार० दिने चलन हुडकेलीसँग गाँसिएको थियो, हुडकेली नै लोप हुने सङ्घारमा पुगेकाले पुराना रीतितिथिहरू पनि विस्तारै ओझेलमा पर्दै गए ।”

हुडकेली नृत्य केवल सुदूरपश्चिमका दार्चुला, बैतडी, डडेल्धुरा, डोटी, बाजुरा, बझाङ, अछाम, कैलाली र कञ्चनपुरमै सीमित नभएर भारतको उत्तराखण्ड प्रदेश ९कुमाउँ–गढवाल०मा समेत शुभअवसरमा यसलाई प्राथमिकता दिने गरिन्थ्यो । लोकसंस्कृतिका जानकार मानसिं भण्डारी भन्नुहुन्छ, “हुडकेलीमा वीरगाथा सुनाइन्छ, युद्धकौशल देखाइन्छ, वंशावलीको वर्णन हुन्छ, यसले तत्कालीन राजनीतिक, सामाजिक र सांस्कृतिक परिवेशलाई प्रतिविम्बित गर्छ ।”

उहाँका अनुसार हुडकेली नृत्य १८०१ सालभन्दा अगाडि नै अस्तित्वमा रहेको थियो । बाइस पाट कुमाउँ अम्मरगढीका राजा त्रिपाल चन्दको जीवनीमा आधारित गीतिकथा हुडकेलीको प्रारम्भमा सुनाइने भएकाले यो नृत्य भारतको कुमाउँ क्षेत्रबाट भित्रिएको प्रमाण मानिन्छ ।

हुडकेली सुरु गर्दा गुरु र देवताको नाम स्मरण गर्ने भएकाले यसले धार्मिक आस्था, समाजिक सद्भाव र मान्यतालाई अगाडि बढाउने कार्य गरेको उहाँ बताउनुहुन्छ । डोटेली इतिहासका वीरपात्र शोभी रावत, विगा पनेरु, काला भण्डारी, हिया कठायत, रती रावल, सुजुवुजु रौतेला, पिरी बोहरा, सङ्ग्राम कार्की, दीपा ऐर, लाली साउनलगायतका कथा हुडकेलीमा गाइन्छ । यो नृत्य वीरगाथा सुन्ने, मनोरञ्जन गर्ने र इतिहास सम्झाउने महत्त्वपूर्ण माध्यमका रूपमा रहेको छ ।

नृत्यलाई अझ आकर्षक बनाउन कलाकारले अनौठा कलाकौशल पनि देखाउँछन् । उदाहरणका लागि उल्टो परेर आँखाको परेलाले सियो वा पैसा उठाउने कामसमेत गरिन्छ । यो साहसीमात्र नभई कठिन कलाका रूपमा लिइन्छ ।

“हुडकेली दमाई समुदायले जगेर्ना गर्दै आएको नृत्य हो”, भीम दमाईले भन्नुभयो, “यो पुर्खाले सिकाएको कला परम्परा नयाँ पुस्ताले सिकेन भने केही वर्षमै हुडकेली केवल किताबका पानामा मात्र सीमित हुनेछ ।” यसैले संस्कृति संरक्षणका निकाय, स्थानीय तह र समाजसेवी संस्थाले हुडकेलीलाई पुनर्जीवित गर्न पहल नगरेसम्म सुदूरपश्चिमको यो गौरवमय लोकनृत्य इतिहासकै पानामा मात्र सीमित हुने खतरा बढ्दै गएको सुदूरपश्चिमको संस्कृतिका जानकारहरूको भनाइ  छ । रासस

थारू समुदायको परम्परागत माछा मार्ने चलन जीवित, तर ‘नुकाइ’ र ‘बहन’ हराउँदै

धनगढी, भदौ १८ गते । राति दर्किएको पानी बिहान हुँदासम्म सिमसिम पर्दै थियो । कुलोमा टापी (माछा मार्ने पासो) थापेर थारू महिला लामबद्ध थिए । बिहीबार बिहान देखिएको यो दृश्य सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीको हो । ग्रामीण क्षेत्र होस् वा सहर पानी परेपछि थारू समुदायका मानिस माछा मार्न खोला, नदीतिर लामबद्ध हुनु एउटा चलन जस्तै बनेको छ । माछा मार्न र त्यसको परिकार खान सोखिन यो समुदायका मानिसले जस्तोसुकै सिजनमा पनि माछा मार्ने गर्छन् । बाढीदेखि लिएर हिउँदको कठ्याङ्ग्रिने चिसोमा समेत यो समुदायका मानिस खोला, खोल्सा, नदी, तलाउमा माछा मारेको देख्न सकिन्छ ।

“माछा मिलोस् वा नमिलोस् पानी पर्नेबित्तिकै टापी लिएर महिला खोला, नदीतिर पुग्छन्,” धनगढी उपमहानगरपालिका–८ का प्रदेशु चौधरीले भन्नुभयो, “माछा मार्ने र त्यसको तरकारी खाने थारू समुदायको एउटा पहिचान नै हो ।” कतिसम्म भने बर्खायाममा बाढीले सर्वत्र डुबान भएका बेला पनि माछा मार्न चुक्दैनन्, यो समुदायका मानिस । घरमा बाढी पसेका बेला निर्धक्क आँगनमा माछा मार्दै गरेको दृश्य पनि देखिने गरेको छ । थारू समुदायमा माछा मार्नका लागि महिलाले हेल्का, टापी जस्ता हतियार प्रयोग गर्ने गरेका छन् । यसै गरी पुरुषले जाल (सेउखा), चेउँढीले माछा मार्ने गरेका छन् । ढर्हिया, खोङ्खिया थापेर पनि माछा मार्ने गरिएको छ । थारू समुदायमा माछा महìवपूर्ण परिकार रहेको कैलारी गाउँपालिका–७ का कमल चौधरीले बताउनुभयो ।

उहाँका अनुसार छाक टार्नदेखि लिएर कतिपय संस्कार पूरा गर्न माछा आवश्यक हुने गर्छ । माछाको तरकारी भएका दिन घरपरिवारका सबै सदस्यले निकै मिठो मानेर खाने गरेको चौधरीको भनाइ छ । यसै गरी विवाह, अटवारी पर्व र दसैँको पिटरहुवामा माछा आवश्यक पर्छ । “पहिले पहिले अटवारी पर्व र दसैँको पिटरहुवामा सुकेको माछा (सिद्रा) को तरकारी अनिवार्य थियो,” उहाँले भन्नुभयो, “सकेसम्म अचेल पनि माछाको तरकारी हुन्छ तर पहिलेको जस्तो अनिवार्य भने छैन ।” त्यस्तै थारू समुदायको विवाहमा अहिले पनि माछा अनिवार्य छ । जन्ती जाँदा बेहुलाका भिनाजु वा अन्य नाता पर्ने व्यक्तिले बर्छी (फलामको डन्डी) मा माछा टाँगेर बेहुलीको घर लैजानुपर्ने चलन रहेको छ । विगतमा नदीबाट यसरी माछा मारेर लैजाने गरिए पनि अचेल पोखरीमा पालेका माछाले पनि काम चल्ने गरेको जनाइएको छ । थारू समुदायमा वैशाख जेठतिर घर निर्माण गरेपछि सामूहिक रूपमा माछा मारेर खाने र रमाउने चलन छ । यस कार्यलाई ‘झोल झराइ’ भन्ने गरेको जनाइएको छ ।

हरायो नुकाइ र बहनको चलन

थारू समुदायमा विगतमा प्रचलनमा रहेका माछा मार्ने परम्परागत तरिका भने अचेल हराउन थालेका छन् । निदीमा शैया चलेपछि (धेरै माछा पाउन थालेपछि) गाउँभरिका मान्छे बहन र नुकाइ मार्न जाने चलन थियो । पहिलो पटक वर्षा भई नदीमा सामान्य बाढी आएका बेला राति माछा मार्नुलाई ‘नुकाइ’ भन्ने गरेको कमल चौधरीको भनाइ छ । त्यसै गरी गाउँभरिका मान्छेले दिनमा माछा मार्नुलाई ‘बहन’ भनिन्थ्यो । नुकाइ र बहनमा महिलाले लहरै तलतिर टापी थाप्ने र पुरुषले माथितिरबाट जाल खेल्दै सामूहिक रूपमा माछा मार्ने गरेको जनाइएको छ । “अचेल यसरी माछा कमै मात्रामा मारिन्छ,” उहाँले भन्नुभयो ।

बैतडीमा डोजरले खनेको सडकबाट पहिरो, दुई घरसहित पशुचौपाया पुरिँदा १६ सदस्य विस्थापित

बैतडी, भदौ १८ गते । डोजरले खनेको सडकबाट पहिरो खस्दा दुई वटा घरसहित पशुचौपाया पुरिएका छन् । परिवारका १६ जना सदस्यले भागेर ज्यान जोगाए पनि ९० वर्षीय गोदावरी चन्द घाइते हुनुभएको छ । घाइते चन्दको जिल्ला अस्पताल बैतडीमा उपचार हुन नसकेपछि डडेलधुरा अस्पताल रेफर गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी बलराम पाण्डेयले बताउनुभयो ।

सुर्नया गाउँपालिका–२, कठनोली (चौपाता) मा डोजरले खनेको सडकबाट आइतबार दिउँसो पहिरो खस्दा स्थानीय गिरिश चन्दको आठकोठे र रेखा चन्दको चारकोठे घरसहित पशुचौपाया पुरिएका छन् । दिउँसोको समयमा पहिरो खसेकाले परिवारका सदस्य भाग्न सफल भए पनि दुवै परिवारको घर, पाँच वटा गाई, चार वटा बाच्छी, १५ वटा बाख्रा पहिरोमा पुरिएको स्थानीय देवबहादुर चन्दले बताउनुभयो । विस्थापित परिवार छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन् । सामाजिक अगुवा चन्दले अविरल वर्षा र डोजरले सडक खन्दा पहिरो खसेको बताउनुभयो । सतबाँझ–श्रीभावर सडकखण्डबाट सुर्नयाको कठनोली ग्रामीण सडक दुई वर्षदेखि निर्माण भइरहेको छ । डोजरले जथाभाबी सडक खन्दा हिउँदमा खानेपानीका मुहानसमेत पुरिएको स्थानीको गुनासो छ ।

कञ्चनपुरमा अविरल वर्षा : ४५ घर डुबान, सयौँ विस्थापित, महाकालीको जलस्तर बढ्दा आवागमन रोक

कञ्चनपुर – गएरातिदेखिको अविरल वर्षाका कारण कञ्चनपुरमा ४५ घर डुबानमा परेका छन् । भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका नदीमा आएको बाढी बस्तीमा पस्दा ४५ घर डुबानमा परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराले दोधारा चाँदनी नगरपालिका–८ काे रामपुरे टोल र जर्गा टोलमा जोगबुढा नदीको बाढी पस्दा २५ घर डुबानमा परेको बताउनुभयो ।

त्यसैगरी दोधारा चाँदनी नगरपालिका–३ काे पटराखल्लाका १५ घर डुबानमा परेका छन् । भीमदत्त–११ भुजेलामा पनि ५ घर डुबानमा परेका छन् ।

‘दोधारा चाँदनीमा जोडबुढा नदी बस्तीमा पस्दा २५ घर डुबानमा पर्दा ७० जना विस्तापित भएका छन्, उनीहरूलाई नजिककैको विद्यालयमा राखिएको छ’, डीएसपी बाेहराले भन्नुभयाे, डुबानमा परेका परिवार र चौपायालाई सुरक्षित स्थानमा सारिएको छ ।’

पटराखल्लाका ५५ जना, उनीहरूका सरसामान र चौपायासमेत नजिकैको जमुना आधारभूत विद्यालयमा राखिएको उहाँले बताउनुभयो ।

महाकालीमा बढ्यो जलस्तर

अविरल वर्षापछि महाकाली नदीको जलस्तर बढेको छ । जलस्तर बढेसँगै भारतीय पक्षले शारदा ब्यारेजमा चारपाङ्ग्रे र तीनपाङ्ग्रे गाडी आवागमन रोक लगाएको छ । डीएसपी बोहराले नदीमा पानीको सतह बढेर १ लाख ४० हजार २ सय ५० क्युसेक पुगेको बताउनुभयो ।

नदीमा पानीको बहाव १ लाख क्युसेक पुगेपछि भारतीय पक्षले आवागमनमा रोक लगाउँदै आएको छ ।

अवैध आयात, दानाको मूल्यवृद्धि र सरकारी बेवास्ताले पोल्ट्री क्षेत्र धरासायी

१६ भदौ, चितवन । कुनै बेला वैदेशिक रोजगारीबाट फर्किएका युवा र स्वदेशमै बसिरहेकाहरुको पहिलो रोजाइको क्षेत्र हुन्थ्यो, पोल्ट्री व्यवसाय । सानो लगानीमा पनि सिजनमा राम्रो आम्दानी हुने भएकाले यसतर्फ युवाहरूको आकर्षण थियो । यसैकारण गाउँ गाउँसम्म कुखुरा पाल्ने चलन फस्टाएको थियो । साना, मध्यम र ठूला व्यवसायीहरु बीच अनोन्याश्रित सम्बन्ध थियो । हजारौं मानिसहरुको रोजगारी यसैबाट चलेको थियो । निकै सानदार ढंगले जीवन चलाएका थिए, पोल्ट्री क्षेत्रमा लागेका व्यवसायीहरुले ।

यो धेरै वर्ष अगाडिको कुरा होइन । आजभन्दा पाँच वर्ष अगाडिसम्म पनि चितवनको पोल्ट्री क्षेत्र निकै चलायमान त थियो नै नमूना र सम्झन योग्य पनि । तर अहिले पोल्ट्री क्षेत्र संकटग्रस्त छ । विगतका ती दिन आज सम्झदा व्यवसायीहरुलाई सपना जस्तो लाग्छ– हिजो कसरी त्यस्तो भयो र आज किन यस्तो संकटले घेर्‍यो ?

घर छेउमा खोरहरु बनाएर कुखुरा पाल्ने गरेका साना व्यवसायीहरु विस्थापित भएको धेरै भयो । अहिले पनि त्यसरी बनेका खोरहरु विभिन्न ठाउँमा प्रयोगविहीन र जीर्ण सकिन्छ ।

साना किसानको संख्या घटे पनि उत्पादन भने खासै घटेन । किनकी साना किसानको ठाउँ ठूला किसानले लिएका थिए । व्यवसायिक र ठूला लगानीका फार्मले माग र आपूर्तिको सन्तुलन मिलाएका थिए । अहिले साना व्यवसायीहरु सबैजसो पलायन भैसकेका छन् भने मध्यम व्यवसायी र ठूला व्यवसायी पनि कठिन अवस्थाबाट गुज्रिएका छन् ।

पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष रघुनाथ भट्ट तथ्यांक सुनाउँछन्, ‘अहिले करिब ५० हजारदेखि पाँच लाखसम्म कुखुरा पाल्ने किसान जम्माजम्मी ५० जना छन् । ८० प्रतिशत कुखुरापालक किसान विस्थापित बनेका छन् । बाँकी रहेका २० प्रतिशतले पनि बैंकबाट ऋण थपेर संकटमा व्यवसाय टिकाइरहेका छन् ।’

पोल्ट्री व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछाने गत वर्षसम्म बैंकको चर्को ब्याज, दानाको मूल्य वृद्धि र अण्डाले उचित मूल्य नपाउनुजस्ता कारण कुखुराजन्य उद्योग संकटमा परेको बताउँछन् ।

नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेल भने सन्नाटामा गुज्रिरहेको पोल्ट्री क्षेत्रमा अब भने केही आशाका किरणहरु देखिन थालेको बताउँछन् । ‘तर संकट भने निकै गहिरो बनेकाले उठ्न भने समय लाग्छ,’ उनी भन्छन् ।

तीव्र शहरीकरण, भारतीय मासु तथा चल्लाहरू निर्वाध भित्रिने, दानाको कच्चा पदार्थमा मूल्यवृद्धि, बैंकहरूबाट हुने तनाव र लागत अनुसारको मूल्य पाउन नसक्दा व्यावसायी धरासायी बनेको व्यवसायीहरु बताउँछन् ।

‘जग्गाको मूल्य आकासिएको छ र सामाजिक रूपमा पनि फार्म चलाउन समस्या छ । त्यसैले कतिपय व्यवसायीहरु अन्यत्रै सिफ्ट भएका छन्,’ पोल्ट्री व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष लामिछाने भन्छन्, ‘कतिपय व्यवसायीहरुलाई इज्जत र बैंकको ऋणका कारणले मात्रै व्यवसाय चलाउनुपरेको छ ।’

एक खर्ब ५० अर्ब लगानी रहेको पोल्ट्री व्यवसायमा करिब ५० प्रतिशत लगानी बैंकहरुको रहेको बताउँदै उनी भन्छन्, ‘तर लागत अनुसारको रकम नपाउँदा बैंकमा किस्ता बुझाउन धेरै पोल्ट्री व्यवसायीलाई समस्या छ ।’

‘विगतमा पाँच लाख व्यक्तिलाई प्रत्यक्ष रोजगारी दिएको व्यवसाय धान्न मुस्किल भएको छ । व्यवसाय बन्द हुँदा सयौंले रोजगारी गुमाएका छन्,’ मञ्चका निवर्तमान अध्यक्ष लामिछाने भन्छन् ‘पलायन भएका साना व्यवसायी पनि बैंकको पासोमा परेका छन् । ऋण तिर्न नसक्दा कहिले बैंकको कालोसूचीमा परेर लिलामी हुने हो भन्ने अवस्था छ ।’

भारतबाट अवैध रूपमा भित्रिने चल्ला, मासु तथा कच्चा पदार्थको चर्को भन्सार महसुलले गर्दा उत्पादनमा असर गरेको पोल्ट्री व्यवसायीहरुको भनाइ छ । उनीहरु राज्यले स्वदेशी उद्योगी र उत्पादन बढाउन भन्सारबाट हुने अवैध गतिविधिमा रोक लगाउनुपर्ने बताउँछन् ।

नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेलले ५ वर्ष अगाडिसम्म दैनिक ५० देखि ५५ लाख अण्डा उत्पादन हुने गरेकोमा अहिले घटेर २५ लाखको हाराहारीमा आएको बताए । ‘पहिले देशभर करिब ८ सय लेयर्स कुखुरापालक किसान भएकोमा अहिले संख्या घटेर १५० को हाराहारीमा आएको छ,’ अध्यक्ष पोखरेलले भने, ‘७ वर्षसम्म अण्डाको मूल्य लागत अनुसार नपाउँदा व्यवसायीहरु मारमा परेका छन् ।’

राज्यलाई पटकपटक लागत अनुसारको मूल्य तोकिदिन अनुरोध गर्दा पनि सुनुवाइ नभएको र ७० प्रतिशत लेयर्स कुखुरा पालक किसान सरकारको गलत नीतिका कारण विस्थापित भएको उनी बताउँछन् ।

नेपाल पोल्ट्री महासंघका उपाध्यक्ष टीकाराम पोखरेलले लेयर्स चल्ला उत्पादन गर्ने ह्याचरीको संख्या देशभरमा १४ बाट घटेर ७ वटामा झरेको जानकारी दिए । ७ वटा ह्याचरीले एक हप्तामा १ लाख ४० हजार जति लेयर्स चल्ला उत्पादन गर्ने गरेका छन् । पहिले २ लाख जति लेयर्स चल्ला एक हप्तामा उत्पादन हुने गरेको थियो ।

यस्तै, ब्रोइलर चल्ला उत्पादन गर्ने देशभरका ३४८ ह्याचरीमध्ये अहिले १२१ वटा मात्रै सञ्चालनमा छन् । बाँकी सबै बन्द भएका छन् । चितवनमा मात्रै ब्रोइलरका चल्ला उत्पादन गर्ने ह्याचरी ९५ बाट घटेर ३० वटामा पुगेका छन् ।

‘ह्याचरीले विगतको तुलनामा ५० प्रतिशतमात्रै उत्पादन गरिरहेका छन् । ब्रोइलरका चल्ला प्रतिहप्ता ३५ लाख उत्पादन हुने गरेका छन्,’ पोखरेल भन्छन्, ‘यस्तो संख्या पहिले ५५ लाखको हाराहारीमा हुने गर्दथ्यो ।’

नेपाल अण्डा उत्पादक संघका पूर्वअध्यक्ष त्रिलोचन कँडेलका अनुसार उत्पादन घटेर पोल्ट्री क्षेत्र नै तहसनहस हुने अवस्थामा पुगेको भन्दै आत्मनिर्भर उन्मूख व्यवसाय सबैले मिलेर बचाउनुपर्ने बताउँछन् ।

ब्रोइलर र लेयर्सको चल्ला उत्पादन गर्ने माउ (प्यारेन्ट) अधिकांश विदेशबाट ल्याउने गरिन्छ । कोभिडभन्दा अगाडि मासिक १ लाख ८० हजार हाराहारी प्यारेन्ट नेपाल आउने गरेकोमा अहिले करिब मासिक ६० हजार मात्रै आउने गरेको ह्याचरी उद्योग संघका पूर्व केन्द्रीय अध्यक्ष टीकाराम पोखरेलले बताए ।

प्यारेन्टबाट उत्पादित चल्ला समेत सबै बिक्री नभएपछि प्यारेन्ट ल्याउन नै कमी गरिएको उनले बताए । ‘पहिला २ लाख ५० हजार प्रतिहप्ता उत्पादन हुने लेयर्स चल्लाको उत्पादन अहिले हप्तामा करिब एक लाखको हाराहारीमा मात्रै हुने गरेको छ,’ उनले भने ।

देशभर ७४ वटा दाना उत्पादन गर्ने ठूला उद्योग छन् ।  कुखुरापालक नै घटेपछि दाना उद्योग पनि अधिकांश धरासायी बन्न थालेका छन् । साना क्षमताका उद्योग धमाधम बन्द हुने क्रममा छन् ।

पहिला देशभरका उद्योगमा ४५ सय टन दाना प्रतिदिन उत्पादन हुने गरेकोमा अहिले २५ सय टन दाना उत्पादन गर्ने गरेका छन् ।

मूल्य पाउँदा राहत महसुस

पोल्ट्री क्षेत्रमा उत्पादनसँग सम्वन्धित सूचकहरू नकारात्मक भए पनि अण्डा, चल्ला र मासुमा भने लागत अनुसारको रकम पाउन थालेकाले केही राहतको महसुस गर्न थालेको व्यवसायीहरू बताउँछन् । तर यसमा दिगोपनाको चिन्ता भने उत्तिकै छ ।

पछिल्लो एक महिनायता किसानहरुले अण्डाको मूल्य लागत अनुसार पाउन थालेको अण्डा उत्पादन गर्ने नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेल बताउँछन् ।

उनका अनुसार किसानले अहिले प्रतिअण्डा १८ रुपैयाँमा बेच्ने गरेका छन् । प्रतिअण्डाको लगात मूल्य १६.५७ पैसा पर्न आउँछ । पछिल्लो ७ वर्षसम्म लगातार लागतभन्दा कम मूल्यमा अण्डा बेच्दै आएका किसानहरुले साउन लागेपछि लागत अनुसारको रकम पाउन थालेका अध्यक्ष पोखरेलले बताए ।

‘बजारमा माग बढी र उत्पादन कम हुँदा लागत मूल्य बल्ल आएको छ, कतिपयले हामीलाई  कार्टेलिङ्ग गरेको भनेर आरोप लगाउँछन् तर यथार्थ यस्तो हैन, उत्पादन घटेकाले माग बढी देखिएको हो’ अध्यक्ष पोखरेलले भने, ‘किसान सकिँदै गएर उत्पादन कम भएपछि अहिलेको अवस्था आएको हो ।’ यो अवस्था अझै केही वर्ष रहे मात्रै अण्डा उत्पादन गर्ने किसानले राहत महसुस गर्ने उनको भनाइ छ ।

उत्पादनको संख्या घटे पनि व्यवसायीले अहिले लागत अनुसारको रकम चल्ला र मासुमा पाएका छन् । अहिले ब्रोइलरको कुखुरा मासुको प्रति केजी उत्पादन लागत २५० पर्नेमा बेच्दा किसानले २६० रुपैयाँ पाउने गरेका छन् । तयारी मासु भने प्रतिकेजी ४ सयदेखि ४५० सम्म पर्ने गरेको छ ।

यस्तै, ब्रोइलर चल्लाको लागत मूल्य प्रतिगोटा लागत ६० देखि ६५ रुपैयाँ पर्नेमा व्यवसायीहरुले ६५ देखि ७० रूपैयाँसम्ममा बेच्न थालेका छन् । लेयर्सको चल्लामा पनि लागत रकम पाउन थालेका छन् । लेयर्स चल्लाको लागत प्रतिगोटा १२५ रुपैयाँ पर्छ, बिक्री भने १३० रूपैयाँसम्म पर्ने गर्दछ ।

कुखुरालाई खुवाउने कच्चापदार्थको मूल्य, औषधि र भ्याक्सिनको मूल्य दोब्बरभन्दा पनि धेरै बढ्दा किसानको लागत पनि बढ्दै गएको छ । करिब ७० प्रतिशत कच्चा पदार्थ भारत लगायतका देशबाट ल्याउने गरिन्छ । सरकारले ९ प्रतिशत भन्सार लिन्छ । औषधिमा १० प्रतिशतसम्म भन्सार लिने गर्छ । भारतबाट आउने सामानमा लिइने भन्सारले यसै पनि लागत बढ्ने र भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न समस्या हुने गरेको व्यवसायीहरु बताउँछन् ।

रेशम–रञ्जिता विवादले नाउपा अस्थिर, तल्लो तहमा असन्तुष्टि

धनगढी, भदौ १२ गते । पार्टीभित्र देखिएको आन्तरिक विवादका कारण नागरिक उन्मुक्ति पार्टीका तल्लो स्तरका नेता, कार्यकर्तामा निराशा छाएको छ ।

दुई वर्षपछि हुने निर्वाचनका लागि स्थानीयस्तरमा माहोल बनाइरहेका उनीहरू पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीबिचको आरोप प्रत्यारोप र विवादले खिन्न भएका छन् । नाउपाबाट कैलारी गाउँपालिकाको अध्यक्षमा चुनावसमेत लड्नुभएका भीष्मराज चौधरीले उहाँ (रेशम चौधरी–रञ्जिता श्रेष्ठ) को सबै गतिविधि आफूहरूले हेरिरहेको बताउँदै उहाँहरू सुध्रिएर आएनन् भने त्यसमा नेता तथा कार्यकर्ताले विचार गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “उहाँहरू सुध्रिनुहुन्छ, हामीले त्यही अपेक्षा गरेका छौँ ।” दुवै नेताको विवादका कराण सुदूरपश्चिम प्रदेशमा पार्टीले मुख्यमन्त्री गुमाएको थियो । मन्त्रीहरू पनि उहाँहरूका कारण बर्खास्तमा परेको पनि गुनासो भइरहेको छ ।

अध्यक्ष श्रेष्ठलाई पदबाट हटाएर अर्को अध्यक्ष बनाउने प्रयासपछि नागरिक उन्मुक्ति पार्टीभित्र खैलाबैला मच्चिएको छ । केही दिनअगाडि मात्रै बहुसङ्ख्यक केन्द्रीय सदस्यको बैठकबाट संरक्षक चौधरीले श्रीमती श्रेष्ठलाई अध्यक्ष पदबाट हटाएर सांसद लालवीर चौधरीलाई पार्टी अध्यक्ष बनाउनुभएको थियो तर निर्वाचन आयोगले चौधरीलाई अध्यक्षको मान्यता नदिएपछि वैधानिक रूपमा श्रेष्ठ नै नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष रहनुभएको छ । यो प्रकरणले गर्दा नाउपाका संरक्षक चौधरी र अध्यक्ष श्रेष्ठबिचको विवाद अझ बढेको छ । उनीहरूको आन्तरिक विवादका कारण नागरिक उन्मुक्ति पार्टी नै छिन्नभिन्न बन्ने अवस्थामा पुगेको छ । नाउपाका नेता तथा कार्यकर्ताले पार्टी छाड्न थालेका छन् । रातदिन मेहनत गरेर बनाएको पार्टीभित्र शीर्ष नेतृत्वको विवादले निराश रहेको बताउँदै नेता भीष्मराज चौधरीले उहाँहरू सुध्रिनेमा आफूहरू आशावादी रहेको बताउनुभयो ।

पार्टीभित्र शीर्ष नेताबिचको आन्तरिक विवादका कारण पालिकास्तरका नेता, कार्यकर्ता तितरबितर नभए पनि उत्साह भने कम भएको नेता भीष्मको दाबी छ । उहाँले तल्लो तहमा सबै ठिकठाक रहे पनि माथिल्लो तहमा नेताहरूले गडबडी गरिरहेको स्पष्ट पार्नुभयो ।

थरुहट आन्दोलनको जगबाट उदाएको नागरिक उन्मुक्ति पार्टी २०७९ को निर्वाचनपछि सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा बलियो शक्तिका रूपमा उदाएको छ । थोरै मतले राष्ट्रिय पार्टी बन्नबाट चुकेको यो पार्टीप्रति थुप्रै जनताको सहानुभूति र आकर्षण देखिएको थियो तर पछिल्लो समय देखिएका घटना क्रमका कारण नागरिक उन्मुक्ति पार्टीको आलोचना बढेको छ ।

शीर्ष नेताको विवादले कार्यकर्ताको मनोबलमा असर परेको नागरिक उन्मुक्ति पार्टी कैलारी गाउँपालिकाका अध्यक्ष शङ्कर चौधरीले बताउनुभयो । “असर नपर्ने त कुरै भएन,” उहाँले भन्नुभयो, “तर, हामी रेशमवादप्रति एकढिक्का छौँ ।”

पार्टी संरक्षक रेशम चौधरीले उठाएको मुद्दालाई हेरेर कार्यकर्ता नागरिक उन्मुक्ति पार्टीमा आबद्ध भएको उल्लेख गर्दै चौधरीले अध्यक्ष श्रेष्ठको चर्तिकलाप्रति निर्वाचन क्षेत्रका पार्टी कार्यकर्ता असन्तुष्ट र दुःखी रहेको उल्लेख गर्नुभयो । “पार्टीको विधि, पद्धति, अनुशासन समिति छ,” उहाँले भन्नुभयो, “तर जसरी पार्टी अध्यक्ष ज्यूले चर्तिकला देखाइरहनुभएको छ, त्यसले हामीलाई दुःखी बनाएको छ ।”

भजनी नगरपालिका–३ का वडाध्यक्षसमेत रहनुभएका सो पार्टीका नेता विक्रम चौधरीले ठुला पार्टीले आफू बलियो हुनका लागि नागरिक उन्मुक्ति पार्टीलाई विभाजित गर्न खोजिरहेको जिकिर गर्नुभयो । नेता विक्रम चौधरीले नागरिक उन्मुक्ति पार्टीभित्रको विवाद श्रीमान्–श्रीमतीबिचको झगडा मात्रै रहेको भन्दै दुई जना मिले सबै कुरा मिल्ने दाबी गर्नुभयो । “श्रीमान्–श्रीमतीको झगडा परालको आगो जस्तै हो,” उहाँले भन्नुभयो, “उहाँहरू मिलेपछि सबै कुरा मिल्छ ।”

शीर्ष नेताबिचको विवादको असर ग्रामीणस्तरमा खासै नपरेको सुदूरपश्चिम प्रदेश सभा सदस्य कैलाश चौधरीको बुझाइ छ । उहाँले अरू जिल्लामा अलि असर परे पनि कैलालीमा पार्टीका कार्यकर्ता पार्टी र मुद्दामा अडिग रहेको दाबी गर्नुभयो । “माथिका नेताहरू दुई धारमा छन् तर ग्रास रुटका नेता, कार्यकर्ता, जनतामा दुई धार मैले पाएको छैन,” चौधरीले भन्नुभयो, “शीर्ष नेतृत्वले सही ढङ्गले नेतृत्व गरिदिओस् भन्ने उहाँहरूको चाहना छ ।”

डडेल्धुरामा जिप दुर्घटना, दुईको मृत्यु

पुष्कर भण्डारी
डडेल्धुरा, भदौ १२ गते । 
डडेल्धुराको दुर्गम क्षेत्र नवदुर्गा गाउँपालिका–५ को चौडमा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । प्रारम्भिक जानकारी अनुसार तीन–चार जनाको मृत्यु र तीन–चार जना यात्रु घाइते भएको अपुष्ट खबर स्थानीयबाट प्राप्त भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका ईन्सपेक्टर डम्बर बिष्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार बिहीबार बिहान करिब ८ बजे से १ज ७३८ नं. को जिप दुर्घटना भएको हो । ठाँटा बजारबाट जिल्ला सदरमुकाम आउँदै गरेका जिप सडकभन्दा करिब ५०० मिटर तल खसेको जानकारी प्राप्त भएको उहाँले बताउनुभयो ।

जिल्ला सदरमुकामबाट करिब४० किलोमिटर टाढां बैतडीको सिगास गाउँपालिकासँग सिमा जोडिएको चौडको कच्चि सडकमा जिप दुर्घटना भएको हो । दुर्घटनाको खबर पाएपछि करिब ८ः३० बजेको समयमा जिल्ला प्रहरी कार्यालय डडेल्धुरोको प्रहरी टोलीसहित एम्बुलेन्स घटनास्थल तर्फ गएको छ ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार घटनास्थल पुग्न करिक दुई घण्टा लाग्ने छ ।

घटनाबारे थप विवरण आउन बाँकी छ । दुर्घटना भएको जिप जङ्गलको बिच झाडीमा अडिएको उहाँले बताउनुभयो । प्रहरी घटनास्थल पुगेपछि विस्तृत जानकारी प्राप्त हुने उहाँको भनाइ छ ।

डिजिटल प्रतिस्पर्धाले तीज गीतको सौन्दर्य गुम्दै

लोकसाहित्यका विभिन्न विधामध्येको एउटा विधा लोकगीत हो भने लोकगीतका विभिन्न विधामध्येको एउटा विधा तीज गीत हो। तीज गीत भनेको हिन्दु धर्मावलम्बी महिलाहरूको एउटा मुख्य पर्व हरितालिका तीजको अवसरमा महिलाहरूले गाउने गीत हो। तीज गीत कहिलेदेखि गाउन थालियो भनेर ठ्याक्कै तिथिमिति यकिन छैन। तर यसको इतिहास धेरै लामो छ।

नेपालमा तीजपर्व लिच्छविकालमा पनि मनाउने गरेको विद्वानहरू बताउँछन्। ध्यान, ईश्वरीय प्रार्थना, भजनकीर्तन, पूजा–आराधना आदि परम्परा नै तीज गीतका पृष्ठभूमि देखिन्छन्। मूल रूपमा तीजपर्व पार्वतीको व्रतकथासँग जोडिएको छ। माता पार्वतीले शिव वर पाऊँ भनी लामो व्रत बसेकी र त्यसैबाट शिव वर पाएकी भन्ने हिन्दु शास्त्रहरूमा बताइएको छ। शास्त्रहरूमा अविवाहित महिलाले राम्रो वर पाउन र विवाहित महिलाले आफ्नो वरको सुस्वास्थ्य र दीर्घायुको कामना सहित निराहार व्रत बसी भगवान् शिवको पूजा–आराधना गर्नुपर्छ भन्नेछ। तीजपर्वमा गाइने गीतका मौलिकता भनेका महिलाहरूका सुख-दु:ख, हर्ष-विस्मात्, उकाली-ओराली, विजय-पराजय, मिलन-विछोड, आँसु-हाँसो, उन्नति-अवनति आदि नै हुन्।

समाज विकासक्रममा भाषा, संस्कार, संस्कृति, पर्व, गीत, रहनसहनहरूमा परिवर्तन भइरहन्छन्। कतिपय विषयहरू इतिहासमै सीमित हुन्छन् भने कतिपयले निरन्तरता पनि पाउँछन्। समाजका सामाजिक, सांस्कृतिक, धार्मिक आदि विषयहरू समाजकै प्रतिष्ठा, अस्तित्व, पहिचान र चिनारीसँग जोडिएका हुनाले तिनलाई जोगाउन समाज नै अत्यन्तै सचेत हुनुपर्छ। समाजको अस्तित्व समाप्त हुँदा राष्ट्रको अस्तित्व पनि समाप्त हुनसक्छ। समाजका हरेक नागरिकहरूले आफ्नो पहिचानको लागि आफ्ना पर्व, संस्कार, संस्कृति, भाषा, गीत आदिलाई जगेर्ना गर्नुपर्दछ र त्यो हरेक नागरिकको कर्तव्य पनि हो।

आज विज्ञान र प्रविधिको तीव्र विकासले विश्व भौगोलिक रूपमा एउटा सानो गाउँमा परिणत भएको छ। विश्वको प्रभाव नेपाली समाजमा पर्नु स्वाभाविकै पनि हो। तर, प्रभाव र आधुनिकता नाममा कतै आफैं नै सकिन लागेको त होइन भन्ने कुराप्रति निकै सचेत हुनुपर्ने देखिन्छ। आधुनिकताको नाममा नेपाली भाषा, संस्कार, संस्कृति, पर्व, गीत आदिमा विचलन आउन थालेको छ।

नयाँ र पुरानाका बीचमा द्वन्द्व चलिरहनु समाज विकासको स्वाभाविक प्रक्रिया हो। तर, नयाँका नाममा सामाजिक, सांस्कृतिक, भाषिक, धार्मिक विचलन निम्त्याउनु र अन्धभक्त नै हुनु स्वाभाविक होइन। सामाजिक संरचना जोगाउन केही अलिखित र परम्परित कानून बनेका हुन्छन्, तिनलाई पनि पालन गर्नुपर्छ। सामाजिक संरचनामा भाषा, संस्कार, रहनसहन आदि स्वाभाविकै तरिकाले आउँदै–जाँदै गर्छन्। कसैलाई चाहियो भनेर जबर्जस्त हस्तक्षेप गर्‍यो भने त्यसले सिङ्गो समाजलाई समाप्त पार्छ।

शास्त्रले भनेको छ भनेर श्राद्धमा बिरालो बाँध्नु पनि गलत हो र मृत्युपछिको पिण्ड बेकार हो भन्नु पनि गलत हो। आधुनिकता, अन्धभक्तता, लोकप्रियता, व्यावसायिकताका नाममा आफ्नो पहिचान र अस्तित्व नै समाप्त हुनसक्छन्। हुनत अहिलेको डिजिटल चामत्कारिक युगमा यस्तो बीच बाटोको यात्रा जटिल छ, तर यही जटिलतालाई नै चिर्दै आफ्नो अस्तित्व र पहिचान जोगाउनु नै सर्वोयुक्त विकल्प हो। कहिलेकाहीं आएका खहरे बाढीहरूप्रति सचेत र सजग हुन सकिएन भने सिङ्गो बस्ती नै सिध्याउन सक्छन्। खहरेले क्षणिक रूपमा मूल पनि फुटाउँछ र सिंचाइ पनि गर्छ तर सचेत भइएन भने संरचना नै ध्वस्त हुन सक्छ।

तीज गीत के आए आए, छाडा र उत्तेजक आए भनिरहँदा त्यसलाई रोक्ने पहल गरिनु समाजकै दायित्व पनि हो। पछिल्लो पुस्तालाई उनीहरूको रोजाइमा जीवन र समाजका गहिरा अर्थ बोकेका गीत गाउन प्रेरणा दिनुपर्ने देखिन्छ

अब यही सन्दर्भमा तीज गीतका कुरा गरौं। आजका तीज गीतका सवालमा धेरै प्रश्न उठिरहेका छन्। अहिलेका तीज गीतहरूमा मौलिकता र सौन्दर्य हराउँदै गएको देखिन्छ। तीज गीतका विषय भनेका महिला, भाव, भाषा, भाका, सङ्गीत, प्रस्तुति आदि हुन्। तर, आधुनिक युगको आगमन, पश्चिमको प्रभाव, लोकप्रियता र डिजिटल व्यावसायिकताका कारणले नेपाली गीत–सङ्गीतमा विचलन आएको देखिन्छ।

अहिलेको डिजिटल युगमा व्यावसायिक र लोकप्रियताको अस्वस्थकर प्रतिस्पर्धाले तीज गीतहरू भाका र भाव समेत नमिलेका रत्यौली, झ्याउरे, दोहोरी जस्ता बन्न पुगेका छन्। आधुनिकताको नाममा शब्द, सङ्गीत, भाका, भाव र प्रस्तुति नै बिग्रँदै गएका छन्। गीतमा समय अनुसार विषय नयाँ हुनसक्छन् तर भाव, लय र प्रस्तुति नै फरक पर्दा गीतका मौलिकता र सौन्दर्यता नै हराएका छन्। हिजो महिलाका सुख र दु:खका कहानी फरक थिए, आज फरक छन्। आजका महिलाले हिजोको विषयका घटना मन नपराउनु स्वाभाविकै होला। तर, आज पनि महिलाका थुप्रै नयाँ विषय, समस्या, व्यथा छन्।

समयले विषयमा परिवर्तन ल्याउन सक्ला तर मौलिकता, आस्था र विश्वासमा नै परिवर्तन गरिनु राम्रो होइन। तीज गीतमा तीज गीत नै चाहिन्छ। तीजको बेलामा गाउँदैमा ती तीज गीत हुन सक्दैनन्। तीज गीतमा भगवानका पुकार गर्नलाई समयले केही फरक पार्दैन। ईश्वर, देवता, धर्म हिजो पनि थिए, आज पनि छन्। महिलाका संवेदना वा कथाव्यथा हिजो पनि थिए, आज पनि छन्। हिजोका गीतमा अशिक्षा, बालविवाह,  बुहार्तन, बेरोजगार, घरभित्रकै जेल जीवन, मान्छे जन्माउने मेसिनरी जिन्दगी आदि थिए। आज ती कतिपय अझै छन् भने थप थुप्रै सामाजिक, राजनीतिक, आर्थिक विभेदका पीडा यथावत् नै छन्। तीज गीतका विषयहरू समानता, समता, चेतना, जागृति, स्वाभिमान आदि थुप्रै हुन सक्छन्।

आजको युगमा आउँदा दु:खका मात्र नभएर नारी सुख र खुशीका गीत गाउन पनि सकिन्छ। नारीका प्रगति र उन्नतिका गीतहरू बन्न सक्छन्। तीज गीतमा परम्परा र वर्तमान दुवैलाई समेट्नुपर्छ। जराको अस्तित्व विना हाँगाको कल्पना गर्न सकिंदैन। जराको महत्त्व नराखी हाँगा, पात, फल र फूलका पछाडि मात्र दौडियो र बाह्य आवरणको सौन्दर्यमा मात्र रमाउन खोजियो भने रूखले मलजल नपाई ढल्न सक्छ। यसै सन्दर्भमा एउटा अनुसन्धानमूलक आलेखमा माया घिमिरेले लेख्नुहुन्छ- लोकप्रिय संस्कृतिका रूपमा रून्तरित हुँदा समकालीन समयमा तीज पर्वका मौलिक खाना, नाना र गाना परिवर्तन भएका छन्। पूँजीवादी उपभोक्तावादी संस्कृतिका कारण तीजपर्व भड्किलो हुँदै गएको छ।

अहिले युट्युबमा अपलोड गरिएका केही तीज गीतमा त गीतको भाव, भाका र छनक नै छैनन्। शब्दमा तीजको महिलाको मर्म नै उनिएको छैन। गीतमा महिलाको वेदनाभन्दा पनि वेभाव, छाडा, पश्चिमी शैलीको नाच, प्रस्तुतिमा महिलाको अङ्ग प्रदर्शन, चर्का वाद्ययन्त्रको प्रयोग, हास्यरस, छाडा, उत्तेजक र द्विअर्थी शब्द आदि रहेका छन्। ती गीतमा मिठास नै छैन। भाइरल हुने दौडमा तीज गीत भनी गाइएका छन्। आधुनिकतासँगै तीजका मौलिक परम्परा, रीतिरिवाज, जीवनशैली र गीत–सङ्गीतहरू ओझेलमा पर्दै गएका देखिन्छन्। यद्यपि मौलिक, सौन्दर्यपूर्ण र भरिला गीत नगाइएका भन्ने होइनन्। कुनै ठूलो संरचनालाई धमिल्याउन र विषाक्त पार्न बिगार्ने वस्तुको मात्रा धेरै चाहिंदैन। आज पनि हरिदेवी कोइराला, लक्ष्मी न्यौपाने, बद्री पंगेनी, विष्णु माझी आदिका गीतहरूमा मौलिकता र समय सान्दर्भिक विषय र भावहरू पाइन्छन्।

गीतलाई जगेर्ना र पुस्तान्तरण गर्न अघिल्लो पुस्ता मौन बस्नुहुँदैन। बजारमा जस्ता गीत आउँदा पनि टीकाटिप्पणी नगर्ने, टुलुटुलु बसेर हेर्ने, सुन्ने अनि लाइक, कमेन्ट, सब्क्राइब र सेयर गर्नाले पनि गीतहरू भाइरल बनेका छन्। यस्ता गीत भाइरल हुँदा मौलिक गीत ओझेलमा पर्छन्। भाइरल भएका गीतमा रमाइलो मान्दा र हँसिमजाक गर्दा गीतको मौलिक अस्तित्व नै सकिन्छ। अघिल्लो पुस्ताले नयाँ पुस्तालाई गाउने र नाच्ने मात्र नभएर तीज गीतको विषय, भाव, सौन्दर्यका बारेमा जानकारी गराउनु र विकृतिप्रति आलोचना पनि गर्नुपर्छ।

तीज गीत के आए आए, छाडा र उत्तेजक आए भनिरहँदा त्यसलाई रोक्ने पहल गरिनु समाजकै दायित्व पनि हो। पछिल्लो पुस्तालाई उनीहरूको रोजाइमा जीवन र समाजका गहिरा अर्थ बोकेका गीत गाउन प्रेरणा दिनुपर्ने देखिन्छ। पछिल्लो पुस्ताले पनि नयाँका नाममा क्षणिक रमाइलोको लागि मौलिकता गुमाउनुहुँदैन। आजको एआईको युगमा भाका र भाव विनाका गीतलाई अर्को भाषामा उल्था गर्दा झन् गतिलो सन्देश जाँदैन। जस्तो कुनै एक पुरानो र नयाँ गीत तुलना गरौं।

आँगनकै डिल बसी काली कौवा करायो।

के कुमा समाचार ल्यायो बरिलै

एकुमा समाचार कागजीको चिर्कटो

दोसरोमा समाचार मलाई लिन आको।

यसपालिको तीजमा दिदी कुन कुन साडी पठाइदिम्।

आफैं लिन आम कि दिदी गाडी पठाइदिम्।

(बद्री पंगेनी, भाइले बोलायो)

यी माथिका दुई भिन्नभिन्न युगका गीत हुन्। गीतमा समयको अन्तरालका विषयवस्तु छन्। हिजो माइतीघर टाढा हुँदा कौवा आउँदा समाचार ल्याएको भन्ने अनुमान गर्नुपर्थ्यो भने आज दिदीबहिनीलाई फोन गरेर आफैं आउनुहुन्छ कि गाडी पठाइदिम् भन्नेसम्मको समय आएको छ। दोस्रो गीत आजको युगको विषयको गीत हो तापनि यसमा उत्कृष्ट मौलिकता र सौन्दर्य रहेको छ। त्यसैले नयाँ युग आयो भन्दैमा मौलिकताको अन्त्य हुँदैन। तीज गीतलाई मौलिकताले नै बचाउन सकिन्छ। क्षणिक रोमान्स, उत्तेजना, लोकप्रियता र प्रभावले गीतलाई मात्र नभएर आफू र सिङ्गो समाज नै समाप्त पार्छ। त्यसैले नेपालीपन जोगाऔं र यसैमा नै रमाऔं।

नेपालीपनमै हाम्रो अस्तित्व छ। अहिले पनि तीज गीतमा नेपाली महिलाहरूका अहिलेकै कथा–व्यथा समेट्न सकिन्छ। तीज गीतका मूल मर्म भनेका महिला, भाव र भाका नै हुन्। तीज गीतमा आन्तरिक र बाह्य दुवै सौन्दर्य हुनैपर्छ।