“कैलालीमा दसैँ टीकाको दिन १६ स्थानमा सवारी दुर्घटना, एक जनाको मृत्यु”

धनगढी, असोज २७ गते – दसैँ टीकाको दिन कैलालीमा १६ स्थानमा सवारी दुर्घटना भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरी तीव्र गतिमा सवारी साधन चलाउँदा धेरै दुर्घटना भएका हुन्।

प्रहरीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराका अनुसार दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन्। कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ कलुवापुरमा ३५ वर्षीय गोविन्द झुकालले चलाएको सुप प्र ०१००८ प ०८५ नम्बरको मोटरसाइकलले एक पैदल यात्रीलाई ठक्कर दिँदा घटनास्थलमा मृत्यु भएको हो। धनगढी उपमहानगरपालिका–१३ स्थित एयरपोर्ट जाने चोकनजिक ६४ वर्षीय पैदल यात्री अकबर ठगुन्नालाई ठक्कर दिएपछि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकलमा पछाडि बसेका तीन जना घाइते भएका छन्। जसमध्ये १२ वर्षीया जेनिसा झुकाल, ३२ वर्षीया बसन्ती विष्ट र उहाँकी २ वर्षीया छोरी शिवानी विष्टलाई सामान्य चोट लागेको छ।

यस्तै, गोदावरी नगरपालिका–१ मनेहरा पुलनजिक २५ वर्षीय सुमन चौधरीले चलाएको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा उहाँ घाइते हुनुभएको छ। उहाँको टाउको र छातीमा गम्भीर चोट लागेको छ र विसर्ग अस्पतालमा उपचार भइरहेको छ।

अर्को दुर्घटना धनगढी उपमहानगरपालिका–७ मा भएको हो। जहाँ २५ वर्षीय शिवलाल रानाले चलाएको मोटरसाइकलले छाडा गाईलाई ठक्कर दिँदा पछाडि सवार ३० वर्षीय जीवन राना घाइते भएका छन्। उहाँको अनुहारमा चोट लागेको छ।

यसैगरी, धनगढीतर्फ गइरहेको मोटरसाइकलले अटोलाई पछाडिबाट ठक्कर दिँदा तीन जना घाइते भएका छन्। घाइते हुनेहरूमा २३ वर्षीय विक्रम दहित, १७ वर्षीय विशेष चौधरी र ४० वर्षीय अटो चालक बहादुर महतारा छन्। उनीहरूको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ र अवस्था खतरामुक्त रहेको जनाइएको छ।

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

राष्ट्रिय समाचार समिति (रासस)
ईन्द्रा कुमारी केसी
घोडाघोडी (कैलाली),२४ असोज
कैलालीको घोडाघोडी नगरपालिका १ जनकपुरमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । सडकमा हिँडिरहेको अवस्थामा सुप प्र ०१०१० प १७४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ७८ वर्षीय मनीराम सापकोटाको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायव उपरीक्षक दीपेन्द्र कुमाल पालले जानकारी दिनु भयो ।

आज दिउसो ४ बजेतिर मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका सापकोटाको घोडाघोडी अस्पतालमा पुर्याए लगत्तै मृत घोषणा गरिएको थियो ।
मोटरसाइकल चालक घोडाघोडी नगरपालिका १ बेलारका २५ वर्षीय खडक रेग्मी प्रहरीको नियन्त्रणमा रहेको पालले जानकारी दिनु भयो ।

ग्रेट हिमालयन ट्रेल तल्लो खण्डको पदयात्रा सम्बन्धी वृत्तचित्र प्रदर्शन

ग्रेट हिमालयन ट्रेल तल्लो खण्डूको पदयात्रा सम्बन्धि बृत्तचित्र सनिबार बागबजार स्थित City max cinema हलमा प्रदर्शन गरिएको छ। त्रिभुवन बिश्वबिद्धालय ग्रामीण बिकास केन्द्रिय बिभागका उप(प्रा। डा। राजन बिनाएक पासा र धादिङ गल्छी गाउँपालिका ३ स्थित कल्लेरी मा बिका शिक्षक लिला बहादुर बिश्वकर्माले गत बर्ष कात्तिक १३ गते सुरु गरेर २७ जिल्ला ४१ दिनमा पार गरेका थिए।

छोटो समयमै यात्रा पार गर्न,पदयात्रा गर्न चाहाने पदयात्रीलाइ आकर्षित गर्न, सो रुटमा पर्ने स्थानियको जनजिविकाको अवस्था अध्ययन अनुसन्धान गर्न, सहज रुट पहिचान गर्न, साथै वृतचित्र निर्माण गरेर अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने उदेश्यले पदयात्रा गर्नुभएको थियो। वृतचित्र निर्माता राजन बिनाएक पासाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगर, विशेष अतिथी पर्वतारोही माया गुरुङ , ग्रामीण पर्यटनविद प्रा डा प्रेम शर्मा, म्याग्दी मालिका गाउँपालिका प्रमुख बेग प्रसाद गर्बुजा, पर्यटनविद भरत प्रशाद बडाल लगायत पर्यटन व्यावसायि तथा सामाजिक ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै उपसभामुख इन्दिरा राना मगरले शिक्षक पेशामा रहेर केही गरौ भन्ने हुटहुटीले गरेको महान पदयात्राको लागी प्रसम्शा गर्दै फेरि पनि यस्ता काम निरन्तरता दिन आग्रह गर्नुभएको थियो। पर्वतारोही माया गुरुङले राज्यले गर्नुपर्ने काम ब्याक्तीले आफ्नै खर्चमा गर्दा पनि राज्यले बेवास्ता गरेकोमा दुखेसो गर्दै राज्यले पर्यटनसंग संबंधित काम गर्दा पर्यटन बिज्ञसंग मिलेर काम गरे फलदायी हुने बिचार राख्नुभयो। प्रा डा प्रेम शर्माले २१ औ शताब्दीमा शिक्षण पेसा व्यावहारिक बनाउनु पर्ने वताउदै यस्ता वृत्तचित्रले नयापुस्तामा आकर्षण बढ्ने बताउनुभएको थियो। कार्यक्रममा पदयात्री लिला बहादुर बिस्वकर्माले पदयात्राको उदेश्यमाथी प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा बोल्दै पदयात्री तथा बृतचित्र निर्माता डा राजन बिनाएक पासाले सम्पुर्ण आतिथीलाइ मौसमको विषमता हुदाहुदैपनी आउनुभएका सम्पुर्ण दर्शक तथा अतिथीहरुलाइस्वागत तथा धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तै कामलाइ निरन्तरता दिने बताउनु भएको थियो। कार्यक्रमको सन्चालन दुर्गाराज पान्डेले गर्नुभएको थियो। यो साहसीक पदयात्रा सम्बन्धि वृतचित्र rajan binayek pasa Youtube Channel मार्फत हेर्न सकिन्छ .

घोडाघोडी हस्पिटलद्वारा सिकल सेल र ब्लड सुगरको निशुल्क जाँच कार्यक्रम

कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा रहेको घोडाघोडी हस्पिटलले सिकल सेल तथा ब्लड सुगर निशुल्क जाँच गर्ने भएको छ। बिजय दशमीको उपलक्ष्यमा २०८१ असोज १५ र १६ गते दुई दिनसम्म यो सेवा प्रदान गरिने हस्पिटलका अध्यक्ष चिरन जोशीले जानकारी दिनुभएको छ। जोशीका अनुसार, निशुल्क जाँचले सर्वसाधारणको स्वास्थ्यमा सजगताका लागि महत्त्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ । सिकल सेल तथा ब्लड सुगर जाँचको सुविधा निशुल्क उपलब्ध गराइने हुँदा धेरैले यस अवसरलाई सदुपयोग गर्न सक्ने आशा गरिएको छ।

थारु गीत सजन मोरले १०० मिलियन भ्युजको कीर्तिमान रच्यो

सुखड। कैलाली /थारु गीत संगीतको क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल भएको छ। विभिन्न बाधा र चुनौतीहरूको सामना गर्दै, दर्शकहरूले अत्यधिक रुचाएको थारु गीत सजन मोर युट्युबमा १०० मिलियन भ्युज पार गर्ने पहिलो थारु गीत बन्न सफल भएको छ। २०७८ साल कार्तिक १८ मा मल्टीफ्रेम स्टुडियोबाट सार्वजनिक गरिएको  गीतले थारु संगीतलाई नयाँ उचाइमा पु¥याएको छ।

सजन मोर गीतको गायनमा ए के चौधरी र अनु चौधरीले आफ्नो मधुर आवाज दिएका छन्। गीतको शब्द र संगीत कुमार चौधरी द्वारा गरिएको हो भने एरेन्जर गणेश चौधरी ले गरेका थिए। यस गीतमा नरेश चौधरी र मधु चौधरी को उत्कृष्ट अभिनय देख्न सकिन्छ भने सम्पादनको काम सोम चौधरीले गरेका थिए।

गीत २०८० सालको १० जेठमा प्राविधिक समस्याका कारण युट्युबबाट हटाइएको थियो। तर, प्राविधिक अवरोधहरूलाई पार गर्न गीतको टिमले दिनरात मेहनत गर्यो। लगत्तै एक महिना पछि, गीत पुनः युट्युबमा आएको थियो ।
सजन मोरले १०० मिलियन भ्युज प्राप्त गरेसँगै थारु गीत संगीतको इतिहासमा सर्बोउत्कृष्ट गीतको रूपमा स्थापित भएको छ। यस सफलताले अन्य थारु कलाकारहरूलाई थप प्रेरणा दिँदै, थारु संगीतको विकासलाई नयाँ दिशा दिएको छ।

https://youtu.be/qxx9fveG7ek

दशैं-तिहारका लागि सुदूरपश्चिममा ११ हजार प्रहरी परिचालन, सुरक्षा व्यवस्था कडा

१४ असोज, धनगढी । आसन्न दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी सुदूरपश्चिम प्रदेशमा ११ हजार प्रहरी परिचालन गरिने भएको छ। प्रदेश प्रहरी कार्यालय धनगढीले चाडपर्वलाई ध्यानमा राख्दै बनाएको सुरक्षा योजनाअनुसार सामान्य समयमा भन्दा ४ हजार बढी प्रहरी परिचालन गरिनेछ।

प्रहरी नायब महानिरीक्षक (डीआईजी) रवीन्द्र केसीका अनुसार चाडपर्वको समयमा हुनसक्ने सम्भावित सुरक्षा चुनौतीको विश्लेषण गरी थप प्रहरी परिचालन गरिएको छ। सामान्य समयमा ७ हजार प्रहरी परिचालन हुने गरे पनि चाडपर्वका लागि प्रदेशभरि ११ हजार प्रहरी परिचालन गरिने योजना छ।

डीआईजी केसीले प्रदेशका विभिन्न प्रहरी कार्यालय र सशस्त्र प्रहरी गणका थप ४ हजार प्रहरीलाई फिल्डमा खटाउने योजना बनाइएको बताए। ‘सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै हामीले थप प्रहरी परिचालन गरेका छौं,’ उनले भने।

सुदूरपश्चिम प्रदेशमा विगतका चाडपर्वका समयमा भएका अपराधिक गतिविधिहरूको विश्लेषण गर्दै यस वर्ष त्यस्ता गतिविधि हुन नदिन विशेष योजना बनाइएको छ। सीमा क्षेत्रमा चोरी, तस्करी, ठगी र लुटपाट जस्ता अपराध नियन्त्रण गर्न छुट्टै प्रहरी टोली खटाइनेछ।

सवारी दुर्घटना न्यूनीकरणका लागि चेकिङ्ग बढाइनेछ र जनचेतनामूलक सन्देशहरू प्रवाह गरिनेछन्। सीमा नाकाबाट फर्किने नेपालीहरूलाई कुनै प्रकारको हैरानी हुन नदिन थप निगरानी बढाइने पनि डीआईजी केसीले जानकारी दिए।

सबै जिल्लामा जिल्ला प्रहरी प्रमुखको नेतृत्वमा चाडपर्व लक्षित सुरक्षा योजना लागू हुनेछ। पिकेट, पैदल गस्ती, मोबाइल गस्ती, नेपाल प्रहरी र ट्राफिक प्रहरीले संयुक्त रूपमा चेकजाँच गर्ने कार्यलाई निरन्तरता दिइनेछ।

डीआईजी केसीका अनुसार, प्रदेशभरि ९९ कमाण्ड पोस्ट, २०६ जनाको रिजर्भ टोली, १६० जनाको स्ट्राइकिङ्ग टोली, ५५३ जनाको पिकेट, ५९९ जनाको पैदल गस्ती र २५० जनाको मोबाइल गस्ती परिचालन गरिनेछ। साथै, सीमा क्षेत्रमा २६५ जना र सादा पोशाकमा रहेका प्रहरी सुरक्षामा खटिनेछन्।

जुवा तास नियन्त्रणका लागि २५० जनाको छुट्टै टोली बनाइएको छ भने राजमार्ग क्षेत्रमा स्कटिङ्ग गर्नका लागि थप २५० जनाको टोली परिचालन गरिने योजना छ।

प्रदेश प्रहरी कार्यालयले शान्ति, सुरक्षा र सुव्यवस्थालाई मजबुत पारेर नागरिकहरूले ढुक्कसँग चाडपर्व मनाउन सकून् भनेर सबैलाई सहयोग गर्न अपिल गरेको छ।

डीआईजी केसीले भने, ‘हामीले यस वर्षको दशैं-तिहारमा कुनै अप्रिय घटना नहोस् भन्ने लक्ष्यसहित सुरक्षा व्यवस्था मजबुत गरेका छौं। प्रदेशबासीहरूलाई यो चाडपर्व उल्लासमय बनाउन आग्रह गर्दछौं। कुनै समस्या परेमा तत्काल प्रहरीलाई खबर गर्न सक्नुहुन्छ, हामी जिल्लादेखि प्रहरी चौकीसम्म तुरुन्तै रेस्पोन्स गर्नेछौं।’

प्रहरीले चाडपर्वका बेला जनचेतना अभिवृद्धि र कानुनी कारबाहीलाई पनि सशक्त बनाउने योजना बनाएको छ।

तिला कर्णाली सहकारीको १३ औँ वार्षिक साधारण सभा सम्पन्न,

सुखड, असोज १२। कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीमा अवस्थित तिला कर्णाली बचत तथा ऋण सहकारी संस्था लि.को १३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष रण बहादुर भण्डाराको सभाध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सांसद खुसीराम चौधरी ‘भिमसेन’ प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा वडा अध्यक्ष, वडा सदस्यहरू, सहकारी शाखाका प्रमुख हेमकान्त सुबेदी, विभिन्न सहकारी संस्थाका प्रतिनिधि, प्रहरी र सहकारीका शेयर सदस्यहरूको समेत उपस्थिति रहेको थियो ।

आर्थिक वर्ष २०८०÷८१ को १२ करोड ३२ लाख ६३ हजार ८ रुपैयाँ बराबरको आय–व्यय विवरण संस्थाका व्यवस्थापक लाल बहादुर भण्डारीले सभामा प्रस्तुत गर्नु भएको थियो । २०६८ साल फागुन ९ गते साडेपानी नयाँ बजारमा स्थापना भएको तिला कर्णालीले छोटो समयमा उल्लेखनीय प्रगति हासिल गरेको छ ।

आर्थिक रूपमा पछाडि परेका नागरिकहरूलाई सानो लगानीबाट उद्यमी बनाउन सहयोग पु¥याउने उद्देश्यले सञ्चालन भएको सहकारी १३ औँ वर्षमा प्रवेश गरेको छ । ३२ जनाको शेयरबाट सुरु भएको सहकारीमा हालसम्म ६ हजार १ सय २१ जना शेयर सदस्यहरू रहेका छन् । सहकारीले आर्थिक सम्पन्नताका लागि शेयर सदस्यहरूलाई व्यवसायमुखी बनाउने लक्ष्य लिएको छ ।

साधारण सभामा सहकारीले दैनिक बचत, बाल बचत, ऐच्छिक बचत, आवधिक बचत, सदस्य सुरक्षण, र सुपर सेभिङका उत्कृष्ट बचतकर्ताहरूलाई सम्मान गरेको थियो । कार्यक्रम घोडाघोडी बहुमुखी क्याम्पसको सभा हलमा सम्पन्न भएको थियो । तिला कर्णाली बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष भरत राज शर्माको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रमको सञ्चालन सचिव चक्र बहादुर विष्टले गरेका थिए।

 

भजनीमा आँखा शिविर सम्पन्न

राम नारायण चौधरी
भजनी, असोज १२। भजनी नगरपालिका र गेटा आँखा अस्पतालको आयोजनामा, नेपाल रेडक्रस सोसाइटी भजनी उपशाखा तथा भजनी उपशाखाअन्तर्गतका जुनियर रेडक्रस र युवा रेडक्रसका विद्यार्थीहरूको सहयोगमा आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ। भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालन गरिएको उक्त शिविरमा ८२६ जनाको आँखा परीक्षण गरिएको छ, जसमा ४८२ जना महिला र ३४४ जना पुरुष रहेका छन्।

शिविरमा ८८ जनाको आँखा शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ भने बाँकी २७ जनाको शल्यक्रिया भोलि बिहान गरिने जानकारी प्राप्त भएको छ।

यस प्रकारका शिविरहरूले स्थानीय बासिन्दालाई स्वास्थ्य सेवामा सहज पहुँच उपलब्ध गराउँदै आएको बताइएको छ। शिविरको सफलताका लागि नेपाल रेडक्रस सोसाइटीका स्वयम्सेवकहरूको सक्रिय सहयोग रहेको थियो।

बैतडीका ढणौँन गाउँमा सरकारी सेवाको अभाव: बस्ती सुनसान, स्थानीय जनतामा निराशा

बैतडी, असोज ११ गते। मेलौली नगरपालिकाका मेयर भीमबहादुर चन्द पानीको मुहान खोज्न ग्वाल्लेक संरक्षित वनको काखमा रहेको ढणौँन गाउँ पुग्दा कलकल बगिरहेको पानी भेट्नुभयो। तर, गाउँका आधाजति घरमा मानिसहरू देखिएनन्। दुई सय घरमध्ये अधिकांशमा ताला झुन्डिएका थिए। बस्तीमा बसाइँ सरेर छाडिएका घरको आँगनमा वनमारा उम्रिएका छन्। बिजुली बाल्न काठको पोलमा तार अड्याइएको देख्न सकिन्छ। वडामा आधारभूत स्वास्थ्य चौकीसमेत छैन। सामान्य औषधि सिटामोल लिनसमेत अर्को पालिका पुग्नुपर्छ। यो पीडा मेलौली नगरपालिका–३ अन्तर्गत ढणौँन, कुजगाड र बाघगोठ गाउँको हो।

मेलौली नगरपालिका–३ मा न आधारभूत स्वास्थ्य चौकी छ, न पठनपाठनका लागि विद्यालय। कक्षा ९ र १० का विद्यार्थीले माध्यमिक शिक्षा आर्जन गर्न दिनहुँ १० किलोमिटर पैदल हिँडेर विद्यालय जानुपर्छ। पानीको मुहान खोज्न आएका जनप्रतिनिधिहरूले पनि ग्वाल्लेक वन संरक्षणमा लागेका ढणौँनवासीलाई कुनै प्रोत्साहन गरेका छैनन्। प्रदेश सरकारले संरक्षित वन कार्यक्रम सञ्चालन गर्दा ढणौँनवासीलाई सहभागी नगराइएकोप्रति स्थानीय बासिन्दा वसन्त चन्दले गुनासो गर्नुभयो।

स्थानीय तहको पुनर्संरचनापछि सिंहदरबारको अधिकार गाउँमा आएको भनिए पनि मेलौली नगरपालिका–३ का बासिन्दाहरूले अहिलेसम्म कुनै सरकारी सेवा सुविधा नपाएको ७० वर्षीय गोल्मा चन्दले दुःखेसो पोख्नुभयो। छोराहरू रोजगारका लागि बाहिर गएका कारण गोल्मा चन्द घरमा एक्लै हुनुहुन्छ। गाउँका आधाभन्दा बढी मानिस बसाइँ सरेपछि गाउँ सुनसान भएको छ। वडाध्यक्ष गगनसिंह भाटका अनुसार पुनर्संरचनाअघि दुई सयभन्दा बढी घरधुरी भएका ढणौँन गाउँमा अहिले जनसङ्ख्या आधा घटेको छ।

साबिकको दुर्गास्थान गाविसका वडाहरू मिलाएर मेलौली नगरपालिका र दशरथचन्द नगरपालिकामा विभाजन गरिएको छ। तर मेलौली नगरपालिका–३ का बासिन्दाहरूले आधारभूत शिक्षा, स्वास्थ्य र यातायातका सेवाहरू अहिलेसम्म प्राप्त गर्न सकेका छैनन्। पुनर्संरचनामा भएको त्रुटि सच्याउन ढणौँनवासीहरूले २०७८ साल साउनमा ज्ञापनपत्र बुझाए पनि अहिलेसम्म सुनुवाइ भएको छैन।

गाउँको पुनर्संरचना गर्दा सामाजिक, सांस्कृतिक र आर्थिक पक्षलाई बेवास्ता गरिएकोले ढणौँनवासीले सास्ती पाइरहेको वसन्त चन्दको गुनासो छ। मेलौली नगरपालिकाको सेवा लिन गाडीमा १० हजार रुपैयाँ तिरेर मेलौली–१ को बैङ्क पुग्नुपर्ने बाध्यता छ। यसरी कठिनाइ झेल्न नसकेर आधाभन्दा बढी जनसङ्ख्या बसाइँ सरेको छ। केही गरिब परिवार मजदुरीका लागि भारत पसेका छन्।

साबिकको दुर्गास्थान स्वास्थ्य चौकी मेलौली नगरपालिका–२ मा गाभिएको छ। ढणौँनका विद्यार्थी कक्षा ५ वा ८ उत्तीर्ण गरेपछि उच्च शिक्षा आर्जन गर्न १० किलोमिटर टाढा प्रतिपुर मावि जान बाध्य छन्। प्रतिपुर मावि मेलौली नगरपालिका–१ को सिमानामा भए पनि यस विद्यालयमा ३ नम्बर वडाका विद्यार्थीलाई पहुँच छैन।

नगर प्रमुख भीमबहादुर चन्दले पुनर्संरचनामा कमजोरी भएको स्वीकार गर्दै ३ नम्बर वडामा सीमा हेरफेर आवश्यक भएको बताउनुभयो। उहाँका अनुसार, २ नम्बर वडामा दुईवटा स्वास्थ्य चौकी छन्, तर दुर्गास्थानका साबिकका ६ र ७ नम्बर वडालाई दशरथचन्द नगरपालिकामा गाभिएकाले अहिलेको ३ नम्बर वडा स्वास्थ्य सेवाबाट वञ्चित भएको छ।

सिगास र पुर्चौडीका स्थानीयलाई एक दिनको पैदल यात्रा

सिगास गाउँपालिका–१ र पुर्चौडी नगरपालिका–१० का स्थानीयले पुनर्संरचनापछि गाउँ तथा नगरपालिकाबाट सेवा लिन एक दिन पैदल हिँड्नुपर्ने बाध्यता छ। जयपृथ्वी लोकमार्गसँग जोडिएको सिगास गाउँपालिका–१ का वडाध्यक्ष रामचन्द्र ऐरीका अनुसार, वडाबाट गाउँपालिकासम्म सडक सुविधा नहुँदा स्थानीयले पैदल हिँड्नुपरेको छ। पुर्चौडी नगरपालिका–१० का स्थानीयहरूले पनि सेवा लिन एक दिन पैदल यात्रा गर्नुपर्ने अवस्था रहेको छ।

भोकाधिकारको समस्या: घोडाघोडी नगरअस्पतालको निर्माण कार्य ठप्प

घोडाघोडी (कैलाली), असोज १० गते। २०७७ सालमा तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ शिलान्यास गरिएको घोडाघोडी नगरअस्पताल भोकाधिकारका समस्याका कारण अझै निर्माणको काम अघि बढ्न सकेको छैन।

कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर २ साँडेपानीमा २०७७ मङ्सिर १५ गते तत्कालीन प्रतिनिधिसभा सदस्य तथा पूर्व कृषि मन्त्री गौरीशङ्कर चौधरीले अस्पतालको शिलान्यास गर्नुभएको थियो। ७५३ वटै पालिकामा अस्पताल निर्माण गर्ने सरकारी नीति अनुसार यो काम सुरु भए पनि घोडाघोडी नगरअस्पतालको निर्माण जगमै अड्किएको छ।

छिमेकी पालिकाहरू बर्दगोरिया र लम्कीचुहा अस्पताल निर्माणले पूर्णता पाइसकेका छन्, तर एउटै समयमा सुरु भएको घोडाघोडी नगरअस्पतालको काम भने प्रगति हुन सकेको छैन। घोडाघोडी नगरपालिकाको योजना शाखाका प्राविधिक किशोर भट्टका अनुसार सुरुको वर्षमा आएको एक करोड बजेटले जगको काम सम्पन्न भए पनि डीपीआर र भोकाधिकारका समस्याका कारण थप बजेट नआएको हो।

नेपाल सरकारको स्वास्थ्य मन्त्रालयअन्तर्गतका अस्पतालहरूका लागि नेपाल हेल्थ सेक्टर सपोर्ट कार्यक्रममार्फत विशेषज्ञहरूको सहयोगमा घोडाघोडी नगरअस्पतालको डिजाइन र कागजातहरू तयार पार्ने काम भएको थियो। तर, विशेषज्ञ जुम गुरुङका अनुसार अस्पतालको जग्गा र भवनको डिजाइन अधुरो रहेको छ।

नगर प्रमुख खडकबहादुर रावतले अस्पताल निर्माणका लागि ऐलानी रहेको करिब चार विगाह क्षेत्रफलको जग्गाको भोकाधिकार प्रक्रिया पूरा गरी फाइल संघीय मन्त्रालयमा पठाइसकेको र आधिकारिकता प्राप्त भएपछि निर्माण अघि बढ्ने बताउनुभयो।

कुल १८ करोड लगानीमा १५ शय्याको दुईवटा भवन निर्माण गर्ने योजना थियो। पहिलो भवनका लागि नौ करोड ५३ लाखमा ठेक्का दिइएको थियो, तर बजेट अभावका कारण निर्माण रोकिएको छ। घोडाघोडी स्वास्थ्य शाखा प्रमुख कैलाशकुमार रावतले ठेकेदारले ८० लाख पेस्की लगेको तर काम नगरेको बताए। उनका अनुसार काम भए मात्र थप बजेट प्राप्त हुने थियो, तर काम नभएका कारण बजेट रोकिएको हो।

हाल निर्माणाधीन अस्पतालसँगै रहेको पुरानो स्वास्थ्य चौकीको भवनबाट सेवा प्रवाह भइरहेको छ। तीनजना चिकित्सकसहितका स्वास्थ्यकर्मीहरूले साँगुरो ठाउँबाट सेवा दिइरहेका छन्। असोज १ गतेदेखि अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रमसमेत लागू भएको छ। अस्पताल प्रमुख डा. हेमनाथ आचार्यले संरचनागत अभाव हुँदासमेत बिरामीलाई गुणस्तरीय सेवा दिइरहेको बताउनुभयो।

सुदूरपश्चिमका १० स्थानीय तहमा कृषि र पशु ल्याबसहितका एकीकृत भवन निर्माण

असोज ३ गते, धनगढी। सुदूरपश्चिम प्रदेशका १० वटा स्थानीय तहमा कृषि तथा पशु ल्याबसहितका एकीकृत भवन निर्माण सम्पन्न भएका छन्। यी भवनहरू स्थानीय तहका कृषि तथा पशु सेवा केन्द्रलाई हस्तान्तरण गर्ने तयारी भइरहेको छ।

ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना कोरिडोर कार्यालय डडेलधुराका प्रमुख डा. उत्तम आचार्यका अनुसार, डडेलधुराका चार, कैलाली र दार्चुलाका दुई/दुई, तथा बैतडी र डोटीका एक/एक पालिकामा यी भवनहरू निर्माण गरिएका हुन्। डडेलधुराको आलीताल, गन्यापधुरा, अजयमेरु, नवदुर्गा गाउँपालिका, बैतडीको पाटन नगरपालिका, दार्चुलाको शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका, कैलालीको गोदावरी र चुरे गाउँपालिका, तथा डोटीको जोरायल गाउँपालिकामा एकीकृत कृषि तथा पशु सेवा कार्यालय भवन निर्माण सम्पन्न भएको जानकारी दिनुभयो।

डा. आचार्यले सोमबार आयोजित ‘कार्यक्रम सार्वजनिकीकरण’ कार्यक्रममा असोज मसान्तसम्म भवनहरू सम्बन्धित पालिकालाई हस्तान्तरण गरिने बताउनुभयो। उहाँले दशैँतिहारको बिचमा यी भवनहरू हस्तान्तरण गरिने योजना रहेको बताउँदै, भवनमा कृषि तथा पशु ल्याबसहितको सुविधा रहने जानकारी दिनुभयो।

हाल पालिकाका कृषि तथा पशु शाखाहरू एक कोठामा मात्रै सीमित छन्, जसले कार्यालयका काम मात्र सञ्चालन गरे पनि किसानका लागि आवश्यक सेवा प्रभावकारी रूपमा दिन सकेका छैनन्। ल्याबसहितको एकीकृत भवनले यस समस्या समाधान गर्न मद्दत पुर्‍याउने अपेक्षा गरिएको छ।

ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना अन्तर्गत, विश्व बैंक र नेपाल सरकारबीच २०७७ पुस ६ गते सम्झौता भएको थियो। यस आयोजनाले सुदूरपश्चिम प्रदेशका पाँच जिल्लाका १७ वटा स्थानीय तहहरूमा ग्रामीण उद्यम र आर्थिक विकासलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।

आयोजनाको लागि आर्थिक वर्ष २०८१/८२ मा ३५ करोड ८४ लाख ४८ हजार रुपैयाँ बजेट छुट्याइएको छ। रिडसँग सम्झौता भएका ३० वटा उत्पादक संस्थामा २४ कृषक समूह र ६ सहकारी संस्था रहेका छन्। यस आयोजनामा १५ जनाको कृषक समूहले कार्ययोजनासहित लगानी गरेपछि ५० प्रतिशत अनुदान उपलब्ध गराइन्छ, तर गरिब किसानले यसबाट लाभ लिन नसकेको देखिएको छ।

प्रदेशलाई अधिकार प्रत्यायोजन भए मात्र सरकार बलियो बन्छ: मुख्यमन्त्री शाह

धनगढी, असोज ३ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सङ्घीय सरकारले प्रदेशको अधिकार प्रत्यायोजन गरे मात्र प्रदेश सरकार बलियो हुने बताउनुभएको छ। संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिका संयोजक समेत रहनुभएका मुख्यमन्त्री शाहले बिहीबार धनगढीमा आयोजित कार्यक्रममा आफ्नो विचार राख्नुभएको थियो।

उहाँले केन्द्रीकृत मानसिकताका कारण प्रदेशलाई अपेक्षित अधिकार प्राप्त नभएको गुनासो गर्नुभयो। “सङ्घीय सरकारले प्रदेशका अधिकार पूर्णरूपमा प्रत्यायोजन नगर्दासम्म जनताको अपेक्षाअनुसार काम गर्न कठिन हुन्छ,” उहाँले भन्नुभयो।

मुख्यमन्त्री शाहले सङ्घात्मक शासन प्रणालीलाई संविधानको महत्त्वपूर्ण उपलब्धि भन्दै, यसले साझा शासन र स्वशासनको उचित तालमेल मिलाउने दाबी गर्नुभयो। उहाँले सहकारिता, सहअस्तित्व, र समन्वयको सिद्धान्तमा आधारित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको दिगो व्यवस्थापनका लागि संविधानले मार्गदर्शन गरेको र यसका लागि सबै पक्षको योगदान आवश्यक रहेको बताउनुभयो।

सङ्घीयताको कार्यान्वयनमा सकारात्मक प्रयासहरू भइरहे पनि नागरिकको अपेक्षालाई ठोस रूपमा सम्बोधन गर्न नसकिएको उहाँले स्वीकार गर्नुभयो। साथै, उहाँले सुदूरपश्चिमका जनताका विकास आकांक्षालाई पूरा गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको प्रतिवद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री हिरासिंह पार्कीले स्वागत मन्तव्य दिनुभएको थियो भने, प्रदेश प्रमुख नजिर मियाँ, सभामुख भीमबहादुर भण्डारी, पूर्व मुख्यमन्त्रीहरू, मन्त्रीहरू, प्रदेशसभा सदस्यहरू, सुरक्षा अधिकारीहरू, र निजामती कर्मचारीहरूको उपस्थिति रहेको थियो।