विरहुवा सामुदायिक वनबाट घोडाघोडी–७ वडा कार्यालयलाई सहयोग

कैलाली, घोडाघोडी ।
जेन जि आन्दोलनका क्रममा आगजनी भएर सामग्री नष्ट भएको घोडाघोडी नगरपालिका–७ नं वडा कार्यालयलाई सामुदायिक सहयोग प्राप्त भएको छ। वडा कार्यालयलाई श्री विरहुवा सामुदायिक वन उपभोक्ता समूह करैचाले १२ वटा प्लास्टिकका कुर्सी हस्तान्तरण गरेको हो।

समूहका पदाधिकारी तथा उपभोक्ताहरुले वडाको तत्कालीन आवश्यकता बुझी सामुदायिक उत्तरदायित्वस्वरूप सहयोग गरेको जनाइएको छ।

वडा नं ७ का वडाध्यक्ष जुगराम चौधरीले सामुदायिक वन उपभोक्ता समूहप्रति आभार व्यक्त गर्दै यस्तो सहयोगले वडा कार्यालयको नियमित सेवा सञ्चालनमा सहज हुने बताए।

बर्दियामा तीन किलो ९९० ग्राम सालकको खपटासहित एक जना पक्राउ

गुलरिया (बर्दिया), असोज १० – बर्दियामा तीन किलो ९९० ग्राम तामे सालकको खपटा सहित एक व्यक्ति पक्राउ परेका छन्। गुलरिया नगरपालिका–५ बालापुरका ४७ वर्षीय किशोरीलाल थारूलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरी टोलीले उनको घरमा छापा मारेर पक्राउ गरेको हो।

थारूको घरमा लुकाइ राखिएको सालकको खपटा बरामद भएपछि उनलाई नियन्त्रणमा लिइ आवश्यक प्रक्रिया पूरा गरी डिभिजन वन कार्यालय बर्दियामा बुझाइएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बर्दियाका नायव उपरीक्षक (डीएसपी) देवेन्द्रकुमार मल्लका अनुसार बरामद गरिएको खपटा तामे सालकको रहेको पुष्टी भएको छ।

नेपालमा पाइने तामे सालकलाई सङ्कटापन्न प्रजातिमा र कालो सालकलाई अति सङ्कटापन्न प्रजातिको सूचीमा राखिएको छ। यस्ता सालक तथा खपटाको अवैध कारोबार अन्तर्राष्ट्रिय बजारमा हुने गरेको छ। वन्यजन्तुको संरक्षणका लागि नेपालमा सालकको खपटा राख्न, ओसारपसार गर्न वा किनबेच गर्न कानूनले निषेध गरेको छ।

दुई सय ९३ कैदीबन्दी कैलाली कारागार फर्के

धनगढी, असोज ६ गते । कैलाली कारागारबाट फरार भएका २९३ कैदीबन्दी कारागार फर्केका छन् । जेनजी आन्दोलनको क्रममा भदौ २४ गते भागेका उनीहरु फर्कने क्रम जारी रहेको कारागार प्रशासनले जानकारी दिएको छ ।

धेरैजसो कैदीबन्दी आफैँ फर्केर आएको र केहीलाई प्रहरीले पक्राउ गरेर बुझाएको जेलर चिरञ्जीवी सापकोटाले जानकारी दिनुभयो । थप अरु कैदीबन्दी पनि सम्पर्क आइसकेको उहाँको भनाइ छ ।

सापकोटाका अनुसार ३३ महिलासहित २९३ कैदीबन्दी कारागार फर्किसकेका छन् । फर्केकामध्ये तीन जना कैद भुक्तान गरेर छुटेका छन् । बाँकी रहेको २९० जनामध्ये दुई जनाको अस्पतालमा उपचार भइरहेको जेलर सापकोटाले बताउनुभयो ।

जेनजी आन्दोलनको क्रममा कारागारबाट ६६० जना कैदीबन्दी दिउँसो र बाँकी रहेकामध्ये छ जना राति फरार भएका थिए । कारागारमा रहेका ६६७ मध्ये एक जना कैदीबन्दी मात्रै नभागेको कारागार प्रशासनले जानकारी दिएको छ । भागेकामध्ये १७ भारतीयसहित ३७३ कैदीबन्दी अझै फरार रहेका जनाइएको छ ।

कैलालीमा ५६ लाखभन्दा बढी मूल्यबराबरको भन्सार छलीका सामान बरामद

कैलाली —  कैलालीका विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद गरिएको छ ।  धनगढी उपमहानगरपालिका–४ र टीकापुर नगरपालिका–९ भैयावाडास्थित नहर नजिक भारतबाट अवैध रूपमा भित्र्याइएका ५६ लाखको ८३ हजार ५६० बराबरको सामान बरामद गरिएको हो।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलाली मातहतको संयुक्त टोलीले बुधबार गस्तीका क्रममा बेवारिसे अवस्थामा रहेका ती सामान फेला पारेको हो ।

बरामद गरिएका सामानमा मोबाइल, स्मार्ट घडी, एयरफोन, पावर ब्यांक, पेन ड्राइभलगायतका सामग्री रहेका छन्।

टीकापुरका एक युवक खैरो हिरोइनसहित पक्राउ

धनगढीः कैलालीको टीकापुरका एक युवक खैरो हिरोइनसहित पक्राउ परेका छन्।

जेनजी आन्दोलनमा फरार भएका ११८ कैदीबन्दी कैलाली कारागारमा फर्किए

धनगढी, भदौ ३० गते । जेनजी पुस्ताको आन्दोलनका क्रममा कैलाली कारागारबाट फरार भएका ११८ कैदीबन्दी कारागारमा फर्किएका छन् ।

१५ महिलासहित ११८ कैदीबन्दी फर्किएको कारागार प्रशासनले जानकारी दिएको छ । भदौ २४ गते कारागारबाट ६६६ कैदीबन्दी फरार भएका थिए । उनीहरूमध्ये धेरै जसो आफैँ फर्केको र केहीलाई प्रहरीले पक्राउ गरेर ल्याएको जेलर चिरञ्जीवी सापकोटाले जानकारी दिनुभयो ।

कारागार प्रशासनले सार्वजनिक सूचना प्रकाशित गरेर फरार कैदीबन्दीलाई फर्कन आह्वान गरेको छ । यसै गरी प्रहरीले पनि फरार कैदीबन्दीको सूची तयार पारेर खोजी कार्य सुरु गरेको कारागार प्रशासनले जानकारी दिएको छ ।

“टीकापुरलगायतका क्षेत्रबाट प्रहरीले केही कैदीलाई पक्राउ गरेर बुझाएको छ,” सापकोटाले भन्नुभयो, “फरार अरूको पनि सूची तयार पारेर प्रहरीले खोजी कार्य गरिरहेको छ ।” कैलाली कारागारमा रहेका ६६७ मध्ये एक जनाबाहेक सबै कैदीबन्दी भागेका थिए । जसमध्ये केही भारतीय नागरिक पनि रहेका छन् । भागेको भोलिपल्ट नै केही कैदी फर्कने भन्दै कारागारको सम्पर्कमा आएका थिए । कैदीबन्दी फरार भएपछि कारागार सरसफाइ गर्नुका साथै पर्खाल मर्मतको कार्य गरिएको जनाइएको छ । साउन २३ गते राति ब्लक ‘ए’ का कैदीले पर्खाल भत्काएर ब्लक ‘बी’ मा रहेका कैदीमाथि आक्रमण गरेका थिए । विक्रम संवत् १९९७ मा बनेको कैलाली कारागारको अवस्था जीर्ण छ । विभिन्न अपराध गरेका कैदीबन्दी फरार भएपछि सर्वसाधारण त्रसित छन् ।

जेनजी आन्दोलनमा कैलालीका १०८ सरकारी कार्यालय र ६०० सवारीसाधन जलाइए

२९ भदौ, धनगढी । २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा कैलालीमा सरकारी संरचनाहरु ध्वस्त पारिएका छन् ।

प्रदेशको अस्थायी राजधानी समेत रहेको धनगढीमा रहेका नेपाल टेलिकम, विद्युत, स्वास्थ्य कार्यालय, सेती प्रादेशिक अस्पताल, धनगढी उपमहानगरपालिका र नेपाल प्रहरीको बाहेक सबैजसो कार्यालयमा प्रदर्शनकारीले आगजनी र तोडफोड गरेका थिए ।

ती बाहेकका प्रायजसो सबै सरकारी कार्यालयका भवनमा आगजनी गरिएको छ भने सवारी साधन समेत जलाइएका छन् । धनगढी मात्र नभएर अत्तरिया, घोडाघोडी, लम्कीचुहा, टीकापुरलगायतका ठाउँमा रहेका सरकारी संरचनामा समेत क्षति पुगेको छ ।

जिल्ला प्रशासन कार्यालयले गरेको प्रारम्भिक अध्ययनअनुसार जिल्लाभर १०८ सरकारी कार्यालय भवनमा आगजनी, तोडफोड र लुटपाट गरिएको छ भने दुई र चार पाङ्ग्रे गरेर ६०० वटा सवारीसाधन समेत जलाइएको छ ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशीले प्रारम्भिक विवरणअनुसार १०८ सरकारी कार्यालय भवन, १०० वटा चार पाङ्ग्रे गाडी र ५०० जति मोटरसाइकल आगजनीले नष्ट भएको पाइएको बताए ।

कार्यालयहरुले उपलब्ध गराएको प्रारम्भिक विवरण हेर्दा जेनजी आन्दोलनका दिन जिल्लामा सरकारी संचरनामा ठूलो क्षति भएको बताउदै जोशीले तथ्यांक तलमाथि हुनसक्ने बताए । उनकाअनुसार ८/९ पार्टी कार्यालय र नेताका निजी घर समेत जलाइएका छन् । क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ ।

प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालयमा समेत आगजनी गरेपछि सेवा प्रवाह ठप्प भएको छ । शनिबार सरसफाइ गरेको प्रशासनले आइतबारदेखि टेन्ट गाडेरै भए पनि अत्यावश्यक सेवा प्रदान गर्ने तयारी गरेको छ ।

आगजनीपछि कैलाली जिल्ला अदालत, मालपोत, नापी कार्यालय र प्रदेश सरकार अन्तर्गतका प्राय: सबै निकायको कामकाज रोकिएका छन् । अवस्था समान्य बन्दै जान थालेपछि यी कार्यालयहरुले समेत सेवा प्रवाहका लागि वैकल्पिक उपायको खोजी गर्न थालेका छन् ।

कञ्चनपुरमा निषेधाज्ञाबीच पनि यातायात सञ्चालन, यात्रुबाट मनलाग्दी भाडा असुलिएको गुनासो

भवानीदत्त भट्ट

कञ्चनपुर, भदौ २८ गते । कञ्चनपुरमा निषेधाज्ञा जारी भए पनि यातायातका साधन भने सञ्चालनमा आएका छन् । यहाँस्थित यातायात व्यवसायीहरूले निषेधाज्ञाबिच शनिबार बिहानदेखि यातायातका साधन सञ्चालनमा ल्याएका हुन् ।

महेन्द्रनगर बसपार्कमा रहेको टिकट काउन्टर भने बन्द नै रहेको छ । काउन्टर नखुले पनि साना तथा ठुला सवारी साधनहरू सञ्चालनमा ल्याइएको यहाँका व्यवसायीहरूले बताएका छन् । लगातार तीन दिन यातायात ठप्प हुँदा जिल्लामा यात्रुहरू अलपत्र परेकाले सवारी साधन सञ्चालन गर्नुपरेको उहाँहरूको भनाइ छ ।

यात्रुहरूको मागअनुसार यातायातका साधन सञ्चालनमा ल्याइएको बस व्यवसायीका पदाधिकारीहरूको भनाइ छ । महाकाली यातायात व्यवसायी सङ्घका अध्यक्ष डम्बर पन्तले जिल्लामा केही मात्रामा यातायातका साधनहरू सञ्चालनमा आएको बताउनुभयो । प्रशासनले निषेधाज्ञा जारी गरे पनि यहाँका बस व्यवसायी, ट्याम्पो व्यवसायी, अटो व्यवसायीहरूले सवारी साधन सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो ।

काउन्टर नखुल्दा यातायात व्यवसायीहरूले मनलाग्दी भाडा असुलिरहेको यात्रुको गुनासो छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले शनिबार साँझ ७ बजेसम्म जिल्लामा निषेधाज्ञा जारी रहेको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले देशमा विद्यमान परिस्थितिको आँकलन गरी शनिबार साँझसम्म निषेधाज्ञा जारी रहेको बताउनुभयो । यसबिचमा यातायात सञ्चालनमा ल्याउन नहुने प्रमुख जिल्ला अधिकारी ढकालले बताउनुभयो ।  सञ्चालनमा आएका यातायातले घरबाट अथवा टिकट काटेर नै यात्रुहरूलाई नबोलाउन उहाँले आग्रह गर्नुभएको छ ।

काठमाडौंमा जेन जी आन्दोलनः ५१ जनाको मृत्यु, ३६ शव त्रिवि शिक्षण अस्पतालमा

काठमाडौं– नेपाल प्रहरीले जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

जसमा ३ प्रहरी, १ भारतीय नागरिक र अन्य नेपाली नगारिक रहेका प्रहरी सहप्रवक्ता रमेश थापाले बताए ।

मृतक मध्ये ३६ जनाको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा रहेको छ । महाराजगञ्जमा रहेकाहरुको पोर्टमार्टम शुक्रबारबाट सुरु भएको छ ।

काठमाडौं उपत्यकामा अन्य अस्पतालमा पनि शवहरु रहेको हुनसक्ने अनुमान छ ।

कञ्चनपुर उच्च जोखिम क्षेत्र : अवैध नाका र गरिबीका कारण मानव बेचबिखन घटना बढ्दो

कञ्चनपुर,  भदौ २१ गते ।  मानव बेचबिखन तथा ओसारपसारका दृिष्टकोणले कञ्चनपुर जिल्ला उच्च जोखिम क्षेत्रका रूपमा रहेको छ ।

जिल्ला भएर भारत आवतजावत गर्ने मुख्य नाका गड्डाचौकी भए पनि अन्य क्षेत्रमा खुला सीमाका कारण अवैध नाकाहरू विद्यमान रहेका छन् । अवैध नाकाहरू मानव बेचबिखनको प्रमुख चुनौतीका रूपमा देखा परेको माइती नेपालका कञ्चनपुर संयोजक महेश्वरी भट्टले बताउनुभयो ।

उहाँका अनुसार पछिल्लो समयमा जिल्लामा सीमा नाका प्रयोग गरी बालबालिका, किशोरी, तथा महिलालाई भारत, खाडीमुलुक र अन्य देशतर्फ बेचबिखन हुने घटनाहरू बढ्दै गएका छन् । मानव बेचबिखनका घटनाहरू बढ्दै जानुमा गरिबी, बेरोजगारी, अशिक्षा, लैङ्गिक असमानता, घरेलु हिंसा र सामाजिक कुरीतिहरू मूल कारणका रूपमा रहेको संयोजक भट्टले बताउनुभयो ।

खुला सीमा, प्रविधिमैत्री निगरानीको अभाव, स्रोतसाधन र जनशक्तिको कमी, उजुरी दिन डराउने पीडित तथा परिवार, मुद्दा प्रक्रियामा ढिलाइ र सीमापार गराउन आफन्त वा परिवारकै संलग्नता रहने गरेको उहाँले उल्लेख गर्नुभयो ।

“मानव बेचबिखन नियन्त्रण सबैको साझा जिम्मेवारी हो”, संयोजक भट्टले भन्नुभयो, “यसलाई रोक्न सचेतना, समन्वय र सहकार्यनै मुख्य आधार हो ।” मानव बेचबिखनको स्वरूप समयसँगै बदलिँदै गएको उल्लेख गर्नु हुदै उहाँले वैदेशिक रोजगारी, विवाहको प्रलोभन, पर्यटनका नाममा, तथा प्रविधि प्रयोग गरेर हुने ‘साइबर ट्राफिकिङ’का घटना बढिरहेको बताउनुभयो ।

“यस्ता गतिविधिमा अन्तरराष्ट्रिय अपराध सञ्जाल सक्रिय रहँदै आएको छ”, उहाँले भन्नुभयो, “यसरी बेचबिखनमा परेकालाई अङ्ग बेच्ने, बालश्रममा लगाउने, यौन शोषण गर्ने वा जबर्जस्ती आपराधिक गतिविधिमा प्रयोग गर्ने गरिएको पाइएको छ ।”

मावन बेचबिखनजस्तो जघन्य अपराधले राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय सुरक्षा र मानव अधिकारलाई समेत गम्भीर चुनौती सिर्जना गरेको सामाजिक कार्यकर्ता हरिदत्त भट्टले बताउनुभयो । उहाँका अनुसार, सीमा क्षेत्रमा प्रविधि–आधारित निगरानी (सिसिटिभी, बायोमेट्रिक प्रणाली), विद्यालय तहमा सचेतना, कानुनी र सामाजिक पुनःस्थापना कार्यक्रम सञ्चालन अनिवार्य भइसकेको छ ।

माइती नेपालका कञ्चनपुर संयोजक भट्टका अनुसार गत १६ जुलाई २०२४ देखि १५ जुलाई २०२५ सम्मको अवधिमा भारततर्फ जान लागेका २८६ जनालाई रोकथाम गरेको छ । जसमध्ये  १२७ जना गड्डाचौकी नाकामा, ४८ जना चारलेन पुलमा र ३८ जना झोलुङ्गे पुलमा रोकथाम गरिएको थियो । रोकथाम गरिएका व्यक्तिहरूमध्ये एक सय २९ जना बालबालिका र १५७ जना महिला रहेका छन् ।

सीमा नाकामा रोकथाम गरिएका मध्ये सुदूरपश्चिम प्रदेशका २४८ जना रहेका छन्भने कञ्चनपुर जिल्लाका मात्रै १३६ जना रहेका छन् । त्यसै अवधिमा भारतको हरियाणा, मुम्बई, पिथौरागढ, पुना, विहार र चमौलीबाट बेचबिखनमा परेका आठ जनाको उद्धार गरी ल्याइएको उहाँले जानकारी दिनुभयो ।

सोही अवधिमा माइती नेपालले सीमा नाकामा १२ हजार ८३२ सवारी साधन चेकजाँच गरेको छभने ४६ हजार ५६ जनालाई मानव बेचबिखन तथा सुरक्षित बसाइसराइबारे परामर्श दिएको छ । दुई सय ९० जनाको पारिवारिक पुनर्मिलन गरिएको छ । पैँतीस जनालाई सीमा नाकाबाटै प्रत्यक्ष परामर्श दिएर घर फर्काइएको छ ।

माइती नेपालमा खोजतलासका लागि १८० वटा निवेदन दर्ता भएको र जसमध्ये ७३ जना  खोजतलास गर्दा भेटिएका छन् । घरेलु हिंसासम्बन्धी २२ वटा उजुरी दर्ता भएकामध्ये १८ वटा समाधान गरिएको छ भने मानव बेचबिखनविरुद्ध एक मुद्दा दर्ता भएको संयोजक भट्टको भनाइ रहेको छ ।

मानव बेचबिखन रोकथामका लागि माइती नेपालले समुदायस्तरमा घरदैलो कार्यक्रम, पर्चा–पम्पलेट वितरण, किशोरीलाई कानुनी अनुशिक्षण, सडक नाटक लगायतका अभियान सञ्चालन गर्दै आएको छ । यसरी गाउँ–गाउँमै सचेतनासम्बन्धीका कार्यक्रम गरिए मानव बेचबिखनजस्तो जघन्य अपराध न्यूनीकरण गर्न सकिने शुक्लाफाँटा नगरपालिकाका नगर उपप्रमुख कल्पना पन्तले बताउनुभयो ।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक राजेश बस्नेतले सीमा क्षेत्रमा मानव बेचबिखन रोकथाम चुनौतीपूर्ण भए पनि समुदायको सक्रियता र सरकारी–गैरसरकारी निकायको सहकार्यलाई बढाउन सकिए समस्या कम गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

“मानव बेचबिखन नियन्त्रणका लागि स्थानीय, प्रादेशिक र सङ्घीय सरकारबिच बलियो समन्वय र सहकार्य अपरिहार्य छ”, उहाँले भन्नुभयो, “न्यायिक प्रक्रियालाई छिटोछरितो बनाउन, तालिम तथा सीप विकासमार्फत रोजगारीको अवसर सृजना गर्न र डिजिटल माध्यम प्रयोग गरेर दीगो सेवा सुनिश्चित गर्न आवश्यक छ ।”

मानव बेचबिखन रोकथामका लागि सचेतना, कानुन कार्यान्वयन, सुरक्षा सुदृढीकरण र समुदायस्तरको सक्रिय अभियान नै प्रभावकारी उपाय रहेको उहाँ बताउनुहुन्छ । रासस

कैलालीमा २ लाखसहित जुवातास खेलिरहेका ८ जना पक्राउ

५ भदौ, धनगढी । कैलालीमा दुई लाख १३ हजार नगदसहित जुवातास खेलिरहेका आठ जना पक्राउ परेका छन् । बुधबार राति साढे ११ बजेको समयमा गौरीगंगा नगरपालिका–८ को मसुरिया बजारमा रहेको चाइनिज कर्नर सेन्टरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा कर्नर सञ्चालक गौरीगंगा नगरपालिका–७ बस्ने ३० वर्षीय टेक मन्नीसहितका व्यक्तिहरु छन् । जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा खानतलासी उनीहरुलाई दुई लाख १३ हजार २७० रुपैयाँ र साढे चार हजार भारतीय रुपैयाँसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट ४ गड्डी तास र ९ थान मोबाइल पनि बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय मसुरियाको संयुक्त टोलीले जुवाखालमा छापा हानेको थियो । पक्राउ परेका सबैलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कञ्चनपुर कारागारको अनुगमन, कैदीबन्दीको १५ बुँदे माग पत्र

कञ्चनपुर, साउन २६ गते । कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित जिल्ला कारागारको अनुगमन गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहराको नेतृत्वमा गएको टोलीले आइतबार जिल्ला कारागार कञ्चनपुरको पछिल्लो अवस्थाबारे अनुगमन गरेको हो ।

अनुगमनमा जिल्ला समन्वय समितिका प्रमुख बोहरा, जिल्ला समन्वय अधिकारी खेमराज काफ्ले, सहायक प्रमुख जिल्ला अधिकारी मोहन चन्द्र जोशी, पत्रकार महासङ्घ कञ्चनपुरका अध्यक्ष सुरेश सिंह धामी र मानव अधिकारकर्मी भगवती थापासहितको सहभागिता रहेको थियो ।

जिल्ला समन्वय समिति प्रमुख बोहराको नेतृत्वमा अनुगमनमा गएको टोलीलाई कैदीबन्दीहरूले १५ बुँदे माग पत्र बुझाएका छन् ।

कैदीबन्दीहरूले क्षमताभन्दा तीन गुणा बढी कैदी बन्दीहरू रहेकाले कैदीबन्दीहरूको सङ्ख्याको अनुपातमा बस्ने भवन, शौचालय, शुद्ध खानेपानी, फोहाेर व्यवस्थापन, ढल निकासको उचित व्यवस्था मिलाइनुपर्ने, नयाँ कारागार भवन निर्माण गरिनुपर्ने, बिरामी कैदी बन्दीहरूको सम्पूर्ण खर्च सरकारले दिनुपर्ने, पारिवारिक भेटघाटका लागि भेटघाट कक्षको निर्माण तथा प्रजनन अधिकारको प्रचलनका लागि उचित व्यवस्था मिलाउनुपर्ने माग राखेका छन् ।

यस्तै, सरकारबाट दिइने माफी मिनाहा निलम्बित अवस्थामा रहेकाले कैदीहरूको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएकाले माफी मिनाहा दिनुपर्ने, हालको अवस्थामा सिधा खर्च ८० रुपियाँ प्रतिदिनका दरले खान नपुग्ने भएकाले मूल्य वृद्धिका आधारमा वृद्धि गरी कम्तीमा ३ सयका दरले दिनुपर्ने, मुलुकी अपराध संहिता २०७४ कार्यान्वयनमा कैदी बन्दी विरुद्धका कानुन तत्काल लागु भए तर कैदीले पाउने सुविधाका कानुन हालसम्म पनि लागु नभएकाले कार्यान्वयनमा ल्याउनुपर्ने माग कैदी बन्दीहरूको छ ।

माफी मिनाहा प्यारोल जस्ता सुविधा सबै मुद्दाका कैदी बन्दीहरूलाई समान रूपमा दिनुपर्ने, अदालतबाट फैसला हुँदा अभियुक्तले सफाइ पाएमा निजले मासिक रूपमा कमाउने गरेको रकम बराबर क्षतिपूर्ति स्वरूप पाउने व्यवस्था गर्नुपर्ने, आजीवन कारावासको सजाय नेपालको सन्दर्भमा अमिल्दो भएकाले सो व्यवस्था हटाउनुपर्ने, मानव बेचबिखन तथा ओसार पसार, जबरजस्ती करणी सम्बन्धी कसुर मुद्दामा झुट्टा जाहेरी दिने प्रवृत्ति बढ्दै गइरहेकाले त्यस्ता झुट्टा अभियोग लगाउने कार्य नियन्त्रणका लागि अभियोजन पक्षबाट उचित कदम चालिनुपर्ने, अनुसन्धान र अभियोजन पुरानै शैलीमा “बयानमा मात्र आधारित” हुने भएकाले निर्दाैषले लामो कैद सजाय भोग्नुपरेकाले अनुसन्धान र अभियोजन आधुनिक प्रविधि र वैज्ञानिक तवरबाट गरिनुपर्ने, फैसला सत्य तथ्य प्रमाणका आधारमा नभई झुट्टा कपोकल्पित बयानको आधारमा मात्र हुने गरेकाले सो तर्फ सुधार गरिनु पर्ने र कैदी बन्दीले आफैले पालन पोषण गर्नुपर्ने नाबालक बालिका पढ्न लेख्न बाट वञ्चित भई सानै उमेरमा बाल श्रम गर्न बाध्य भएका तथा पढ्न लेख्न नपाइ दुर्व्यसनका सिकार हुने अवस्थामा समेत रहेकाले आश्रित बालबालिकाको उचित व्यवस्था गर्नुपर्ने लगायतका मागहरू राखिएका छन् ।

जिल्ला समन्वय समितिका प्रमुख बोहराले कैलाली कारागारमा घटेको दुःखद घटना अरू कारागारमा नदोहोरियोस् भन्नका निम्ति कञ्चनपुर कारागारको अनुगमन गरिएको बताउनुभयो ।

अनुगमनका क्रममा कारागारमा रहेका कैदीबन्दीहरूले विभिन्न १५ बुँदे माग पत्र बुझाएको र जुन मुलुक भरकै कारागारको समस्या भएकाले कानुन संशोधन गरिए मात्रै समाधान हुने देखिएको उहाँले बताउनुभयो ।

जीर्ण कारागार, दुर्घटनाको जोखिम

आइतबार गरिएको अनुगमनका क्रममा कारागारको पुरानो भवन पूर्णतया जीर्ण अवस्थामा रहेको पाइएको जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहराले बताउनुभयो । पुरानो भवनको छत चिरा चिरा परेर पूर्णरूपमा जीर्ण बनेको बोहराले बताउनुभयो । “सानो भूकम्प वा हलचल आए जीर्ण भवनको छत नै खस्ने अवस्थामा पुगेको छ, जिल्ला समन्वय समिति प्रमुख बोहराले भन्नुभयो, “समयमै मर्मत वा नयाँ निर्माण नगरिए कारागारमा ठुलो दुर्घटना हुन सक्छ ।”

जीर्ण भवनका कारण कारागारमा रहेका कैदीबन्दीहरू असुरक्षित रहेको अनुगमनमा सहभागी मानव अधिकारकर्मी भगवती थापाले बताउनुभयो ।

कैदीहरूको उचित व्यवस्थापन गर्नु सरकारको दायित्व भएकाले सरकारले जिम्मेबारीबाट पन्छिन नहुने उहाँले बताउनुभयो । एक सय ४० जना क्षमता रहेको कञ्चनपुर कारागारमा हाल ४४३ पुरुष र २७ महिलागरी चार सय ७० कैदी बन्दी रहेका छन् । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख मोहनचन्द्र जोशीले छिट्टै अनुगमन प्रतिवेदन सरकारलाई बुझाइने बताउनुभयो ।