बझाङ भूकम्प अपडेट : एक जनाको मृत्यु, १३५ घर भत्किए

बझाङमा भूकम्पबाट एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा जयपृथ्वी नगरपालिका–११ ओखलकी ४० वर्षीया गुनमति धामी रहेकी छिन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक दिपेश चौधरीका अनुसार मङ्गलबार गएको भूकम्पपछिको पहिरोमा परेर धामीको मृत्यु भएको हो । प्रहरी टोली घटनास्थलमा गएको छ ।

बझाङमा भूकम्पबाट ११ जना घाइते भएका छन् । दुई जना उपचारपछि घर फर्किएका छन् भने नौ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइते हुनेमा जयपृथ्वी नगरपालिका–११ की सात वर्षीया सलिना जोशी, सोही ठाउँकी प्रमिला जोशी, खप्तडछान्ना गाउँपालिका–७ की १८ वर्षीया सुनिता रोकाया, जयपृथ्वी नगरपालिका–७ का तीन वर्षीय नितिक बोहारा, सोही ठाउँकी एलिसा बम, मष्टा–३ की १५ वर्षीया आँसु रोकाया, मष्टा–१ की १३ वर्षीया सविता रोकाया, सोही ठाउँकी ३६ वर्षीया शान्तिदेवी थापा, दुर्गाथली गाउँपालिका–६ का २३ वर्षीय अम्मर जाग्री, तलकोट गाउँपालिका–३ का १८ वर्षीय कमल कडाल र जयपृथ्वी नगरपालिका–१० की २० वर्षीया रमा परियार रहेका छन् ।

प्रहरीका अनुसार भूकम्पबाट बझाङमा एक सय ३५ संरचनामा क्षति पुगेको छ । प्रहरी निरीक्षक चौधरीका अनुसार थलारामा ६० घरमा क्षति पुगेको छ । केदारस्यूँमा एक, वित्थडचिरमा दुई तथा बुङ्गल नगरपालिकामा चार घर पूर्णरूपमा क्षति भएका छन् । जयपृथ्वी नगरपालिकामा ४१ घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

भारु नोट ओसारपसारमा रोक

नेपाल राष्ट्र बैङ्कले एक सय दरभन्दा ठुला दरका भारतीय नोट साथमा राख्न, ओसारपसार तथा कारोबारमा प्रतिबन्ध गरेको सूचना सार्वजनिक भएपछि स्थानीय समस्यामा परेका छन् ।

झुलाघाट नाकामा भने भारतीय रुपियाँ साट्ने सटही काउन्टर २३ वर्षदेखि बन्द छ । काउन्टर बन्द हुँदा नेपाली मुद्रा साट्न चर्को कमिसन दिनुपर्ने बाध्यता बनेको स्थानीय बताउँछन् ।

भारतमा मजदुरी गरेर स्वदेश फर्किनेलाई एक सय भारतीय रुपियाँ खोज्न पनि भारतीयलाई कमिसन दिनुपर्ने अवस्था आएको छ । रोजगारीका लागि भारत जाने नेपालीको न जीवन बिमा छ, न त बैङ्क खाता नै ।

मजदुरी गरेर घर फर्किंदा अधिकांश नेपालीसँग पाँच सय र दुई हजार भारतीय रुपियाँका नोट हुने गरेको मजदुरले बताएका छन् । घर फर्किंदा एक सय रुपियाँ भारतीय मुद्रा खोज्न कमिसन दिनुपर्ने अवस्था आएको झुलाघाटमा भेटिएका मजदुर महेश जागरीले गुनासो गर्नुभयो ।

राष्ट्र बैङ्कले भारत भ्रमणका लागि भारु २५ हजारसम्म र औषधोपचारका लागि भारु ५० हजारसम्मको सटही सुविधा बैङ्क तथा वित्तीय संस्थाबाट प्राप्त गर्न सकिने सूचनामा उल्लेख गरेको छ । महाकाली भन्सारसँगै रहेको झुलाघाट सटही काउन्टर द्वन्द्वका बेला २०५७ सालमा बन्द भएको थियो । शान्ति प्रक्रियापछि भन्सार कार्यालय स्थापना भए पनि काउन्टर स्थापना नहुँदा समस्या भोग्नु परेको स्थानीयवासी रघुवीर थापाले बताउनुभयो ।

व्यापार, व्यवसाय र उपचारका लागि नेपालबाट भारत जाँदा पाँच प्रतिशत कमिसन दिएर नेपाली मुद्रा साट्नुपर्ने बाध्यता रहेको गुनासो उहाँको छ । आतपत्कालीन समयमा उपचारका लागि भारतको पिथौरागढ जाँदा नेपाली मुद्रा नचल्दा पाँच प्रतिशत कमिसन दिएर मुद्रा साट्नुपर्ने बाध्यता छ ।

राष्ट्रिय वाणिज्य बैङ्क बैतडीका मेनेजर दीपेन्द्र अवस्थी गोठालापानी शाखाको एटिएम सेवाबाट जुनसुकै बेला पनि १० हजार रुपियाँसम्म साट्न सकिने सेवा उपलब्ध गराएको बताउनुन्छ । एटिएमबाट १० हजार भारतीय रुपियाँ निकाल्दा करिब २५३ रुपियाँ सेवा शुल्क लाग्ने गरेको छ ।

झुलाघाट नाकाबाट दैनिक लाखौँ रुपियाँको कारोबार हुने गरेको छ । सीमा नाकामा सटही काउन्टर नहुँदा नेपाली व्यवसायी र मजदुरले समस्या भोग्नु परेकोे गुनासो गरेका छन् । ज्याला मजदुरी गरेर स्वदेश फर्किने नेपालीले घर फर्किने बेलामा नाकामा घुस दिनुपर्ने त आमगुनासो नै छ ।

एसियाडका लागि चीन जाने नेपाली क्रिकेट टोलीको बिदाइ

एसियन गेम्सका लागि चीन जान लागेको नेपाली क्रिकेट टोलीलाई  बिदाइ गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीहरूले एक कार्यक्रमका बीच बिदाइ गर्दै नेपाली टोलीलाई शुभकामना दिएका हुन् । क्यानको नयाँ कार्यसमिति शनिबार मात्रै चयन भएको थियो ।

नेपालले यही २७ सेप्टेम्बरमा मंगोलिया र १ अक्टोबरमा माल्दिभ्ससँग खेल्नेछ । नेपालले समूह चरण पार गरेपछि भारत, पाकिस्तान, श्रीलंका वा बंगलादेशमध्ये कुनै देशसँग प्रतिस्पर्धाको अवसर हुनेछ ।

यसअघि एसिया कप खेलेको टिमलाई केही परिवर्तन गरी एसियन गेम्सका लागि नयाँ टोली बनाइएको छ ।

विकेटकिपर विनोद भण्डारी, अलराउण्डर विवेककुमार यादव र फास्ट बलर अविनाश बोहराले टिममा पुनरागमन गरेका छन् ।

एसियाडका लागि नेपाली टिममा विनोद र आसिफ दुई विकेटकिपर छन् । कुशल भुर्तेल, रोहित पौडेल र सन्दीप जोरा अनुभवी ब्याटर छन् भने दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल र विवेक यादव अलराउण्डर छन् ।

सोमपाल कामी, करण केसी, गुल्सन झा, प्रतिश जिसी र अविनाश बोहरा फास्ट बलर तथा सन्दीप लामिछाने स्पिनरको भूमिका छन् ।

भारतमा थप आठ सय मेगावाट बिजुली निर्यात गर्न सकिने

नेपाल र भारतबीचका प्रसारण संरचना र पूर्वाधारलाई अधिकतम क्षमतामा उपयोग गरेर थप आठ सय मेगावाट बराबरको बिजुली निर्यात गर्न सकिने भएको छ । सो विषयमा दुई देशका उच्च अधिकारीबीच प्रारम्भिक समझदारी भएको छ ।

नेपाल विद्युत प्राधिकरण र भारतको केन्द्रीय विद्युत प्राधिकरणबीचमा भएको द्विपक्षीय छलफलका क्रममा हाल सञ्चालनमा रहेका प्रसारण पूर्वाधार र निर्माण सम्पन्न हुने चरणमा रहेका पूर्वाधार प्रयोग गरेर विहार, उत्तर प्रदेशलगायत भारतीय राज्यमा बिजुली निर्यातका लागि थप सहज हुने भएको छ ।

भारतको केन्द्रीय विद्युत प्राधिकरणले प्रतिस्पर्धी बजारमा पाँच सय २२ मेगावाट र एनभिभिएनलाई एक सय १० मेगावाट गरी कूल छ सय ३२ मेगावाट विद्युत हाल निर्यात भइरहेको छ । त्यसमध्ये पाँच सय ६२ मेगावाट विद्युत् ढल्केबर–मुजफ्फपुर, चार सय केभी क्षमताको अन्तरदेशीय प्रसारण लाइन र ७० मेगावाट महेन्द्रनगर–टनकपुरस्थित १३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको छ ।

नेपाल र भारतका ऊर्जा सचिवस्तरीय निर्देशक समितिको गत फागुनमा सम्पन्न संयुक्त निर्देशक समितिको १० औँ बैठकमै बिहारसँग जोडिएका एक सय ३२ केभी क्षमताका प्रसारण लाइन प्रयोग गरेर भारतका अन्य राज्यमा समेत बिजुली निर्यातका लागि सहजीकरण गरिदिन प्राधिकरणले अनुरोध गरेको थियो ।

उक्त विषयमा सो बैठकमै सैद्धान्तिक सहमति भएको थियो । त्यसको प्रारुप तयार पार्न भारतको केन्द्रीय विद्युत प्राधिकरणले अन्य भारतीय निकायसँगको परामर्शमा तय गर्ने निर्णय गरेको थियो । सोही सहमतिअनुसार यही असोज २ गते भारतको राजधानी नयाँ दिल्लीमा भारतको केन्द्रीय विद्युत प्राधिकरण र नेपाल विद्युत प्राधिकरणका उच्च अधिकारीबीच थप बिजुली निर्यातका लागि प्रसारण पूर्वाधार प्रयोग गर्ने विषयमा सहमति भएको प्राधिकरणका निर्देशक प्रबल अधिकारीले जानकारी दिनुभयो ।

छलफलमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्राधिकरणका निर्देशक प्रबल अधिकारी तथा भारतको केन्द्रीय विद्युत प्राधिकरणका चिफ इञ्जिनियर राकेश गोयललगायतको सहभागिता थियो ।

पछिल्लो छलफलपछि नेपालसँग सीमा जोडिएका बिहार र उत्तर प्रदेशलगायत प्रदेशमा थप आठ सय मेगावाट बिजुली निर्यातका लागि छलफल भएको हो । छलफलका आधारमा आगामी संयुक्त निर्देशक समितिको बैठकमा प्रस्ताव पेश गरिनेछ ।

नेपाल र भारतको बिहारबीच एक सय ३२ केभी क्षमताका छ वटा प्रसारण पूर्वाधार जोडिएको छ । यस्तै नेपाल र भारतको उत्तर प्रदेशबीचमा निकट भविष्यमै सम्पन्न हुने चरणमा न्यू नौतवना मैनिहिया, कोहलपुर नानपाराबीच एक सय ३२ केभी प्रसारण लाइन जोडिनेछ ।

भारत सरकारले जारी गरेको विद्युत् व्यापार निर्देशिकाबमोजिम ती राज्यमा र त्यसभन्दा बाहिर अन्य राज्यमा समेत विद्युत् व्यापारका लागि नेपाल विद्युत प्राधिकरणले थप सुविधा पाउनेछ । भारतको बिहार र उत्तर प्रदेशका समेत प्रसारण लाइनमार्फत अन्य राज्यमा बिजुली पठाउँदा प्रसारण शुल्क भने नियामक निकायले तोकेबमोजिमको तिर्नुपर्नेछ ।

यस्तै प्राविधिक कारणले गर्दा ३३ केभी र ११ केभी क्षमताका प्रसारण लाइनमार्फत भने अब बिजुली निर्यात नगर्ने र आयातका लागि मात्रै खुला गरिने भएको छ ।

त्यस्तै भारतीय राज्यसँग जोडिएका एक सय ३२ केभी क्षमताका प्रसारण लाइन र चार सय केभी क्षमताका अन्तरदेशीय प्रसारणको प्रयोगका सन्दर्भमा पनि दुई पक्षबीच छलफल भएको छ ।

त्यस्तै सूचना आदानप्रदानका लागि एक सय ३२ केभी क्षमताका प्रसारण लाइन ‘डेटा र भ्वाइस कम्युनिकेशन’ का लागि ‘स्काडा सिस्टम’ मार्फत भारतीय केन्द्रीय भारप्रेषण केन्द्र र नेपालको भार प्रेषण केन्द्रबीच जोड्ने प्रस्ताव गरिएको छ ।

त्यस्तै भारतको राजधानी नयाँदिल्लीमा मङ्गलबार र बुधबार बसेको नेपाल–भारत संयुक्त प्राविधिक टोली (जेटिटी) को बैठकले एक सय ३२ केभी क्षमताको प्रसारण लाइनमार्फत अन्य राज्यस्तरमा समेत विद्युत खरिद बिक्री गर्नसक्ने निर्णय गरेको छ ।

नेपाल–भारत संयुक्त प्राविधिक टोलीको १४ औँ बैठकमा नेपालका तर्फबाट ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दीप देवले नेतृत्व गर्नुभएको थियो ।

सोही बैठकले भारतीय कम्पनी सतलज विद्युत निगमले निर्माण गरिरहेको चार सय केभी क्षमताको ढल्केबर–सीतामढी प्रसारण लाइनसमेत प्रयोग गर्ने सहमति भएको छ । सो प्रसारण लाइनको क्षमता उपयोग गर्ने विषयमा सहमति भएको सहसचिव देवले जानकारी दिनुभयो ।

यसैगरी हाल सञ्चालनमा रहेको ढल्केबर–मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइनको क्षमता पनि आठ सय मेगावाट बराबर पुर्‍याइएको छ । हाल निर्माणाधीन हेटौँडा– ढल्केबर चार सय केभी क्षमताको प्रसारण लाइन पूरा भएपछि नेपालले ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनको क्षमताअनुसार नै बिजुली आयात निर्यात गर्न पाउनेछ ।

बैतडी कारागारबाट चार कैदी रिहा

बैतडी कारागारबाट चार कैदीबन्दी रिहा भएका छन्। संविधान दिवसको अवसरमा जिल्ला कारगार बैतडीमा कैदीबन्दी जीवन बिताइरहेका चार जनाको कैद मिनाहा भएको हो।

५० प्रतिशत कैद भुक्तान गरिसकेका, असल चालचलन भएका कैदीबन्दीहरुको कैदा मिनाहा भएको जिल्ला कारागार बैतडीकी प्रमुख धारा भण्डारीले बताइन्। जिल्ला कारागारले पाँच जना कैदीबन्दीको बाँकी कैद मिनाहाका लागि सिफारिस गरेको भएपनि चार जनाको मात्रै बाँकी कैद मिनाहा भएको हो।

कैद मिनाहा हुनेमा बझाङको बित्थडचीर गाउँपालिका–७ का बिर्खु भनिने बिर्ख लुहार, बैतडीको दोगडाकेदार गाउँपालिका–१ का धनबहादुर कार्की, दशरथचन्द नगरपालिका–६ का खेमराज महर र पाटन नगरपालिका–६ का रमेश बिष्ट रहेका छन्। बिर्ख लुहारलाई डाँकाचोरी मुद्दामा २०७७ साल असार २ गते ५ बर्षका लागि सजाय तोकिएको थियो। उनले ३ बर्ष ३ महिना कैद भुक्तान गरिसकेका छन्।

यस्तै डाँकाचोरी मुद्दामै २०७८ साल असार २४ गते ३ बर्ष सजाय तोकिएका धनबहादुर कार्कीले २ बर्ष २ महिना कैद भुक्तान गरिसकेका छन्। नकबजनी चोरी मुद्दामा २०७८ मंसिर १९ गते ३ बर्ष सजाय तोकिएका खेमराज महरले एक बर्ष ९ महिना कैद भुक्तान गरिसकेका छन्। सवारी ज्यान मुद्दामा २०७८ फागुन ९ गते तीन बर्ष सजाय तोकिएका रमेश बिष्टले एक बर्ष ६ महिना कैद भुक्तान गरिसकेका छन्।

आज विश्वकर्मा पूजा, फलाम–धातुजन्य उपकरणको पूजा गरिदै

आज विश्वकर्मा पूजा मनाइँदै छ। आजको दिनमा आफ्ना सवारी साधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरिन्छ। नेपालमा प्रत्येक वर्षको असोज १ गते विश्वकर्मा पूजा मनाउने गरिन्छ।

समुद्रमन्थनबाट निस्किएका मानिने विश्वकर्माले नै देवताका हातहतियार बनाएको विश्वास छ। नयाँ सवारीसाधन किन्नेले विभिन्न शक्तिपीठमा गई आफ्नो सवारी साधन पूजा गर्ने गर्दछन्। विवाह, यज्ञ, गृहप्रवेश आदि कार्यमा पनि विश्वकर्माको पूजाआराधना गर्ने प्रचलन छ।

नेपालमा आजैदेखि शरद् ऋतु प्रारम्भ भएको मानिन्छ। यो पूजा सबै कलाकार, शिल्पकार र औद्योगिक घराना, व्यापारी र मजदूरहरूले गर्छन्। यो पूर्वोत्तर भारत, बङ्गाल र नेपालमा विशेष प्रसिद्ध पर्वका रूपमा मनाउने प्रचलन छ।

द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरूले दुःख दिएपछि विश्वकर्माले समुद्रका बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ। एकै रातमा समुद्रका बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउछन्। प्राचीन भारतवर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा समेत मानिन्छ। विश्वकर्मालाई वास्तुविद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मानिन्छ।

बिशाल राष्ट्रिय तिज म्यूजिक अवार्ड २०८०को फाईनल कार्यक्रम सम्पन्न

स्वर्गीय कल्पना स्मृती फउण्डेशनको सहयोगार्थ बिशाल मुभिज प्रा.लि. अनामनगर द्धारा आयोजित बिशाल राष्ट्रिय तिज म्यूजिक अवार्ड २०८०को फाईनल कार्यक्रम भब्यता पुर्वक सम्पन्न भएको छ । बिशाल मुभिज प्रा.लि.का अध्यक्ष चर्चित गायक तथा सर्जक हुम गैरेको अध्यक्षता अनि प्रतिनिधी सभाको उप–सभामुख माननिय ईन्दिरा राना मगर ज्यूको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा माननिय सांसद नारायण आचार्य,राष्ट्रिय जन साँस्कृतीक माहासंघका अध्यक्ष प्रेमनाथ अधिकारी,बिशाल मुभिजका संरक्षक तथा बरिष्ठ लोक गायक ईन्द्र जि.सी.,संगीत तथा चलचित्र उत्पादक समाज नेपालका अध्यक्ष सुर्य बा.मगर,बरिष्ठ गायक सेमन्तमणी खराल लगायतको बिशेष अतिथ्यता रहेको थियो । कार्यक्रमा बरिष्ठ लोक गायिका लक्ष्मी न्यौपाने र बरिष्ठ लोक गायिका सर्मिला गुरुङलाई दशक गायिकाको रुपमा सम्मान गरीयको थियो । तमु बौद्ध सेवा समाजको सभाहलमा आयोजित कार्यक्रममा तिज गीत बिधा संग सम्बन्धीत २२ बिधाका ५२ जना कलाकर्मीहरुलाई अवार्ड प्रदान गरीयको जानकारी कार्यक्रम संयोजक कमला बि.शी.ले जानकारी गराउनु भयो ।

 

कार्यक्रममा बोल्दै प्रमुख अतिथी माननिय ईन्दिरा रानाले तिज संस्कृती जोगाउन बिशाल मुभिजले गरेको यो कार्यलाई आगामी दिनमा राज्यले सघाउने प्रतिबद्धता ब्यक्त गर्नु भयो । सयौको संख्यामा उल्लेख्य सहभागीता रहेको कार्यक्रमको संचालन कुशल कार्यक्रम प्रस्तोता राशी रिजालले गर्नु भएको थियो । अवार्ड र सम्मान प्राप्त गर्ने कलाकारहरुको नामावली यस प्रकार रहोको छ । १.सर्बोत्कृष्ट एकल तिज गीत (गायिका) मिना बेल्बासे (माईतीको झल्कोले)

२.सर्बोत्कृष्ट मौलिक तिज गीत (गायिका) लक्ष्मी परियार (छम्म छम्म कान्छी)

३.सर्बोत्कृष्ट मौलिक तिज गीत (गायक) कृष्ण रानाभाट ( बुहारीको ब्यथा)

४.सर्बोत्कृष्ट तिज गीत (गायिका) जमुना राना ( बिरह)

५.सर्बोत्कृष्ट मौलिक तिज गीत भाषा भाषी (गायिका) पुनम बस्याल (बगालै चरी)

६.सर्बोत्कृष्ट एकल तिज गीत (गायिका) (पब्लीक च्वाईस्) (संगीता चितौरे) (उर्फी उर्फी)

७.सर्बोत्कृष्ट एकल तिज गीत (गायिका) (जुरी) शकुन्तला गैरे (तारा)

८.सर्बोत्कृष्ट एकल तिज गीत (गायिका) (जुरी) कृष्णा सिराडी (नाँच्न नपाईनी)

९.सर्बोत्कृष्ट मौलिक तिज गीत (गायिका) (पब्लीक च्वाईस्) तुलसी क्षेत्री ( माईतैमा दिल)

१०.सर्बोत्कृष्ट मौलिक तिज गीत (गायिका) (पपुलर) बिमला गैरे (बिरहको तिज २)

१०.सर्बोत्कृष्ट मौलिक तिज गीत (गायिका) ((नव प्रतिभा) सर्मिला अर्याल (करिम)

११.सर्बोत्कृष्ट मौलिक तिज गीत (गायक) (जुरी) देब बा.सहानी (सुको छैन गोजीमा)

१२.सर्बोत्कृष्ट मौलिक तिज गीत (गायक) (पब्लीक च्वाईस्) प्रकाश बि.शी. (पैतालु सारेर)

१३.सर्बोत्कृष्ट तिज गीत (गायिका) (जुरी) सबिता परियार (गाजले)

२४.सर्बोत्कृष्ट तिज गीत (गायिका) (पब्लीक च्वाईस्) लक्ष्मी रेग्मी (जुनकीरी जुन तिर)

१५.सर्बोत्कृष्टतिज गीत भाषा भाषी (गायिका) (पब्लीक च्वाईस्) सरस्वती उर्पेती सुनकोचुरा

१६.सर्बोत्कृष्ट मौलिक तिज गीत (नव गायिका) कला रेश्मी महतो (दिलैको राजालाई)

१७.सर्बोत्कृष्ट तिज गीत (गायक) भरत क्षेत्री (बालेनको शहर)

१८.सर्बोत्कृष्ट तिज गीत (नव गायिका) गरीमा रामजाली (दुःख बिक्दैन)

१९.सर्बोत्कृष्ट तिज गीत (नव गायक) खम बहादुर बुढा (सरर फरर)

२०.सर्बोत्कृष्ट तिज गीत (शब्द संकलक) कल्पना रेग्मी (अत्याचार)

२१.सर्बोत्कृष्ट मौलिक तिज गीत (नव गायिका) (पब्लीक च्वाईस्) रितिका कुवँर (मितीनी)

२२.सर्बोत्कृष्ट मौलिक तिज गीत (नव गायिका) (जुरी) गिता सेन्चुरी (चेलीहरुको बेदना)

२३. सर्बोत्कृष्ट तिज गीत (गायक) (जुरी) पुरुषोत्तम गैरे (चेलीको ब्यथा ४)

२४. सर्बोत्कृष्ट तिज गीत (गायक) (नव प्रतिभा) राम परियार (बिरहको तिज २ं)

२५.सर्बोत्कृष्ट तिज गीत (नव गायिका) (नव प्रतिभा) राशी रिजाल (दुःखी करिम)

२६.सर्बोत्कृष्ट तिज गीत (नव गायक) (पब्लीक च्वाईस्) बिष्णु थापा (माईती चेली २)

२७.सर्बोत्कृष्ट तिज गीत (नव गायक) (जुरी) सुन्दर परियार (नाई भन्न पाईन्न)

२८.सर्बोत्कृष्ट तिज गीत (शब्द संकलक) (पब्लीक च्वाईस्) हेमनाथ खराल (हिमचुली हेरी)

२९.सर्बोत्कृष्ट तिज गीत (शब्द संकलक) (पपुलर) ललित के.सी. (सोलमारी ३)

३०.सर्बोत्कृष्ट तिज गीत (शब्द संकलक) (जुरी) कुमार कार्की (माईतीको आँगन)

३१.सर्बोत्कृष्ट तिज गीत (नव शब्द संकलक) प्रदिप प्रखर पोखरेल (अर्घेली चेली)

३२.सर्बोत्कृष्ट तिज गीत (लय संकलक) धर्मराज गीरी (नाँच्दीन्छु घुमेर)

३३.सर्बोत्कृष्ट तिज गीत (नव लय संकलक) गणेश न्यौपाने (बाँदर मन्त्री)

३४.सर्बोत्कृष्ट तिज गीत (मोडल पुरुष) धिरज खत्री (माईती चेली २)

३५.सर्बोत्कृष्ट तिज गीत (मोडल महिला) जुना गुरुङ (लुम्लेमा पानी)

३६.सर्बोत्कृष्ट तिज गीत (नव शब्द संकलक) (पब्लीक च्वाईस्) हरी के.सी. (शिरफुल)

३७.सर्बोत्कृष्ट तिज गीत (नव लय संकलक) (नव प्रतिभा) अनमोल वली (दाजु बैनी)

३८.सर्बोत्कृष्ट तिज गीत (मोडल पुरुष) (जुरी) धुर्व जि.सी. (छोरी)

३९.सर्बोत्कृष्ट तिज गीत (मोडल महिला) (पब्लीक च्वाईस्) रमा ठकुरी (सारी सरक्कै)

४०.सर्बोत्कृष्ट तिज गीत (मोडल महिला) (जुरी) झरना रिसाल (टिकटक बनाउनी)

४१.सर्बोत्कृष्ट तिज गीत (नव मोडल पुरुष) बिवेक शर्मा (हेरेको हैन र¬)

४२.सर्बोत्कृष्ट तिज गीत (नव मोडल महिला) मञ्जु घिमिरे (चम्चा पिलेट)

४३.सर्बोत्कृष्ट तिज गीत (निर्देशक) लोकेन्द्र शाह ( मायाँ जालैमा)

४४.सर्बोत्कृष्ट तिज गीत (लाईभ गायिका ) बिरता पुन मगर

४५.सर्बोत्कृष्ट तिज गीत (छायाँकार) राम के.सी. (बिरहको तिज ३)

४६.सर्बोत्कृष्ट तिज गीत (नव मोडल महिला) (नव प्रतिभा) परि क्षेत्री (नारीको बिलौना

 

कर्मचारी बिदामा, आयात निर्यात ठप्प

 कैलालीको त्रिनगर भन्सार नाकामा रहेको प्लान्ट क्वारेन्टाइन कार्यालय र टुर मुकाम मोहनामा कर्मचारी नहुँदा आयात निर्यात ठप्प भएको छ। सो कार्यालयका बाली संरक्षण अधिकृत प्रमोद ठगुन्ना बिदामा हुनुहुन्छ।

यस भन्सार कार्यालयबाट आयात निर्यात हुने फलफूल, तरकारी, खाद्यान्नको आयात र जडीबुटीको निर्यात एक महिनादेखि ठप्प भएको हो। ठगुन्नाले अध्ययनका लागि भन्दै साउन २८ बाट एक महिनाको बिदा लिनुभएको छ। उहाँ अध्ययनको सिलसिलामा पानामा पुग्नुभएको जनाइएको छ। क्वारेन्टाइन कार्यालयले बाहिरबाट आयात हुने तरकारी, खाद्यान्न, फलफूलमा रोग र किरा जाँच गरेपछि मात्रै भित्रिन दिने गरिएको छ।

यसै गरी नेपालबाट भारत निर्यात हुने पिना र तेजपत्ताको पनि सोही कार्यालयले जाँच गर्ने गरेको छ तर बाली संरक्षण अधिकृत नहुँदा एक महिनादेखि आयात निर्यात ठप्प भएको सो कार्यालयमा कार्यरत कार्यालय सहयोगी दलबहादुर ऐरले बताउनुभयो। मुख्य कार्यालय गड्डाचौकी मातहतको सो कार्यालयमा अधिकृत ठगुन्ना र कार्यालय सहयोगी ऐर गरी दुई जना मात्रै कर्मचारी कार्यरत छन्। हाकिम नभएपछि क्वारेन्टाइन कार्यालयबाट हुने काम रोकिएको कार्यालय सहयोगी ऐरले बताउनुभयो।

“कार्यालयमा अहिले कामै छैन,” उहाँले भन्नुभयो, “दिनभरि यत्तिकै बस्ने गरेको छु।” चामल, गहुँ, दाललगायतका खाद्यान्न र फलफूल, तरकारीको आयात ठप्प हुँदा त्यसको मूल्य आकासिनुका साथै अभाव पनि हुन थालेको छ।  “हाकिम गएपछि यो कार्यालय बन्दसरह नै भएको छ। एक जना कार्यालय सहयोगी मात्रै बस्नुहुन्छ। हाकिम नहुँदा उहाँको कामै छैन। सुतेर समय बिताउने गर्नु हुन्छ”, एक सेवाग्राहीले गुनासो राख्नुभयो।

आयात रोकिँदा दाना उद्योगलाई चाहिने कच्चा पदार्थ अभाव भएको छ। कच्चा पदार्थको अभावमा उद्योग समस्यामा परेको विवेक पोल्ट्री फर्म एवं दाना उद्योगका सञ्चालक विवेक भट्टले बताउनुभयो।

उहाँका अनुसार क्वारेन्टाइन कार्यालयमा जाँच रोकिँदा खाद्यान्नसहित दाना बनाउने कच्चा पदार्थ बोकेका गाडी पारि भारतमै रोकिएका छन्। अर्को कर्मचारी पठाएर भए पनि क्वारेन्टाइनको काम सञ्चालन गर्नुपर्ने स्थानीय व्यापारीको माग छ।

क्वारेन्टाइन कार्यालयको काम एक महिनादेखि ठप्प हुँदा पनि अर्को कर्मचारी नपठाउनु हदैसम्मको लापरबाही भएको आरोप व्यापारीहरूको छ। “क्वारेन्टाइनको काम बन्द हुँदा आयात, निर्यात ठप्प भएर हामी सबैलाई नोक्सान भइरहेको छ,” उहाँले भन्नुभयो।

“यो सञ्चालन भएको बेला भन्सारलाई राजस्व उठ्ने गर्छ। हामी जस्ताको व्यापारमा पनि सहयोग पुग्ने गर्छ।” क्वारेन्टाइन कार्यालय गड्डा चौकीले अर्को कर्मचारी पठाएर काम सञ्चालन गर्नुपर्नेमा उहाँहरूको जोड छ।  एक महिनाको बिदा लिएर विदेश जानुभएका कार्यालय प्रमुख ठगुन्ना चाँडै स्वदेश फर्किने जनाइएको छ। “अब सम्भवतः उहाँ आइहाल्नुहुन्छ होला,” कार्यालय सहयोगी ऐरले भन्नुभयो, “उहाँ आएपछि पुनः सञ्चालनमा आउने छ।”

टिङ्करमा बिओपी स्थापना

दार्चुला जिल्लामा चीनतर्फको सीमानाका टिङ्करमा सशस्त्र प्रहरी बल नेपालले बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गरेको छ । दार्चुलाको व्यास–१ स्थित छयालेक टिङ्करमा स्थापना गरिएको बिओपी चीनतर्फको नवौँ आउट पोस्ट रहेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपालका सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार टिङ्करमा बिओपी स्थापनासँगै नेपाल–चीनतर्फ नौ र नेपाल–भारत सीमानाकामा २४३ गरी बिओपीको सङ्ख्या २५२ पुगेको छ ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहालले भदौ २२ गते शुक्रबार टिङ्करमा स्थापना भएको बिओपीको उद्घाटन गर्नुभएको हो । दार्चुला सदरमुकामबाट करिब ११२ किलोमिटर उत्तरतर्फ बिओपी स्थापना भएको हो ।

सशस्त्र प्रहरी बल, नेपाल नं. ५० गुल्म छाङ्रु दार्चुलाको मातहतमा स्थापना भएको बिओपी गुल्मबाट कबिर ११ किलोमिटरको दूरीमा रहेको सशस्त्रले जनाएको छ । यसअघि सशस्त्र प्रहरी बल नेपालले चीनतर्फ हुम्लाको हिल्सा, मुस्ताङको नेचुङ, रसुवाको टिमुरे, सिन्धुपाल्चोकको तातोपानी र गुम्बा, दोलाखाको लामाबगर, सङ्खुवासभाको किमाथाङका, ताप्लेजुङको ओलाङ्चुङ्गोलासहित आठ ठाउँमा बिओपी स्थापना गरिसकेको छ ।

टिङ्करमा सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा रहने बिओपी स्थापनाको लागि हेलिकोप्टरमा आवश्यक बन्दोबस्ती र जनशक्ति भदौ ३ गते त्यसतर्फ पु-याइएको थियो । सो बिओपीका लागि एउटा भवन निर्माण गरिएको छ । नयाँ स्थापना भएको बिओपीबाट छिमेकी मुलुक भारतको नाभिडाङ र चीनको ताक्लाकोट बजार नजिकै छ ।

धरानमा आज मध्यराति १२ बजेसम्म निषेधाज्ञा हुने

गोरु काटेर मासु खाएको विषयलाई लिएर हिन्दु र गैरहिन्दु समुदायबीच द्वन्द्व हुनसक्ने भन्दै धरानमा जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा जारी गरेको छ।

धरान उपमाहनगरपालिका क्षेत्रमा धार्मिक, साम्प्रदायिक साथै जनस्वास्थ्य संकट तथा शान्ति सुरक्षाको संवेदनशिलतालाई समेत ध्यानमा राखी निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यलयले जनाएको छ। गएराति १२ बजेदेखि आजराति १२ बजेसम्म लागु हुने गरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन्।

हिन्दु र गैरहिन्दु दुवै पक्षले आज विरोधका कार्यक्रम आयोजना गरेपछि थप द्वन्द्व सिर्जना नहोस् भन्नका लागि निषेधाज्ञा जारी गरिएको पाण्डेले बताइन्। निषेधाज्ञामा अत्यावश्यक बाहेक कुनै पनि धार्मिक, सामाजिक, राजनैतिक सभा तथा ¥याली गर्न नपाइने भनिएको छ। अहिलेसम्म निषेधाज्ञा पूर्णरूपमा पालना भएको र सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी तथा प्रवक्ता राजकुमार राईले जानकारी दिए।

धरानको शान्तिसुरक्षा मजबुत बनाउन प्रत्येक गौडा र मुख्य बजार क्षेत्रमा पर्याप्त प्रहरी परिचालन गरिएको उनले बताए। धरानमा एक हजारभन्दा बढी प्रहरीले घेराबन्दी गरी सुरक्षा जाँचलाई प्रभावकारी बनाएको छ।

महाकाली करिडोरमा ट्याक खोल्नमै उल्झन, बजेट वर्षेनि घट्दै

तराई–हिमाल जोड्ने महाकाली करिडोर निर्माणको काम निकै सुस्त देखिएको छ। त्रिदेशीय नाकाको रुपमा अघि बढाइएको सो सडक निर्माणको गति प्रभावकारी बन्न सकेको छैन्। कञ्चनपुरको ब्रह्मदेवबाट डडेल्धुरा–बैतडी र दार्चुलाको तिंकरसम्म चार सय १३ किलोमिटर सडक २०६६ देखि सुरु गरिएको भए पनि काम अपेक्षाकृत रुपमा हुन नसकेको स्थानीय बताउँछन्।

नेपाल, भारत र चीनसितको त्रिदेशीय नाका तिंकरसम्म व्यापार विस्तारका लागि अघि बढाइएको सो सडक निर्माणको प्रगति सन्तोषजनक छैन। चार सय १३ किलोमिटरमध्ये एक सय २० किलोमिटर सडकखण्डको ट्रयाक खोल्न बाँकी नै रहेको महाकाली करिडोर आयोजनाले जनाएको छ। कञ्चनपुरमा १०, डडेल्धुरामा ३०, बैतडीमा ५५ र दार्चुलामा २५ किलोमिटर सडकको ट्रयाक खोल्न बाँकी छ। डडेल्धुरामा रूख कटानको अनुमति नहुँदा काम अघि बढ्न सकेको छैन।

महाकाली करिडोरका लागि आर्थिक वर्ष २०७८/७९ मा ८२ करोड ४२ लाख, २०७९/८० मा ४४ करोड ११ लाख बजेट विनियोजन हुँदा चालू आर्थिक वर्षमा २९ करोड ५० लाख मात्रै छुट्याइएको आयोजना प्रमुख लक्ष्मणदत्त जोशीले बताए। कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको सुनसेरासम्मको तीन सय ३४ किलोमिटर सडक आयोजनाले निर्माण गरिरहेको छ। गत वर्ष २७ किलोमिटर सडकको ट्रयाक निर्माण गरिएको थियो।

दार्चुलाको खलंगादेखि दुहुँ गाउँपालिकाको पीपलचौरी खण्ड र महाकाली नगरपालिकाको बेतदेखि मालिकार्जुन गाउँपालिकाको जोलजीवी–उकु खण्डमा कालोपत्रका लागि ठेक्का सम्झौता भएको छ। करिब ३२ किलोमिटरको सडकखण्ड कालोपत्रे गर्न एक अर्ब ३५ करोडको ठेक्का सम्झौता गरिएको छ।

करिडोरअन्तर्गतको सुन्सेराको तुषारपानीदेखि तिंकर भन्ज्याङसम्मको ७९ किलोमिटर लामो सडक निर्माणको काम आव २०७८/७९ बाट नेपाली सेनाले थालेको छ। उक्त सडकखण्डमा चालू आर्थिक वर्षमा सेनालाई १४ करोड बजेट उपलब्ध गराएको छ। गत वर्ष ९ करोड ३० लाख ३० हजारमा तिंकर सडक निर्माणका लागि सेनालाई दिइएको थियो। आर्थिक वर्ष २०७८/७९ मा २२ करोड ५० लाख बजेट विनियोजन गरिएको थियो।

जलविद्युत् आयोजनाले फेरियो मार्माको मुहार

 निजी क्षेत्रको लगानीमा निर्माण भएको ४० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाले दार्चुलाको दुर्गम गाउँपालिका मार्माको मुहार नै फेरिएको छ। जलविद्युत् आयोजनाबाट मार्मा गाउँपालिकाले वार्षिक तीन करोडभन्दा बढी रोयल्टी पाउने भएको छ।  यो आयोजनाले स्थानीयस्तरमा रोजगारीको ढोका खोलेको छ। विद्युत् आयोजना निर्माण हुँदा मार्माका तीन सयभन्दा बढी स्थानीयले रोजगारी प्राप्त गरेका छन्। कृषि उपज बिक्री गरेर लाखौँ रुपियाँ भित्रिएको गाउँपालिका अध्यक्ष जमनसिंह धामीले बताउनुभयो।

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका स्थानीय तहको आन्तरिक आम्दानीको स्रोत वार्षिक ५० लाख रुपियाँभन्दा बढी नभएको अवस्थामा मार्मा गाउँपालिकाले विद्युत् आयोजनाबाट वार्षिक तीन करोड रुपियाँभन्दा बढी पाउने भएको छ।

विद्युत् आयोजना बन्नुअघि मार्माले ४०/५० लाखभन्दा बढी आन्तरिक अम्दानी गर्न सकेको थिएन। विद्युत् आयोजनाले सरकारलाई वार्षिक पाँच करोड रोयल्टी बुझाउँदा मार्मा गाउँपालिकाले तीन करोड रुपियाँभन्दा बढी रोयल्टी प्राप्त गर्ने गाउँपालिकाका अध्यक्ष धामीले बताउनुभयो।

सुकिला बने हाटबजार 

विद्युत् आयोजनाले दुर्गम गाउँमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा रोजगारी सिर्जना गरेपछि मार्मा गाउँपालिकाको चार ठाउँको हाटबजार सुकिला बन्न थालेको स्थानीय युवा नरबहादुर विष्टले बताउनुभयो। १४ हजार ९५६ जनसङ्ख्या रहेको मार्मा गाउँपालिकामा कुल छवटा वडा छन्। लटिनाथ, सेलीबासा, सिमार र पारीबगर गरी चार ठाउँमा बजार विस्तार भएका छन्।

मार्माको मुख्य बजारका रूपमा रहेको लटिनाथमा करिब दुई सय पक्की घर ठडिएका छन्। लटिनाथमा सहरको जस्तै सुकिला घर बन्न थालेका छन्। विद्युत् आयोजनासँगै गाउँमा सडक आएपछि स्थानीयलाई पक्की घर बनाउन सहज भएको स्थानीय नरबहादुर विष्टले बताउनुभयो।

परम्परागत खेतीकिसानीमा निर्भर यहाँका स्थानीयको रोजगारीको मुख्य स्रोत भारतमा ज्याला मजदुरी रहेकोमा विद्युत् आयोजनाले युवालाई गाउँमै रोकेको मार्मा गाउँपालिकाका उपाध्यक्ष शर्मिला चन्द सिंहले बताउनुभयो।

मार्मामा ‘मिनरल वाटर’  

४० मेगावाट जलविद्युत् उत्पादन गर्ने अपि पावर कम्पनीले मार्मामा पानी उद्योग (मिनरल वाटर) सञ्चालन गर्ने तयारी सुरु गरेको छ। मिनरल वाटरको उद्योग स्थापना गर्न मार्मा गाउँपालिका–२, घट्टीगाडमा भवन निर्माण सुरु भएको अपि पावर कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेले जानकारी दिनुभयो।

मार्मामा बिजुलीपछि मिनरल वाटर उद्योग सञ्चालन गर्न सम्पूर्ण तयारी पूरा गरेर भवन निर्माणको काम अन्तिम चरणमा पुगेको अध्यक्ष न्यौपानेले बताउनुभयो। मिनरल वाटरको बोतलसमेत डिजाइन गरिसकिएको जानकारी दिनुहुँदै न्यौपानेले आधा लिटर र तीन सय मिलि लिटरको चार कुने बोतलको पानी बजारमा ल्याउने गरी काम सुरु भएको बताउनुभयो।

चमेलियामा ९६ मेगावाट बिजुली उत्पादन 

४० मेघावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत् आयोजना सम्पन्न भएपछि चमेलिया नदीमा उत्पादिन बिजुली ९६.५ मेघावाट पुगेको छ। चमेलियाको बलाँचमा ३० मेघावाट, माथिल्लो चमेलिया ४०, मकरीगाड १० मेघावाट, नौगाड ८.५ मेघावाट र माथिल्लो अपरगाड आठ मेगावाट गरी ९६.५ मेगावाट बिजुली उत्पादन सुरु भएको छ।

बझाङको कालङ्गा नदीमा उत्पादन भएको ५३.७९ मेघावाट बिजुली पनि चमेलियाको ग्रिडमा जोडिएपछि बैतडी, दार्चुला र बझाङबाट कुल १५० मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।