आज विश्वकर्मा पूजा, फलाम–धातुजन्य उपकरणको पूजा गरिदै

आज विश्वकर्मा पूजा मनाइँदै छ। आजको दिनमा आफ्ना सवारी साधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरिन्छ। नेपालमा प्रत्येक वर्षको असोज १ गते विश्वकर्मा पूजा मनाउने गरिन्छ।

समुद्रमन्थनबाट निस्किएका मानिने विश्वकर्माले नै देवताका हातहतियार बनाएको विश्वास छ। नयाँ सवारीसाधन किन्नेले विभिन्न शक्तिपीठमा गई आफ्नो सवारी साधन पूजा गर्ने गर्दछन्। विवाह, यज्ञ, गृहप्रवेश आदि कार्यमा पनि विश्वकर्माको पूजाआराधना गर्ने प्रचलन छ।

नेपालमा आजैदेखि शरद् ऋतु प्रारम्भ भएको मानिन्छ। यो पूजा सबै कलाकार, शिल्पकार र औद्योगिक घराना, व्यापारी र मजदूरहरूले गर्छन्। यो पूर्वोत्तर भारत, बङ्गाल र नेपालमा विशेष प्रसिद्ध पर्वका रूपमा मनाउने प्रचलन छ।

द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरूले दुःख दिएपछि विश्वकर्माले समुद्रका बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ। एकै रातमा समुद्रका बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउछन्। प्राचीन भारतवर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा समेत मानिन्छ। विश्वकर्मालाई वास्तुविद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मानिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *