वन अतिक्रमण बढ्दो : देशको एक तिहाइभन्दा बढी क्षेत्र अतिक्रमणको चपेटामा

ईन्द्रा कुमारी केसी
घोडाघोडी (कैलाली), ४ साउन /
“हरियो वन नेपालको धन” भन्ने उखान कुनै बेला नेपाली पहिचानकै हिस्सा थियो । तर पछिल्ला वर्षमा यो उखान ओझेल पर्दै गएको छ । जङ्गल संरक्षणभन्दा अतिक्रमण गर्ने प्रवृत्तिले जरा गाड्दै गएको सन्दर्भमा सुदूरपश्चिम प्रदेश सबैभन्दा बढी प्रभावित देखिएको छ ।
महालेखा परीक्षकको ६२औँ वार्षिक प्रतिवेदन, २०८२ अनुसार हाल देशभर १ लाख ४ हजार हेक्टर वनक्षेत्र अतिक्रमणमा परेको छ । यसमध्ये ३८ प्रतिशतभन्दा बढी अतिक्रमण  कैलालीमा भएकाे तथ्यांकले देखाउँछ ।
वन अनुसन्धान तथा सर्वेक्षण विभाग २०१५ को तथ्यांकअनुसार कैलालीको कुल क्षेत्रफल ३ लाख २८ हजार ७१६ हेक्टर रहेको छ । त्यसमध्ये झण्डै दुई तिहाइ — अर्थात् २ लाख ५७३ हेक्टर क्षेत्रफल वनले ओगटेको छ । तर पछिल्ला ८ वर्षमा मात्रै करिब १७ हजार हेक्टरभन्दा बढी वनक्षेत्र अतिक्रमणमा परेको सरकारी तथ्यांकले देखाउँछ ।
‘हाम्रो वन’ प्रतिवेदन, २०७५ अनुसार आर्थिक वर्ष २०७३÷७४ सम्ममा कैलालीमा २१ हजार ४०४ हेक्टर वनक्षेत्र अतिक्रमणमा परेको थियो । हाल महालेखा परीक्षकको प्रतिवेदनले त्यो आँकडा बढेर ३८ हजार ४० हेक्टर पुगेको उल्लेख गरेको छ ।
कैलालीसँगै डडेल्धुरा र कञ्चनपुर पनि वन अतिक्रमणका दृष्टिले उच्च जोखिममा छन् । डडेल्धुरामा हालसम्म १५ हजार १२० हेक्टर र कञ्चनपुरमा ९ हजार ८५९ हेक्टर वनक्षेत्र अतिक्रमणमा परेको छ ।

व्यक्तिगत कब्जादेखि संस्थागत अतिक्रमणसम्म
सुदूरपश्चिम प्रदेश वन निर्देशनालयका निर्देशक हेमराज बिष्टका अनुसार व्यक्तिले व्यक्तिगत रूपमा जमिन ओगट्ने, मुक्त कमैया, सुकुम्बासी र बाढीपीडितका नाममा वनक्षेत्र कब्जा गर्ने प्रवृत्ति व्यापक छ । तर समस्या यतिमै सीमित छैन ।
उहाँका अनुसार भू–माफियाहरूले सुनियोजित रूपमा कृत्रिम सुकुम्बासी खडा गरेर पनि वनक्षेत्र अतिक्रमण गराउने गरेका छन् । सुकुम्बासी, मुक्त कमैया वा हलियालाई वनक्षेत्रमै राख्नुपर्छ भन्ने सर्वपक्षीय सोच र राजनीतिक दबाबले समेत अतिक्रमणलाई प्रश्रय दिइरहेको उहाँले बताउनुभयो ।
दैवी प्रकोपमा परेका बाढीपीडितलाई अस्थायी बसोबासको नाममा वनक्षेत्रमै राख्ने, पछि उनीहरूलाई हटाउँदा विभिन्न संघ–संस्था र राजनीतिक दलहरूकै दबाब झेल्नुपर्ने अवस्थाले पनि समस्या झन् जटिल भएको बिष्टको भनाइ छ ।
निर्देशक बिष्टका अनुसार भोट बैंकको राजनीति र दलगत स्वार्थले गर्दा अतिक्रमण नियन्त्रणमा राजनीतिक इच्छाशक्ति र प्रतिवद्धता कमजोर छ । यसले गर्दा व्यक्तिगत अतिक्रमणले खुलेआम प्रश्रय पाउँदै आएको छ ।
यस्तै सरकारी बजेटबाट निर्माण हुने सडक, खानेपानी आयोजना, मठ–मन्दिर, पालिका र वडा कार्यालय भवन, छाडा चौपाया व्यवस्थापन स्थल, डम्पिङ साइट, स्वास्थ्य चौकी, विद्यालय र खेल मैदानजस्ता संरचनाहरू समेत धेरै ठाउँमा वनक्षेत्रकै बीचमा निर्माण भइरहेका छन् । यस्ता संस्थागत गतिविधिहरूले पनि वन अतिक्रमणलाई बल पु¥याइरहेको निर्देशक बिष्टले बताउनुभयो ।
वनक्षेत्रको अतिक्रमणसँगै जैविक विविधता घट्दै गएको, मानव–वन्यजन्तु द्वन्द्वका घटना थपिँदै गएको र संरक्षणमा थप चुनौती थपिएको उहाँको भनाइ छ ।

अतिक्रमण हटाउन पहल, तर चुनौती उस्तै
वन अतिक्रमणको दर बढ्दै जाँदा वन कार्यालयहरूले नियन्त्रणका लागि विभिन्न प्रयासहरू पनि गरिरहेका छन् । सुदूरपश्चिम प्रदेश वन निर्देशनालय र जिल्लास्तरीय डिभिजन वन कार्यालयहरूले अतिक्रमण नियन्त्रणका लागि सचेतना कार्यक्रम, सरोकारवाला निकायसँग समन्वय बैठक, संयुक्त अनुगमन तथा अतिक्रमित क्षेत्र खाली गर्नेजस्ता क्रियाकलाप सञ्चालन गर्दै आएका छन् ।
निर्देशक हेमराज बिष्टका अनुसार अतिक्रमण भएको ठाउँ खाली गराएर तारबार वा ट्रेन्च निर्माण गर्ने, खाली गराइएको क्षेत्रमा वृक्षारोपण गर्नेजस्ता काम पनि नियमित रूपमा भइरहेका छन् । चालु आर्थिक वर्ष २०८१÷८२ मा मात्रै कैलाली जिल्लामा १३५ हेक्टर वनक्षेत्र अतिक्रमणमुक्त गरिएको बिष्टले जानकारी दिनुभयो ।
तर यस्ता पहलका बाबजुद पनि अतिक्रमणको दर घट्न नसकेको बिष्ट स्वीकार्नुहुन्छ । “गरिबी, अनियन्त्रित बसाइँसराइ, बेरोजगारी, अशिक्षा, दोहोरो सरकारी नीति र राजनीतिक स्वार्थका कारणले गर्दा अतिक्रमण नियन्त्रण अझै चुनौतीपूर्ण छ,” उहाँले बताउनुभयो ।

दिगो समाधान खोज्न वन कर्मचारीको सुझाव
दीर्घकालीन रूपमा वन अतिक्रमण नियन्त्रण गर्न यसको गहिराईमा पुग्नुपर्ने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका प्रवक्ता भरत श्रेष्ठ बताउनुहुन्छ । उहाँका अनुसार दीर्घकालीन समाधानका लागि सबैभन्दा पहिला उचित पुनर्वास योजना बनाउनुपर्छ । “सुकुम्बासी र बाढीपीडितलाई सुरक्षित र दिगो आवासमा व्यवस्थापन नगरीकन अतिक्रमणको समस्या समाधान सहज छैन,” उहाँले बताउनुभयो ।
श्रेष्ठका अनुसार विशेषगरी तराई र सहर नजिकका वनक्षेत्रहरूमा बसाइँसराइको चाप अत्यधिक छ । कैलाली र कञ्चनपुर जिल्लाका धेरै भू–भाग तराईमै पर्ने र पूर्वाधार सुविधासम्पन्न ठाउँ भएका कारण पनि यहाँको वनक्षेत्र अन्य जिल्लाभन्दा बढी जोखिममा परेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार व्यक्तिगत मात्र नभई संस्थागत अतिक्रमण पनि ठूलो चुनौती बन्दै गएको छ । यसलाई रोक्न सरकारले बजेट विनियोजनदेखि योजना कार्यान्वयनसम्मका सबै प्रक्रियामा वन तथा वातावरणसम्बन्धी कानूनको कडाईका साथ पालना गराउनुपर्छ । “सडक, भवन वा कुनै पनि संरचना निर्माण हुँदा तीनै तहका सरकारले वन कानून पालना गर्ने सर्त अनिवार्य हुनुपर्छ,” उहाँको सुझाव छ ।
श्रेष्ठका अनुसार सबै तहका सरकारी निकाय र कार्यालयहरू वन अतिक्रमण विषयमा संवेदनशील नभएसम्म वनसम्पदा जोगाउन कठिन हुने बताउनुभयो । दीर्घकालीन पुनर्वास, गरिबी घटाउने नीति, बसाइँसराइ व्यवस्थापन र कडाइका साथ कानुनी कार्यान्वयन नभएसम्म अतिक्रमण नियन्त्रणको प्रयास चुनौतीपूर्ण रहेको उहाँको भनाइ छ ।

रणनीति र कानुन छ, तर अतिक्रमण बढेको बढै
नेपाल सरकारले वन क्षेत्रमा बढ्दो मानवीय चाप र अतिक्रमणलाई रोक्न तथा अतिक्रमित भूमिलाई पुनः वनकै रूपमा कायम गर्न एक दशकअघि “वन अतिक्रमण नियन्त्रण तथा व्यवस्थापन रणनीति, २०६८“ लागू गरेको थियो । मुलुकको कुल भूभागको ४० प्रतिशत क्षेत्रफल वनले ढाक्ने राष्ट्रिय लक्ष्यलाई टेवा पुर्याउन ल्याइएको यो रणनीतिले अतिक्रमणका विभिन्न स्वरूपलाई सम्बोधन गर्दै यसको नियन्त्रण र व्यवस्थापनका लागि केन्द्रीयदेखि स्थानीय स्तरसम्मका निकायहरूको भूमिका स्पष्ट पारेको छ ।
रणनीतिले भूमिहीन, सुकुम्बासी, आरक्षपीडित, बाढीपीडित र मुक्त कमैयाजस्ता समुदायबाट भएको अतिक्रमणलाई विशेष ढंगले सम्बोधन गरेको छ । उनीहरूलाई वन क्षेत्रको जग्गामा स्वामित्व प्रदान गर्नुको सट्टा राज्यका अन्य निकायहरूसँग समन्वय गरी जीविकोपार्जनका लागि वैकल्पिक व्यवस्था मिलाउने नीति लिइएको छ। यद्यपि, अतिक्रमण हटाइएको क्षेत्रमा भूमिहीनहरूको समूह गठन गरी उनीहरूलाई नै व्यवस्थापनको जिम्मा दिने गरी निश्चित योजनासहित ‘कृषि वन प्रणाली’ अन्तर्गत कबुलियती वनको रूपमा प्रयोग गर्न दिने लचिलो व्यवस्था पनि रणनीतिमा छ । तर, कुनै पनि हालतमा अतिक्रमित वन क्षेत्र व्यक्ति वा संस्थाको नाममा दर्ता नगराइने कडा प्रावधान यसमा समेटिएको छ ।
यसको प्रभावकारी कार्यान्वयनका लागि जिल्ला स्तरमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा एक शक्तिशाली संयन्त्रको व्यवस्था गरिएको छ । अतिक्रमणलाई प्रोत्साहन गर्ने व्यक्ति वा संघ÷संस्थालाई कालोसूचीमा राख्ने तथा अतिक्रमित क्षेत्रमा सरकारी वा गैरसरकारी निकायबाट भौतिक वा आर्थिक सुविधा उपलब्ध गराउन रोक लगाउनेजस्ता कडा प्रावधानहरू पनि रणनीतिमा छन् ।
रणनीतिले सबै अतिक्रमणलाई एउटै नजरले हेरेको छैन । नयाँ र हालसालैका अतिक्रमणलाई तुरुन्तै हटाउने, अस्थायी बसोबासलाई निश्चित प्रक्रिया पुर्याएर खाली गराउने र पुराना अतिक्रमणलाई समेत कानुनी दायरामा ल्याउने उल्लेख छ। तर, लामो समयदेखि शहरीकरण भइसकेका र भौतिक पूर्वाधार निर्माण भई पुनः वन क्षेत्रमा कायम गर्न असम्भव भएका स्थानहरूको हकमा भने त्यस्तो जग्गाको मूल्यांकन गरी बिक्री–वितरण गर्ने र त्यसबाट प्राप्त रकम वन विकास कोषमा जम्मा गरी अन्यत्र वन विकास वा जग्गा खरिदमा लगाउने व्यावहारिक बाटो पनि खुला राखिएको छ। समग्रमा, यो रणनीति वन संरक्षणका लागि एक विस्तृत दस्तावेज भए तापनि यसको सफल कार्यान्वयनका लागि आवश्यक राजनीतिक इच्छाशक्ति, पर्याप्त स्रोतसाधन र निरन्तरको जनसहभागिता अझै पनि प्रमुख चुनौतीको रूपमा रहेको छ।
वन ऐन, २०७६ ले वन तथा संरक्षित क्षेत्रको अतिक्रमणलाई गम्भीर अपराध मान्दै दण्ड सजायको स्पष्ट व्यवस्था गरेका छन् । यो ऐनले वन क्षेत्रलाई कब्जा गर्ने, बसोबास गर्ने, खेती गर्ने वा कुनै पनि प्रकारले भौतिक संरचना बनाउने कार्यलाई निषेध गरेको छ ।
वन ऐन, २०७६ को दफा ४९ ले राष्ट्रिय वन क्षेत्र अतिक्रमण गर्ने कार्यलाई दण्डनीय अपराध मानेको छ । यो दफाअनुसार, राष्ट्रिय वन क्षेत्रमा घर, टहरा बनाउने, खेती गर्ने, आवादी बस्ने वा वनको सिमाना परिवर्तन गर्ने जस्ता कुनै पनि अतिक्रमणजन्य कार्य गरेमा कसुरको मात्रा हेरी बिगो असुल गरी पाँच वर्षसम्म कैद वा एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ । यो ऐनले वन क्षेत्रभित्रको जग्गा कुनै पनि व्यक्तिको नाममा दर्ता गर्न वा गराउन नहुने कुरा पनि स्पष्ट पारेको छ । निति नियम र ऐन कानुन भए पनि वन अतिक्रमण भने बढ्दै गएको छ ।

 

तीन दशकदेखि कला क्षेत्रमा सक्रिय आचार्यलाई प्रज्ञा प्रादेशिक प्रतिभा सम्मान

धनगढी, कैलाली —
बिगत तीन दशकदेखि निरन्तर रूपमा कला तथा संस्कृति क्षेत्रमा सक्रिय रहनुभएका अम्बिका प्रसाद आचार्यलाई प्रज्ञा प्रादेशिक प्रतिभा सम्मान–२०८१ प्रदान गरिएको छ।

२१२ औं आदिकवि भानु जयन्तीको अवसर पारेर सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानले हिजो आयोजना गरेको  समारोहमा आचार्यलाई उक्त सम्मान प्रदान गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री मेघराज खड्काले उहाँलाई प्रशंसापत्रसहित पुरस्कार प्रदान गर्नुभयो।

धनगढी उपमहानगरपालिका–२ मा बसोबास गर्दै आउनु भएका आचार्य विगत तीन दशकभन्दा बढी समयदेखि नाट्यकला तथा चलचित्र क्षेत्रमा निरन्तर क्रियाशील रहँदै आएका छन्। कला, साहित्य र संस्कृतिको अभिवृद्धिमा उहाँले पुर्‍याउनुभएको योगदानको उच्च मूल्याङ्कन गर्दै प्रतिष्ठानले यस वर्षको प्रादेशिक प्रतिभा सम्मान उहाँलाई प्रदान गरेको जनाएको छ।

थारु अभिनेता संगत थारुलाई प्रज्ञा प्रादेशिक प्रतिभा पुरस्कार–२०८१ बाट सम्मान

धनगढी, कैलाली — सुदूरपश्चिम प्रदेशको कला, साहित्य र संस्कृति संरक्षणमा महत्वपूर्ण योगदान पु¥याउँदै आएका थारु चलचित्र उद्योगका अभिनेता संगत थारुलाई प्रज्ञा प्रादेशिक प्रतिभा पुरस्कार–२०८१ बाट सम्मानित गरिएको छ ।

२१२ औं आदिकवि भानु जयन्ती तथा साहित्यिक–सांस्कृतिक उत्सवको अवसरमा आइतबार धनगढीमा आयोजित एक कार्यक्रममा उनलाई नाट्य तथा चलचित्र विधा अन्तर्गत नगद ५० हजार रुपैयाँसहित पुरस्कार प्रदान गरिएको हो ।

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानले थारु भाषा, कला र संस्कृतिको जगेर्ना तथा प्रवद्र्धनमा संगत थारुको विगत अढाई दशकदेखिको निरन्तर सक्रिय योगदानलाई उच्च मूल्यांकन गर्दै यो सम्मान प्रदान गरेको जनाएको छ । संगत थारुले थारु समाजका मौलिक कथा, संघर्ष र पहिचानलाई विभिन्न नाटक, चलचित्र, गीत तथा मञ्चनमार्फत जनचेतना फैलाउने कार्यमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएका छन ्।

पुरस्कार वितरण कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काले संगत थारुलाई सम्मानपत्र र नगद पुरस्कार हस्तान्तरण गरे । सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानले प्रत्येक वर्ष साहित्य, कला, संगीत, नाटक, चलचित्र लगायत विविध विधामा क्रियाशील प्रतिभाहरूलाई प्रादेशिक स्तरमा सम्मान र प्रोत्साहन गर्दै आएको छ ।

भादा होमस्टे नेपालकै उत्कृष्ट घोषित, एक लाख रुपैयाँ पुरस्कार

धनगढी, कैलाली — धनगढी उपमहानगरपालिका–१६ मा अवस्थित थारु समुदायद्वारा सञ्चालित भादा होमस्टे नेपालकै उत्कृष्ट होमस्टेमा चयन भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेको तारा गाउँ विकास समितिले सोमबार आयोजित एक कार्यक्रममार्फत भादा होमस्टेलाई उत्कृष्ट होमस्टे घोषित गर्दै एक लाख रुपैयाँ पुरस्कार प्रदान गरेको हो।

तारा गाउँ विकास समितिले देशभरका होमस्टेहरूलाई प्रतिस्पर्धाका लागि आवेदन मागेको थियो। प्राप्त आवेदनहरूको मूल्याङ्कनपछि भादा होमस्टेलाई उत्कृष्टको रूपमा चयन गरिएको होमस्टे महासंघ सुदूरपश्चिमका अध्यक्ष दिनेश दहितले जानकारी दिए।

उक्त घोषणासँगै भादामा सुदूरपश्चिम प्रदेशस्तरीय होमस्टे कार्यशाला गोष्ठी समेत सम्पन्न भएको छ। गोष्ठीको समापन अवसरमा समितिका अध्यक्ष सुरेशराज जोशी र नेपाली काँग्रेस सुदूरपश्चिम संसदीय दलका प्रमुख सचेतक विक्रम सिंह धामीले पुरस्कार हस्तान्तरण गरेका थिए।

प्रतिस्पर्धामा बर्दियाको डल्ला होमस्टेले दोस्रो स्थान हासिल गर्दै जैविकमार्ग होमस्टेको रूपमा ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो। काठमाडौको हाँडि गाउँ होमस्टे तेस्रो स्थानमा रही ५० हजार रुपैयाँ पुरस्कारसहित सम्मानित भएको छ।

भजहरमा रमाउँदै कैलालीका थारु समुदाय

घोडाघोडी (कैलाली),वैशाख  १६  गते ।  लस्करै खाना पकाउन चुलो लगाइएको थियो । कोही खाना पकाउन व्यस्त देखिन्थे भने कोही खाना भाग लगाउन व्यस्त देखिन्थे । छेउमै थारु समुदायले गाउने ‘सजना’ सुकमैया र रामलाल चौधरी गीत गाउनमा व्यस्त थिए ।

यो दृश्य हो खुला चौरमा बसी अबेर घर फर्किएका कैलालीको घोडाघोडी नगरपालिका–३ नारायणपुरका थारु समुदायको । सोमबार नारायणपुरका एक सय ७१ परिवार दिनभरि खुला चौरमा बसेर पूजा गरी खानपिनसँगै रमाइलो गरेर अबेर घर फर्किए । केही दिनअघि घोडाघोडी एक श्रष्टिनगरका थारु समुदाय पनि खुला चौरमा बसी त्यहीँ खानपिन गरेर बेलुका घर फर्किए ।

खुुलाचौरमा थारुहरूको महत्त्वपूर्ण पूजा भजहर मनाउन बसेका देखिन्थ्ये उनीहरू । अहिले कैलाली, कञ्चनपुरलगायत थारु समुदायमा भजहरको रौनक छाएको छ । हरेक स्थानमा फरकफरक दिनमा भजहर बस्ने गरिन्छ ।

घोडाघोडी नगरपालिकामा वैशाख २० गतेभित्र सबै गाउमा सक्नेगरी भजहर मनाउने निर्णय भएको घोडाघोडी नगरपालिकाका नगर भल्मन्सा समितिका सचिव अमन चौधरीले जानकारी दिनुभयो । वैशाखमा मनाइने यो पर्व थारु समुुदायले गर्ने पूजामध्ये एक हो ।

“यो पूजासँगै थारु समुदायमा लवाङ्गी पूजा, हरहर पूजा गर्ने गरिन्छ । लवाङ्गी र हरहर पूजा अन्नबालीसँग जोडिएको हुन्छ भने भजहर गर्मीयाम सुरु भएसँगै विभिन्न रोगव्याधीले सताउने हुँदा त्यस्ता रोग व्याधी नलागोस् भनेर पूजा गरिन्छ । भजहरको दिन बिहानै गुरुवामार्फत नवदुर्गाको पूजा गरिन्छ”, नगर भल्मन्सा बुधराम चौधरीले भन्नुभयो ।

दुर्गालाई खुसी पार्न पशुपक्षीको बलि दिने, गुरुवाले आफ्नो जिब्रो छेडेरे देवीलाई रगत चढाउने परम्परा रहेको उहाँले जानकारी दिनुभयो । यसल महामारी, रोगव्याधी हट्ने मान्यता रहेको उहाँले बताउनुभयो ।

पूजाका लागि गाउँका सबै जना मिलेर पैसा सङ्कलन गरी भेडा, पाठी, सुँगुर र कुखुरा बलि दिने गरिन्छ । भजहरमा दुर्गालाई पूजा गरे सुुखशान्ति छाउने र कुनै पनि महामारीले नछुने गुरुवा पञ्चराम चौधरीले बताउनुभयो । “भजहर मनाउने परम्परा भने पहिले र अहिलेमा फरक भएको छ । पहिले नौदेखि सात दिनसम्म भजहर बस्ने गरिन्थ्यो । अहिले एक दिनमात्रै बस्ने गरिन्छ । कतिपय समुदायमा अहिले पनि पाँच दिन, तीन दिन र साढे दुई दिन पनि बस्ने गरिन्छ”, उहाँले भन्नुभयो ।

भजहरको किंवदन्ती 

भजहरको सुरुआत कसरी भयो भन्ने कुरामा विभिन्न जानकारहरूका छुट्टाछुट्टै कथा र मान्यताहरू रहेका थारु संस्कृतिका अध्येता डा रामप्रसाद चौधरीले बताउनुभयो । धेरै किंवदन्तीमध्ये भजहर रामायणसँग जोडिएको प्रसङ्ग विशेष रहेको उहाँले जानकारी दिनुभयो ।

रावणको कब्जाबाट अयोध्या ल्याएपश्चात् जब रामले गर्भवती सीतालाई पुनःवनबास पठाउँछन् त्यतिबेला अयोध्यावासीले उहाँलाई घर बाहिर भोजन भण्डारा गराउँछन् । सोही कुराको स्मरण गर्दै थारु समुदायमा भजहर मनाउने चलन परम्परादेखि चल्दै आएको डा चौधरीले बताउनुभयो ।

सीताको किंवदन्तीसँग जोडिएको भजहरमा विस्तारै गुुरुवाहरूले दुर्गाको पूजाआजा गर्ने चलन जोडिँदै गएको डा चौधरीले जानकारी दिनुभयो  । उहाँका अनुुसार विशेषगरी गर्मीयाममा विभिन्न रोग र महामारीको प्रकोप आउने हुँदा त्यसबाट बच्नका लागि माता सीतासँगै दुर्गाको पूजा आराधना गर्दै भजहर मनाइने गरिन्छ । यसोगरे सम्पूर्ण महामारीबाट मुक्त हुने थारु समुदायको विश्वास छ ।

थारु समुदायको देवीदेवता पुज्ने, गाउँलाई महामारीबाट मुक्त गर्ने, झारफुक गर्ने, भूतप्रेतलगायत अनिष्टबाट बचाउन हरेक गाउँमा गुरुवा हुन्छन् । गाउँमा दुःख विमार एवं ठूलो विपत्ति आइपर्दा गाउँका भलमन्साले गुरुवालाई बोलाएर ठीक पार्ने गर्दथे । भजहर बसेन भने ठूलो विपत्ति आउने, महामारी र रोगव्याधीले सताउने मान्यता रहेको घोडाघोडी नगरपालिका वडा नं ३ कि भलमन्सा सीताबी कठरीयाले बताउनुभयो ।

महिलालाई खुसी राख्नसके परिवार र गाउँ समाज सुखी हुने विश्वासका साथ पनि भजहरलाई हेर्ने गरिन्छ । घरधन्दा र खेतीपातीमा व्यस्त महिला स्वतन्त्र रूपले घुम्न नपाउने अवस्थामा भजहरले सबैलाई एक ठाउँमा जम्मा हुने अवसर जुटाउने गर्दछन् ।

भजहरमा सबैजना जम्मा भएर एकअर्काका सुुखदुुःख साट्ने गरेको भजहरमा सहभागी घोडाघोडी नगरपालिका–३ सुधिया देवी चौधरी बताउनुहुन्छ । भजहरका बेला गाउँका सबै महिला दिदीबहिनी एक ठाउँमा जम्मा हुने, स्वतन्त्र रुपमा आफ्ना सुखदुःखका कुरा साटासाट गर्ने, सँगै पकाउने खाने, नाचगान गर्ने र खुला आकाशमुनि सुतेर रमाइलो गर्ने परम्परा रहिआएको छ । रासस

जथाभावी रङमा कारबाही, शिक्षकको तलब जुटाउन होली

धनगढी, फागुन २९ गते । रङको पर्व होलीमा कसैको इच्छाविपरीत जथाभाबी रङ लगाउने कार्य गरेमा कानुनी कारबाही गरिने जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । प्रशासनले बुधबार सार्वजनिक सूचना जारी गरी मर्यादित तरिकाले होलीपर्व मनाउन जिल्लावासीलाई अपिल गरेको छ । तराईमा चैत १ गते होली मनाइने भए पनि त्यसको रमझम सुरु भइसकेको छ ।

होली मनाउने नाममा अवाञ्छित गतिविधि नगर्न प्रशासनले अपिल गरेको छ । त्यस्तो गरेको पाइए प्रचलित कानुन अनुसार कारबाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीद्वारा जारी सूचनामा उल्लेख छ । कोही कसैको इच्छाविपरीत हानिकारक वस्तु दल्ने कार्य नगर्न पनि प्रशासनले आग्रह गरेको छ ।

नयाँ पुस्ताले गाए पुरानो होली गीत  

बैतडी समाचारदाताका अनुसार

‘कति राम्रो होरी फागुनमा खेल्दै आयौँ आँगनमा !’

यहाँका नयाँ पुस्ताले लोप हुन लागेको पुरानो होरीका गीत गाएर होली खेलेका छन् । मिजुरा, ढोलक, मादल र खैँजडी बजाएर स्थानीयले होली खेलेका हुन् । बैतडी सदरमुकाममा रोयल हिल युथ क्लब, जगन्नाथ बहुमुखी क्याम्पस, पाटन नगरपालिकामा सिद्धेश्वर मावि हुक्केडाँडा, सरस्वती मावि सल्लेवासा, सिगास गाउँपालिकाको पञ्चोदय माविलगायत दोगडाकेदार गाउँपालिका, डिलासैनी गाउँपालिका, मेलौली नगरपालिकालगायत जिल्लाभरिका विभिन्न स्थानमा होली खेलिएको छ ।

विद्यालयमा कोष जम्मा गर्न होली आयोजना गरिएको पाटन नगरपालिका–९, हुक्केडाँडास्थित सिद्धेश्वर माविका व्यवस्थापन समितिका अध्यक्ष प्रेम भाटले जानकारी दिनुभयो । त्यसै गरी दशरथचन्द नगरपालिका–४ स्थित रोयल हिल युथ क्लबका युवा परम्परागत होरीका गीत गाएर होली खेलिरहेका मोहित भण्डारीले बताउनुभयो । नयाँ र पुराना पुस्तालाई जोड्ने गरी सदरमुकाममा होली आयोजना गरिएको सामाजिक अगुवा विजय रानाले बताउनुभयो ।

बैतडी र भारतको कुमाउ गढवालतिर गाइने होरीमा एकरूपता रहेको सामाजिक अगुवा सानु भण्डारीले बताउनुभयो ।

संस्कृतिका जानकार ज्योतिषी पण्डित गणेशदत्त पन्तका अनुसार प्राचीन समयमा नास्तिक हिरण्यकश्यपु नामक राक्षसले भगवान् विष्णुका भक्त तथा आफ्नै छोरा प्रह्लादलाई अग्निकुण्डमा हालेर मार्न आफ्नी बहिनी होलिकालाई जिम्मा दिएका थिए । होलिकाले आगोले जलाउन नसक्ने वरदान पाएकी थिइन् ।

दाजुको आदेश अनुसार होलिकाले प्रह्लादलाई काखमा लिएर अग्निमा बस्दा आगोले धर्मको साथ दिएकाले होलिका जलेर नष्ट भइन् तर प्रह्लादलाई केही भएन ।

होलिका दहनकै खुसियाली मनाउन हरेक वर्ष फागुपूर्णिमाको उपलक्ष्यमा एकआपसमा रङ र अबिर दलेर होलीपर्व मनाउने परम्परा चलेको पन्तले बताउनुभयो ।

तलब जुटाउन होली

बासुलिङ समाचारदाताका अनुसार निजी स्रोतमा शिक्षक राखेर विद्यालय सञ्चालन गर्न असहज भएपछि बैतडीका धेरै जसो विद्यालयले होली खेलेर तलबका लागि खर्च जोहो गरिरहेका छन् । सुदूरपश्चिम र कर्णाली क्षेत्रमा फागुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म सात दिन होली खेल्ने चलन छ । होली र देउसीभैलो खेलेर हरेक वर्ष तीन/चार लाख रुपियाँ सङ्कलन गर्न सकेकाले निजी स्रोतका शिक्षकको तलब बेहोरिरहेको पाटन नगरपालिका–९, हुक्केडाँडास्थित सिद्धेश्वर माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिंह भाटले बताउनुभयो ।

विद्यालयले धेरै वर्षदेखि होली खेलेर आर्थिक स्रोत सङ्कलन गर्दै आएका छन् । यो विद्यालयले आफ्नै स्रोतमा छात्रावास पनि सञ्चालन गरेको छ । निजी स्रोतका शिक्षक, छात्रावासलगायत शैक्षिक सामग्री व्यवस्थापनका लागि हरेक वर्ष होली खेलेर रकम सङ्कलन गर्दै आइरहेको व्यवस्थापन समितिका अध्यक्ष भाटले बताउनुभयो । पाटन नगरपालिका–१० स्थित सरस्वती मावि सल्लेबासाले होली खेलेर दुई लाखभन्दा बढी रुपियाँ सङ्कलन गरेको छ । होलीबाट सङ्कलित रकमले विद्यालयमा शैक्षिक सामग्री किन्ने गरेको प्रधानाध्यापक लोकराज भट्टले बताउनुभयो ।

बैतडीको सिद्धेश्वर मावि मेल्चौरा, जनता मावि आरुबाटा, सिगास मावि गुरुडा, केदार मावि कठमडा, जगन्नाथ बहुमुखी क्याम्पस गोठालापानी, पाटन बहुमुखी क्याम्पस पाटनलगायतका विभिन्न शैक्षिक संस्थाान धुमधामसाथ होली खेलिएको पाटन नगरपालिका–८ का हरिदत्त भट्टले बताउनुभयो ।

रानाथारू समुदायमा होरीको रौनक सुरु

अविनाश चौधरी

धनगढी, फागुन २८ गते । सुदूरपश्चिम प्रदेशको तराईवासी रानाथारू समुदायमा होरी पर्वको रौनक सुरु भएको छ । एक महिना आठ दिनसम्म चल्ने होरी पर्वमा अहिले रानाथारू समुदायका मानिसले जिन्दा होरी मनाइरहेका छन् । जिन्दा होरीमा रातिको समय ढोल तालमा सामूहिक रूपमा होरी नाच नाचेर रमाउने चलन रहेको छ । माघ पूर्णिमादेखि फागुन पूर्णिमासम्म जिन्दा होरी खेलेर रमाउने गरेको नारायण रानाले बताउनुभयो ।

उहाँका अनुसार होली पर्वको होलिका दहन नगरुन्जेलसम्म रानाथारू समुदायका बुढापाका, युवकयुवती मिलेर राति जिन्दा होरी नाच नाच्ने र रमाउने गर्दछन् । अहिले विभिन्न गाउँमा हरेक रात जिन्दा होरी नाच देखाउने काम भइरहेको छ ।

होरी रानाथारू समुदायको सबैभन्दा ठुलो पर्व हो । जिन्दा र मरी गरेर दुई चरणमा होरी पर्व मनाउने गरिन्छ । नेपाल रानाथारू समाजका पूर्वकेन्द्रीय अध्यक्ष जीवन रानाका अनुसार होलिका दहनपछि रानाथारू समुदायमा मरी होरी सुरु हुन्छ । मरी होरी आठ दिनसम्म मनाउने चलन छ । मरी होरी अवधिभर मौलिक पहिरन लगाएर दिउँसो होरी नाच नाचेर रमाउने गरेको रानाको भनाइ छ ।

मरी होरीको अन्तिम दिनलाई खख्डेहरा भन्ने गरिन्छ । गाउँका मानिसले बिहानै खख्डेहरा फुटाएपछि एक महिना आठ दिनसम्म मनाइने होरीको विधिवत् रूपले समापन हुन्छ । खख्डेहरा फुटाएको दिन आफन्त, मित, मितिनी, इष्टमित्रलाई बोलाएर हट्कना (मिठा मिठा खानाको परिकार) खुवाउने चलन रहेको छ । खख्डेहरा रानाथारू होरीको सबैभन्दा महत्वपूर्ण दिन हो । यस दिन प्रदेश सरकारले हरेक वर्ष सार्वजनिक बिदा दिँदै आएको छ ।

खख्डेहरा फुटाएर होरी पर्वको समापन गरिए पनि होरी सेलाउने कार्य भने चराइँमा हुने गरेको छ । चैत महिनामा चराइँ पर्व मनाएपछि बल्ल होरी सकिने गरेको रानाको भनाइ छ । यो समुदायका मानिसले असत्यमाथि सत्यको जित भएको खुसियालीमा नाच्दै, रमाउँदै होरी पर्व मनाउने गरेको बताइएको छ ।

घोरीघोरा लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव–२०८१: सम्पूर्ण तयारी पूरा

१८ मंसिर, सुखड – कैलालीको घोडाघोडी नगरपालिका–१, घोडाघोडी मन्दिर परिसरमा आयोजना हुने घोरीघोरा लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव–२०८१८८ को सम्पूर्ण तयारी पूरा भएको छ । “थारुने कुल देउथान हे संरक्षण ओ प्रबद्र्धन करना हमार अभियान “ भन्ने मूल नाराका साथ महोत्सव मंसिर १९ गतेदेखि सुरु हुँदैछ ।

घोडाघोडी नगर भल्मल्सा कार्य समितिका सचिव अमन चौधरीका अनुसार महोत्सवमा १०० भन्दा बढी व्यापारिक स्टलहरू रहनेछन । महोत्सवको उद्घाटन सुदूरपश्चिम प्रदेशका उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्री लक्ष्मण किशोर चौधरीले गर्ने समितिका सचिव चौधरीका जानकारी दिए ।
तीनदिने महोत्सव
घोडाघोडी नगर भल्मल्सा कार्य समिति, घोडाघोडी सन्त समागम समाज, र घोडाघोडी संस्कृति संरक्षण समाजको संयुक्त आयोजनामा हुने महोत्सव मंसिर १९ गतेदेखि २१ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा घोडाघोडी नगरपालिकाका ८२ गाउँका स्थानीयवासी सँगै कैलाली, कञ्चनपुर, र दाङ जिल्लाबाट पनि ठूलो संख्यामा भक्तजनहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ ।
सांस्कृतिक झलक
महोत्सवको मुख्य आकर्षण थारु समुदायको संस्कृति झल्काउने झाँकी, स्थानीय र राष्ट्रिय कलाकारहरूको प्रस्तुति, र परम्परागत नृत्यहरू हुनेछन । आयोजकका अनुसार महोत्सवमा बडका नाच, सखिया नाच, लाठी नाच, झुम्रा नाच, दिन नचुवा नाच, धमार, मांगर नृत्य८८ लगायत थारु समुदायको विशिष्ट परम्परागत नृत्य प्रस्तुती हुने जनाइएको छ ।
ऐतिहासिक र धार्मिक महत्त्व
थारु समुदायले परापूर्वकालदेखि घोडाघोडी क्षेत्रमा लवाङ्गी पूजा मनाउँदै आएको इतिहास छ । अन्नबाली भित्र्याएपछि देवताहरूलाई चढाउने धार्मिक परम्परा अन्तर्गत लवाङ्गी पूजा विशेष रूपमा मनाउने गरिन्छ । पछिल्लो एक दशकयता यस पूजासँगै सांस्कृतिक महोत्सव पनि आयोजना हुँदै आएको छ ।
यस महोत्सवले थारु समुदायको सांस्कृतिक पहिचानलाई प्रवर्द्धन गर्दै धार्मिक पर्यटनको प्रवर्द्धनमा पनि योगदान पु¥याउने विश्वास लिइएको छ ।

लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव मंसिर १९ देखि २१ गतेसम्म

सुखड, कैलाली: कैलाली जिल्लाको घोडाघोडी नगरपालिकामा अवस्थित घोडाघोडी मन्दिरमा यस वर्ष विवाह पञ्चमीका अवसरमा थारु समुदायको विशेष “लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव २०८१” हुने भएको छ। “हमार संस्कृति हमार पहिचान, संस्कृति जर्गना करना हमार अभियान” भन्ने मुख्य नाराका साथ आयोजित महोत्सव मंसिर १९ देखि २१ गतेसम्म आयोजना हुनेछ।

थारु समुदायले वर्षौंदेखि आफ्ना परम्परागत चाडपर्व अनुसार बाली घरमा भित्र्याउने बेलामा पहिले देवतालाई चढाएर मात्र उपभोग गर्ने परम्परा पालन गर्दै आएको छ।  नियमित रूपमा घोडाघोडी मन्दिरमा विवाह पञ्चमीको दिन मनाइँदै आएको लवाङ्गी पूजा यस पटक पनि विशेष सांस्कृतिक उत्सवका रूपमा आयोजना गरिन लागेको हो।

महोत्सवको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मूल आयोजक समितिका संयोजक बुधराम चौधरीले यस पर्वले थारु समुदायको धार्मिक तथा सांस्कृतिक पहिचानलाई सुदृढ गर्न, युवापुस्तामा हस्तान्तरण गर्न र कला–संस्कृतिको संरक्षणमा योगदान पुर्‍याउने उद्देश्य रहेको बताए। महोत्सवमा कैलाली, कञ्चनपुर, बर्दिया, बाँके र दाङलगायतका जिल्लाहरूबाट थारु समुदायका भक्तजनहरूको उपस्थिति हुने अनुमान गरिएको छ। थारु समुदायमा विशेषरूपमा प्रचलित बर्का नाच, सखिया नाच, मुग्रहुवा नाच, कठघोरी नाच लगायतका नृत्य प्रस्तुति तथा थारु कलाकारहरूको विशेष प्रस्तुति रहनेछ।

सन्त समागम समाजका अध्यक्ष कप्तान चौधरीका अनुसार १ सय ७३ गाउँका भलमन्सा, गुरुवा र चिराकीहरूको सहभागिताले महोत्सवलाई अझ व्यवस्थित बनाउन सहयोग हुने बताए । घोडाघोडी ताललाई विश्व रामसार सूचीमा सूचीकृत गरिएको हुँदा यस महोत्सवले तालको संरक्षण, सदुपयोग, र अन्तर्राष्ट्रिय प्रचारप्रसारको लागि थप सन्देश दिन सहयोग पुर्‍याउने उद्देश्य राखेको बताइयो।

कार्यक्रमको सञ्चालन घोरिघोरा नगरभलमन्सा कार्य समितिका सचिव अमन चौधरीले गरेका थिए।

निर्माणाधीन दरबारको झ्यालका सिसा हटाउन पत्र

मङ्गलसेन, कात्तिक २० गते । निर्माणाधीन अवस्थामा रहेको मङ्गलसेन दरबारको झ्यालमा राखेको सिसा हटाउन मङ्गलसेन नगरपालिकाले अनुरोध गरेको छ । पुरानै संरचनामा निर्माण भइरहेको दरबारको झ्यालमा सिसा लगाएकाले दरबारको ऐतिहासिक तथा सांस्कृतिक झल्को मेटिने भएकाले सिसा हटाउन पत्र पठाएको छ ।

दरबारको झ्यालमा लगाइएका सिसा हटाएर पुरानै शैलीमा काठको प्रयोग गर्न अनुरोध गरिएको छ । पुरानै शैलीमा निर्माण भइरहेको दरबार पर्यटकीय रूपमा हेरिएकाले सिसा प्रयोगविरुद्ध स्थानीयको माग र दबाब भएकाले सहरी विकास तथा भवन निर्माण विभागलाई लेखिएको नगरका उपप्रमुख सङ्गीता रावल सोडारीले जानकारी दिनुभयो । सिसा प्रयोगले दरबारको स्वरूप नै भद्दा भएको दरबार अवलोकन गर्नेको भनाइ आइरहेको बताइएको छ ।

२०६७ सालमा निर्माण पूरा हुने गरी २०६५ मा ठेक्का भएर निर्माणका क्रममा रहेको मङ्गलसेन दरबारलाई प्रदेशस्तरकै सङ्ग्रहालय बनाउनुपर्र्ने माग बढेको छ । ऐतिहासिक र सांस्कृतिक रूपमा ठुलो सङ्ग्रहालयका रूपमा सुदूरपश्चिम प्रदेश सरकारले सङ्ग्रहालय बनाउन स्थानीयको माग छ ।

अछामी राजाका पालामा करिब दुई सय वर्षअघि निर्माण गरिएको भनिएको सो दरबार २०५८ फागुन ४ गते राति तत्कालीन नेकपा (माओवादी) ले सदरमुकाम आक्रमणका क्रममा ध्वस्त भएको थियो । १४ वर्षसम्म पनि निर्माण नभएको भन्दै स्थानीय आक्रोशित छन् ।

गाउँबस्तीमा लोप हुँदैै दमाहा बाजा

जुरा, कात्तिक १३ गते । चाडपर्व र विभिन्न सामाजिक क्रियाकलापमा बज्ने गरेका दमाहा बाजा बाजुराका गाउँबस्तीबाट लोप हुन थालेका छन् । बजारमा आधुनिक प्रविधिका बाजा भित्रिएसँगै गाउँमा बज्ने गरेको दमाहा बाजा पछिल्लो समय लोप हुन थालेका हुन् । यहाँका गाउँबस्तीमा अझै दमाहा बाजाको छुट्टै महत्व रही आए पनि नयाँ पुस्ताले यसलाई बजाउने खासै चासो नदिँदा दमाहा बाजा विस्तारै लोप हुँदै गएको त्रिवेणी नगरपालिका–८ का स्थानीय पदम नेपालीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पहिला गाउँबस्तीमा कसैको विवाह भयो भने यो दमाहा बाजाको माग हुन्थ्यो । अहिले ती विवाहमा समेत डिजे बज्न थाल्छन् ।” यसरी बजारमा आउन थालेको आधुनिक प्रविधिका बाजाले गाउँमा बजार पाएसँगै गाउँमा बज्ने गरेको दमाहा बाजा विस्तारै लोप हुँदै गएको नेपालीले बताउनुभयो । यहाँका आउजी, नगर्जी, नेपाली, ढोली, दमाईं थरका व्यक्तिले यो दमाहा बाजा बजाउने चलन छ । उनीहरूले गाउँमा हुने गरेका विवाह, पूजापाठ, भुवा भैलो र दसैँको नौरथामा दमाहा बाजा बजाउने गर्छन् ।

यो दमाहा बाजा संरक्षण नगरिए चाँडै लोप हुने देखिन्छ । यसको संरक्षण गर्न जरुरी छ । यो बाजा लोप भएपछि यहाँका कला संस्कृतिसमेत लोप हुने अवस्था रहेको यहाँका ज्येष्ठ नागरिक बताउँछन् । दमाहा बाजा एक प्रकारको नेपाली बाजा हो यसलाई बजाउन गजो अर्थात् लौरो प्रयोग गर्नु पर्छ । यसलाई पन्चैबाजा समूहको ताल बाजामा लिइन्छ । यो घाँटीमा राखेर बजाइन्छ । पानीले दुई दिन जति भिजाइएको दमाहा राम्रो बज्ने गरेको दमाहा बखर्ने अर्थात् दमाहामा छाला लगाउने गरिन्छ । यो बाजामा मरेको गोरुको छाला दुई दिन पानीमा भिजाएपछि मात्रै छाला नरम हुन्छ र बर्खन सजिलो हुन्छ  । बाजुरामा प्रदेश र सङ्घीय सरकारबाट उच्च ओहदाका मानिस आएपछि यो दमाहा बजाएर स्वागत गर्ने चलन छ तर दमाहा भने विस्तारै लोप हुने अवस्थामा छ । यसको संरक्षण तथा प्रवर्धनमा कसैको चासो छैन । यसमा अहिलेका स्थानीय सरकारको समेत ध्यान जान जरुरी छ ।

धार्मिक अनुष्ठानमा आचार्य कृष्ण दमाईंको माग

बैतडी, कात्तिक ५ गते । संस्कृतमा आचार्य उत्तीर्ण गर्नुभएका बैतडीका कृष्ण दमाईंलाई देशका विभिन्न धार्मिक अनुष्ठान र महायज्ञमा सम्मानसाथ बोलाइन थालेको छ । जातीय विभेद अन्त्य गर्न गण्डकी प्रदेशको पोखरामा आयोजित धार्मिक अनुष्ठानमा सुदूरपश्चिम प्रदेशबाट आचार्य कृष्ण दमाईं र ज्योतिष पं. गणेशप्रसाद पन्त सहभागी हुनुभएको छ ।

विश्वकर्मा वैदिक कर्मकाण्ड समाज कास्की पोखराको आयोजनामा कात्तिक २ र ३ गते पोखरा बैदामस्थित केदारेश्वर महादेव मन्दिर, संस्कृत गुरुकुलसमेत रहेको बोलबम धाममा आयोजित धार्मिक अनुष्ठान तथा महायज्ञमा देशका विभिन्न जिल्लाबाट ब्राह्मण र दलित समुदायका धर्मगुरुको सहभागिता रहेको थियो ।

पोखरामा पहिलो पटक गुरुकुलमा जातीय विभेदरहित तवरले पूजा, हवन, प्रवचन एवं गुरुकुलका बटुकसहित संयुक्त भोजन ग्रहण गरिएको आयोजले जानकारी दिएको छ । धार्मिक अनुष्ठानमा दलित, जनजाति परिवारबाट संस्कृत पढेका गुरुहरूको संयुक्त उपस्थितिमा गुरुकुलका बटुकहरूसँग रुद्राभिषेक, हवन, लाखबत्ती प्रज्वलन एवं दुईदिने प्रवचन कार्यक्रम गरिएको हो ।

धार्मिक अनुष्ठानमा अग्निस्थापन, जपहवन, तर्पण मार्जन, ब्राह्मण भोजन, शिल्पी समुदायबाट प्रमुख यजमान, वेद पाठ, गायत्री मन्त्र दीक्षा, एकाह श्रीमद्भागवत महापुराण पाठपारायण, चार वेद पाठ, लघुरुद्राभिषेक, नवचण्डी आदि अलौकिक कार्यक्रम गरी चार सयभन्दा बढी दलित समुदायका व्यक्तिलाई समावेश गराएको बताइएको छ । कार्यक्रममा केदारेश्वर धामका प्रमुख डा. लेखनाथ आचार्य (स्वामी विद्वत् चैतन्य) पण्डित दीनबन्धु पोखरेल, पण्डित भीमकान्त पन्थी, पण्डित गणेशप्रसाद पन्त, पण्डित चन्द्रकान्त पौडेल, पण्डित राजानन्द माण्डव्यलगायतले ब्राह्मण समुदायको प्रतिनिधित्व गरेर प्रवचन गर्नुभएको थियो ।

त्यसै गरी दलित समुदायको प्रतिनिधित्व गर्दै आचार्य कृष्ण दमाईं, पण्डित लक्ष्मण रसाइली, पण्डित किरण लामगादेलगायत अन्य विभिन्न गुरुहरू एवं विदुषी माताहरूले कथा प्रवचन एवं भजनकीर्तन गरेको आचार्य कृष्ण दमाईंले जानकारी दिनुभयो ।

बोलबम धामका प्रमुख स्वामी विद्वत् चैतन्यले नेपालभरिका धर्मगुरुले यस्तै किसिमका कार्यक्रम गरेर धर्मरक्षाका लागि अगाडि आउनुपर्नेमा जोड दिएको सहभागी बैतडीका ज्योतिष पं. गणेशप्रसाद पन्तले जानकारी दिनुभयो । आचार्य कृष्ण दमाईजस्ता संस्कृतमा आचार्य गर्नुभएका प्रतिभालाई गुरुकुलमै गुरु बनाएर राख्नुपर्ने धारणा पण्डित चन्द्रकान्त पौडेलले व्यक्त गर्नुभएको उहाँले जानकारी दिनुभयो । श्रीहरि विश्वकर्मा र राजेन्द्र भुसालको संयुक्त सङ्कल्पमा कार्यक्रम गरिएको समाजसेवी बेलबहादुर विश्वकर्माले बताउनुभयो । संस्थाले आगामी दिनमा सबै प्रदेशमा रहेका गुरुकुलहरू एवं धार्मिक मठमन्दिरमा यस किसिमका समावेशी कार्यक्रमको निरन्तरता दिइने विश्वकर्मा वैदिक कर्मकाण्ड समाज कास्कीका अध्यक्ष वास्तुविद् पण्डित लक्ष्मण रसाइलीले बताउनुभयो ।