शुक्लाफाँटामा किसान महादेव चौधरीद्वारा पहिलोपटक टिपिएस विधिबाट आलु बीउ उत्पादनको शुरूआत

कञ्चनपुर,  मङ्सिर १३ गते ।  शुक्लाफाँटा नगरपालिका–८ नौखरीका व्यावसायिक तरकारीखेतीमा संलग्न किसान महादेव चौधरीले यस वर्ष पहिलोपटक टिपिएस (ट्रयु पोटेटो सिडस) विधिबाट आलुखेती गर्नुभएको छ । चौधरीले आलुको बिँडाबाट प्राप्त वास्तविक बियाँ प्रयोग गरी नर्सरीमा बिरुवा उत्पादन गरेपछि खेतमा सारेर उहाँले बिरुवा रप्नुभएको हो ।

चौधरीका अनुसार टिपिएस विधिबाट प्राप्त बिरुवा रोगप्रतिरोधी, स्वस्थ र बढी उत्पादन दिने भएकाले यसलाई प्राथमिकता दिएको बताउनुभयो । “पहिले बियाँ रोपेर वेर्ना बनायौँ, त्यसपछि खेतमा सारेर रोप्यौँ”, चौधरीले भन्नुभयो, “यसबाट आगामी वर्ष रोगमुक्त उच्च गुणस्तरको बीउ उत्पादन गर्ने लक्ष्य छ ।”

एक दशकदेखि व्यावसायिक तरकारीखेतीमा संलग्न चौधरीका लागि टिपिएस विधि बियाँ उत्पादनतर्फको प्रवेशको पहिलो अनुभवका रूपमा रहेको छ । आधुनिक आलु उत्पादन प्रविधि उपयोग गरेर बीउ उत्पादन लागत घट्ने, रोगको जोखिम कम हुने र उत्पादन वृद्धि हुने भएकाले नयाँ विधि अपनाएको चौधरीले बताउनुभयो ।

हाल चौधरीले दुई कट्ठा क्षेत्रमा बियाँबाट तयार पारिएका आलुका बिरुवा रोप्नुभएको छ । आउँदो वर्ष दश कट्ठा जग्गामा यसै विधिबाट उत्पादन भएको मूल बीउ रोपेर रोगमुक्त आलु बीउ उत्पादन गर्ने लक्ष्य राख्नुभएको छ । टिपिएसबाट उत्पादन हुने बीउको मूल्य अधिक हुने भएकाले आम्दानीमा उल्लेख्य वृद्धि हुने उहाँको अपेक्षा रहेको छ । चौधरीले हाल आलुसँगै काउली, गोलभेडा, खुर्सानी, बन्दागोभी, तिते करेला, काँक्रा, लौका, फर्सी र तने बोडी गरी दश कट्ठा क्षेत्रफलमा विविध सागसब्जीखेती गर्दै आउनुभएको छ ।

सागसब्जी उत्पादनबाट चौधरीले वार्षिक रु सात लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । “टिपिएस आलुखेतीलाई भविष्यमा बीउ उत्पादन तथा आधुनिक तरकारी व्यवसाय विस्तारको मुख्य आधारका रूपमा लिएको छु”, उहाँले भन्नुभयो, “यसरी उत्पादन भएको आलुको बीउलाई व्यावसायिक रूपमा आलुखेती गर्ने किसानलाई उपलव्ध गराउने योजना छ ।”

पहिलो पुस्ताको आलुको बीउ प्रयोग गरी खेती गरिए उत्पादन बढ्नुका साथै छ वर्षसम्म बीउका रूपमा प्रयोग गर्न सकिने उहाँ बताउनुहुन्छ । यस प्रविधिबाट आलुको बीउ उत्पादन गर्न किसानलाई सिकाउने उहाँले उद्देश्य लिनुभएको छ । बाह्य जिल्लाका किसानले बियाँबाट बिरुवा तयार गरी आलु रोपेको देखेर चौधरीले त्यो तरिका सिकेर आलुको बीउ उत्पादनमा संलग्न हुनुभएको हो । रासस

बैतडीमा प्रहरीको छापामारीः पाटन–७ बाट पाँच थान अवैध भरुवा बन्दुक बरामद

केशवराज भट्ट
वासुलिङ (बैतडी), मङ्सीर १२ गते । 
जिल्लाको पाटन नगरपालिका–७ उपल्लाबाटुलामा प्रहरीको संयुक्त टोलीले पाँच थान अवैध भरुवा बन्दुक बरामद गरेको छ । उपल्लाबाटुलाका ५२ वर्षीय भागीराम लुहारको घरमा गोप्य सूचनाको आधारमा बिहीबार गरिएको खानतलासीबाट बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले बताउनुभयो ।

गोप्य सूचनामा भागीराम लुहारले घरमै भरुवा बन्दुक बनाउने गरेको बताएको छ । गोप्य सूचनाको आधारमा  नेपाल प्रहरी र सशस्त्र प्रहरीको सादा पोशाकमा खटिएको टोलीले घरमा छानबिन गर्दा पाँच थान भरुवा बन्दुक फेला पारेको निरीक्षक बडूले बताउनुभयो ।

बरामद भएका पाँच बन्दुकमध्ये तीन थान साबुत अवस्थामा छन् भने दुई थान बेसाबुत (अपूर्ण) अवस्थामा भेटिएको बडूले जानकारी दिनुभयो । भागीराम हाल उपचारका लागि भारतमा रहेको बताएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

बैतडीमा पछिल्लो समय अवैध हतियार नियन्त्रणमा प्रहरीले सक्रियता बढाएको छ । यसअघि गएको शनिबार पञ्चेश्वर गाउँपालिका–३ हल्दुविनायकबाट पनि एक थान भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे थियो ।

बेतबाँसका सामग्री बेचेर धनगढीका बाधुराम चौधरीको मासिक ७० हजार आम्दानी

कैलाली,  मङ्सिर १२ गते ।  धनगढी उपमहानगरपालिका-४ उत्तरबेहडीका बाधुराम चौधरीले व्यावसायिक रूपमा बेतबाँसका सामग्री बेचेर मासिक रु. ७० हजार आम्दानी गर्दै आउनुभएको छ । लामो समयदेखि उहाँले आफ्नो हस्तकला सीप प्रयोग गरी बेतका विभिन्न सामग्री निर्माण गरी बिक्री गर्दै आउनुभएको हो ।

चौधरीले आफ्नो उद्योगबाट घरायसी प्रयोगमा आउने थरिथरिका सामग्री बनाएर बिक्री गर्दै आउनुभएको हो । उद्योग सञ्चालनमा उहाँलाई परिवारका सबै सदस्यले साथ दिनुभएको छ । बेतबाँसका विभिन्न सामग्री बिक्री गरेर बालबच्चाको लालनपालन, शिक्षादीक्षा र घरपरिवारको सम्पूर्ण खर्च धान्दै आएको चौधरीले बताउनुभयो ।

“श्रीमान् श्रीमती र छोराछोरी गरी घरमा पाँच जनाको जहान छ । छोराछोरीलाई बिहान स्कुल पढ्न पठाएर बुढाबुढी यही काममा खटिन्छाँै ।  परिवारको सम्पूर्ण खर्चको मुख्यस्रोत यही उद्योग हो, अन्य कुनै पनि घरखर्च चलाउने बाटो छैन्” उहाँले भन्नुभयो, “सोही व्यवसायले परिवारको पूरै खर्च धान्दै आएको र केही बचत पनि हुने गरेको छ ।”

सुरुमा व्यवसाय सुुरु गर्दा आर्थिकस्थित एकदमै कमजोर थियो । घरखर्च र जीविकोपार्जनमा समस्या हुँदै आएकामा अहिले सोही व्यवसायबाट परिवारको सम्पूर्ण खर्चसँगै केही बचत हुन थालेको चौधरीले बताउनुभयो ।

सुरुका दिनमा बेतबाट निर्मित सामग्रीले बजार पाउन कठिन भए पनि अहिले यसको माग बढ्दै गएको छ । “अहिले बजार पनि पाउन थालेकाले बिक्री प्रशस्त हुन्छ”, उहाँले भन्नुभयो, “अहिले ग्राहकको माग अनुसार सामग्री पुर्‍याउन सकिरहेका छैनौँ ।”

व्यवसायी चौधरीले बेतबाट हेङुगर, फूलदानी, पिर्का, झुला, चुरा राख्ने हेङ्गरलगायत विभिन्न सामग्री बनाएर बिक्री गर्दै आउनुभएको छ । हेङ्गर रु. एक हजार ६००, फूलदानी ४५०, कुर्सी तीन हजार, बस्ने पिर्का रु. ३५० देखि रु ४००, झुला रु. दुई हजार ५०० मा बिक्री गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

मासिक रूपमा रु. ७० हजार बराबरको कारोबार हुने जनाउँदै चौधरीले करिब ४० प्रतिशतसम्म फाइदा हुने बताउनुुभयो । विदेश नगएर थोरै भए पनि आफ्नै गाउँठाउँमा काम गरेर आर्थिकोपार्जन गर्नुपर्दछ भन्ने सोचले सो व्यवसायमा आबद्ध भएको भनाइ छ । रासस

घोडाघोडीमा लवांगी पूजा तथा सांस्कृतिक महोत्सव सुरु

 

ईन्द्रा कुमारी केसी
घोडाघोडी (कैलाली), ७ मंसिर
कैलालीको घोडाघोडीमा आज बाट घोरीघोरा लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव सुरु भएको छ । थारु समुदायको मौलिक संस्कृति, धर्म र परम्परालाई जगेर्ना गर्ने उद्देश्यले लवांगी पूजा तथा थारु सांस्कृतिक महोत्सव सुरु भएको हो । महोत्सवको एक कार्यक्रमका बिच घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक रावतले दियोमा बत्ती बाली थारुहरुको देउताको प्रतिक घोरीघोराको प्रतिमामा छाँक (रक्सी) चढाएर उद्घाटन गर्नुभयो ।
उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख रावतले घोडाघोडीको संरक्षणका लागि नगरपालिका निरन्तर प्रयासमा लागिरहेको बताउनुभयो । धार्मिक पर्यापर्यटनको हिसाबले अगाडि बढाउनका लागि एकिकृत योजना बनाएर अगाडि बढेको उहाँको भनाइ थियो ।
राज्यले अगाडी बढाएको काममा केही व्यक्तिले सहयोग गर्नुको साटो बिबाद गर्न तर्फ लागेको बताउदै उहाँ भन्नुहुन्छ राजश्वका नाममा विवाद गर्नुको साटो समन्वयात्मक हिसावले अघि बढ्नुपर्छ ।
तिन तहका सरकार बाहेक कसैले पनि राष्ट्रिय राजश्व उठाउन सक्दैन त्यसैले संविधान, संघिय ऐन र कानूनलाइ आत्मसाथ गर्दै अघि बढिरहेको उहाँले बताउनुभयो ।
उहाँ भन्नुहुन्छ,घोडाघोडीको संरक्षणको पाटोमा हामि सबैको ध्यान पुग्न सकेको छैन यसका लागि सबै पक्ष एक जुट हुन आवश्यक छ ।
उद्घाटन कार्यक्रममा थारू संस्कृति झल्कने सखिया, हुर्दुङवा, लगायतका थारु नाचहरु प्रस्तुत गरिएका थिए ।

थारुहरुको मौलिक खाना ढिक्री, माछाको चटनी, गगँटा लगायत परिकार अतिथिलाई स्वागत गरिएको थियो ।घोरीघोरा नगर भलमन्सा कार्य समिति, सन्त समागम समाज र घोडाघोडी तथा संस्कृति संरक्षण समाजको संयुक्त आयोजनामा पूजा तथा सांस्कृतिक महोत्सव सुरु भएको हो ।
थारु समुदायले सिता विवाह पञ्चमीका दिन गर्ने लवांगी पूजा धार्मिक तथा सांस्कृतिक परम्पराको महत्त्वपूर्ण अंश हो । लवांगि पूजा कार्यक्रममा ८४ गाउँका थारु समुदायको उपस्थिति हुन्छ । लवाङ्गी पुजामा पञ्च तत्त्वको पूजा गरिन्छ । अन्नसँग जोडिएकाले पनि लवांगी पूजाको महत्त्व छ । विशेष गरी कैलालीको घोडाघोडी मन्दिरमा थारुहरूको लवांगी पूजा हुने गरेको छ । थारु समुदायले अन्नबाली घर भित्र्याइसकेपछि सर्वप्रथम देउतालाई चढाउने पूजा भएकाले पनि लवाङ्गी पूजाको नाम रहन गएको नगर भल्मल्सा कार्यसमितिका अध्यक्ष बुधराम चौधरी बताउनुहुन्छ । पहिला पहिला सामान्य पूजा कार्यक्रम मात्र गरिने भए पनि केही वर्ष यता महोत्सवको रूपमा थारु संस्कृति झल्काउने सांस्कृतिक कार्यक्रम, खाना प्रदर्शनी गरेर पूजालाई भव्य रुपमा सम्पन्न गरिँदै आएको छ ।
“पश्चिम नेपालका थारू समुदायको सबैभन्दा ठुलो देउथान घोडाघोडीलाई मानिन्छ । घोडाघोडी मन्दिरलाई थारू समुदायले घोरी घोरा देउथानका रूपमा मान्दै परापूर्व कालदेखि यस क्षेत्रमा लवाङ्गी पूजा गर्दै आएको अध्यक्ष चौधरीले जानकारी दिनुभयो । देउताको बास भएको ठाउँमा बलि दिएर पूजा गरिन्छ, त्यो देउथान हो । यस क्षेत्रमा परापूर्व कालदेखि नै बलि दिएर पूजा गरिन्छ त्यसैले यो घोरी घोरा देउथान हो मन्दिर होइन,उहाँ भन्नुहुन्छ ।
यस बर्ष लवांगि पूजा ९ गते हो । लवांगी पूजाको अघिल्लो रात अर्थात भोली (आइतवार) थारू गुरुवाहरूले ढाक बजाउने, धामी बस्ने गर्छन । पूजाका दिन बिहान मन्दिरमा देउतालाई छाँकी (रक्सी), चढाई कुखुरा, सुँगुरलगायत पशु बलि दिने गरिन्छ ।
मुख्य गुरुवाले पूजा गरेपछि सहभागी भल्मन्साहरूले भोग दिने अनि त्यसपछि मात्र अन्य भक्तजनको पूजा तथा भोग दिने गरिन्छ ।घोडाघोडी मन्दिरमा पूजा गरिसकेपछि आ–आफ्नो गाउँको मरुवामा पूजा गर्ने प्रचलन छ ।
पूजाका अवसरमा घोडाघोडीमा प्रत्येक वर्ष थारू संस्कृति संरक्षणका लागि सांस्कृतिक कार्यक्रमहरू पनि गरिन्छ । राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतिसँगै थारू समुदायको वेशभूषा झल्काउने थारू समुदायको पुरानो बडका नाच, सखिया नाच, लाठी नाच, झुम्रा नाच, कठरिया नाच, दिन नचुवा नाच, धमार, माङ्गरलगायत प्रस्तुति हुनेछ । कञ्चनपुर, बाँके, बर्दिया, दाङलगायत स्थानबाट ठुलो सङ्ख्यामा भक्तजन यहाँ आउने गरेका छन् ।

थारु समुदायमा भलमन्साले नै चौकीदारको भूमिका सम्हाल्ने प्रचलन बढ्दै

थारु समुदायमा सदियोंदेखि प्रचलनमा रहेको भलमन्सा प्रथाको निर्णय प्रक्रियालाई घर–घरमा खबर गर्न चौकीदार (चिरक्या) राख्ने चलन छ । पछिल्लो समय गाउँको नेतृत्व गर्ने भलमन्साले नै चौकीदारको काम पनि गर्ने क्रम सुरु भएको छ ।

गाउँको सार्वजनिक खर्च कटौती गर्ने उद्देश्यले कतिपय गाउँमा भलमन्साले नै आफैं चौकीदारको भूमिका निर्वाह गर्न थालेका हुन् । चौकीदारलाई अनिवार्य पारिश्रमिक दिने चलन छ । त्यो पारिश्रमिक खर्च कटौती गर्न भलमन्सा बन्नेले नै चौकीदारको भूमिका पनि निर्वाह गर्नेक्रम बढिरहेको धनगढी उपमहानगरपालिका –७ देवहरियाका भलमन्सा भौनीदेवी चौधरीले बताउनुभयो ।

३० घरधुरीको नेतृत्व गरिरहनुभएकी उहाँले चौकीदारले गर्ने काम पनि आफैंले गरिरहेको जानकारी दिनुभयो । “गाउँमा भलमन्सा बन्न चिट्ठा हाल्ने गरिएको छ” चौधरीले भन्नुभयो, “भलमन्साले नै सबै घरमा बैठक लगायत बेगारी (सार्वजनिक काम) को खबर गर्ने निर्णयअनुसार मैले गाउँको नेतृत्व र सन्देश बाहकको काम गरिरहेको छु ।”

गाउँको नेतृत्व र सन्देशबाहक दुवै काम गरेवाफत गाउँवासीले प्रतिघरधुरीबाट वार्षिक चारसय रुपियाँ टिहाइ (पारिश्रमिक) दिने गरेका छन् । धनगढी उपमहानगरपालिका –६ मटियारीका भलमन्सा बिन्तीराम चौधरीले पनि आफैले चौकीदारको रुपमा घर–घर खबर गर्ने कार्य गरिरहनुभएको छ ।

छ वर्षदेखि गाउँको नेतृत्व गर्दै आइरहनू भएका उहाँले त्यति नै समयदेखि चौकीदारले गर्ने काम पनि गरिरहेको सुनाउनुभयो । “भलमन्सा र चौकीदारको भूमिका निर्वाह गरेवाफत प्रतिघरधुरीबाट वार्षिक ४० केजीको दरले बाली (धान) पाउने गरेको छु” उहाँले भन्नुभयो ।

भलमन्सा प्रथामा भलमन्सा (नेतृत्वकर्ता), अघरिया (सहायक भलमनसा), देशबन्धिया गुरुवा, केसौका र चौकीदार रहने चलन छ । पछिल्लो समय पारिश्रमिक वापत दिइने आर्थिक भार कटौतीका लागि गाउँवासीकै निर्णयमा भलमन्साले नै खबरबाहकको काम गरिरहेका छन् । त्यसैगरी, चौकीदार कोही बन्न नचाहेका कारणले पनि बाध्य भएर भलमन्साले नै चौकीदारले गर्ने काम गर्नुपरिरहेको छ ।

गाउँमा चौकीदारको रुपमा कोही पनि काम गर्न इच्छुक नभएपछि चौकीदारको भूमिका पनि आफैंले निर्वाह गरिरहेको कञ्चनपुरको बेलौरी नगरपालिका –४ मोतीपुरका भलमन्सा वीरबहादुर चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “मलाई चौकीदारको आवश्यकता छ, कोही बन्न चाहेका छैनन् । त्यसैले नेतृत्व र सन्देश गर्ने काम म आफैंले गरिरहेको छु ।”

गाउँमा भलमन्सा र चौकीदारको रुपमा काम गरेवाफत आफूले प्रतिघरधुरीबाट वार्षिक पाँच केजी बाली (धान) र एक बेगारी पारिश्रमिक पाउने गरेको चौधरीले जानकारी दिनुभयो ।

थारु समुदायमा सहायक अन्य नभए पनि भलमन्सा र चौकीदार रहनुपर्ने अनिवार्य छ । गाउँको नेतृत्व गर्न तथा खबर गर्न यी दुई नभई हुँदैन । पछिल्लो समय चौकीदार बन्न कोही अगाडि नबढ्ने समस्या देखिएको छ ।

कोही चौकीदार बन्न इच्छुक नभएपछि बेलौरी नगरपालिका –१० सडकघाटमा लट्ठी चौकीदारको अभ्यास गर्न थालिएको छ । सो गाउँका भलमन्सा हरिलाल चौधरीका अनुसार एक घरका व्यक्तिले १० दिन चौकीदारको भूमिकामा काम गर्नुपर्दछ । १० दिन पुगेपछि सो भूमिकामा रहेको व्यक्तिले नदोहोरिने गरी आफ्नो छिमेकको घरमा लट्ठी पुर्‍याउने गरिएको छ ।

“लट्ठी पाएको परिवारका व्यक्तिले १० दिन चौकीदारको रुपमा काम गर्नुपर्छ । यसरी नै पालैपालो चौकीदार बन्ने क्रम चलिरहेको छ” उहाँले भन्नुभयो ।

एनपिएलमा आज पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने

काठमाडौँ, मङ्सिर ५ गते । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शुक्रबार यहाँस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् ।

अपराह्न ४ बजे हुने खेलमा पोखरा एभेञ्जर्सको नेतृत्व कुशल भुर्तेल र सुदूरपश्चिम रोयल्सको नेतृत्व दीपेन्द्रसिंह ऐरीले गर्नुहुने छ ।

पोखराको टोलीमा घरेलु तथा विदेशी खेलाडीहरूको प्रभावकारी मिश्रण छ । आकाश चन्द, सागर ढकाल, त्रित राज दास, दिनेश खरेल, विपिन खत्री र विकेटकिपर एडम रोसिङ्टन आजको खेलमा पोखराका मुख्य आधार मानिएका छन् ।

सुदूरपश्चिमको टोलीमा विकेटकिपर विनोद भण्डारी, चर्चित खेलाडी क्रिस लिन, जोश ब्राउन, स्कट कुग्गेल्जिन आरिफ शेख, ईशान पाण्डे, हेमन्त धामी र बलर अविनाश बोहरा समावेश हुनुहुने छ । रासस

कञ्चनपुरका मध्यवर्ती क्षेत्रमा नदीजन्य पदार्थ उत्खनन पुनः सुरु, तीन वर्षपछि प्रतिबन्ध हट्यो

कञ्चनपुर, कात्तिक २७ गते । कञ्चनपुरका मध्यवर्ती क्षेत्रबाट नदीजन्य पदार्थ उत्खननका लागि प्रक्रिया अगाडि बढेको छ । विगत तीन वर्षदेखि मध्यवर्ती क्षेत्रमा लगाइएको प्रतिबन्धका कारण बन्द रहेको नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी, बालुवा, माटो) उत्खननको काम पुनः सञ्चालन गरिएको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्र अन्तर्गत रहेका छ वटा मध्यवर्ती क्षेत्रमा रहेका नदी तथा खोलाबाट नदीजन्य पदार्थ उत्खनन गरिँदा निकुञ्जमा क्षति पुग्ने भन्दै २०७९ यता नदीजन्य पदार्थ उत्खननमा रोक लगाइएको थियो ।

नियमविपरीत राजस्व लिएर नदीजन्य पदार्थ उत्खनन हुने गरेको भन्दै अदालतमा मुद्दा परेपछि उत्खनन बन्द गरिएको थियो तर उत्खनन गर्न पाउनुपर्ने मागसहित स्थानीयले सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । अदालतको अन्तरिम आदेशपश्चात् उपभोक्ताले नदीजन्य पदार्थ प्रयोग गर्ने पाउने भएका हुन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले प्रतिबन्ध हटेसँगै छ वटै मध्यवर्ती उपभोक्ता समितिबाट उत्खननका लागि उपभोक्ताबाट माग सङ्कलनको कार्य भइरहेको बताउनुभयो । उहाँका अनुसार, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको गत असोज ३१ गते बसेको बैठकले उपभोक्ताले घरायसी प्रयोजनका लागि नदीजन्य पदार्थ प्रयोग गर्न सम्बन्धित उपभोक्ता समिति अन्तर्गतका उपभोक्ताका माग सम्बोधन गर्ने निर्णय गरेको हो ।

कात्तिक १६ गतेदेखि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति नियमावली २०५२ र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको निर्णय तथा अन्य प्रचलित ऐन तथा नियमको परिधिभित्र रही नियमानुसारको राजस्व लिएर सो कार्य गराउन अनुरोधसमेत गरिएको छ ।

मध्यवर्ती क्षेत्रमा हाल छ वटा घाटबाट नदीजन्य पदार्थ उत्खननका लागि प्रक्रिया अगाडि बढाइएको छ । दोधारा चाँदनी नगरपालिकास्थित हिमालय मध्यवर्ती समूहले महाकाली नदीबाट नदीजन्य पदार्थ उत्खननका लागि प्रक्रिया अगाडि बढाइएको जनाएको छ । हिमालय मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष पदमबहादुर सिंहले यहाँस्थित दुई वटा घाटबाट उत्खननका लागि प्रक्रिया अगाडि बढेको बताउनुभयो ।

नदीजन्य पदार्थ उत्खनन नगरिँदा दोधाराका विभिन्न बस्ती डुबानमा समेत पर्दै आएका थिए । झलारीस्थित सुनदेवी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष भरतबहादुर विष्टले प्रतिबन्धका कारण तीन वर्षसम्म नदीजन्य पदार्थ उत्खनन नगरिँदा बर्सेनि बस्ती डुबानमा पर्दै आएको बताउनुभयो तर यस महिनाको अन्तिमदेखि सबै प्रक्रिया पूरा गरेर उपभोक्ताले आवश्यक परेको नदीजन्य पदार्थ उत्खनन गर्न पाउने उहाँले बताउनुभयो ।

शुक्लाफाँटा मध्यवर्ती क्षेत्र अन्तर्गतका छ वटा घाटबाट एक लाख २८ हजार छ सय घनमिटर नदीजन्य पदार्थ उत्खनन गर्न सक्ने निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले बताउनुभयो ।

बाजुरामा परम्परागत ढुङ्गाको जाँतो लोप हुँदै, गाउँघरबाट हराउँदै पुरानो संस्कृति

बाजुरा, कात्तिक २७ गते । बाजुराका अधिकांश गाउँघरमा परम्परागत रूपमा आँटा पिठो पिस्नका लागि प्रयोग हुने ढुङ्गाको जाँतो लोप हुन थालेको छ ।

यहाँका पहिला पुस्ताको पालामा घरघरमा जाँतो हुने गरे पनि अहिलेको नयाँ पुस्ताको घरमा भने जाँतो खोज्दा पनि नभेटिने अवस्थामा पुगेको छ ।

विगतमा यहाँका गाउँ बस्तीमा जाँतोको माध्यमबाट घरमा उपभोग गरिने आँटो पिठो पिस्ने प्रचलन थियो । पछिल्लो यहाँ हरेक गाउँ बस्तीमा बिजुली पुगेसँगै घर घरमा कुटानी पिसानी गर्ने साना साना विद्युतीय उपकरण (मिल) पुगेपछि अहिले परम्परागत रूपमा रहेको त्यो जाँतो भने विस्तारै लोप हुने अवस्थामा पुगेको हो ।

पुराना पुस्ताले निर्माण गरेका ती जाँतो अहिले कतै कतै कसैको घरमा देखिए पनि ती प्रयोगविहीन बनेका छन् ।

जाँतोका साथसाथै परम्परागत रूपमा रहेका ढिँकी कोल लगायतका वस्तुहरू समाजबाट विस्तारै लोप हुने अवस्थामा रहेको हिमाली गाउँपालिका ६ रामबहादुर रावतले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘पहिला हाम्रो बुवाको पालामा घरमा जाँतो कहिल्यै खाली हुँदैन थियो । त्यो जाँतोको भरमा हामी भरमा पिठो दाल सेलपुरी हाल्नलाई चामल समेत पीस्ने गर्थ्यो ।’’

अहिले त्यो गाउँदेखि विस्तारै लोप हुँदै गएको छ । कोही कोहीको घरमा त अहिले पनि छन् । तर ती प्रयोगमा भने आएका छैन । पीस्दा केही पैसा नलाग्ने यस्ता जाँतो अहिले पनि यसलाई नयाँ प्रविधिसँगै जोडिदिएको भएर राम्रो हुने रावतले बताउनुभयो ।

थारु संस्कृति प्रवद्र्धनका लागि घोडाघोडीमा लवाङ्गी पूजा सांस्कृतिक महोत्सव हुने

ईन्द्रा कुमारी केसी
घोडाघोडी (कैलाली), २५ कार्तिक/
थारु समुदायको मौलिक संस्कृति, धर्म र परम्परालाई जगेर्ना गर्ने उद्देश्यले कैलालीको घोडाघोडीमा लवांगी पूजा तथा थारु सांस्कृतिक महोत्सव आयोजना गरिने भएको छ । गत वर्ष झैँ यस वर्ष पनि लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव आयोजना हुने आयोजक घोरीघोरा नगर भलमन्सा कार्य समितिले मङ्गलवार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । यस वर्ष आउँदो मङ्सिर ७ गतेदेखि ९ गतेसम्म लवांगी पूजा तथा सांस्कृतिक महोत्सवको आयोजना हुनेछ ।
घोडाघोडीमा हरेक वर्ष विवाह पञ्चमीका दिन लवांगी पूजा गरिन्छ । थारु समुदायले सिता विवाह पञ्चमीका दिन गर्ने लवांगी पूजा धार्मिक तथा सांस्कृतिक परम्पराको महत्त्वपूर्ण अंश हो । घोडाघोडी सन्त समागम समाज, घोडाघोडी तथा संस्कृति संरक्षण समाजको सहयोग र घोरीघोरा नगर भल्मल्सा कार्य समितिको आयोजनामा हुने उक्त पूजा कार्यक्रममा ८४ गाउँका थारु समुदायको उपस्थिति हुने जनाइएको छ ।
लवाङ्गी पुजामा पञ्च तत्त्वको पूजा गरिन्छ । अन्नसँग जोडिएकाले पनि लवांगी पूजाको महत्त्व छ । विशेष गरी कैलालीको घोडाघोडी मन्दिरमा थारुहरूको लवांगी पूजा हुने गरेको छ । थारु समुदायले अन्नबाली घर भित्र्याइसकेपछि सर्वप्रथम देउतालाई चढाउने पूजा भएकाले पनि लवाङ्गी पूजाको नाम रहन गएको नगर भल्मल्सा कार्यसमितिका अध्यक्ष बुधराम चौधरीले जानकारी दिनुभयो । पहिला पहिला सामान्य पूजा कार्यक्रम मात्र गरिने भए पनि केही वर्ष यता महोत्सवको रूपमा थारु संस्कृति झल्काउने सांस्कृतिक कार्यक्रम, खाना प्रदर्शनी गरेर पूजालाई भव्य रुपमा सम्पन्न गरिँदै आएको छ ।
“पश्चिम नेपालका थारू समुदायको सबैभन्दा ठुलो देउथान घोडाघोडीलाई मानिन्छ । घोडाघोडी मन्दिरलाई थारू समुदायले घोरी घोरा देउथानका रूपमा मान्दै परापूर्व कालदेखि यस क्षेत्रमा लवाङ्गी पूजा गर्दै आएको अध्यक्ष चौधरीले जानकारी दिनुभयो । देउताको बास भएको ठाउँमा बलि दिएर पूजा गरिन्छ, त्यो देउथान हो । यस क्षेत्रमा परापूर्व कालदेखि नै बलि दिएर पूजा गरिन्छ त्यसैले यो घोरी घोरा देउथान हो मन्दिर होइन,उहाँ भन्नुहुन्छ ।
लवांगी पूजाको अघिल्लो रात थारू गुरुवाहरूले ढाक बजाउने, धामी बस्ने गरेको घोडाघोडी नगर भल्मल्सा कार्यसमितिका अध्यक्ष बुधराम चौधरीले जानकारी दिए। पूजाका दिन बिहान मन्दिरमा देउतालाई छाँकी (रक्सी), चढाई कुखुरा, सुँगुरलगायत पशु बलि दिने गरिन्छ ।
मुख्य गुरुवाले पूजा गरेपछि सहभागी भल्मन्साहरूले भोग दिने अनि त्यसपछि मात्र अन्य भक्तजनको पूजा तथा भोग दिने गरिन्छ ।
घोडाघोडी मन्दिरमा पूजा गरिसकेपछि आ–आफ्नो गाउँको मरुवामा पूजा गर्ने प्रचलन छ ।
समितिका सचिव अमन चौधरी भन्नुहुन्छ, “थारु समुदायको मौलिक संस्कृति र परम्परा हराउँदै गएको अवस्थामा लवांगी पूजा र सांस्कृतिक महोत्सवले नयाँ पुस्तामा पहिचान र गर्वको भावना जगाउनेछ ।”
पूजाका अवसरमा घोडाघोडीमा प्रत्येक वर्ष थारू संस्कृति संरक्षणका लागि सांस्कृतिक कार्यक्रमहरू पनि गरिन्छ । राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतिसँगै थारू समुदायको वेशभूषा झल्काउने थारू समुदायको पुरानो बडका नाच, सखिया नाच, लाठी नाच, झुम्रा नाच, कठरिया नाच, दिन नचुवा नाच, धमार, माङ्गरलगायत प्रस्तुति हुनेछ । कञ्चनपुर, बाँके, बर्दिया, दाङलगायत स्थानबाट ठुलो सङ्ख्यामा भक्तजन यहाँ आउने गरेका छन्।

प्रदेशव्यापी अन्तर विद्यालय फुटबल प्रतियोगिताको ट्रफी सार्वजनिक

ईन्द्रा कुमारी केसी
घोडाघोडी (कैलाली), २५ कार्तिक/
कैलालीको बौनियाँमा हुन लागेको प्रदेशव्यापी अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ । बर्दगोरीया स्पोट्र्स एण्ड इभेन्ट्सको आयोजनामा मंसिर २ गतेदेखि सुरु हुने प्रतियोगिताको ट्रफी मंगलवार एक पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै आयोजक समितिका अध्यक्ष प्रमोद मल्लले विद्यालय तहबाटै खेलकुदको संस्कृति विकास गर्न सकिए मात्र अनुशासित, स्वस्थ र सक्षम नागरिक उत्पादन गर्न सकिने बताउनुभयो । उहाँका अनुसार खेलकुदले युवाहरूलाई लागूपदार्थको दुव्र्यसनबाट टाढा राख्ने मात्र होइन, आपसी सहयोग, सहकार्य र सामूहिक भावना विकास गर्न पनि सहयोग पु¥याउँछ ।
मल्लले खेलकुदलाई शिक्षा प्रणालीसँग जोडेर अघि बढाउन सके देशभरका विद्यार्थीहरूमा प्रतिस्पर्धा, नेतृत्व र आत्मविश्वासको भावना जाग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यालय तहमै अवसर पाउने विद्यार्थीहरू भविष्यमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका खेलाडी बन्न सक्छन्, त्यसैले हामी यो अभियानलाई निरन्तरता दिइरहेका छौं ।”
बर्दगोरीया स्पोट्र्स एण्ड इभेन्ट्सले यसअघि पनि निरन्तर तीन वर्षदेखि खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको छ । पहिलो वर्ष “मुख्यमन्त्री पालिका स्तरीय कैलाली जिल्ला–व्यापी फुटबल प्रतियोगिता” आयोजना गरिएको थियो भने दोस्रो वर्ष “विद्यालय स्तरीय जिल्ला–व्यापी छात्र–छात्रा फुटबल प्रतियोगिता” सम्पन्न गरिएको थियो । यस वर्ष भने आयोजकले प्रतियोगितालाई विस्तार गर्दै प्रदेशस्तरमा लैजाने निर्णय गरेको छ, जसमा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका विद्यालयहरूले सहभागिता जनाउने भएका छन् ।
प्रतियोगितामा कक्षा १० सम्मका विद्यार्थीहरू सहभागी हुनेछन् । आयोजकका अनुसार ३२ वटा छात्र टिम र १६ वटा छात्रा टिम प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगितामा प्रथम हुने टिमलाई ८५ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने द्रितीय हुने टिमले ४३ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
त्यसैगरी, उत्कृष्ट खेलाडीलाई ८ हजार पाँच सय रुपैयाँ पुरस्कार दिइनेछ । बढी गोल गर्ने खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोलकिपर, उदयमान खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई जनही ५ हजार पाँच सय रुपैयाँका दरले नगद पुरस्कार प्रदान गरिनेछ ।
अध्यक्ष मल्लका अनुसार खेलकुद केवल प्रतिस्पर्धा नभई समाजमा एकता र अनुशासनको सन्देश दिने माध्यम पनि हो । उहाँले आगामी वर्षहरूमा प्रतियोगितालाई राष्ट्रिय स्तरसम्म विस्तार गर्ने लक्ष्य रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “विद्यालयबाट सुरु भएको यो अभियानले खेलकुदप्रति नयाँ पुस्तामा लगाव र जिम्मेवारी दुवै जगाउनेछ । हाम्रो उद्देश्य खेलकुदमार्फत युवाहरूमा सकारात्मक सोच, स्वस्थ जीवनशैली र नेतृत्व क्षमताको विकास गर्नु हो ।”

महाकाली कोरिडोर डेढ दशकपछि पनि अधुरो, बजेट अभाव र सरकारी उदासिनताले सुदूरपश्चिमको ‘लाइफ लाइन’ ठप्प

दोधारा चाँदनी (कञ्चनपुर),  कात्तिक २५ गते ।  सुदूरपश्चिमको समृद्धि र आर्थिक विकासको मेरुदण्ड मानिएको महाकाली काेरिडोर डेढ दशकअघि उत्साहका साथ सुरु गरिएको थियो । तर योजना सम्पन्न गरिसक्ने समयमा समेत बजेट अभाव,पक्रियागत अल्झन र सरकारी उदासिनताका कारण अधुरो र अलपत्र अवस्थामा पुगेको छ ।

सुदूरपश्चिम प्रदेशका चार जिल्ला कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुला जोड्दै नेपाल र चीनको ताक्लाकोटको सिमानामा रहेको पिल्लर नम्बर १ सम्म चार सय १३ किलोमिटर सडक निर्माण गर्ने लक्ष्य छ । सडक निमार्णपछि सुदूरपश्चिमका करिब आठ लाख जनता प्रत्यक्ष लाभान्वित हुने र त्रिदेशीय नाका भएका कारण व्यापारिक महत्त्व पनि धेरै नै रहेको छ । साथै, धार्मिक हिसावले कैलाश मानसरोवर भ्रमणको सुविधा उपलव्ध हुने देखिन्छ । तर प्रक्रियागत अल्झन र बजेट अभावले योजनाले अपेक्षित गति लिन सकेको छैन । सुदूरपश्चिमको आर्थिक विकासको मेरुदण्डका रूपमा रहेको महाकाली करिडोर निर्माणका लागि न्यून बजेट विनियोजन हुँदा निर्माणको काम ठप्प जस्तै भएको छ ।

चालु आर्थिक वर्षमा काेरिडोर निमार्णका लागि २२ करोड ९७ लाख मात्रै बजेट विनियोजन भएको महाकाली काेरिडोर सडक (ब्रह्मदेव–झुलाघाट–दार्चुला–टिङ्कर सडक) योजना कार्यालयका योजनाका सूचना अधिकारी रामचन्द्र जैशीले जानकारी दिनुभयो । उक्त बजेटले निर्माण व्यवसायीको समेत भुक्तानी गर्न सकिदैन । “योजनाअन्तर्गत कार्यालयले डेढ अर्ब दायित्व भुक्तानी गर्नु पर्ने छ ।” उहाँले भन्नुभयो, “चालु आर्थिक वर्षमा आएको बजेट न्यून छ, यसले नयाँ ठेक्का खोलेर काम गर्न सकिने अवस्था छैन ।” उहाँले यही गतिमा बजेट बजेट आए योजना सम्पन्न गर्न अझै वर्षौं लाग्ने बताउनुभयो ।

कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको तुसारपानीसम्म तीन सय ३४ किलोमिटरमध्ये अझै ५४ किलोमिटरमा ट्रयाक खोल्न बाँकी छ । काेरिडोरअन्तर्गत डडेल्धुरामा करिब २७, बैतडीमा नौ र दार्चुलामा १८ किलोमिटर ट्रयाक खोल्न बाँकी छ । काेरिडोरको हालसम्म करिब ५ किलोमिटर सडक कालोपत्र गरिएको छ । विभिन्न स्थानमा कालोपत्रका लागि ठेक्का भएर काम चलिरहेको भए पनि बजेट अभावका कारण निर्माण व्यावसायीलाई भुक्तानी दिन सकिने अवस्था नरहेको योजना कार्यालयले जनाएको छ ।

दार्चुलाको मालिकार्जुन र खलङ्गा–हिकिला खण्डमा कालोपत्रका लागि काम भइरहेको छ । योजना कार्यालयका अनुसार काेरिडोरअन्तर्गत कञ्चनपुरमा ११ किलोमिटर, डडेल्धुरामा ५८ किलोमिटर, बैतडीमा एक सय ४४ किलोमिटर र दार्चुलामा एक सय २१ किलोमिटर सडक निमार्ण हुने छ । यसमध्ये कञ्चनपुरमा ११ किलोमिटर ट्रयाक खुलिसकेको छ भने डडेल्धुरामा २८ किलोमिटर ट्रयाक खुलेको छ । त्यसैगरी बैतडीमा एक सय १४ किलोमिटर र दार्चुलामा ७७ किलोमिटर ट्रयाक खुलेको छ । तुसारापानीदेखि टिङ्करसम्मको ७९ किलोमिटर सडक खण्डमा ट्रयाक खोल्ने काम नेपाली सेनाले गरिरहेको छ ।

डडेल्धुराको सिमलतालदेखि भागेश्वर गाउँपालिका हुँदै सुर्नयासम्म, बैतडीको शिवनाथ र पञ्चेश्वर क्षेत्र तथा दार्चुलाको लेकम र मालिकार्जुन गाउँपालिका क्षेत्रमा ट्रयाक खोल्न बाँकी रहेको छ । हाल योजनाले छ वटा प्याकेजमा गरी डडेल्धुरा र दार्चुलामा ३७ किमिमा सडक कालोपत्रको काम निमार्णधिन छ । काेरिडोरअन्तर्गत दार्चुलाको महाकाली नगरपालिका क्षेत्रमा १२ किलोमिटर र खलङ्गादेखि तुसारपानी खण्डमा १०/१० किमि गरी दुई प्याकेजमा सडक कालोपत्रको काम निर्माणाधीन छ ।

आव २०६५/६६ देखि सुरु भएको काेरिडोरको सुरुको कुल लागत अनुमान १८ अर्ब १६ करोडमा आव २०८०/८१ सम्म पूरा गर्ने लक्ष्य रहेको थियो । तर बजेट अभाव, रुख कटानलगायतका प्रक्रियागत अल्झनले योजनाको लागत र समय लम्बिँदै गएको छ ।

 

योजना सुरु हुँदा उत्साह, अहिले निराशा

कञ्चनपुरको भीमदत्त नगरपालिका–९, टुडिखेलका लोकबहादुर थापा मगर २०६५ सालमा डडेल्धुराको जोगबुढाबाट बसाइसरी यहाँ आउनुभयो । त्यतिबेला कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको टिङ्करसम्म महाकाली काेरिडोर निर्माण हुने खबरले उहाँमा उत्साह थियो । काेरिडोर यातायातको सुविधा मात्र नभई अवसरको ढोका पनि रहेकाले व्यापारका नयाँ सम्भावनाहरू खुल्ने अपेक्षा उहाँमा थियो ।

आफ्नै घर छेउबाट सडक निर्माण हुने भएपछि यहाँको यहाँका स्थानीयवासीमा आफूहरूको आर्थिक अवस्था फेरिने आशा पलाएको थियो । तर उक्त सडक निर्माण हुन्छ भनेको सुनेको पनि डेढ दशक भइसकेको छ । “त्यो बेला सडक निर्माण हुन्छ भन्ने सुनेपछि धेरै खुशी भएका थियौँ”, थापाले भन्नुभयो, “एकातर्फ महेन्द्रनगर बजार सहज पहुँच हुने र सडक बनेपछि शिक्षा, स्वास्थ्य र व्यापार हुने ठुलो आशा थियो तर अहिलेसम्म बनेन ।” उक्त क्षेत्रमा काेरिडोरको ट्रयाक खुलेको छ तर यात्रा गर्न सहज छैन । वर्षाद्को समयमा त उक्त सडक बन्द हुने गरेको उहाँको भनाइ छ ।

“सडक नहुँदा बिरामीलाई बोकेर अस्पताल लग्नुपर्ने बाध्यता आउँछ गाउँमा न स्वास्थ्य संस्था छ न विद्यालय नै” भन्नुभयो, “हाम्रो मुख्य समस्या भनेकै सडक हो सडक नहुँदा निकै सास्ती खेप्नु परेको छ ।” उहाँले दुई घण्टा पैदल विद्यालय जानुपर्ने बाध्यताले नातिनिलाई कैललीको लम्कीस्थित भाइको घरमा अध्ययनका लागि पठाएको बताउनुभयो । अहिले पनि स्थानीय उत्पादन बिक्री गरेर आम्दानी गरिरहेको बताउँदै सडक सञ्जालले जोडिए यहाँका स्थानीयको आर्थिक सुधार हुने उहाँको भनाइ थियो ।

बाइस वर्षदेखि यहाँको टुँडिखेलमा बस्दै आउनुभएका लीला पुनमगर पनि काेरिडोर निर्माण हुने खबरले उत्साही हुनुभयो । तर सडक निर्माणमा ढिलाइ हुँदा भने उहाँको उत्साह पनि निराशामा परिणत भएको छ । “काेरिडोर बन्छ भन्ने सुनेको १२ वर्षपछि ट्र्याक खुलेको छ अझै आशा मरेको छैन तर सडक बनिसक्नु पर्ने समयसम्म पनि नबन्दा सुरुको जस्तो उत्साह छैन ।” उहाँले भन्नुभयो–“सरकारले ढिलाइ गर्नु भएन, यो सडकलाई प्राथमिकतामा राखेर छिटो सम्पन्न गर्नुपर्छ ।” उहाँले सडक निमार्णपछि लामो दुरीको यात्रा गर्नुपर्ने बाध्यता हट्ने बताउनुभयो ।

महाकाली काेरिडोरले यातायातको पहुँचसँगै भारतसँगको व्यापारिक पहुँच, घरेलु उद्योगको विस्तार र पर्यटन सम्भावनामा ठुलो भूमिका खेल्नसक्ने यहाँका स्थानीय रमेश नायक बताउनुहुन्छ । “यो सडक यातायातका लागि मात्रै नभई व्यापारिक हिसाबले महत्त्वपूर्ण छ”, उहाँले भन्नुभयो, “सरकारको पर्याप्त बजेट विनियोजन गरेर सडक निर्माणलाई पूर्णता दिनुपर्छ ।”

उहाँले काेरिडोर सञ्चालनमा आए सुदूर पहाडका जनताको आर्थिक अवस्थामा सुधार आउने बताउनुभयोे । “काेरिडोर सञ्चालनमा आइदिए यहाँका स्थानीयले आठ, आठ घण्टा लगाएर जानुपर्ने ठाउँमा दुई घण्टामै पुग्छौँ ।” उहाँले भन्नुभयो, “यो सुदूर पहाडका जनताका लागि लाइफ लाइन नै हो ।” काेरिडोर बनेपछि ब्रह्मदेव, डडेल्धुरा जिल्लाको जोगबुढा, बैतडी जिल्लाको पञ्चेश्वर, चमेलिया, दार्चुलाको लाली, उकू, खलङ्गा, धारी, हिकिला, हुती, धौलाकोट र सुन्सेरा हुँदै तिङ्कर नाकासम्म सडक निर्माण गरी उक्त क्षेत्रको आर्थिक सामाजिक सांस्कृतिक पर्यटकीय साथै शैक्षिक विकासमा योगदान पुर्‍याउने छ । “महाकाली काेरिडोर बने मात्रै सुदूरपश्चिमको विकासको ढोका खुल्छ” कञ्चनपुरका होटेल व्यवसायी जगदीशचन्द्र भट्टले भन्नुभयो, “यसले धार्मिक पर्यटनलाई समेत फाइदा पुग्छ, अर्कोतर्फ उत्तरतर्फ चीनसँग पनि व्यापारको ढोका खुल्छ ।”

महाकाली काेरिडोरअन्तर्गत महेन्द्रनगरमा सिद्धवैजनाथ, डडेल्धुरामा परशुरामधाम, बैतडीमा त्रिपुरासुन्दरी, मेलौली भगवती र निङ्लाशैनी जस्ता प्रसिद्ध धार्मिकस्थलहरू छन् । त्यसैगरी दार्चुलामा राष्ट्रकै चौथो धामका रूपमा परिचित मालिकार्जुन धामजस्ता प्रसिद्ध धार्मिकस्थल रहेकाले काेरिडोरले धार्मिक पर्यटनमा समेत टेवा पुग्ने उहाँको भनाइ छ । “भारतको पूर्णागिरि दर्शन गरेपछि महेन्द्रनगरमा रहेको सिद्धवैजनाथ दर्शन गर्नुपर्ने धार्मिक मान्यता छ” उहाँले भन्नुभयो, “ती दर्शनार्थी काेरिडोर सञ्चालनमा आए डडेल्धुराको परशुरामधाम पुग्न सक्छन् ।” उहाँले अझै पनि भारतबाट यहाँका प्रसिद्ध धामहरूमा भारतीय धार्मिक पर्यटन आउने गरेको बताउँदै यहाँ धार्मिक पर्यटनको ठुलो सम्भावना रहेको बताउनुभयो ।

महाकाली काेरिडोर निर्माण भएपछि चीन र भारतसँग व्यापारको ढोका खुल्ने र रोजगारीका थुप्रै अवसर सिर्जना हुनेमा यहाँका व्यवसायी आशावादी छन् । हालसम्म छिमेकी मुलकसँग व्यापारिक नाका नभएका कारण महाकाली काेरिडोर त्रिदेशीय व्यापारिक नाका बन्ने र सुदूरपश्चिम व्यापारिक ‘हब’ बन्ने अपेक्षा व्यवसायीको छ । “अहिलेसम्म भारत सँगको सहज कनेक्टिभिटी नहुदा सुदूरपश्चिमले आर्थिक लाभ लिन सकेको छैन”, यहाँका व्यवसायी नरेश विष्टले भन्नुभयो, “न्यून आर्थिक गतिविधि रहेको सुदूरपश्चिममा काेरिडोर बनेपछि आर्थिक गतिविधि बढ्छन् ।” काेरिडोर सञ्चालनमा आए सुदूर पहाडका जनताको आर्थिक अवस्थामा उलेख्य सुधार हुने उहाँले बताउनुभयो । काेरिडोर निर्माणपछि यहाँको आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटकीय साथै शैक्षिक विकासमा टेवा पुग्ने छ ।रासस

शुक्लाफाँटा नगरपालिकाका सामुदायिक विद्यालयसँग कार्यसम्पादन सम्झौता

राजेन्द्रप्रसाद पनेरु

कञ्चनपुर, कात्तिक २४  गते । शुक्लाफाँटा नगरपालिकाभित्रका सामुदायिक विद्यालयको शैक्षिक व्यवस्थापनमा सुधार गर्दै गुणस्तरयुक्त शिक्षाको पहुँच विस्तार गर्ने उद्देश्यले आज नगरपालिका र विद्यालयका प्रधानाध्यापकबिच कार्यसम्पादन सम्झौता गरिएको छ ।

नगरपालिकाले विद्यालयमा देखिएका कमजोरीलाई सम्बोधन गर्दै दीर्घकालीन शैक्षिक सुधारको आधारस्तम्भका रूपमा यो सम्झौतालाई अघि बढाएको हो । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख टिकेन्द्रराज भट्टका अनुसार सम्झौताले विद्यालयमा मौजुदा मानव संशाधन, भौतिक संरचना र वित्तीय स्रोत साधनको अधिकतम प्रयोग सुनिश्चित गर्ने छ ।

“यसले शिक्षकको पेसागत विकासलाई टेवा पुग्छ, शिक्षण क्षमता अभिवृद्धि हुन्छ”, उहाँले भन्नुभयो, “विद्यार्थीको सिकाइ उपलब्धिमा ठोस सुधार ल्याउन मद्दत गर्छ ।” सम्झौताअनुसार विद्यालयले नगरपालिकाले निर्धारण गरेको शैक्षिक क्यालेन्डर बमोजिम वार्षिक कार्यपात्रो निर्माण गरी लागु गर्नु पर्ने छ । प्रत्येक शिक्षकले अध्यापन गर्ने विषयअनुसार वार्षिक कार्ययोजना, एकाइ योजना र दैनिक पाठयोजना बनाएर कार्यान्वयन गर्ने व्यवस्था मिलाउनु पर्ने छ ।

शाखा प्रमुख भट्टले शैक्षिक अनुशासन, पारदर्शिता र सुशासनलाई उच्च प्राथमिकतामा राख्दै विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक सङ्घ, विद्यार्थी समिति, विषयगत समितिलगायत संरचनालाई सक्रिय रूपमा परिचालन गरिने बताउनुभयो ।

भौतिक व्यवस्थापनतर्फ विद्यार्थी सङ्ख्याअनुसार पर्याप्त कक्षा कोठा, फर्निचर, पुस्तकालय, विज्ञान प्रयोगशाला, सूचना प्रविधि प्रयोगशाला, बैठक कक्ष, स्टाफ कक्ष, सरसफाइ, खानेपानी, शौचालय, अपाङ्गमैत्री तथा बालमैत्री संरचना विकासलाई प्राथमिकता दिइने सम्झौतामा उल्लेख छ ।

वित्तीय पक्षमा विद्यालयले शैक्षिक सत्रको पहिलो महिनामै वार्षिक बजेट तयार गरी विद्यालय व्यवस्थापन समितिबाट स्वीकृत गर्नु पर्ने छ । त्यसैगरी विद्यालय सुधार योजना, सामाजिक परीक्षण र लेखापरीक्षण समयमै सम्पन्न गरी प्रतिवेदन नगरपालिकामा बुझाउनुपर्ने प्रावधान राखिएको छ । सबै प्रकारका कारोबार अनिवार्य रूपमा बैँक प्रणालीमार्फत गर्ने र दोहोरो लेखा प्रणालीको सिद्धान्तअनुसार खाता सञ्चालन गर्ने व्यवस्था सम्झौतामा समावेश गरिएको छ ।

मानव संशाधन व्यवस्थापनतर्फ कक्षागत शिक्षक–विद्यार्थी अनुपात मिलाउने, विषयगत समिति गठन गर्ने, सिकाइ उपलब्धिको अभिलेख तयार गर्ने र सुधार योजना बनाएर कार्यान्वयन गर्ने व्यवस्था गरिएको छ । विद्यार्थी मूल्याङ्कनलाई केवल अङ्कका आधारमा नभई सिकाइ सुधारका अवसरका रूपमा प्रयोग गर्ने उल्लेख गरिएको छ ।

नगरपालिकाको शिक्षा शाखाका शिक्षा अधिकृत सुरेशप्रसाद भट्टले सम्झौता गरिएका प्रधानाध्यापकहरूले तत्काल विद्यालयमा गुनासो सुन्ने अधिकारी तोक्ने, विद्यालयमा कार्यरत शिक्षकसँग कार्य सम्पादन सम्झौता गर्ने, करार शिक्षाको म्याद थप्ने र त्यसको जानकारी गराउने, शिक्षण सिकाइ सुधारका लागि उच्च शैक्षिक उपलब्धी हासिल गर्नका लागि प्रयासरत हुनुपर्ने छ ।

शैक्षिक व्यवस्थापन सूचना प्रणाली(इएमआइएस) अपडेट गर्ने, बालसञ्जाल गठन गर्ने, बेरुजु फर्स्याैट गर्ने, विद्यालयको बेवसाइट निर्माण गर्ने, फेसबुक पेज तयार गर्ने, बुक कर्नरलाई व्यवस्थीत गर्ने र विद्यार्थी शिक्षकलाई विद्यालय पोशाकमा अनिवार्य विद्यालय आउने व्यवस्था गर्न सम्झौता गरिएको उहाँले जानकारी दिनुभयो ।

सम्झौताको कार्यान्वयन सुनिश्चित गर्न शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख संयोजक रहने गरी पाँच सदस्यीय समिति गठन गर्ने प्रावधान राखिएको छ । “हरेक महिनाको प्रस्तुतीकरण मूल्याङ्कन गरी विद्यालयको प्रगति मापन गरिने र उत्कृष्ट विद्यालयलाई घोषणा गर्दै प्रोत्साहन गरिने छ”, उहाँले भन्नुभयो, “सम्झौतको अवधि एक शैक्षिक सत्रसम्म रहने व्यवस्था गरिएको छ ।”

प्रधानाध्यापकहरूसँगको कार्यसम्पादन सम्झौता कार्यक्रममा सहभागी शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय कञ्चनपुरका प्रमुख लक्ष्मण गिरीले सम्झौताले विद्यालयमा उत्तरदायित्व र पारदर्शिताको बोध गराउने बताउनुभयो ।

“प्रधानाध्यापकहरूसँग गरिएको सम्झौताले विद्यालयमा जिम्मेवारीको स्पष्टता ल्याउँछ”, उहाँले भन्नुभयो, “शिक्षण–सिकाइमा सुधार ल्याउने कार्यसँगै विद्यार्थीको सिकाइ उपलब्धिमा ठोस सुधार ल्याउने अपेक्षा गरिएको छ ।”

कृष्ण माध्यमिक विद्यालयका प्रधानाध्यापक पिताम्बर जोशीले सम्झौताबाट विद्यालय शिक्षामा गुणस्तर सुधार हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सम्झौताले विद्यालयलाई थप जिम्मेवार बनाउने छ, जसको प्रत्यक्ष प्रभाव शैक्षिक नतिजामा देखिने छ ।”

बैजनाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक खेमराज अवस्थीले यसलाई विद्यालय शिक्षाको गुणस्तर सुधारतर्फको पहिलो औपचारिक अभ्यासका रूपमा लिएको बताउनुभयो । उहाँले भन्नुभयो, “सम्झौताले शिक्षक, अभिभावक, समिति र नगरपालिकाको सक्रियता बढाएर जिम्मेवारी र जवाफदेहिता सुनिश्चित गर्ने छ ।”

नगरपालिकाको सामाजिक विकास समितिका संयोजक रमेशबहादुर ऐरले कार्य सम्पादन सम्झौताबाट सामुदायिक विद्यालयमा अनुशासन, पारदर्शिता, परिणाममुखी पठन–पाठन र समग्र शैक्षिक विकासमा सुधार हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले थप्नुभयो, “यसले विद्यार्थीको सिकाइ परिणाम मात्र नभई विद्यालय शिक्षामा समुदायको विश्वास पनि बढाउने छ ।” हाल शुक्लाफाँटा नगरपालिकामा २८ वटा सामुदायिक विद्यालय सञ्चालनमा रहेका छन् । ती विद्यालयमा १५ हजार ५३० विद्यार्थी अध्ययनरत छन् भने नगरपालिकाको साक्षरता दर ९५ प्रतिशत रहेको छ । रासस