अतिक्रमण हटाइएको ८ महिनामै पुन: अतिक्रमणमा पुरैना ताल

जमुना न्युरे
भजनी

कैलालीको भजनी नगरपालिकामा रहेको पुरैना ताल अतिक्रमण हटाइएको ८ महिनामै पुन: अतिक्रमणको चपेटामा परेको छ ।
मोहना नदीको बाढीले पुरेपछि खेत बनेको ७९ दशमलव २१ हेक्टरमा जमिनमा फैलिएको पुरैना तालमा आजभोलि स्थानीयले दिनहुँ ट्याक्टरले खनजोत गरिरहेका छन् ताललाई पुन: निर्माण गर्नका लागि अतिक्रमण हटाएर ब्युँताउने भन्दै डिभिजन वन कार्यलयले बैशाख १६ गते ३६ घन्टा लगातार ८ ब्याकहोलोडर (डोजर) ले रेखांकन गरिएको थियो । तर, वन कार्यालयको त्यो मिहिनेत अहिले वालुवामा पानी भएको छ ।
डिभिजन वन कार्यालय पहलमानपुरले तालको पुन: निर्माणका लागि तालको १० फिट चौडाइ र ५ फिट उचाईको ३५ सय मिटर डिल (ड्याम) निर्माण गरेको थियो ।
पुरैना ताल पुन: निर्माणका लागि डिभिजन वन कार्यालय पहलमानपुरले करिब ४ वर्षदेखि सामुदायिक वन समन्वय समिति, नापी कार्यालय कैलाली, भजनी नगरपालिका, जिल्ला प्रशासन कार्यलय कैलालीसँग पटक-पटक निरन्तरको छलफलपछि तालको नक्साअनुसारको क्षेत्र रेखाङ्कन गराई अतिक्रमण हटाउन सफल भएको थियो ।
पुरैना ताल भजनीको मात्रै नभई कैलालीकै महत्वपूर्ण बसन्ता जैविक मार्ग हो । जसमा भारतीय दुधुवा नेशनल पार्कसँग प्रत्यक्ष रुपमा जोडिएको हुँदा पुरैना ताल पुन: निर्माणका लागि आवश्यक रहेको छ । सुदूरपश्चिम प्रदेश उधोग, पर्यटन, वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरीले पुरैना तालको पुन: अतिक्रमण गरेको क्षेत्र फेरि हटाउने बताए । उनले भने,’पुरैना तालको क्षेत्र ठूलो भएकाले एकै व्यक्तिले २० बिगाहासम्म प्रयोग गरिरहेकाले ताललाई पुन: निर्माण सबै राजनीतिक संयन्त्रसँग समन्वय गरिरहेको छु !


पुरैना ताल क्षेत्रको रिपोटिङको क्रममा सत्ती कर्णाली डट कम पुग्दा ४ ट्रयाक्टरले खनजोत गर्दै गरेको भेटिएको थियो । मसुरो उम्रिएको र गहुँ खेतीका लागि खनजोत सुरु गरिएको छ नि भन्ने प्रश्नमा मन्त्री चौधरीले अहिले खनजोत गरियको भए पनि चाँडै राजनीतिक सहमति बनाई अतिक्रमण क्षेत्र खाली गराई ताल पुन: निर्माण गरिने बताए । पुरैना ताल सार्वजनिक सम्पत्ति भएको र अहिले केही सीमित टाठाबाँठाले प्रयोग गरिरहेको बताउँदै उनले भने,’हामीले निकट भविष्यमा जिल्लाकै आयआर्जनको बलियो स्रोत बनाउने र ताल पर्यटनको वलियो आधार हुनेछ ।’
भजनी नगरपालिकाका प्रमुख केवललाल चौधरीले खनजोत गर भनेर स्थानीयलाई उस्काएको आरोप लागिरहेका बेला उनले भने,’मैले त तालको क्षेत्रभन्दा बाहिर रहेको ८ कट्ठाको मात्र कुरा गरेको हुँ । ताल क्षेत्र अतिक्रमण गर्न भनेको छैन ।’ ताललाई पुन: निर्माण गर्न स्थानीय सरकारको हैसियतले सधैँ सहयोग गर्न तयार रहेको उनले बताए

डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख रामचन्द्र कँडेलले पुरैना तालको अतिक्रमण पुन: हटाउनका लागि कार्यक्रम राखेको बताए । ‘म भर्खरै आएको छु,’ उनले भने,’स्थलगत अनुगमनपछि कसरी अतिक्रमण हटाउने भन्ने कार्यक्रम बनाउनेछु ।’बसन्ता वन सरक्षण क्षेत्रमा पर्ने लालबोझीमा रहेको पुरैनाताल खेती योग्य जमिन परिणत भएको छ । पानी भएको कोर क्षेत्र( भित्री भाग ) ७९.२१ हेक्टरमा फैलिएको ताल चरा अवलोकनका लागि उपयुक्त मानिन्थ्यो ।

मोहना नदिमा २०६५ सालमा आएको बाढिले ताललाई
बगरमा परिणत गर्न सुरुवात गरेको थियो पुन २०६८, २०७२ र २०७५ सालमा आएको बाढिले ताललाइ पुरेर बगरमा परिणत गरेको थियो ।

लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव मंसिर १९ देखि २१ गतेसम्म

सुखड, कैलाली: कैलाली जिल्लाको घोडाघोडी नगरपालिकामा अवस्थित घोडाघोडी मन्दिरमा यस वर्ष विवाह पञ्चमीका अवसरमा थारु समुदायको विशेष “लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव २०८१” हुने भएको छ। “हमार संस्कृति हमार पहिचान, संस्कृति जर्गना करना हमार अभियान” भन्ने मुख्य नाराका साथ आयोजित महोत्सव मंसिर १९ देखि २१ गतेसम्म आयोजना हुनेछ।

थारु समुदायले वर्षौंदेखि आफ्ना परम्परागत चाडपर्व अनुसार बाली घरमा भित्र्याउने बेलामा पहिले देवतालाई चढाएर मात्र उपभोग गर्ने परम्परा पालन गर्दै आएको छ।  नियमित रूपमा घोडाघोडी मन्दिरमा विवाह पञ्चमीको दिन मनाइँदै आएको लवाङ्गी पूजा यस पटक पनि विशेष सांस्कृतिक उत्सवका रूपमा आयोजना गरिन लागेको हो।

महोत्सवको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मूल आयोजक समितिका संयोजक बुधराम चौधरीले यस पर्वले थारु समुदायको धार्मिक तथा सांस्कृतिक पहिचानलाई सुदृढ गर्न, युवापुस्तामा हस्तान्तरण गर्न र कला–संस्कृतिको संरक्षणमा योगदान पुर्‍याउने उद्देश्य रहेको बताए। महोत्सवमा कैलाली, कञ्चनपुर, बर्दिया, बाँके र दाङलगायतका जिल्लाहरूबाट थारु समुदायका भक्तजनहरूको उपस्थिति हुने अनुमान गरिएको छ। थारु समुदायमा विशेषरूपमा प्रचलित बर्का नाच, सखिया नाच, मुग्रहुवा नाच, कठघोरी नाच लगायतका नृत्य प्रस्तुति तथा थारु कलाकारहरूको विशेष प्रस्तुति रहनेछ।

सन्त समागम समाजका अध्यक्ष कप्तान चौधरीका अनुसार १ सय ७३ गाउँका भलमन्सा, गुरुवा र चिराकीहरूको सहभागिताले महोत्सवलाई अझ व्यवस्थित बनाउन सहयोग हुने बताए । घोडाघोडी ताललाई विश्व रामसार सूचीमा सूचीकृत गरिएको हुँदा यस महोत्सवले तालको संरक्षण, सदुपयोग, र अन्तर्राष्ट्रिय प्रचारप्रसारको लागि थप सन्देश दिन सहयोग पुर्‍याउने उद्देश्य राखेको बताइयो।

कार्यक्रमको सञ्चालन घोरिघोरा नगरभलमन्सा कार्य समितिका सचिव अमन चौधरीले गरेका थिए।

घोडाघोडीमा दोस्रो घोडाघोडी कप फुटबल प्रतियोगिता हुने, विजेतालाई नगद ५० हजार पुरस्कार

कैलाली, कात्तिक २३ – घोडाघोडी स्पोर्ट्स क्लब र रोयल युवा क्लबको आयोजनामा दोस्रो घोडाघोडी कप फुटबल प्रतियोगिता २०८१ हुने भएको छ। कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–३ निम्दीमा २०८१ मंसिर १५ गतेदेखि सुरु हुने भएको छ ।

प्रतियोगितामा सहभागिता जनाउन इच्छुक टोलीहरूले मंसिर १४ गतेभित्र टिम दर्ता गरिसक्नुपर्नेछ। दर्ता शुल्क तीन हजार पाँच सय रुपैयाँ तोकिएको छ। प्रतियोगिताका उद्घाटन कार्यक्रम मंसिर १५ गते बिहान १० बजे हुनेछ ।

विजेता टोलीले नगद ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन भने दोस्रो स्थान हासिल गर्ने टोलीले २५ हजार रुपैयाँ र ट्रफी पाउनेछन । प्रतियोगिता व्यवस्थित रूपमा सञ्चालन गर्नका लागि खेलाडीहरूले आफ्नो स्वास्थ्य र सुरक्षा व्यवस्थापन आफैँले गर्नुपर्ने व्यवस्था गरिएको छ ।

सहभागी टोलीहरूले केही नियम र सर्तहरूको पालना गर्नुपर्नेछ । खेलाडीले मैदानमा अनुशासनमा रहनुपर्ने र कुनै विवाद सिर्जना भएमा आयोजकको निर्णय अन्तिम मान्नुपर्ने छ । साथै प्रतियोगितामा कार्ड पाएका टिम, खेलाडीले जरिवाना तिर्नुपर्ने छ । यस प्रतियोगितामा विभिन्न फुटबल टोलीहरूले प्रतिस्पर्धा गर्नेछन् ।

मिति : मंसिर १५ गतेदेखि
स्थान: घोडाघोडी–३, निम्दीमा कैलाली

प्रवेश शुल्क: रु. ३,५०० मात्र
पुरस्कार:

  • पहिलो पुरस्कार: नगद रु. ५०,००० र ट्रफी
  • दोस्रो पुरस्कार: नगद रु. २५,००० र ट्रफी

 

धनगढीमा सुरक्षाकर्मीको नाममा पैसा असुल्ने दुई अटो चालक पक्राउ

धनगढी, कात्तिक २३ गते। गौरीफन्टा नाकाबाट नेपाल प्रवेश गर्ने एक यात्रुबाट नेपाली सुरक्षाकर्मीलाई दिनुपर्ने बहाना बनाउँदै पैसा असुल गर्ने दुई अटो चालकलाई कैलाली प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–३, मिलन चौक निवासी २८ वर्षीय मानबहादुर बयाडी र वडा नम्बर २, चौराहा निवासी ३१ वर्षीय करन बोहरा रहेका छन्। यी दुई अटो चालकले गोदावरी नगरपालिका–२, अत्तरियाका २७ वर्षीय लोकेन्द्र ओझाबाट नेपालतर्फका सुरक्षाकर्मीलाई दिनुपर्छ भन्दै २,००० भारतीय रुपैयाँ असुलेका थिए।

यात्रुहरूबाट अवैध रूपमा पैसा असुल गर्दै सुरक्षाकर्मीको बदनामी गर्ने प्रयास गरिरहेको भन्ने सूचनाको आधारमा सुरक्षा चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले असुलेको रकम फिर्ता गराइएको र दुवै चालकविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो।

थारु म्युजिक भिडियो ‘फुलीगैलैँ गेंडा गोडौली’ दीपावलीको अवसरमा सार्वजनिक

धनगढी, १४ कात्तिक । दीपावलीको अवसर पारेर सुलभ फिल्मस् प्रालिले ‘फुलीगैलैँ गेंडा गोडौली’ शीर्षकको नयाँ थारु सांस्कृतिक म्युजिक भिडियो सार्वजनिक गरेको छ। यस म्युजिक भिडियोमा चर्चित मोडल रितु चौधरी र विनर चौधरीले मुख्य अभिनय गरेका छन्।

निम चौधरीले निर्माण गरेको यो म्युजिक भिडियोमा अन्य कलाकारहरूमा रेमु चौधरी र गीता नेपाली रहेका छन्। गीतका शब्द तथा संगीत गायक खुशी रत्गैंयाको रहेको छ भने गीतमा खुशी रत्गैंया र आरजु चौधरीले आवाज दिएका छन्।

म्युजिक भिडियोको कथा तथा निर्देशन आदर्श महतोले गरेका छन्। प्रमुख क्यामेरामा दया शंकर चौधरी रहेका छन् भने असिस्टेन्ट क्यामेरा पर्सनको रूपमा छल्लु दादा र सलोन चौधरीले भूमिका निभाएका छन्। म्युजिक प्रोडक्सन म्यानेजरमा सैजन कटेज रहेका छन्, र यस प्रोजेक्टमा विनर मिझ्नीको घर धनगढीले विशेष सहयोग प्रदान गरेको छ।

 

बझाङमा १६७ एचआइभी सङ्क्रमित, ९५ जनामात्र औषधि सेवनमा

चैनपुर (बझाङ), कात्तिक १३ गते:_ बझाङ जिल्लामा हालसम्म १६७ जना एचआइभी सङ्क्रमित व्यक्ति फेला परेका छन्, जसमा ९५ जनाले मात्र नियमित औषधि सेवन गरिरहेका छन्।

जिल्लास्थित सरोकारवालासँगको वार्षिक समीक्षा बैठकमा ग्लोबल फण्ड एचआइभी-टिबी रोकथाम परियोजनाका कार्यक्रम अधिकृत अमृतप्रसाद पण्डितले बझाङका विभिन्न गाउँपालिका र नगरपालिका अनुसार सङ्क्रमितको विवरण प्रस्तुत गरे। उनका अनुसार, सबैभन्दा धेरै केदारस्यूँ गाउँपालिकामा १९ जना एचआइभी सङ्क्रमित फेला परेका छन्। यसैगरी, थलारामा १८, छबिसपाथिभेरामा १३, बुङ्गल नगरपालिकामा ११, दुर्गाथली गाउँपालिकामा नौ, बित्थडचिरमा आठ जना सङ्क्रमितले औषधि सेवन गरिरहेका छन्। जयपृथ्वी नगरपालिकामा आठ, मष्टामा तीन, खप्तडछान्नामा तीन, तलकोटमा दुई जनाले औषधि सेवन गरिरहेको उनले बताए।

पण्डितका अनुसार, “जिल्लामा देखिएका सबै सङ्क्रमित यहीँ नै छैनन्, कतिपय अन्यत्र गएकाले त्यहाँबाट नै नियमित औषधि सेवन गरिरहेका छन्।” चालु आर्थिक वर्षको पहिलो चार महिनामा १५,९४६ जनाको एचआइभी परीक्षण गर्दा आठ जना नयाँ सङ्क्रमित फेला परेका छन्।

सङ्क्रमितलाई सहयोग पुर्याउने उद्देश्यले परियोजना संयोजक लोकेन्द्र पन्तले समुदायका सीमान्तकृत वर्गका व्यक्तिहरूलाई शिक्षा, आर्थिक अवसर, र सामाजिक सुधारतर्फ जोड्दै काम भइरहेको बताए। “भूमिहीन, दलित, जनजाति, बालबालिका, महिला, पुरुषलगायत सीमान्तकृत समुदायका लागि हामीले विभिन्न सुधारात्मक कार्यक्रम लागू गरेका छौँ,” उनले भने। साथै, जिल्लामा लागू गरिएको कार्यक्रमअन्तर्गत एचआइभी जाँच, यौन शिक्षा, क्षयरोग स्क्रिनिङ, र अस्थायी साधन वितरण गरिँदै आएको जानकारी पनि उनले दिए।

घोडाघोडी : मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

घोडाघोडी (कैलाली),१३ कात्तिक
कैलालीको घोडाघोडी नगरपालिकामा मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।

जिल्लाको घोडाघोडी नगरपालिका ७ करैचामा मोटरसाइकल दुर्घटना हुँदा ३० वर्षीय सुमन कठरीयाको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायव उपरीक्षक दीपेन्द्र पालले जानकारी दिनु भएको छ ।

गए राति से ७ प ९११२ न को मोटरसाइकल दुर्घटना हुँदा घोडाघोडी ११ का सुमनको घटनास्थलमा नै मृत्यु भएको पालले जानकारी दिनुभयो । पालका अनुसार शव पोष्टमार्टमका लागि टिकापुर अस्पताल राखिएको छ ।

टीकापुर हवाइमैदानमा पुनः परीक्षण उडान सफल, स्थायी हवाई सेवाका लागि स्थानीयको माग

टीकापुर, कात्तिक १२ – टीकापुर हवाइमैदानमा पुनः परीक्षण उडान सम्पन्न भएको छ। नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भूल, क्याप्टेन महेश विष्ट, उज्जवल सिलवाल, इन्जिनियर सम्राट प्रधानसहितको प्राविधिक टोली परीक्षणमा सहभागी भएको थियो। परीक्षण उडान सम्पन्न भएसँगै स्थानीयवासी उत्साहित भएका छन्।

यस अवसरमा पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरी टीकापुरमै रहनुभएको छ। पर्यटन मन्त्रालयको पहलमा जहाजको परीक्षण उडानले टीकापुरवासीलाई हवाई सेवा पुनः सञ्चालनको आशा दिएको छ।

सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन तथा वन वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले संघीय सरकारले निरन्तर सेवा दिन सहयोग गरे प्रदेश सरकारले पहाडी जिल्लाहरूमा हवाई सेवा विस्तारका लागि अनुदान दिन सक्ने बताउनुभयो। उहाँले टीकापुरबाट अछामको साँफेबगर, जुम्ला, काठमाडौं, धनगढी, र नेपालगञ्जमा नियमित उडान पुनः सञ्चालन हुनुपर्ने धारणा व्यक्त गर्नुभयो।

बर्दिया क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य लालवीर चौधरीले कैलाली र बर्दियाका आठवटा पालिका तथा रानी जमरा कुलरिया सिँचाइ आयोजना लगायतका कारण यस क्षेत्रका जनतालाई हवाई यातायातको आवश्यकता रहेको बताउनुभयो।

टीकापुर नगर प्रमुख रामलाल डगौरा थारुले संघीय सरकारले जहाजको व्यवस्था गर्नुपर्ने र स्थानीय जनताको माग पूरा गर्नुपर्नेमा जोड दिनुभयो। टीकापुरको हवाइ सेवा विसं २०४१ देखि करिब एक दशक सञ्चालनमा आएर बन्द भएको थियो। तत्कालीन पर्यटनमन्त्री लोकेन्द्र विष्टमगरले पनि यसअघि परीक्षण उडान गरेका थिए।

टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्रपाणि सापकोटाले हवाई सेवा अब निरन्तर सञ्चालनमा ल्याउनुपर्ने माग राख्नुभएको छ।

उद्घोषण कला सम्बन्धित चार दिने तालिम धनगढीमा सम्पन्

धनगडी : कैलालीको धनगढीमा उद्घोषण कला सम्बन्धित चार दिने तालिम सम्पन्न भएको छ। जागृति फाउन्डेसनको कार्यालय तारानगरको आयोजना मा धनगढी कैलालीमा तालिमको सञ्चालन भएको थियो ।

कार्तिक ७ गतेबाट सुरु भएको तालिम १० गतेसम्म सञ्चालन भएको हो । कार्यक्रमको मुख्य प्रशिक्षकका रूपमा दुर्गाराज पाण्डे रहनुभएको थियो। समापन कार्यक्रममा बोल्दै मुख्य प्रशिक्षक पाण्डेले चार दिनको उद्घोषण कला तालिमले सहभागीहरूमा भाषण कला र व्यक्तित्व विकासमा सकारात्मक परिवर्तन आएको बताउनुभयो।
चार दिने प्रशिक्षण प्राप्त भइसकेपछि आफूहरूको क्षमता अभिवृद्धि भएको सहभागीहरूको प्रतिक्रिया रहेको छ। जागृति फाउन्डेसनका सदस्य पदमराज भट्टको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सहजीकरण धनीराम नेपालीले गर्नुभएको थियो।

उद्धारको पर्खाइमै मर्छन् वन्यजन्त

इन्द्रा कुमारी केसि

घोडाघोडी । गत बुधबार बिहान कैलालीको जानकी गाउँपालिका–६ स्थित कैलाशेश्वर सामुदायिक वनभित्र पासोमा परेको अवस्थामा चितुवा फेला प¥यो । उद्धार टोलीलाई खबर पनि गरियो । टोली आइपुग्न ६ घण्टा लाग्यो । उद्धारको केही घण्टामै चितुवाको मृत्यु भयो ।

विसं २०७८ चैत १७ गते घोडाघोडी नगरपालिका–१० तुल्सीपुर सामुदायिक वनमा पासोमा परेको चितुवाको उद्धार नहुँदै मृत्यु भएको । विसं २०७६ वैशाख १५ गते घोडाघोडी नगरपालिका–३ नारायणपुरस्थित थाह्रा र मोहन्याल सामुदायिक वनको सिमानामा चितुवा पासोमा परेको अवस्थामा फेला पर्‍यो ।

डिभिजन वन कार्यालय पहलमानपुरसँग उद्धार गर्ने दक्ष जनशक्ति नभएपछि बर्दिया राष्ट्रिय निकुञ्जको उद्धार टोलीलाई खबर गरियो । उद्धार टोली घटनास्थल पुग्न नपाइ चितुवाको मृत्यु भयो ।

 

कैलालीमा पछिल्लो केही वर्षयता पासोमा परेर विश्वकै लोपोन्मुख प्रजातिका पाटे बाघ र चितुवाको मृत्यु भइरहेको डिभिजन वन कार्यालय पहलमानपुरले जनाएको छ ।

पछिल्लो छ वर्षमा पासोमा परेर कैलालीमा दुई वटा पाटे बाघ र पाँच वटा चितुवाको मृत्यु भएको डिभिजन वन कार्यालय पहलमानपुरले जनाएको छ । जिल्लामा आर्थिक वर्ष २०७५/०७६ मा एउटा चितुवा, आव २०७८/७९ मा दुई चितुवा र एउटा पाटे बाघ, आव २०८०/८१ मा एक पाटे बाघ र एक चितुवाको मृत्यु भएको छ भने चालु आवमा एक चितुवाको मृत्यु भएको छ ।

कैलालीमा भारतको दुधुवा नेशनल पार्क जोड्ने वसन्ता जैविकमार्ग र बर्दिया राष्ट्रिय निकुञ्जलाई जोड्ने कर्णाली जैविकमार्ग छन् । यी मार्गबाट बाघ, चितुवा, हात्तीलगायतका जङ्गली जनावर ओहोरदोहोर गर्ने गर्दछन् । यी जैविक मार्गका वरिपरि बाक्लो मानव बस्ती छ । यसका कारण पनि यी क्षेत्रमा मानव वन्यजन्तु द्वन्द्वका घटना हुने गरेको डिभिजनल वन कार्यालय पहलमानपुरका निमित्त प्रमुख सुरेन्द्र कठायतले बताए ।

जिल्लामा वन्यजन्तु उद्धारका लागि बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाको टोलीलाई बोलाइने गरिन्छ । समन्वय गरेर उद्धार टोली आइपुग्दा घण्टौँ बितिसकेको हुन्छ । कठायतले भने, “यो अवस्थामा कतिपय मरिसकेका हुन्छन् र कतिपय उद्धार भएपछि मर्छन् । यदि हाम्रै ठाउँमा उद्धार टोली भएको भए समयमा उद्धार गरी बचाउन सकिन्थ्यो ।

उद्धार टोलीसँगै उद्धार गरिसकेपछि राख्ने ठाउँ यहाँ छैन । तत्काल उद्धार गरेर ‘साइकोलोजीकल थेरापी’सँगै पालनपोषणका लागि उद्धार केन्द्र आवश्यक पर्ने सुदूरपश्चिम प्रदेश वन निर्देशनालयका निर्देशक हेमराज विष्टले बताए ।

विष्टकाअनुसार विविधकारणले उद्धार गरिएका वन्यजन्तु निकुञ्जले राख्न मान्दैन । सुदूरपश्चिममा उद्धार टोली र उद्धार केन्द्रको आवश्यकता रहेको बताउँदै उनले भने, “त्यसका लागि हामीले पहल गरिरहेका छौँ ।”

पहिले निकुञ्ज क्षेत्रमा धेरै जसो वन्यजन्तुको द्वन्द्व हुने गथ्र्यो । त्यसैले निकुञ्जमा उद्धार केन्द्रहरू राखिएका छन् । अहिले निकुञ्ज बाहिर उद्धार टोली र उद्धार केन्द्रको आवश्यकता महसुस भएको सुदूरपश्चिम प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराईले बताए ।

सुदूरपश्चिममा कैलाली, कञ्चनपुरसँगै पहाडी जिल्ला बैतडी, डोटी, डडेल्धुरालगायतमा यस्ता समस्या रहेको उनले बताए । उद्धार टोलीका लागि नयाँ दरबन्दी राख्नुपर्छ ।

भेटनरी डाक्टरलगायतका कर्मचारीको आवश्यक पर्ने गरेको बताउँदै उनले भने, “सरकारलाई यसका लागि प्रस्ताव गरेका छौँ । स्वीकृत भएपछि अगाडि बढ्ने छौँ ।”

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले बनाइ रहेको उद्धार केन्द्रमा यो वर्ष बजेट विनियोजन गरेको बताउँदै उनले पहाडी जिल्लाका लागि डडेलधुरामा सेन्टर राख्ने योजना बनाएको जानकारी दिए ।

कमलसिंह राना नेपाल रानाथारु समाजको केन्द्रीय अध्यक्षमा निर्वाचित

धनगढी, कात्तिक ४ – नेपाल रानाथारु समाजको केन्द्रीय अध्यक्षमा कमलसिंह राना निर्वाचित भएका छन्। धनगढीमा सम्पन्न सातौं महाधिवेशनबाट उहाँले लोकप्रिय मतसहित अध्यक्ष पदमा जित हासिल गरेका हुन्।

अध्यक्षका लागि सात जनाको उम्मेदवारी परेकोमा कमलसिंह रानाका निकटतम् प्रतिद्वन्द्वी ओमप्रकाश रानाले मात्र १० मत प्राप्त गरेका थिए।

उपाध्यक्ष पदमा कन्दकला राना र डिठ्ठा राना निर्वाचित भए भने महासचिवमा तीर्थराज राना र सचिव पदमा साहेब राना तथा भजना राना विजयी भएका छन्। कोषाध्यक्षको पद चन्द्रकिरण रानाले हात पारेका छन्।

सदस्यहरूमा अम्लेस राना, गोदावरी राना, दानसिंह राना, रमित राना, लालमणि राना, शिवचरण राना, सरिता राना र सामु राना निर्वाचित भएका छन्।

कैलाली र कञ्चनपुरमा मुख्यत: बसोबास गर्ने रानाथारु समुदायको महाधिवेशनमा सर्वसम्मत कार्यसमिति चयन गर्ने प्रयास भए पनि सहमति जुट्न नसकेपछि निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गरिएको हो।

“मंगलदीप गुलाफ चन्दन अगरबत्ती” नेपाली बजारमा

हरेक पवित्र अवसर लाई लक्षित गरी नेपालकै अग्रणी व्यावसायिक संस्था सूर्य नेपाल भेन्चर्स प्रा. लि. ले आफ्नो नयाँ उत्पादन “मंगलदीप गुलाफ चन्दन अगरबत्ती” नेपाली बजारमा सार्वजनिक गरेको छ ।

आकर्षक प्याकेजीङ्ग ले सुसज्जित गुलाफ चन्दन अगरबत्तीको हरेक प्याकमा ९ इन्चका ४० वटा काँटीहरू रहेका छन् । कम्पनीले गुलाफ चन्दन अगरबत्तीको प्रत्येक प्याक को बिक्री मूल्य रु. ५० कायम गरेको छ । यो अगरबत्तीमा गुलाफ र चन्दनको सुवासको समिश्रण रहेको छ, र सम्भवत पहिलो पटक यस किसिमको नयाँ सुवास सवैमाझ उपलब्ध हुनेछ । यो अद्वितीय सुवासले हरपल पवित्र बनाइ सुवासको अलग्गै नयाँ अनुभव दिनेछ ।

यस अगरबत्तीमा हरेक शुभ कार्य का निम्ति उपयुक्त हुनुका साथै पूजाको पावन अनुभव पनि प्राप्त गर्न सकिने छ । उत्कृष्ट गुणस्तरीयता कायम राखी मंगलदिप पुजा अगरबत्तीले मंगलदीप ब्राण्डको छवि र ब्राण्डप्रति उपभोक्ताको लगावलाई बलियो बनाउने विश्वास कम्पनीले लिएको छ ।

यस उत्पादनले, प्रिमियम अगरबत्ती खोज्नुहुने सम्पूर्ण ग्राहक महानुभावहरूको मन जित्ने विश्वास कम्पनीले लिएको छ । मंगलदीप पूजा अगरबत्ती अन्तर्गत चम्पा, सुपर चम्पा, जस्मिन, चम्पा चमेली, चन्दन, लेवेन्डर, अर्पण, त्रेया, पुष्पाञ्जली, त्रिसारा, सयपत्री लगायतका विभिन्न ब्राण्डहरु बजारमा सर्वत्र उपलब्ध छन् ।