सुदूरपश्चिममा मूसलधारे वर्षा: धनगढीमा २४ घण्टामा २०० मिमि, बेलौरीमा २६४.६ मिमि पानी

प्रकाशविक्रम शाह

धनगढी, असार १६ गते । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा गत २४ घण्टामा २०० मिलिमिटर वर्षा भएको छ । अत्तरियास्थित महाकाली बेसिनका प्रमुख इन्जिनियर संजयकुमार साहका अनुसार यो वर्षामा धनगढीमा यति धेरै पानी पहिलो पटक परेको हो ।

धनगढीमा आइतबार दिउँसाेदेखि पानी परेको थियो । तर भारी वर्षा बिहान ४ बजेबाट हुन थाल्यो इन्जिनियर साहले भन्नुभयो, “अहिले पनि धनगढीमा पानी परिरहेको छ, रातिबाट कम हुने छ ।”

उहाँका अनुसार धनगढीभन्दा बढी कञ्चनपुरको बेलौरीमा पनि २४ घण्टामा २६४.६ मिलिमिटर वर्षा भएको छ । कञ्चनपुरकै कृष्णपुर खल्लाकोटमा पनि १८४ मिलिमिटर वर्षा भएको छ ।

महाकाली बेसिनले सुदूपश्चिमका नौ वटै जिल्लामा मध्यम र हल्कास्तरको वर्षा भइरहेको छ । सुदूरश्चिममा यो साताभर मध्यमस्तरको वर्षा भइरहने पनि सो कार्यालयले जनाएको छ ।

वर्षाले दोदा नदीको बहाव बढेको छ । धनगढी लगायतका क्षेत्रमा भइरहेको वर्षाले मोहना नदी वरपरका बस्तीलाई प्रभाव पार्ने अनुमान गरिएको छ ।

कैलाली कारागारमा कैदी युवकको मृत्यु : आफन्तले बुझ्न मानेनन् शव

निराजन परियार
चौमाला (कैलाली), असार ४ गते ।
 जिल्ला कारागार कैलालीका कैदीबन्दीको शव सेती प्रादेशिक अस्पतालको शवगृहबाट उठ्न सकेको छैन । आफन्तहरूले सत्यतथ्य छानबिन भई न्याय नपाउँदासम्म शव नउठाउने अडान लिएका छन् ।

सोमबार राति १०ः३० बजे कारागारमा अचेत अवस्थामा भेटिएको बैंकिङ कसुर मुद्दाका प्रतिवादी डडेल्धुराको भागेश्वर गाउँपालिका ५ का २८ वर्षीय हरिश सिंह पालीको मृत्यु भएको कारागारले जनाएको छ ।

कैलाली कारागारका जेलर पदम तिमिल्सिनाले अचेत अवस्थामा भेटिएका पालीलाई राति सेती प्रादेशिक अस्पताल उपचारका क्रममा मृत्युु भएको बताउनुभयो ।

सेती प्रादेशिक अस्पतालमा राखिएको शवमा निलडाम र चोटपटक भेटिएको छ । पालीका आफन्तहरुले कारागारभित्रै यातनाका कारण मृत्यु भएको भन्दै घटनाको निष्पक्ष छानबिनको माग गरेका छन् ।

मृत्युको कारण स्पष्ट नभए पनि अस्पताल पुर्‍याउने बेला पालीलाई उच्च ज्वरो आएको थियो भने रक्तचाप निकै कम रहेको तिमिल्सिनाले बताउनुभयो ।

मुख, खुट्टा र शरीरका अन्य भागमा समेत चोटपटक लागेको पाइएको छ । सोही कारण पालीका आफन्तले कारागारभित्र कुटपिट गरेर हत्या गरेको आरोप लगाउँदै शव बुझ्न मानेका छैनन् ।

अहिले उहाँको शव प्रादेशिक अस्पतालमै राखिएको छ । पालीलाई बैंकिङ कसुर मुद्दामा जिल्ला अदालतले २०८०  सालमा १० दिन कैद र दुई लाख रूपियाँ जरिवाना गरेको थियो ।

त्यही बेलादेखि फरार रहेका उहाँलाई कैलाली प्रहरीले असार १ गते पक्राउ गरेर कारागार चलान गरेको थियोे । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

मुख्यमन्त्री शाहको चेतावनी: “बजेटमा चलखेल सह्य हुने छैन, उपभोक्ता समितिबाट विकास पनि अब बन्द”

प्रकाशविक्रम शाह

धनगढी, जेठ २५ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले असार १ गते आउने बजेटमा कसैबाट हुने चलखेल स्वीकार नहुने बताउनुभएको छ । उहाँले उपभोक्ता समितिबाट हुने विकासको काम पनि नहुने बताउनुभएको हो ।

आइतबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले २५ लाखमुनिका योजना पनि नबनाइने बताउदै यदि २५ लाखभन्दा कम बजेट विनियोजन गर्नुपर्ने अवस्था आएमा, कार्य योजनासहित सशर्त अनुदानको रूपमा स्थानीय तहलाई वित्तिय हस्तान्तरण गर्ने बताउनुभयो ।

प्रदेश सरकारले चालु आर्थिक वर्षमा पनि उल्लेखित नीति लिएको थियो । सुदूरपश्चिम प्रदेश सरकारले भ्रष्टाचारका विरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरेर सुशासन, जनमुखी र जनउत्तरदायी शासन प्रणालीमार्फत विकास र समृद्धिप्रति दृढ प्रतिबद्धता व्यक्त गर्दैआएको बताउँदै मुख्यमन्त्री शाहले वार्षिक विकास कार्यक्रम (बजेट) तर्जुमा गर्दा सुदूरपश्चिम प्रदेशको आवधिक योजना, मध्यावधि खर्च संरचना, प्रादेशिक सडक सञ्जाल गुरुयोजना, आयोजना बैँक तथा दीगो विकास लक्ष्यलाई प्रमुख आधारका रूपमा लिइने बताउनुभयो ।

प्रदेशको समग्र विकास, समृद्धि, सुशासन प्रवर्धन, भ्रष्टाचार नियन्त्रण, योजना छनोट तथा बजेट विनियोजनका सन्दर्भमा अघिल्लो आर्थिक वर्ष २०८१–८२ मा प्रदेश सरकारले घोषणा गरेका चार बुँदे प्रतिबद्धतालाई आर्थिक वर्ष २०८२–८३ को बजेटमार्फत सोही बुदाँहरुलाई निरन्तरता दिई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा हामी स्पष्ट र प्रतिबद्ध छौं, उहाँले भन्नुभयो ।

उहाँले अघिल्लो बजेटमाझैं प्रदेश सरकारले व्यक्ति, समूह, संस्था, निजी फर्म, कम्पनी वा सहकारी संस्थालाई तोकेर बजेट विनियोजन नगर्ने पनि बताउनुभयो ।

मुख्यमन्त्री शाहले भन्नुभयो, “बजेटमा चलखेल, धनगढीमा चहलपहल बढेको हामीले सुनेका छौ, बजेटमा त्यस्तो चलखेल स्वीकार हुँदैन । त्यसमा संलग्न भेटिए जोकोहीलाई कानुनी कारबाही गरिने छ ।”

समयमै योजना सम्पन्न गर्न मन्त्री भण्डारीको निर्देशन, कार्यान्वयनमा ढिलाइप्रति असन्तुष्टि

बैतडी (बाशुलिङ्ग), जेठ २३ गते । नेपाल सरकारका उद्योग बाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारीले कार्यालय प्रमुखहरुलाई समयमै योजना सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

शुक्रबार बैतडीको पाटनमा जिल्लास्थित कार्यालय प्रमुखहरुसँगको भेटघाट कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले राज्यबाट विनियोजन भएका योजना कार्यान्वयनमा ढिलाई भइरहेको भन्दै योजना कार्यान्वयनमा जोड दिन निर्देशन दिनुभएको हो ।

आर्थिक वर्षको अन्त्यमा मात्रै काम गर्ने प्रवृति दोहोर्‍याउने काम भइरहेको भन्दै योजना कार्यान्वयन समयमा नै गर्नुपर्नेमा जोड दिनुभयो । चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा जिल्लाका कार्यालयहरुको समष्टिगत खर्च ५० प्रतिशतमात्रै रहेको बताउँदै भण्डारीले कार्यान्वयन पक्ष फितलो भएको बताउनुभयो । ‘आर्थिक वर्षको पहिलो महिना साउनमै बजेट आइपुग्छ, कार्यान्वयन आठ नौ महिना किन लाग्छ, आर्थिक वर्षको सुरुवातमै बजेट कार्यान्वयन गर्न के कुराले छेक्छ ?’ मन्त्री भण्डारीले कार्यालय प्रमुखसँग प्रश्न गर्नुभयो ।

जिल्लाका कार्यालयहरुले सुशासन कायम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । विकासे कार्यालयहरुमा दायित्व सार्ने प्रवृत्तिले अपेक्षा अनुसार काम हुन नसकेको समेत औँल्याउँदै धेरैजसो विकासे कार्यालयमा विगतको दायित्व परिपूर्ती गर्ने कामले समस्या तिम्तिएको उहाँले बताउनुभयो । पुरानो भुक्तानी दिने विषयमा गुणस्तर र मापदण्ड अपनाएर मात्रै प्रक्रियाअघि बढाउनुपर्ने मन्त्री भण्डारीले सुझाव दिनुभयो । यहाँका विकासे कार्यालयमा पुरानो भुक्तानी दिनुपर्ने योजनाको सूची तयार पार्न मन्त्री भण्डारीले प्रमुख जिल्ला अधिकारीलाई निर्देशन पनि दिनुभएको छ ।

मन्त्री भण्डारीले मनसूनजन्य विपदका घटना नियन्त्रणको लागि पूर्व तयारी गर्न निर्देशन दिँदै विगतका वर्षभन्दा यस वर्ष बढी वर्षा हुने प्रक्षेपण गरिएकाले सम्भावित जोखिम नियन्त्रणको लागि तयारीमा लाग्न मन्त्री भण्डारीले प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायलाई निर्देशन दिनुभयो । प्रमुख जिल्ला अधिकारी उपाध्यायले विपद जोखिम नियन्त्रणको लागि आवश्यक पूर्व तयारी भइरहेको जानकारी गराउनुभएको छ ।

चुरे क्षेत्रको कोपिला सामुदायिक वनका १४८ महिला उपभोक्तालाई निःशुल्क ग्यास चुलो

चाँदनी आचार्य
घोडाघोडी(कैलाली) जेठ २३ गते ।
 कैलालीको चुरे क्षेत्रअन्तर्गत पर्ने मोहन्याल गाउँपालिकाका वडा नम्बर १ कोपिला सामुदायिक वनमा जोडिएका उपभोक्ता महिलाहरु खाना पकाउने ईन्धनको रुपमा ग्यास चुलो पाएपछि खुशीले दङ्ग परेका छन् ।

सधैँ खाना पकाउने दाउराको जोहो गर्न वन जङ्गल धाउनुपर्ने समस्या अब ती महिलाहरुका लागि हटेको छ । “ग्यास चुलो पाएपछि अब कसले दुःख गर्छ र बर्खामा भिजेका दाउँरा नबल्दा खाना पकाउन कम्ति दुःख हुन्थ्यो”, ग्यास चुलो पाएपछि खुशी हुँदै मनसरा थापाले भन्नुभयो “हामीले वन जोगाए बापत आएको आम्दानीबाटै ग्यास चुलो पाएका हौँ ।”

मनसरासँगै ग्यास चुलो पाएका तारा शर्मा समेत खुशी हुनुहुन्छ । उहाँले गाउँमा एकाधले मात्र ग्यास बाल्ने भए पनि सामुदायिक वनबाट निःशुल्क ग्यास चुलो पाएपछि दाउराका लागि वनमा धाउनु पर्ने बाध्यता हटेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “ग्यास चुलोमा खाना पकाउदा अब समयको पनि बचत हुने भयो, धुवाँले असर गर्ला भन्ने पनि पिर पनि भएन ।”
मनसरा र तारा जस्तै उक्त सामुदायिक वनमा जोडिएका एक सय ४८ जना उपभोक्ताले सात हजार बराबरको ग्यास चुलो निःशुल्क पाएका छन् ।

कोपिला सामुदायिक वनले ढलापडा काठ बेचेर आम्दानी गरेको रकमले उपभोक्तालाई ग्यास चुलो वितरण गर्ने निर्णय गरेको हो ।

वन जोगाउने उद्देश्य र उपभोक्ताको स्वास्थ्य सुलभताका लागि ग्यास चुलो वितरण गरिएको वनका अध्यक्ष गणेशबहादुर बुढा मगरले बताउनुभयो ।

उहाँले आम्दानी दिने वनलाई संरक्षण गर्न उपभोक्ताको दायित्व रहेको उल्लेख गर्नुहुँदै उपभोक्ताले ग्यास चुलो प्रयोग गरेपछि दाउराका लागि वनमा आश्रित हुन नपर्ने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “सामुदायिक वनमा दाउरा सङ्कलन गर्दा वन फडानी गर्ने, गोलियाहरू टुक्राउने कार्य रोक्न एक सय ४८ जना उपभोक्तालाई १० लाख ३६ हजार रुपियाँ बराबरका ग्यास चुलो वितरण गरिएको छ ।”

सामाजिक उत्तरदायित्वअन्तर्गत समुदायमा समेत काम गर्दै आएको यस वनले बाख्रा वितरण, मिटर बक्स वितरण, खानेपानी मर्मत, सडक ग्राभेल, सिँचाइ, विपन्न बिरामी सहयोग कार्यक्रम, शैक्षिक छात्रवृत्तिलगायतका काम समेत गर्दै आएको छ ।

तराई र चुरे पहाडको भावर क्षेत्रमा रहेको उक्त सामुदायिक वनले वैज्ञानिक वन कार्यक्रमबाट काठ बिक्री गरी राम्रो आम्दानी गरेको छ । वनका अध्यक्ष बुढा मगरले वैज्ञानिक वनको काठ बिक्रीबाट ३० लाख रुपियाँ बराबरको लागतमा सामुदायिक वनको भवन बनाउनुका साथै समुदायीक उत्तरदायित्वअन्तर्गत खानेपानी मर्मतलगायतका काममा खर्च गरेको जानकारी दिनुभयो ।

कञ्चनपुरमा ६५ अटेरी करदातामाथि कारबाही, कर असुलीका लागि बैङ्क खाता र सम्पत्ति रोक्का प्रक्रिया अघि बढ्यो

कञ्चनपुर, जेठ १४ गते । आन्तरिक राजस्व कार्यालय, कञ्चनपुरले लामो समयदेखि कर नबुझाउने ६५ करदारतामाथि कारबाही अगाडि बढाएको छ । पटक पटक कर दाखिलाका लागि आग्रह गरिए पनि अटेरी गर्ने करदातामाथि कारबाही अगाडि बढाइएको उक्त कार्यालयले जनाएको हो ।

आर्थिक वर्ष २०८०/८१ मा २५ करदाताउपर कारबाही गरिएको आन्तरिक राजस्व कार्यालय कञ्चनपुरका प्रमुख कर अधिकृत डमरुप्रसाद पराजुलीले बताउनुभयो । विभिन्न माध्यमबाट पटक पटक ती करदातालाई कर बुझाउन आग्रह गरे पनि अटेरी गरेपछि उनीहरूको बैङ्क खाता रोक्का गरिएको पराजुलीले बताउनुभयो । आन्तरिक राजस्व कार्यालयले ती करदाताबाट चार करोड ९१ लाख २३ हजार रुपियाँ असुल गर्न बाँकी छ ।

यस्तै चालु आव २०८१/८२ को हालसम्म कर नबुझाउने ४० करदातामाथि पनि कारबाही प्रक्रिया अगाडि बढाइएको उक्त कार्यालयले बताएको छ । मूल्य अभिवृद्धि कर नबुझाउने ४० करदाताको नाम अन्तिम पटक पत्रपत्रिकामा सार्वजनिक गर्दा समेत कर बुझाउन नआएकाले उनीहरूउपर पनि कारबाही प्रक्रिया अगाडि बढाइएको प्रमुख कर अधिकृत पराजुली बताउनुहुन्छ ।

राजस्व कार्यालयले ४० करदाताबाट तीन करोड ३१ लाख ५५ हजार रुपियाँ बक्यौता असुल गर्न बाँकी छ । दर्ता भएर पनि लामो समयदेखि कर नबुझाउने करदाताको अभिलेख तयार गरेर बैङ्क खाता, आयात निर्यात र सम्पत्ति रोक्काका लागि कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको उक्त कार्यालयका सूचना अधिकारी विजय भुसालले बताउनुभयो ।

सूचना अधिकारी भुसालले भन्नुभयो, “पटक पटक कर बुझाउन मौखिक र पत्राचार गरिए पनि आलटाल गर्ने करदातामाथि कारबाही अघि बढाएका छौँ, त्यही भएर हामीले करदाताको बैङ्क खाता, कारोबार, घरजग्गा र आयात निर्यात रोक्काका लागि प्रक्रिया अघि बढाएका छौँ ।” कानुनी प्रक्रिया अघि बढाएपछि केही करदाता कर बुझाउनसमेत आउने गरेको उहाँको भनाइ थियो ।

आन्तरिक राजस्व कार्यालय कञ्चनपुरले चालु आव २०८१/८२ को १० महिनाको अवधिमा एक अर्ब ८१ करोड १३ लाख ६५ हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यको ७५.८७ प्रतिशत सङ्कलन गरिएको हो ।

मधेश प्रदेशमा सबैभन्दा धेरै बेरुजु, सातै प्रदेशको बेरुजु ३४ अर्ब नाघ्यो

काठमाडौँ — आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी कानुन उल्लघंन, जथाभावी तलब भुक्तानीजस्ता कारणले प्रदेशहरूमा बेरुजु बढेको महालेखा परीक्षकको वार्षिक प्रतिवेदनले जनाएको छ । बुधबार सार्वजनिक महालेखाको ६२ औं वार्षिक प्रतिवेदनअनुसार गत आर्थिक वर्ष ०८०/०८१ मा प्रदेशगत बेरुजु सबैभन्दा धेरै मधेश प्रदेशमा छ ।

मधेशमा बेरुजु २.५७ प्रतिशत अर्थात् १ अर्ब १६ करोड ३८ लाख रुपैयाँ देखिएको छ । अघिल्लो आर्थिक वर्षमा पनि प्रदेशगत रूपमा मधेशमा नै सबैभन्दा धेरै बेरुजु देखिएको थियो ।

प्रतिवेदनअनुसार कोशी प्रदेशमा ८६ करोड ८१ लाख, गण्डकीमा ५१ करोड ९८ लाख, लुम्बिनीमा ६५ करोड ८२ लाख, कर्णालीमा ४५ करोड ९४ लाख बेरुजु छ । सुदूरपश्चिममा ५० करोड ६९ लाख र सबैभन्दा कम बागमती प्रदेशमा ८५ करोड १७ लाख बेरुजु छ । गत आर्थिक वर्षमा सातै प्रदेशको बेरुजु ५ अर्ब २ करोड १९ लाख ९७ हजार रुपैयाँ छ । प्रतिवेदनअनुसार सातै प्रदेशको गत वर्ष र अद्यावधिक बेरुजु ३४ अर्ब १३ करोड ७९ लाख पुगेको छ ।

मन्त्रालय र मन्त्रालयले सम्पादन गर्ने कार्य पटकपटक हेरफेर हुँदा प्रशासनिक क्षेत्र, जनशक्ति व्यवस्था, भौतिक पूर्वाधार, कार्यसम्पादन र एकीकृत वित्तीय विवरण तयारी, जिम्मेवारी र जवाफदेहितामा समेत समस्या, समयमै बेरुजु असुल फर्स्यौट नहुनेजस्ता समस्याले पनि प्रदेशमा बेरुजु देखिएको प्रतिवेदनले औंल्याएको छ ।

महालेखाले ७५३ पालिकाको लेखा परीक्षणमा सबैभन्दा धेरै मधेश प्रदेशका पालिकामा ३.५ प्रतिशत र सबैभन्दा कम लुम्बिनी प्रदेशका पालिकामा १.७८ प्रतिशत बेरुजु रहेको उल्लेख गरेको छ । कोशी प्रदेशका १३७ स्थानीय तहमा ४ अर्ब २९ करोड ३८ लाख बेरुजु रहेको प्रतिवेदनले औंल्याएको छ ।

मधेशका पालिकामा ५ अर्ब ९५ करोड ८६ लाख, बागमती प्रदेशमा ४ अर्ब ५४ करोड ८५ लाख, गण्डकीमा २ अर्ब २७ करोड ५ लाख, लुम्बिनीमा ३ अर्ब ३ करोड ६६ लाख, कर्णालीमा २ अर्ब ४९ करोड ४२ लाख र सुदूरपश्चिमा २ अर्ब ११ करोड ४१ लाख बेरुजु छ ।

सबै प्रदेशका पालिकामा जम्मा २४ अर्ब ७१ करोड ६१ लाख बेरुजु देखिएको प्रतिवेदनले औंल्याएको छ । गत आर्थिक वर्षमा ५ प्रतिशतभन्दा कम बेरुजु हुने स्थानीय तह ६ सय ९२ र ५ देखि १५ प्रतिशतसम्म बेरुजु हुने ६८ र १५ प्रतिशतभन्दा बढी बेरुजु हुने एक रहेका प्रतिवेदनमा उल्लेख छ ।

यस्तै, लेखापरीक्षण भएको रकम र त्यसको प्रतिशतका हिसाबले सबैभन्दा धेरै पोखरा र कम विराटनगर महानगरपालिकाको बेरुजु देखिएको छ । पोखराको ३.७४ प्रतिशत र विरानगरको शून्य दशमलव ३२ प्रतिशत बेरुजु छ ।

विराटनगरको २ करोड ८ लाख, वीरगन्ज महानगरमा २२ करोड ७५ लाख, भरतपुर महानगरमा १० करोड २ लाख, लतितपुर महानगरमा ५ करोड ५५ लाख बेरुजु देखिएको छ । त्यस्तै काठमाडौं महानगरमा ६८ करोड २ लाख र पोखरा महानगरमा ५० करोड ४३ लाख बेरुजु रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनले वर्षान्तमा रकमान्तर गरी खर्च गर्ने कार्य नियन्त्रण गर्न सिफारिस गरेको छ । प्रतिवेदनअनुसार सबैभन्दा धेरै लुम्बिनीले १ अर्ब १५ करोड रकमान्तर गरेको पाइएको छ । कोशीले ९१ करोड ९ लाख, मधेशले १० करोड २ लाख, गण्डकी प्रदेशले ९४ करोड, कर्णालीले ४ करोड ४८ लाख रकमान्तर गरेका छन् ।

महालेखाले पारित योजनाहरू कार्यान्वयन नगरी योजनाको रकम अन्य शीर्षकमा रकमान्तर गर्ने, अनुत्पादक र वितरणमूखी कार्यक्रममा बढी खर्च हुने, कानुनअनुसार खरिद प्रक्रिया अवलम्बन नहुने, दिगो योजना नबनाउनेलगायत समस्या रहेको जनाएको छ । महालेखा प्रतिवेदनले तीन तहका सरकारका काम पारदर्शी र प्रभावकारी रूपमा हुन आवश्यक कानुन निर्माणमा जोड दिएको छ ।

संघीयता विज्ञ खिमलाल देवकोटाले महालेखा प्रतिवेदनले हरेक वर्ष औंल्याउने विषयलाई गम्भीर भएर कार्यान्वनमा गरेमा मात्र सुशासन कायम गर्न सकिने बताए । ‘मधेश प्रदेश र त्यहाँका स्थानीय तहमा बेरुजु बढी देखिनुमा अनुगमनको पाटो कमजोर भयो । प्रदेशका लेखा समिति र अन्य सम्बन्धित समितिले अनुगमनलाई जोड दिनुपर्छ,’ उनले भने ।

प्रदेश र स्थानीय तहले वित्तीय अनुशासनलाई पालना गर्ने वातावरण बनाउनुपर्ने उनको भनाइ छ । ‘महालेखाको प्रतिवेदनले सुधार गर्ने पाटो राम्ररी देखाएको छ । कार्यान्वयनमा जोड दिनुपर्छ,’ उनले भने ।

शुक्लाफाँटा निकुञ्ज विस्थापित २३ वर्षदेखि अँध्यारोमा, आधारभूत सेवा सुविधाबाट वञ्चित

दोधारा चाँदनी (कञ्चनपुर), वैशाख २० गते । तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हालको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज)बाट विस्थापित ६०४ परिवारको बसोबास निकुञ्जको ढक्का शिविरमा छ ।

विसं २०६४ देखि छाप्रा बनाएर यहाँ बसोबास गरिरहेका नागरिक आधारभूत आवश्यकताबाट वञ्चित छन् । आरक्ष विस्तारको क्रममा जिल्लाको विभिन्न स्थानबाट विस्थापित भएर यहाँ बस्दै आउनुभएका नागरिकहरू राज्यबाट पाउने आधारभूत सेवा सुविधाबाट वञ्चित भएको बताउँछन् । “हामी अँध्यारोमा बस्न बाध्य छौँ निकुञ्जले यहाँ सोलार समेत लगाउन दिँदैन,” ढक्का शिविरका रामदास चौधरीले भन्नुभयो, “हामी मोबाइल र टर्च चार्ज गर्न अर्को गाउँ जानुपर्छ त्यहाँ मोबाइल र टर्च चार्ज गरेको रु. दश/दश तिर्नुपर्छ ।” उहाँका अनुसार ढक्का शिविरमा बसोबास गर्ने नागरिकहरू मोबाइल र टर्च चार्ज गर्न एक किलोमिटर टाढा रहेको लालझाँडी गाउँपालिकाको चान्देउ पुग्ने गरेका छन् ।

शिविरमा विद्युत् नहुँदा बालबालिकाको पढाइसमेत प्रभावित हुने गरेको छ । “यहाँ हामीले धेरै दुःख खेप्नुपरेको छ, खेतमा लगाएको अन्न जङ्गली जनावरले खाइदिन्छन्, धान र गहुँ थ्रेसिङ गर्न निकुञ्जको अनुमति लिनुपर्छ”, शिविरका मोतिलाल डगौराले भन्नुभयो, “हामीले राज्यबाट पाउनुपर्ने सेवा पाएनौँ, नागरिकता भएर पनि अनागरिकजस्ता भएका छौँ ।”

विसं २०५८ मा सङ्कटकालका बेला सरकारले तत्कालीन शुक्लाफाँटा आरक्षको पूर्वी क्षेत्र विस्तार गर्दा विस्थापित पीडितहरू अझै पनि जङ्गल, खोला नदी छेउछाउमा झुपडी बनाएर बस्दै आएका छन् । निकुञ्जको ‘कोर एरिया’ मा रहेको ढक्कालगायत जिल्लाका विभिन्न स्थानका १७ वटा शिविरमा विस्थापित बसोबास गरिरहेका छन् ।

आरक्ष पीडितहरूलाई पुनःस्थापना गर्नका लागि सरकारले पटकपटक गरी हालसम्म ३२ वटा आयोग गठन गरेको छ तर विस्थापितहरूको समस्या समाधान हुन भने सकेको छैन । निकुञ्ज विस्थापित ढक्का शिविर सङ्घर्ष समितिका अध्यक्ष हीरासिंह भण्डारीले २०५८ सालदेखि राज्यबाट पाउने सेवा सुविधा पाउन नसकेको बताउनुभयो । “आरक्ष पीडितहरू २३ वर्षदेखि पीडामा छन् यसका नाममा विभिन्न आयोग बने तर अहिलेसम्म हाम्रो पुनःस्थापना हुन सकेन”, भण्डारीले भन्नुभयो, “हाम्रा बालबालिकाहरूले पढ्न पाएका छैनन्, खोप छैन अँध्यारोमा बस्नुपरेको छ । शिक्षा, स्वास्थ्य, खानेपानी बिजुली र शौचालय समेत छैन ।” उहाँले शिविरमा बस्ने वृद्धवृद्धाले अहिलेसम्म उपचार नपाएको र बालबालिकाले खोप नपाएको बताउनुभयो । उहाँले पालिकाबाट सोलार जडान गर्ने आश्वासन मात्रै आउने गरेको बताउनुभयो ।

लालझाँडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले ढक्का शिविरमा थुप्रै समस्या रहे पनि समाधान गर्न नसकिएको बताउनुभयो । “हामीले शिविरमा उज्यालोका लागि सोलार जडान गर्ने तयारी गरेका थियौँ तर निकुञ्जले अनुमति दिएन”, रानाले भन्नुभयो, “त्यहाँ हामीले चाहेर पनि केहीँ गर्न सक्दैनौँ ।” उक्त शिविर निकुञ्जको कोर एरियामा भएका कारण त्यहाँ निकुञ्ज प्रशासनले विद्युत्, खानेपानीलगायतका सेवा विस्तारमा रोक लगाउने गरेको छ । विसं २०३१ मा सरकारले १५५ वर्गकिलोमिटर क्षेत्रफलमा रहेको तत्कालीन आरक्षको पूर्वी क्षेत्र विस्तार गरेर ३०५ वर्गकिलोमिटर बनाएको थियो । रासस

अस्पतालको तेस्रो तल्लाबाट हाम फालेर बिरामी घाइते

अविनाश चौधरी

धनगढी, वैशाख १६ गते। कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको तेस्रो तल्लाबाट आज हाम फालेर एक बिरामी घाइते हुनुभएको छ।

अस्पतालमा उपचाररत मिर्गौला पीडित गोदावरी नगरपालिका–१ का ६३ वर्षीय चक्रबहादुर सिंह हाम फालेर घाइते हुनु भएको हो।

अस्पतालको तेस्रो तल्लाबाट हाम फाल्नु भएका उहाँलाई गम्भीर चोट लागेको अस्पतालका सूचना अधिकारी किशोर श्रेष्ठले बताउनुभयो।

घाइते सिंहको सेतीमै उपचार भइरहेको जनाइएको छ। सिंहलाई सोमबार चिकित्सकले मेडिकल वार्डमा भर्ना गरेका जनाइएको छ।

कञ्चनपुरका दुई पालिकाले संयुक्त रूपमा दमकल खरिद गर्ने

भुवन भट्ट
बेलौरी (कञ्चनपुर), वैशाख ४ गते । 
आगलागीको जोखिमलाई मध्यनजर गर्दे कञ्चनपुरका दुई पालिकाले संयुक्त रूपमा अग्नि नियन्त्रक दमकल खरिद गर्ने निर्णय गरेका छन् । गर्मी बढ्दै गएपछि आगलागीका घटना न्यूनीकरणमा सहजता होस भन्न बेलौरी नगरपालिका र लालझाँडी गाउँपालिकाले मिलेर दमकल खरिद गर्ने निर्णय गरेका हुन् ।

बिहीबार बेलौरी नगरपालिकामा बसेको पालिकाको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

अग्नि नियन्त्रक दमकल खरिदका लागि लालझाँडी गाउँपालिकाले ३५ प्रतिशत र बेलौरी नगरपालिकाले कुल मूल्यको ६५ प्रतिशत खर्च बेहोर्ने गरी साझेदारीमा दमकल खरिद गर्न लागिएको बेलौरी नगरपालिकाका प्रमुख पोतीलाल चौधरीले बताउनुभयो ।

आगलागी जन्य ठुला घटनाबाट धनजनको क्षति न्यूनीकरणमा मद्दत पुग्ने अपेक्षा गरिएको लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले बताउनुभयो । हाल बेलौरी नगरपालिका लालझाँडी गाउँपालिकामा दमकल अभाव छ । चालु आर्थिक वर्ष भित्रै दमकल खरिद गरिसक्ने बेलौरी नगरपालिकाका मेयर चौधरीले बताउनुभयो । उहाँले एक साता भित्रै दमकल खरिदका लागि टेन्डर आह्वान गरिने बताउनुभयो ।

सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक थारू कोटा छुट्याएर खुलायो विज्ञापन

धनगढीः सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले उपसचिव र अधिकृत सातौं तहका पदमा पदपूर्तिका लागि विज्ञापन खुलाएको छ।

यसैगरी लेखा र शिक्षा सेवा तर्फका अधिकृत पदका लागि ज्येष्ठता र कार्यसम्पादनको मूल्यांकनद्वारा हुने बढुवाका लागि अप्राविधिकतर्फ ११ जना, कार्यक्षमताको मूल्यांकनद्वारा हुने बढुवाका लागि १४ जना र प्राविधिकतर्फ १ जनाका लागि विज्ञापन खुलेको छ।

आयोगका अनुसार दरखास्त दिने म्याद २०८१ वैशाख २० गतेसम्म। दोब्बर दस्तुर तिरेर बैशाख २७ गतेसम्म दरखास्त बुझाउन सकिने छ। परीक्षा केन्द्र धनगढी कैलाली तोकिएको छ। लिखित परीक्षा कार्यक्रम भने पछि प्रकाशन गरिने आयोगले जनाएको छ।

सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगका सचिव वसन्तप्रसाद कोइरालाका अनुसार थारु कोटा छुट्याएर पदपूर्तिका लागि विज्ञापन खुलाएको यो पहिलो पटक हो।

‘प्रदेशको निजामती सेवा ऐन र नियमावली अनुसार थारु कोटा छुट्याएर पदपूर्ति गर्न लागिएको हो,’ सचिव कोइरालाले भने, ‘मंसिरमा नियमावली आयो, त्यसपछि थारु कोटा छुट्याएर विज्ञापन खोलेको यो पहिलो हो।’ सुदूरपश्चिम प्रदेश निजामती सेवा ऐनमा थारुरराना थारुका लागि १३ प्रतिशत आरक्षण छ।

यसैगरी महिलाका लागि ३३, दलितका लागि १४, आर्थिक रुपले विपन्न खस आर्यका लागि ११ प्रतिशत छुट्याइएको छ। यसैगरी आदिवासी जनजातीका लागि १०, पिछडिएको क्षेत्रका लागि १० र अपांगका लागि ४ प्रतिशत आरक्षण छ।

कैलाली बहुमुखी क्याम्पसकाे स्ववियुमा नेविसङ्घको जित

चौमाला-कैलाली, चैत २९ गते । कैलाली बहुमुखी क्याम्पस (केएमसी) को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)मा झण्डै साढे तीन दशकपछि नेपाल विद्यार्थी सङ्घ नेविसङ्घले विरासत फर्काएको छ । सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पसका रूपमा रहेको केएमसीमा भएको स्ववियु निर्वाचनमा नेविसङ्घ विजयी भएको हो ।

शुक्रबार सार्वजनिक अन्तिम मतपरिणाम अनुसार स्ववियु सभापतिमा नेविसङ्घका सन्तोष पन्त विजयी हुनुभएकाे छ । उहाँले ८२७ मत पाउनुभएकाे हाे । पन्त वर्तमान स्ववियु सचिव पनि हुनुहुन्छ । उहाँका प्रतिस्पर्धी अखिल क्रान्तिकारीका पवन सुनारले ५५८ मत पाए भने वर्तमान स्ववियु सभापतिसमेत रहेका अनेरास्ववियुका यमराज जोशीले ४२७, एकीकृत समाजवादी निकट अनेरास्ववियूले सुनिलराज जोशीले ६८ र नेविसङ्घकी बागी उम्मेदवार अम्बिका चौधरीले ९२ मत पाउनुभएकाे छ ।

सचिवमा नेविसङ्घ र कोषाध्यक्षमा अखिल क्रान्तिकारीका उम्मेदवार विजयी भएका छन् । स्ववियु सचिवमा नेविसंघबाट ओमप्रकाश वस्ती र कोषाध्यक्षमा धर्मराज तिमल्सिना विजयी हुनुभएकाे छ । कोषाध्यक्षमा नेविसंघकी प्रमिला शाह चार मतले पराजित हुनुभयाे । तीन हजार पाँच सय बढी मतदाता विद्यार्थी रहेको उक्त क्याम्पसमा २७ गते भएको मतदानमा दुई हजार ५७ मत खसेको थियो ।

कैलाली बहुमुखी क्याम्पसमा अहिलेसम्म १४ जना स्ववियु सभापति निर्वाचित भएका छन् । त्यसमा सात जना नेविसङ्घ, दुई जना नेविसङ्घकै बागी र पाँच जना अनेरास्ववियुका छन् । सुदूरपश्चिमकै सर्वाधिक विद्यार्थी अध्ययन गर्ने कलेजका रूपमा रहेको उक्त क्याम्पसको स्ववियु सभापतिमा नेविसंघ भने ३४ वर्षपछि विजयी भएको हो ।

०४७ सालअघिका सबै निर्वाचनमा भने नेविसङ्घ नै विजयी भएको थियो । ०३८ सालमा नेविसङ्घकै धर्मबहादुर सिंह क्याम्पसको पहिलो स्ववियु सभापतिका रूपमा निर्वाचित भएका थिए । ०३९ सालमा बरबहादुर ठकुल्ला, ०४० सालमा टीकाराम खनाल, ०४१ सालमा पदम विष्ट, ०४३ सालको मेघराज खड्का र ०४४ सालमा धर्मराज भण्डारी सभापतिमा निर्वाचित भएका थिए । उहाँहरू सबै नेविसङ्घका उम्मेदवार थिए ।

०५१ सालमा भएको निर्वाचनमा भने पहिलो पटक अनेरास्ववियुले बाजी मारेको थियो । नेविसङ्घका प्रमोद पाठकलाई पराजित गर्दै अनेरास्ववियुका टेकबहादुर चन्द स्ववियु सभापतिमा विजयी भएका थिए । अन्य पदमा भने नेविसङ्घकै उम्मेदवार विजयी भएका थिए । ०५७ साल यताका सबै निर्वाचनमा स्ववियु सभापतिमा अनेरास्ववियु विजयी भएको थियो । ०५७ सालमा डेजी पाण्डे, ०६१ सालमा यज्ञराज ढुंगाना, ०७३ मा चुडामणि भट्ट र ०७९ मा यमराज जोशी सभापतिमा निर्वाचित भएका थिए ।