कैलालीको घोडाघोडी–१ वडा कार्यालयमा सेवा तथा राष्ट्रिय परिचयपत्र वितरण पुनः सुरु

सुखड (कैलाली), असोज २ । हालै जेनजी आन्दोलनका कारण अवरुद्ध रहेको कैलालीको घोडाघोडी नगरपालिका–१ वडा कार्यालयमा आजदेखि सेवा सुविधा पुनः सुरु भएको छ।

वडा सदस्य अमन चौधरीका अनुसार २०८२ साल असोज २ गतेदेखि नागरिकलाई दिइने अति आवश्यक सेवासुविधासहित राष्ट्रिय परिचयपत्र वितरण कार्य समेत सुचारु गरिएको हो।

जेनजी आन्दोलनका क्रममा केही समय सेवा प्रभावित भएपनि स्थानीयवासीलाई पर्न गएको असुविधा न्यूनिकरण गर्न आवश्यक प्रक्रिया पूरा गरी कार्यालय सञ्चालनमा ल्याइएको चौधरीले जानकारी दिनुभयो।

जेनजी आन्दोलनमा ज्यान गुमाएका युवाको सम्मानमा आज देशभर शोक बिदा

१ असोज, काठमाडौं । सरकारले जेनजी युवाको प्रदर्शनको क्रममा ज्यान गुमाएकाहरुको सम्मानमा आज देशभर शोक बिदा दिएको छ ।

भ्रष्टाचारविरुद्ध गत भदौ २३ र २४ गते भएको आन्दोलनको क्रभममा कम्तिमा ७२ जना युवाको मृत्यु भएको थियो ।

उनीहरुको सम्मानमा यही भदौ ३० गतेको अन्तरिम सरकार मन्त्रिपरिषद बैठकले असोज १ गते राष्ट्रिय शोक मनाउन सार्वजनिक बिदा दिने घोषणा गरेको थियो ।

सो निर्णय अनुसार आज नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा छ । यसैगरी राष्ट्रिय झण्डा आधा झुकाइने छ ।

मृत्यु भएकाहरुको मंगलबार शवयात्रासहित पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको थियो । कतिपय युवाहरुको शव उनीहरुकै जिल्लामा पुर्‍याइएको छ ।

सरकारको ‘हाम्रा संरचना हामी आफैं बनाऔं’ अभियानमार्फत पुनर्निर्माण सुरु हुने

१ असोज, काठमाडौं । सरकारले जेनजी प्रदर्शनको क्रममा क्षति भएका भवन मर्मत तथा पुनर्निर्माणका लागि ‘हाम्रा संरचना हामी आफैं बनाऔं’ अभियान चलाउने भएको छ ।

सरकार, स्वदेश तथा विदेशमा रहेका नेपालीबाट सहयोग संकलन गरी पुनर्निर्माण सुरु गर्ने सरकारको योजना छ ।

सिंहदरबार परिसरमा क्षति पुगेका संरचनाको स्थलत निरीक्षण गर्दै मन्त्री कुलमान घिसिङले सो जानकारी दिएका हुन् ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक योजना तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका घिसिङले मङ्गलबार सिंहदरबारको मुख्य भवन र गृहमन्त्रालयको स्थलगत निरीक्षण गरेका थिए ।

त्यसक्रममा मन्त्री घिसिङले सहरी विकास मन्त्रालयले संरचनामा पुगेको क्षति एकिन गर्न कार्यदल गठन गरी काम सुरु गरिसकेको जानकारी पनि दिए ।

मन्त्री घिसिङले विनासबाट ‘हामी उठ्यौं’ भन्ने सन्देश दिन सामान्य अगलागी मात्र भएका भवनका बाहिर भागमा रङरोगन गर्ने, मन्त्रालय तथा कार्यालयको परिसरमा आगलागीबाट क्षति भएका सवारी साधन तुरुन्त हटाउने, क्षतिको मूल्यांकन तत्काल गर्ने र ‘हाम्रा संरचना हामी आफैं बनाऔं’ अभियानमार्फत सरकार, स्वदेश तथा विदेशमा रहेका नेपालीबाट सहयोग सङ्कलन गरी पुनर्निर्माण सुरु गरिने बताए ।

‘कार्यालयलाई थोत्रो देखाएर राख्नु भएन, भित्री काम गदैं गरौंला तर बाहिरी भाग चिटिक्क बनाएर राख्नु पर्यो, क्षति पुगेका सवारी साधन सिंहदरबार परिसरमा यत्रतत्र छरिएर कुरुप देखिएको छ, तिनीहरुलाई तत्काल हटाएर व्यवस्थापन गर्नुपर्छ, यसबाट हामी उठ्यौं भन्ने सन्देश जान्छ’, मन्त्री घिसिङले भने ।

मुख्यमन्त्री शाहद्वारा जेनजी आन्दोलनमा क्षतिग्रस्त २५ सरकारी कार्यालयको अनुगमन

अविनाश चौधरी

धनगढी, भदौ ३१ गते । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नवपुस्ता (जेनजी) आन्दोलनको क्रममा भौतिक संरचनामा भएको क्षतिको आज अनुगमन गर्नुभएको छ।

घटना भएको एक हप्तापछि मुख्यमन्त्री शाहले प्रदेश संरचना अन्तर्गतका मन्त्रालय, कार्यालय र सङ्घ मातहतका कार्यालयमा भएको क्षतिको अनुगन गर्नुभएको हो । उहाँले २५ वटा सरकारी कार्यालयको अनुगमन गर्दै भएको क्षतिको बारेमा जानकारी लिनुका साथै जनताको अत्यावश्यकीय सेवा प्रवाह हुने मन्त्रालय र कार्यालयहरुलाई सकेसम्म चाँडै सेवा सुचारु गर्न निर्देशन दिनुभएको छ।

मुख्यमन्त्रीले सामाजिक विकास मन्त्रालयबाट धेरै क्षेत्रको काम हुने भएका कारण काम सुचारु गर्न मन्त्री मेघराज खड्का र कर्मचारीहरुलाई निर्देशन दिनुभयो । उहाँले सामाजिक विकास मन्त्रालयमा त्यति धेरै क्षति नभएका कारण आवश्यक सामानको व्यवस्था गरेर काम सञ्चालन गर्न सकिने उल्लेख गर्नुभयो ।

त्यस्तै, अनुगमनको क्रममा मुख्यमन्त्री शाहले प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललाई धनगढीबाट दिन नसकिरहेको सेवा टीकापुर इलाका प्रशासन कार्यालयबाट दिन सुझाव दिनुभयो । इलाका प्रशासन कार्यालयमा क्षति नभएका कारण त्यहाँबाट सबै सेवा दिन सकिने सम्भावना रहेको प्रमुख जिल्ला अधिकारी लम्सालले बताउनुभयो । उहाँले यस विषयमा छलफल गरेर अगाडि बढ्ने उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री शाहले कतिपय कार्यालयबाट सेवा चाँडै र कतिपयको सेवा तत्काल दिन नसकिने अवस्था देखिएको उल्लेख गनुभयो । उहाँले सुदूरपश्चिम प्रदेश सभा भवन, प्रदेश प्रमुखको कार्यालय, विषयगत समितिका कार्यालय, संसदीय दलका कार्यालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, आर्थिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, उद्योग, पर्यटन, सामाजिक विकास मन्त्रालय, भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको अनुगमन गर्नुभयो ।

यसैगरी, जिल्ला प्रशासन कार्यालय, कैलाली जिल्ला अदालत, मालपोत, नापी, कैलाली भन्सार, डिभिजन वन कार्यालय, यातायात व्यवस्था कार्यालय, धनगढी सभा गृह लगायतका कार्यालयको पनि अनुगमन गर्नुभएको छ ।

सुशीला कार्की : ११ भन्दा बढी मन्त्री नबनाउने, गैर–राजनीतिक व्यक्तिलाई प्राथमिकता

३१ भदौ, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीहरूको संख्या ११ जनाभन्दा नबढाउने गरी मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छन् ।

उनले अब बन्ने मन्त्रीहरु पनि कुनै राजनीतिक पार्टी र त्यससम्बद्धलाई नराख्ने उल्लेख गरेकी छन् ।

बीबीसी नेपाली सेवालाई दिएको विशेष अन्तर्वार्तामा प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद्को संरचनाबारे उल्लेख गरेकी छन् ।

‘मन्त्रिपरिषद् करिब १० देखि ११ भन्दा नराख्ने र कसको के क्षमता छ त्यो अनुसार हेरेर दिने हो ‘ उनले भनिन् ।

उनले तीन जना मन्त्री बनिसकेकोले अब थपिने मन्त्रीहरुमा समावेशिता झल्किने गरी व्यक्ति खोजिने जानकारी दिइन् ।

‘पोलिटिक्समा नरहनु भएका नन् पोलिटिकल र कुनै संस्थामा काम गरेकाहरुलाई ल्याउँछौं त्यस्ता मान्छे खोजिभइरहेको छ’ उनले भनेकी छन् ।

राजनीतिक आबद्धता भएका व्यक्ति मन्त्रिपरिषद्मा राख्दा चुनावको काममा फोकस नहुने भएकाले चुनाव नलड्ने व्यक्तिलाई मन्त्री बनाउने उनले बताइन् ।

नगरपालिकामा लाखौंको मदिरा बिल भुक्तानी, मेयर–उपमेयर र प्रहरी प्रशासनसमेत संलग्न आरोप

३० भदौ, सुखड । कैलालीको घोडाघोडी नगरपालिकाले नगर प्रमुखदेखि वडा अध्यक्षसम्मले सेवन गरेको मदिराका लाखौँ रुपैयाँका बिल पालिकाको खर्चमा भुक्तानी गरेको खुलेको छ ।

नगरपालिकाको नाममा जारी भएका ती बिलमध्ये नगर प्रमुख खडक बहादुर रावत, उपप्रमुख, अनुगमन टोली, वडा अध्यक्ष, इलाका प्रहरी कार्यालयका नाममा समेत मदिरा खरिद भएको विवरण भेटिएको छ । यसमा प्रहरी प्रशासनसम्मको संलग्नता देखिएको स्थानीय स्रोतले दाबी गरेको छ ।

गत भदौ २४ गते जेन जी आन्दोलनको क्रममा घोडाघोडी नगरपालिकाको कार्यालयमा गरिएको आगजनीपछि भेटिएका कागजातमै यस्ता मदिराका बिल फेला परेको जेन जी समूहले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृतदेखि लेखा प्रमुखसम्मको मिलेमतोमा लाखौँ रकम हिनामिना भएको आशंका गरिएको छ ।

आर्थिक वर्षको अन्त्यतिर कयौँ योजना तथा कार्यक्रम कागजमै पूरा गरेर भुक्तानी भएको तथ्य पनि जेन जी समूहका सदस्यहरुले खुलासा गरेका छन् ।

उनिहरूका अनुसार, मेयर, उपमेयर, वडा अध्यक्ष तथा कर्मचारीबीचको मिलेमतोमा करोडौँ रकम अपचलन हुँदै आएको र अब यसको छानबिनमा आफूहरू जुटेको दाबी गरिएको छ ।

जेनजी आन्दोलनमा फरार भएका ११८ कैदीबन्दी कैलाली कारागारमा फर्किए

धनगढी, भदौ ३० गते । जेनजी पुस्ताको आन्दोलनका क्रममा कैलाली कारागारबाट फरार भएका ११८ कैदीबन्दी कारागारमा फर्किएका छन् ।

१५ महिलासहित ११८ कैदीबन्दी फर्किएको कारागार प्रशासनले जानकारी दिएको छ । भदौ २४ गते कारागारबाट ६६६ कैदीबन्दी फरार भएका थिए । उनीहरूमध्ये धेरै जसो आफैँ फर्केको र केहीलाई प्रहरीले पक्राउ गरेर ल्याएको जेलर चिरञ्जीवी सापकोटाले जानकारी दिनुभयो ।

कारागार प्रशासनले सार्वजनिक सूचना प्रकाशित गरेर फरार कैदीबन्दीलाई फर्कन आह्वान गरेको छ । यसै गरी प्रहरीले पनि फरार कैदीबन्दीको सूची तयार पारेर खोजी कार्य सुरु गरेको कारागार प्रशासनले जानकारी दिएको छ ।

“टीकापुरलगायतका क्षेत्रबाट प्रहरीले केही कैदीलाई पक्राउ गरेर बुझाएको छ,” सापकोटाले भन्नुभयो, “फरार अरूको पनि सूची तयार पारेर प्रहरीले खोजी कार्य गरिरहेको छ ।” कैलाली कारागारमा रहेका ६६७ मध्ये एक जनाबाहेक सबै कैदीबन्दी भागेका थिए । जसमध्ये केही भारतीय नागरिक पनि रहेका छन् । भागेको भोलिपल्ट नै केही कैदी फर्कने भन्दै कारागारको सम्पर्कमा आएका थिए । कैदीबन्दी फरार भएपछि कारागार सरसफाइ गर्नुका साथै पर्खाल मर्मतको कार्य गरिएको जनाइएको छ । साउन २३ गते राति ब्लक ‘ए’ का कैदीले पर्खाल भत्काएर ब्लक ‘बी’ मा रहेका कैदीमाथि आक्रमण गरेका थिए । विक्रम संवत् १९९७ मा बनेको कैलाली कारागारको अवस्था जीर्ण छ । विभिन्न अपराध गरेका कैदीबन्दी फरार भएपछि सर्वसाधारण त्रसित छन् ।

सिंहदरबार आगजनीपछि खण्डहर, तर राष्ट्रिय झण्डासँगै फेरि उठ्ने विश्वास

काठमाडौँ, भदौ ३० गते । जेनजी प्रदर्शनको क्रममा भएको आगजनीले खण्डहर बनेको छ, सिंहदरबार । तर पनि शिरमा फहराईरहेको छ चन्द्र सूर्य अङ्कित राष्ट्रिय झण्डा । झण्डासँगै आशा र विश्वास बोकेर उभिरहेको छ, सिंहदरबार ।

आगोका लप्काले खाएको सिंहदरबार नियाल्दै गर्नुभएका त्रिभुवन विश्वविद्यालयका प्राडा केशव बस्याल निकै भावुक देखिनुहुन्थ्यो । तर पनि नेपाल र नेपालीको आस्थाको धरोहर फेरि उभिनेमा उहाँ उत्तिकै आशावादी हुनुहुन्छ । रसिलो आँखा पार्दै उहाँले भन्नुभयो, “यो सबै दृश्य मेरा आँखाले राम्रोसँग हेर्न पनि सकेका छैनन्, स्वाभाविक रुपमा भावुक छु, तर निराशासँगै आशा र विश्वास ढलेको छैन । पक्कै फेरि पनि सिंहदरबार उभिनेछ भन्नेमा म विश्वस्त छु ।”

सिंहदरबार आगजनी र तोडफोडले कुरुप बनेको छ । भग्नावशेषमाथिको झण्डाले साँच्चिकै फेरि राष्ट्रिय एकतासहित उठ्नुपर्छ भन्ने भाव बोलिरहेझैँ लाग्छ । धुवाँधुवाँ बनेका सिंहदरबारको भित्ताहरुका कला कौशलले पुनर्निर्माण पर्खिरहेका छन् । आकर्षक शिल्पी र कला धुँवाको पोतोले लतपतिएका छन् । सिंहदरबारको तस्बिर कैद गरिरहनुभएकी कानुन व्यवसायी देवमाया घिमिरेले भन्नुभयो, “सिंहदरबार जलेको दृश्यले मन जलायो । हृदय भारी भयो । भवनको तस्बिर कैद गर्दा आफैँलाई बिझेजस्तो भयो । यो सबै दृश्य शब्दमा विश्लेषण गर्न सकिँदैन ।”

अर्का कानुन व्यवसायी सुमित्रा श्रेष्ठलाई सिंहदरबार र यस्ता सार्वजनिक सम्पत्ति नजलाइदिए हुन्थ्यो भन्ने लागेको छ । सायद सिंदरबार पुग्ने जो कोहीका अनुहार मलिन देखिन्छन् । कैयौँका आँखा रसाएको हुनुपर्छ । जलेको सिंहदरबार आइतबार मध्यान्ह नियाल्दै गर्दा पंक्तिकारको मनमा पनि वेदना र खुल्दुली पोखियो । अधिकांशले मोबाइल र क्यामेराले सिंहदरबारको तस्बिर र भिडियो कैद गरिरहेका थिए । तस्बिर कैद  गर्दा अधिकांशमा मौनता देखिन्थ्यो ।

आइतबार प्रशासनिक कार्य खुलेपछि सिंहदरबारमा  चहलपहल थियो । बाक्लो सङ्ख्यामा कर्मचारी एवम् अन्य व्यक्तिहरु सिंहदरबार अवलोकन गरिरहेका थिए । सिंहदरबार नेपालको प्रशासनिक इतिहासको पछिल्लो भौतिक प्रमाण पनि हो । प्राध्यापक बस्याललाई इतिहास जल्दा पहिचान हराउँछकी भन्ने चिन्ता छ । उहाँ भन्नुहुन्छ, “सिंहदरबार नेपालको वैभवशाली विकासको प्रमाण थियो । पटकपटक आक्रमणमा पर्नु सम्पदा र संस्कृतिमाथिको चुनौती हो । यो देख्दा अत्यन्तै दुःख लागेको छ । यो ‘रिनोभेट’ गर्न नसकिने त हैन । मुलुकले धेरै ठूलो रकम खर्च गर्नु पर्दा अरु क्षेत्रमा जाने रकम खुम्चिन्छ । फेरि आशा गरौँ सिंहदरबार उठ्नेछ ।”

गोरखा भूकम्पले क्षतिग्रस्त सिंहदरबार पुनर्निर्माणपछि निकै आकर्षक देखिएको थियो । सङ्घीय संसद् सचिवालयका कर्मचारी केशव अधिकारीले पुनर्निर्माणपछिका दृश्य सम्झिँदै थप्नुभयो, “धेरै राम्रो भएको थियो । अहिले यसरी जलेर खण्डहर हुँदा दुःख लागेको छ । नेपाल आफैँले ठूलठूला पूर्वाधार बनाउन कठिन छ । बनिरहेका पूर्वाधारले नेपाल बन्दैछ भन्ने आशा जगाएको थियो । अहिले यो दृश्यले भावुक बनायो ।”

सिंहदरबार नेपालको राजनीतिक, प्रशासनिक र ऐतिहासिक जीवन्त दस्तावेज हो । राज्यका सम्पदा र प्रशासनिक सुरक्षामाथिको आगजनीले इतिहास र सम्पदामाथि प्रहार भएको छ ।

कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कर्मचारी नवराज रिजालले सिंहदरबारको दृश्य असाध्यै पीडादायी रहेको बताउनुभयो । “एकदम दुःखदायी अवस्थामा देखियो । अत्यन्तै भावुक र चिन्तित बनायो । देशको ऐतिहासिक धरोहर र प्राकृतिक सम्पदा हो । सरकारले यसलाई जुन अवस्थामा थियो सोही अवस्थामा बनाउदा उपयुक्त हुन्छ”, उहाँले भन्नुभयो ।

पशुपति क्षेत्र विकास कोषका कर्मचारी रामकृष्ण लामिछानेले ऐतिहासिक धरोहर खण्डहरको रुपमा परिणत भएको देख्दा असाध्यै पीडाबोध भएको बताउनुभयो । उहाँले जलेको सिंहदरबार र संसद् भवनले आफूलाई निकै दुखित तुल्याएको बताउनुभयो ।

सिंहदरबारको सुरक्षा दिइरहेका सुरक्षा एकाइका जवान एन्जल सुवेदीको अनुहार पनि मलिन देखियो । सिंहदरबारभित्रै काम गर्ने उहाँले सिंहदरबार जलेर खरानी हुँदा मन थाम्नै नसकेको अनुभूति सुनाउनुभयो ।

यो राणाकालीन ऐतिहासिक सम्पदा हो । यसको मुख्य भवनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत थिए । सिंहदरबार राणा प्रधानमन्त्री चन्द्र शमशेरले आफ्नो निजी निवासको रुपमा इस्वी संवत् १९०३ मा बनाउन लगाएका थिए । एक हजार सात सय वटा कोठाहरु रहेको यो भवन त्यस बेला एसियाकै सबैभन्दा ठूलो दरबार थियो । तत्कालीन अवस्थामा रु २५ लाख खर्च गरेर यो निर्माण गरिएको थियो ।

विसं २००७ मा राणा शासनको अन्त्य भए पनि पछि सिंहदरबारमा नेपाल सरकारको कार्यालय राखियो । त्यतिबेला यो दरबारमा प्रधानमन्त्रीको कार्यालयदेखि लिएर सम्पूर्ण मन्त्रालयहरु थिए । विसं २०३० मा सिंहदरबारमा आगलागी भएको थियो । त्यसबाट यसको पछाडि पट्टिको धेरैजसो भाग नष्ट भएको थियो । यो भवन युरोपेली शैलीमा बनेको छ । चन्द्र शमशेर शिकार तथा कलाका सौखिन भएकाले त्यस बेला उनले यसका भित्ताहरु शिकार गरिएका जनावरहरु तथा युरोपेली शैलीका चित्रकलाहरुले सजाएका थिए । बत्ती तथा अन्य शृङ्गारका वस्तुहरु युरोपबाट मगाइएको थियो ।

आइतबारदेखि सिंहदरबारभित्रका विभिन्न मन्त्रालय र निकायका कर्मचारी कार्यालय फर्किएका छन् । आगजनी र तोडफोडबाट प्रभावित ती निकायका कर्मचारीहरूले नियमित काम सञ्चालन गरेका छन् । आशा गरौँ सम्पूर्ण नेपालीको इतिहासको प्रतीक बनेर फेरी पनि उभिनेछ सिंहदरबार । जसलाई हेरेर हरेक नेपालीले देशको समृद्धिको कथा भन्नेछन् । रासस 

जेनजी आन्दोलनमा कैलालीका १०८ सरकारी कार्यालय र ६०० सवारीसाधन जलाइए

२९ भदौ, धनगढी । २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा कैलालीमा सरकारी संरचनाहरु ध्वस्त पारिएका छन् ।

प्रदेशको अस्थायी राजधानी समेत रहेको धनगढीमा रहेका नेपाल टेलिकम, विद्युत, स्वास्थ्य कार्यालय, सेती प्रादेशिक अस्पताल, धनगढी उपमहानगरपालिका र नेपाल प्रहरीको बाहेक सबैजसो कार्यालयमा प्रदर्शनकारीले आगजनी र तोडफोड गरेका थिए ।

ती बाहेकका प्रायजसो सबै सरकारी कार्यालयका भवनमा आगजनी गरिएको छ भने सवारी साधन समेत जलाइएका छन् । धनगढी मात्र नभएर अत्तरिया, घोडाघोडी, लम्कीचुहा, टीकापुरलगायतका ठाउँमा रहेका सरकारी संरचनामा समेत क्षति पुगेको छ ।

जिल्ला प्रशासन कार्यालयले गरेको प्रारम्भिक अध्ययनअनुसार जिल्लाभर १०८ सरकारी कार्यालय भवनमा आगजनी, तोडफोड र लुटपाट गरिएको छ भने दुई र चार पाङ्ग्रे गरेर ६०० वटा सवारीसाधन समेत जलाइएको छ ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशीले प्रारम्भिक विवरणअनुसार १०८ सरकारी कार्यालय भवन, १०० वटा चार पाङ्ग्रे गाडी र ५०० जति मोटरसाइकल आगजनीले नष्ट भएको पाइएको बताए ।

कार्यालयहरुले उपलब्ध गराएको प्रारम्भिक विवरण हेर्दा जेनजी आन्दोलनका दिन जिल्लामा सरकारी संचरनामा ठूलो क्षति भएको बताउदै जोशीले तथ्यांक तलमाथि हुनसक्ने बताए । उनकाअनुसार ८/९ पार्टी कार्यालय र नेताका निजी घर समेत जलाइएका छन् । क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ ।

प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालयमा समेत आगजनी गरेपछि सेवा प्रवाह ठप्प भएको छ । शनिबार सरसफाइ गरेको प्रशासनले आइतबारदेखि टेन्ट गाडेरै भए पनि अत्यावश्यक सेवा प्रदान गर्ने तयारी गरेको छ ।

आगजनीपछि कैलाली जिल्ला अदालत, मालपोत, नापी कार्यालय र प्रदेश सरकार अन्तर्गतका प्राय: सबै निकायको कामकाज रोकिएका छन् । अवस्था समान्य बन्दै जान थालेपछि यी कार्यालयहरुले समेत सेवा प्रवाहका लागि वैकल्पिक उपायको खोजी गर्न थालेका छन् ।

रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टी परित्याग गर्दै ‘नागरिक उन्मुक्ति पार्टी, नेपाल’ घोषणा

२९ भदौ, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संस्थापक रेशम चौधरीले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । टीकापुर हत्याकाण्डको योजनाकारको रुपमा लामो समय जेल बसेका रेशमले जसपा परित्याग गरेर नागरिक उन्मुक्ति पार्टी गठन गरेका थिए ।

कानुनीरुपमा आफूले नेतृत्व गर्न नमिलेपछि रेशम संरक्षकको रुपमा बसेर श्रीमती रञ्जिताको अध्यक्षतामा निर्वाचन आयोगमा दल दर्ता भएको थियो । तर, सत्ताको झगडा र रेशम-रञ्जिताबीचमै विवाद हुन थालेपछि नाउपा संकटमा परेको थियो ।

जेनजी युवा आन्दोलनलाई नैतिक रुपमा समर्थन जनाएका रेशमले आन्दोलनको ल्याएको नयाँ राजनीतिक परिवर्तन लगत्तै ‘नागरिक उन्मुक्ति पार्टी, नेपाल’ नामको नयाँ पार्टी घोषणा गरेका हुन् । यसै सन्दर्भमा रेशमसँग अनलाइनखबरले गरेको संक्षिप्त कुराकानी-

तपाईंले पार्टी छोड्नु भएको हो ?

हो मैले नागरिक उन्मुक्ति पार्टी छोडेँ ।

पार्टी छोड्नु पर्ने कारण के हो ?

धेरै विवाद भयो । विचार धेरै स्थापित भएनन् । कहिल्यै केन्द्रीय समितिको बैठक पूर्णरुपमा नबस्ने, कहिले के नहुने, कहिले के नहुने । यो सबै विवादबाट टाढा हुन हो । हामीले जेनजीको आन्दोलनप्रति आंशिक समर्थन जनाएका थियौं । शान्तिपूर्ण राजीनामा दियौं । फेरि भोलिपल्ट राजीनामा थुतेर संसद स्थापनाको निर्णय गर्दिने । यसरी रहनुभन्दा इमानदारीपूर्वक बस्नु जाति ।

बलिदानको जगमा आफैंले स्थापना गरेको पार्टी छाड्दा कस्तो अनुभूति भइरहेको छ ?

एकदम दु:ख लागिराखेको छ । भन्दा पनि दु:ख लागिराखेको छ । तर, अटाउनै सकिएन । जसलाई स्थापना गरेँ २१ जनाबाट, तर मैले नै उनीहरुबाट लात्ती र जवाफ खानु परेको छ । कसैले भुत्ल्याएको छ । कसैले लुछेको छ । त्यसकारण रहिरहन उचित लागेन ।

अब तपाईंको बाटो के हुन्छ ?

राजनीतिक व्यक्ति भइसकेपछि यसबाट भाग्न मिल्दैन । म नयाँ राजनीतिक दलको निर्माण गर्छु ।

त्यो पार्टीको नाम के हुन्छ ?

म ‘नागरिक उन्मुक्ति पार्टी, नेपाल’ निर्माण गर्छु ।

यसमा कोको हुनुहुन्छ ?

अहिलेका लागि लगभग ७ जना जति डाक्टरहरु हुनुहुन्छ । १२-१५ जना इन्जिनियरहरु हुनुहुन्छ । त्यत्तिकै संख्यामा कानुनविदहरु हुनुहुन्छ । नाउपाका जनप्रतिनिधिहरु, नाउपाका संस्थाप केन्द्रीय सदस्यहरु पनि हुनुहुन्छ ।

अहिलेको पार्टीबाट कति जना हुनुहुन्छ ?

हुनुहुन्छ । फेरि अधिकांश आउनु पनि हुन्छ । जति जना आउन चाहानुहुन्छ, सबैलाई ढोका खुल्ला छ ।

पार्टी छोडेर नयाँ पार्टी गठन गर्नेबारे रञ्जिता श्रेष्ठसँग छलफल गर्नुभयो ?

रञ्जिताजीसँग छलफल केही भएको छैन । छलफल गरिरहन उचित ठानिनँ मैले ।

तपाईंहरुको दुई जनाको सम्बन्ध त कायमै छ नि ?

कानुनी रुपमा कायमै छ ।

कञ्चनपुरमा निषेधाज्ञाबीच पनि यातायात सञ्चालन, यात्रुबाट मनलाग्दी भाडा असुलिएको गुनासो

भवानीदत्त भट्ट

कञ्चनपुर, भदौ २८ गते । कञ्चनपुरमा निषेधाज्ञा जारी भए पनि यातायातका साधन भने सञ्चालनमा आएका छन् । यहाँस्थित यातायात व्यवसायीहरूले निषेधाज्ञाबिच शनिबार बिहानदेखि यातायातका साधन सञ्चालनमा ल्याएका हुन् ।

महेन्द्रनगर बसपार्कमा रहेको टिकट काउन्टर भने बन्द नै रहेको छ । काउन्टर नखुले पनि साना तथा ठुला सवारी साधनहरू सञ्चालनमा ल्याइएको यहाँका व्यवसायीहरूले बताएका छन् । लगातार तीन दिन यातायात ठप्प हुँदा जिल्लामा यात्रुहरू अलपत्र परेकाले सवारी साधन सञ्चालन गर्नुपरेको उहाँहरूको भनाइ छ ।

यात्रुहरूको मागअनुसार यातायातका साधन सञ्चालनमा ल्याइएको बस व्यवसायीका पदाधिकारीहरूको भनाइ छ । महाकाली यातायात व्यवसायी सङ्घका अध्यक्ष डम्बर पन्तले जिल्लामा केही मात्रामा यातायातका साधनहरू सञ्चालनमा आएको बताउनुभयो । प्रशासनले निषेधाज्ञा जारी गरे पनि यहाँका बस व्यवसायी, ट्याम्पो व्यवसायी, अटो व्यवसायीहरूले सवारी साधन सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो ।

काउन्टर नखुल्दा यातायात व्यवसायीहरूले मनलाग्दी भाडा असुलिरहेको यात्रुको गुनासो छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले शनिबार साँझ ७ बजेसम्म जिल्लामा निषेधाज्ञा जारी रहेको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले देशमा विद्यमान परिस्थितिको आँकलन गरी शनिबार साँझसम्म निषेधाज्ञा जारी रहेको बताउनुभयो । यसबिचमा यातायात सञ्चालनमा ल्याउन नहुने प्रमुख जिल्ला अधिकारी ढकालले बताउनुभयो ।  सञ्चालनमा आएका यातायातले घरबाट अथवा टिकट काटेर नै यात्रुहरूलाई नबोलाउन उहाँले आग्रह गर्नुभएको छ ।

काठमाडौंमा जेन जी आन्दोलनः ५१ जनाको मृत्यु, ३६ शव त्रिवि शिक्षण अस्पतालमा

काठमाडौं– नेपाल प्रहरीले जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

जसमा ३ प्रहरी, १ भारतीय नागरिक र अन्य नेपाली नगारिक रहेका प्रहरी सहप्रवक्ता रमेश थापाले बताए ।

मृतक मध्ये ३६ जनाको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा रहेको छ । महाराजगञ्जमा रहेकाहरुको पोर्टमार्टम शुक्रबारबाट सुरु भएको छ ।

काठमाडौं उपत्यकामा अन्य अस्पतालमा पनि शवहरु रहेको हुनसक्ने अनुमान छ ।