थारु गीत सजन मोरले १०० मिलियन भ्युजको कीर्तिमान रच्यो

सुखड। कैलाली /थारु गीत संगीतको क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल भएको छ। विभिन्न बाधा र चुनौतीहरूको सामना गर्दै, दर्शकहरूले अत्यधिक रुचाएको थारु गीत सजन मोर युट्युबमा १०० मिलियन भ्युज पार गर्ने पहिलो थारु गीत बन्न सफल भएको छ। २०७८ साल कार्तिक १८ मा मल्टीफ्रेम स्टुडियोबाट सार्वजनिक गरिएको  गीतले थारु संगीतलाई नयाँ उचाइमा पु¥याएको छ।

सजन मोर गीतको गायनमा ए के चौधरी र अनु चौधरीले आफ्नो मधुर आवाज दिएका छन्। गीतको शब्द र संगीत कुमार चौधरी द्वारा गरिएको हो भने एरेन्जर गणेश चौधरी ले गरेका थिए। यस गीतमा नरेश चौधरी र मधु चौधरी को उत्कृष्ट अभिनय देख्न सकिन्छ भने सम्पादनको काम सोम चौधरीले गरेका थिए।

गीत २०८० सालको १० जेठमा प्राविधिक समस्याका कारण युट्युबबाट हटाइएको थियो। तर, प्राविधिक अवरोधहरूलाई पार गर्न गीतको टिमले दिनरात मेहनत गर्यो। लगत्तै एक महिना पछि, गीत पुनः युट्युबमा आएको थियो ।
सजन मोरले १०० मिलियन भ्युज प्राप्त गरेसँगै थारु गीत संगीतको इतिहासमा सर्बोउत्कृष्ट गीतको रूपमा स्थापित भएको छ। यस सफलताले अन्य थारु कलाकारहरूलाई थप प्रेरणा दिँदै, थारु संगीतको विकासलाई नयाँ दिशा दिएको छ।

https://youtu.be/qxx9fveG7ek

संकटमा मादल बनाउने पेसा

ईन्द्रा कुमारी केसी घोडाघोडी (कैलाली),२६ भदौ सुदूरपश्चिमको प्रवेशद्वार कैलालीको चिसापानी पुलबाट करिब छ किलोमिटर पश्चिममा पर्छ बल्चौर । लम्कीचुहा नगरपालिका—३ बल्चौरमा लामो समयदेखि सञ्चालनमा छ तीर्थ बाजा पसल । यहाँ मादल, तबला, दमु, ढोलकी बनाइन्छन् । पछिल्लो समय विभिन्न किसिमका बाजा बनाए पनि बिक्री हुन छाडेपछि खिन्न छन् तीर्थ बादी । पहिले बाजाहरूमध्ये सबैभन्दा बढी बिक्री हुने मादलसमेत अचेल बिक्री हुन छोडेको छ । यसले व्यवसाय नै सङ्कटमा परेको तीर्थ बादी बताउनुहुन्छ ।

“पहिले चाडपर्वहरूमा मादल पु¥याउनै सकिँदैनथ्यो, अहिले बिक्री नै हुँदैन । मगर गाउँका स्थानीय, थारु समुदायले धेरैजसो मादल किन्ने गर्दथे, अहिले पसलमा त आउँदैनन्, गाउँमा लगेर गए पनि किन्न त परै जाओस्, सोध्ने मान्छेसम्म भेटिँदैनन्”, उहाँले भन्नुभयो । विगतमा यही पेसाबाट छोराछोरीको लालनपालनदेखि पठनपाठन गर्दै आए पनि हाल व्यवसायबाट हातमुख जोड्नसमेत धौधौ भएको तीर्थको गुनासो छ । “यसपटक पनि २५ वटा मादल बनाएर राखेँ । तीज आएपछि त बिक्री होलान् सोचेको थिए तर तीज सकियो, एउटा पनि मादल बिक्री भएको छैन”, उहाँले सुनाउनुभयो ।

प्रविधिको विकास भएसँगै पुराना व्यवसाय हराउँदै गएको अर्का व्यवसायी कृष्ण बादी बताउनुहुन्छ । “बुबाबाट सिकेको सीप हो, त्यसैलाई निरन्तरता दिँदै आएको थिए तर अब बन्द गर्नुपर्ने अवस्था आएको छ । सिजनका बेला ५०÷६० वटासम्म मादल बेच्ने गरेकामा अहिले त चार÷पाँच वटा बेच्न मुस्किल पर्छ”, उहाँले अगाडि भन्नुभयो,“पहिले यही व्यवसायबाटै घर खर्च, छोराछोरी पढाउन सकिन्थ्यो तर अहिले हिउँदको समयमा भारत जाने र पुर्खाको सीप जोगाउन सिजनमा बाजा बनाउनुपर्ने बाध्यता छ, त्यही पनि बिक्दैन ।” व्यवसायी रविलाल बादीले डिजेलगायत आधुनिक बाजाका कारण मादल व्यवसायमा सङ्कट आएको बताउनुभयो ।

“पहिले रत्यौली, तीज, देउसीँभैलो, विद्यालयस्तरमा हुने सांस्कृतिक कार्यक्रमलगायतमा मादलको अनिवार्य प्रयोग हुने गथ्र्यो तर पछिल्लो समय मादलको सट्टा डिजे प्रयोग हुन्छ । त्यसैले पनि हाम्रो पेसा सङ्कटमा प¥यो ”, उहाँ भन्नुहुन्छ । सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा संस्कृतिविद् टि एन जोशी मादल प्रयोग घटेसँगै परम्परागत संस्कृतिमा मौलिकता हराउँदै गएको धारणा राख्नुहुुन्छ । “केही दशक पहिले गाउँघरमा थुप्रै मादल बजाउने मान्छे भेटिन्थे तर अहिलेको पुस्तामा मादल बजाउन जान्ने मान्छे मुस्किलले भेटिन्छन्”, उहाँ भन्नुहुन्छ, “अब मौलिकता जोगाउन विद्यालयस्तरबाटै मौलिक बाजाको प्रयोग र सिकाइमा जोड दिनुपर्ने आवश्यकता छ ।” नेपालको राष्ट्रिय बाजाको रूपमा रहेको मादल लोप हुने अवस्थामा पुगेकाले यसको संरक्षण गर्ने दायित्व सरकारको भएको व्यवसायीका भनाइ छ ।

व्यवसायी तीर्थ बादी भन्नुहुन्छ, “अब आउने पुस्तालाई यसको महत्वको बारेमा बुझाउनुपर्छ । यो दायित्व सरकारको पनि हो । हामी त पुस्तौँदेखिको पेसा भएकाले माया लागेर पनि यसको संरक्षणमा लागिरहेकै छौँ ।” सङ्कटमा पर्दै गएको व्यवसायलाई जोगाइ मौलिक बाजाको संरक्षण र प्रवर्द्धनका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारले केही कार्यक्रम ल्याइदिनुपर्ने सबैजसो मादल व्यवसायीको माग छ

अत्तरियाको सेभ हाउसमा आश्रित महिला र बालबालिकाले तिज पर्व उल्लासका साथ मनाए

गोदावरी, कैलालीको अत्तरियास्थित सेभ हाउसमा आश्रित महिला तथा बालबालिकाहरूले यस वर्षको तिज पर्वको अवसरमा रमाइलो गर्न पाएका छन्। आर्थिक अभावका कारण तिज विशेष कार्यक्रम गर्न नसक्ने स्थितिमा रहेका सेभ हाउसलाई गोदावरी नगरपालिकाका पूर्व उपमेयर रत्ना कडायतले सहयोग गरेपछि कार्यक्रम आयोजना गरिएको हो।

सेभ हाउसमा विगत पाँच वर्षदेखि बस्दै आएकी बालिका खुसी कामीले तिजको बारेमा धेरै ज्ञान नभए पनि यस पर्वमा रमाउन पाउँदा निकै हर्ष लागेको बताउनुभयो। उहाँले गत वर्ष पनि कार्यक्रम आयोजना भएको तर यस वर्ष हुने नहुनेमा अनिश्चित रहेको बताउँदै, कार्यक्रमले आफूलाई खुशी बनाएको बताउनुभयो।

खुसी पुनर्वास, कञ्चनपुरकी हुन्, जसका बुबा जेलमा हुनुहुन्छ र आमा नभएकी कारण उहाँले भाइसँगै सेभ हाउसमा बस्दै आउनुभएको छ। अर्की आश्रित निशा धामीले पनि तिज विशेष कार्यक्रम हुँदा निकै रमाइलो भएको अनुभव साट्नुभयो।

सेभ हाउसमा ६६ जना महिला तथा बालबालिका आश्रित छन्। पूर्व उपमेयर कडायतले तिजको अवसरमा सेभ हाउसमा पनि रमाइलो गराउने सोचले कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, “ठूला होटलहरूमा तिजको दर कार्यक्रम भइरहँदा यस्ता आश्रित महिला बालबालिका रहने ठाउँमा पनि कार्यक्रम हुनु आवश्यक छ।” उहाँको भनाइमा, तिजलाई खर्चिलो पर्वभन्दा पनि खुशीका साथ मनाउनुपर्नेमा जोड दिनुभएको छ।

सेभ हाउसका अध्यक्ष जानकी मलासीले कार्यक्रमले बालबालिकाहरूलाई निकै रमाउन दिएको बताउनुभयो। उहाँले विभिन्न व्यक्तिको सहयोगले सेभ हाउस चलिरहेको र चाडपर्वमा कसैको ध्यान आकर्षण नहुने गुनासो गर्दै, पूर्व उपमेयर कडायतले व्यक्तिगत रुचिबाट कार्यक्रम आयोजना गरेपछि सबै खुशी भएको उल्लेख गर्नुभयो।

यस वर्ष कार्यक्रम हुने टुङ्गो नलागेको बेला अचानक कार्यक्रमको आयोजना भएपछि बालबालिका तथा महिलाहरूलाई खुसीको अनुभूति भएको बताउँदै, यस्ता चाडपर्वमा रमाउन पाउँदा उनीहरूको पीडा केही हदसम्म बिर्सिन मद्दत पुग्ने देखिएको छ।

कैलारी गाउँपालिकामा अट्वारी पर्वको अवसरमा दुई दिन सार्वजनिक बिदा

कैलालीको कैलारी गाउँपालिकाले थारु समुदायको प्रमुख पर्व अट्वारीको अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यो बिदा भदौ २३ र २४ गतेका लागि तोकिएको छ। गाउँपालिकाले २३ गते प्रदेश सरकारद्वारा प्रदान गरिएको सार्वजनिक बिदालाई समर्थन गर्दै २४ गते थप एक दिन बिदा दिने निर्णय गरेको हो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र जोशीका अनुसार, यो निर्णय कार्यपालिकाको बैठकबाट भएको हो। यस बिदाले सम्पूर्ण सरकारी कार्यालय, विद्यालय, बैंक, र वित्तीय संस्थाहरु बन्द रहनेछन्।

पश्चिम तराई क्षेत्रका थारु समुदायले अट्वारी पर्वलाई अत्यन्त उत्साहका साथ मनाउँदै आएका छन्। यस पर्वमा थारु पुरुषले व्रत बस्ने परम्परा रहेको छ, जसलाई समुदायले विशेष श्रद्धाका साथ पालन गर्दै आएको छ।

“हराउँदै तिजको मौलिकता: घोडाघोडीका महिलाले मौलिक पर्व जोगाउने प्रयास”

घोडाघोडी (कैलाली), भदौ १४ गते। हिन्दू महिलाहरूले मनाउने तिज पर्वको परम्परागत शैली सहरदेखि गाउँसम्ममा परिवर्तन भइरहेको छ। तिज आउनु केही हप्ताअघि नै साथीहरूको समूह बनाउने र होटेलमा दर खाने चलन सुरु भइसकेको छ। यो भड्किलो हुँदै गएको तिजले साधारण महिलाहरूलाई ‘मन अमिलो’ हुने पर्वको रूपमा चिनिन थालेको छ। कैलालीको घोडाघोडी नगरपालिकाका महिलाहरूले तिज पर्वमा देखिएको विकृति र भड्किलोपनलाई लिएर चिन्ता व्यक्त गर्दै गौरा तथा तिज मिलन कार्यक्रमको आयोजना गरी पर्वको मौलिकता जोगाउने प्रयास गरेका छन्।

घोडाघोडी महिला सञ्जाल गठन गरी हालसालै घोडाघोडीका महिलाहरू विकृति र विसंगतिविरुद्ध एकजुट भएका छन्। सञ्जालका अध्यक्ष रमा आचार्यले घोडाघोडी नगरपालिकाका सबै वडाका महिलालाई सञ्जालमा जोडेर महिला हिंसा, विकृति, र विसंगतिविरुद्ध अभियान सञ्चालन गरेको बताउनुभयो। उहाँले तिजको मौलिकता जोगाउन नगर क्षेत्रका ६० जना महिला एकजुट भएर मादलको तालमा जनचेतनामूलक तथा मौलिक तिज गीतमा रमाएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “पहिला तिज आउनुभन्दा एक महिनाअघि गाउँका महिलाहरू दिनभरिको काम सकेर साँझमा एकै ठाउँमा जम्मा भई मादलको तालमा आफ्ना दुःखसुख तिज गीतमार्फत व्यक्त गर्थे। अहिले तिजभन्दा एक महिनाअघि नै होटेलमा दर खाने होडबाजी चलेको छ।”

अध्यक्ष आचार्यले होटेलमा दर खाने र डिजेमा नाच्ने चलनले तिजको मौलिकता हराउँदै गएको बताउनुभयो। सञ्जालको आयोजनामा घोडाघोडी मन्दिर नजिकै रहेको वनभोज स्थलमा मादलको तालमा विभिन्न तिजका भाकामा रमाउँदा कतिपय महिलाहरूले वर्षौंपछि यसरी रमाउन पाएको अनुभव सुनाएका थिए। घोडाघोडी नगरपालिका–२, साँडेपानीकी रेखा देवकोटा मादल बजाउन सिपालु हुनुहुन्छ। उहाँले विद्यालयमा पढ्दै गर्दा सिकेको मादल बजाउने सिप सञ्जालले आयोजना गरेको मौलिक तिज मिलन कार्यक्रममा तिजका भाकासँगै बजाउन पाउँदा खुसी लागेको बताउनुभयो।

दिनभर मादलको तालमा रमाउन पाउँदा धेरै महिलाहरूले तिजको दिनमा समेत मादलको तालमा मौलिक तिज कार्यक्रम गर्नुपर्ने धारणा व्यक्त गरेका थिए। घोडाघोडी नगरपालिका–७ की पार्वती तिवारीले पुराना तिजका गीतहरू समेत भुलिसकेको अवस्थामा यो मौलिक तिज कार्यक्रममा सहभागी भएर पुराना भाका र चेतनामूलक गीतहरू मादलको तालमा गाउन उत्प्रेरणा प्राप्त भएको बताउनुभयो।

थारू समुदायको गुरही पर्व विविध कार्यक्रम गरी मनाइयो (फोटो फिचर )

थारू समुदायको गुरही पर्व कैलालीमा विविध कार्यक्रम गरी मनाइएको छ । गुरही नागपञ्चमीका दिन मनाउने गरिन्छ । पर्वका अवसरमा कैलालीका विभिन्न स्थानमा कार्यक्रमहरू गरिएका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका, घोडाघोडी नगरपालिका, गौरीगङ्गा नगरपालिकालगायत पालिकाहरुमा नाचगान गर्दै पर्व मनाइएको छ ।

पर्वका अवसरमा घोडाघोडी नगरपालिका–१ सुखड चोकमा कार्यक्रम गरिएको छ । यस्ता संस्कृति र चाड पर्वहरू जोगाउनका लागि सबै जना लाग्नुपर्ने घोडाघोडी नगरपालिकाका प्रमुख खडक रावतले बताए । “चाडपर्वका छुट्टै महत्त्व हुन्छन्”, उनले भने, “यसलाई जोगाउनु हामी सबैको जिम्मेवारी हो ।” कार्यक्रममा थारू पहिरनमा सजिएर नृत्यहरु प्रस्तुत गरिएका थिए । गुुरही थारू समुदायको पहिलो चाडका रुपमा मनाउने गरिन्छ । यो पर्वको धार्मिक महत्व समेत रहिआएको छ ।

गुरही पर्व चोक चौराहामा मनाइने गरेको घोडाघोडी नगरस्तरीय भलमन्सा समितिका अध्यक्ष बुधराम चौधरीले जानकारी दिए । उनका अनुसार साँझको समयमा बडघर (भलमन्सा) को पहलमा गाउँका दाजुभाइदिदीबहिनीहरू नयाँ कपडा पहिरेर थालमा भुजा, कपडाको रङ्गीबिरङ्गी गुडिया लिएर गाउँको चौराहातिर लाग्छन् । जहाँ ‘गुरही’ ठटाउने कार्यको तयारी गरिएको हुन्छ । चौराहामा गाउँका भद्र भलादमीदेखि बच्चाबुढासम्म भेला भएका हुन्छन् ।

गाउँका बडघर एकै सासमा (एकसंस्सु) दुुबो घाँसमा गाँठो पार्छन् । गाँठो पारिसकेपछि त्यसलाई ठटाउने आदेश दिएपछि जम्मा भएका केटाकेटीहरू त्यसलाई आफूसँग ल्याएको रङ्गीचङ्गी कोर्राबाट ठटाउँछन् र ‘देउ घुघरी’ ‘लेउ घुघरी’ को नारा लगाउँछन् । यसरी ‘गुरही’ ठटाउँदा गाउँघरमा विद्यमान रहेका रोगव्याधी र भूतप्रेतको दुःखबाट छुट्कारा पाइन्छ भन्ने विश्वास रहेको अध्यक्ष चौधरीले बताए ।

‘गुरही’ ठटाइसकेपछि त्यहाँ जम्मा भएका थारू दिदीबहिनीहरु ‘गुरही’ ठटाएकै ठाउँमा भुजा छर्कने र जम्मा भएकालाई प्रसादकारूपमा बाँड्ने गरिन्छ । दिदीबहिनीहरूले चना, मकै, केराउलगायत परिकारका भुजा प्रसादका रूपमा बाँड्ने गर्छन् । भलमन्सा चौधरीका अनुसार चोकमा ठटाएको भुजा र कपडाको टुक्राको सङ्कलन गरेर घरतिर लग्ने गरिन्छ । ठटाएका ती कपडाको टुक्रा घरको द्वारमा बाँध्दा, भुजालाई घरको छानामा छर्कंदा र दुबोलाई घरमा राख्दा दुःखकष्ट र सर्पहरू घरबाट निस्केर जाने विश्वास छ ।

घोरीघोरा नगर भलमनसा कार्यसमितिको आयोजनमा गुरही अस्रैना कार्यक्रम हुने

सुखड,कैलाली
नेपालका थारु समुदायमा गुरही पर्व हर्षोल्लासका साथ मनाउने भएका छन । कंचनपुर,बर्दिया,बाके,कैलालीको धनगढी,सुखड,टिकापुर लगाएत विभिन्न ठाँउमा नाचगान सहित गुरही पर्व मनाउने गर्छन ।

यस्तै गुरही पर्वको अवसारमा कैलालीको घोडाघोडी नगरपालिका सुखड चोकमा घोरीघोरा नगर भलमनसा कार्यसमितिको आयोजनमा गुरही अस्रैना कार्यक्रम हुने भएको छ । यहि साउन २५ गते अपरान्ह ३ बजे देखी सुखड चोकमा गुरही अस्रैना कार्यक्रम हुने नगर भलमनसा तथा संयोजक बुधराम चौधरीले जानकारी दिनु भयो ।

a group of people posing for a photo

tharu gurhi parba

गुरही बालबालिका सँग सम्बन्धित पर्व रहे पनि पछिल्लो समय युवा युवती सहित सबै उमेरका व्यक्तिले मनाउने गरेका छन् । यो पर्वमा कपडाको गुरहा गुरही (गाइने किरा) बनाएर अपराह्नतिर चउर वा चौबाटोमा सेलाउने चलन रहेको छ ।

बालिका वा केटीहरूले गुरहीसहित घुघ्री (मकै, केराउ वा चनाको भुजा) फाल्ने गर्दछन् । फालिएको गुरहीलाई सोंता वा लट्ठीले बालक, केटाहरूले ‘दे घुघ्री दे घुघ्री’ भन्दै ठटाउने÷पिट्ने चलन रहेको छ । यसलाई स्थानीय भाषामा गुरही अस्रैना भनिन्छ ।

गुरही पर्व मनाउनाले बालबालिकालाई रोगव्याधीबाट छुटकारा मिल्ने जनविश्वास रहेको छ । यसै गरी, उनीहरूलाई आँखा पाक्ने, ज्वरो आउने जस्ता समस्या नहुने विश्वास गरिन्छ । गुरहीलाई ठटाउनु, पिट्नुको अर्थ रोगव्याधी नकारात्मक अभ्यास लाई पिटेर गाउँबाट धपाएको बुझिन्छ ।

a group of people in colorful dresses

a group of people standing in a circle

gurhi parba 2080

कैलालीका थारु समुदायमा भजहरको रौनक

इन्दु केसी सुुखड,घोडाघोडी (कैलाली),  वैशाख २३ गते ।  शनिबार कैलालीको भजनी नगरपालिका–९ पचमुुडियाका एक सय ७४ थारु समुुदायका घर परिवार बिहानैदेखि खुुला चौरमा गई बसे । लहरै खाना पकाउनका लागि चुुलो बनाइएको छ भने खाने कुुरा पनि राखिएका थिए । बिहानै गएका उनीहरु बेलुुका अबेर घर फर्किए ।

शनिबार नै कैलालीको घोडाघोडी नगरपालिका–८ दीपनगरका थारु समुुदाय पनि नदी छेउमा गई बसे । बिहानै गएका उनीहरु त्यहीँ खानपिन गरेर बेलुुका घर फर्किए । गएको मङ्गलबारदेखि बिहीबारसम्म घोडाघोडी नगरपालिका–११ सिसैंयाका ६२ थारु परिवार पनि कन्द्रा नदी किनारमा खुुला आकाशमुुनि त्यसैगरी बसेर फर्के । खानेकुुरासहित दुई रात बास बसेर उनीहरु घर फर्के ।

यसरी नदी छेउ गएर खुुला चौरमा उनीहरु कुुनै बाध्यताले नभई थारुहरुको महत्वपूर्ण पूजा भजहर मनाउन बसेका थिए । अहिले कैलाली कञ्चनपुुर लगायतका थारु समुदायमा भजहरको रौनक छाएको छ । भजहर मनाउन उनीहरु खुुला चौरमुुनि बसिरहेका देखिन्छन् । वैशाख महिनामा मनाइने यो पर्व थारु समुुदायले गर्ने पूजामध्ये एक हो । यो पूजासँगै थारु समुुदायमा लवाङ्गी पूजा, हरहर पूजा गर्ने गरिन्छ । लवाङ्गी र हरहर पूजा अन्नबालीसँग जोडिएको हुुन्छ भने, भजहर गर्मीयाम सुरु भएसँगै विभिन्न रोगव्याधिले सताउने हुँदा त्यस्ता रोग व्याधि नलागोस् भनेर पूजा गरिन्छ ।

भजहरको दिन बिहानै गुुरुवा मार्फत नव दुुर्गाको पूजा गरिन्छ । दुर्गालाई खुशी पार्न पशुपंक्षीको बलि दिने, गुुरुवाले आफ्नो जिब्रो छेडेरे देवीलाई रगत चढाउने गरेको घोडाघोडी नगरपालिकाका नगर भल्मन्सा बुुधराम चौधरीले जानकारी दिनुभयो । यसले गर्दा महामारी, रोगव्याधि हट्ने मान्यता रहेको उहाँले बताउनुभयो । पूजाका लागि गाउँका सबै जना मिलेर पैसा सङ्कलन गरी भेडा, पाठी, सुुँगुुर, कुुखुुरा बलि दिने गरिन्छ ।

दुुर्गालाई पूजा गरे सुुख शान्ति छाउने र कुुनै पनि महामारीले नछुुने गुुरुवा पञ्चराम चौधरी बताउनुहुन्छ । पहिले र अहिले भजहर मनाउने तरिका केही फरक भएको छ । पहिले नौदेखि सात दिनसम्म भजहर बस्ने गरिन्थ्यो । अहिले एक दिन मात्रै बस्ने गरिन्छ । कतिपय समुुदायमा अहिले पनि पाँच दिन, तीन दिन र साढे दुई दिन पनि बस्ने गरिन्छ । कठरिया समुुदायमा दुई दिन पुुरा र एक दिन आधा बस्ने गरिन्छ जसलाई अढैया भजहर भन्ने गरेको घोडाघोडी नगरपालिका वडा न ११ का भलमन्सा गयाप्रसाद कठरियाले जानकारी दिनुभयो ।

भजहरको किम्वदन्ती 

भजहरको सुरुवात कसरी भयो भन्ने कुरामा विभिन्न जानकारहरुका छुुट्टा छुुट्टै कथा र मान्यताहरु रहेको थारु संस्कृतिका अध्येता डा. रामप्रसाद चौधरी बताउनुहुन्छ । धेरै किम्वदन्तीमध्ये भजहर रामायणसँग जोडिएको प्रसङ्ग विशेष रहेको उहाँले सुनाउनुभयो । रावणको कब्जाबाट अयोध्या ल्याएपछि, जब रामले गर्भवती सीतालाई पुनः वनबास पठाउँछन् त्यतिबेला अयोध्यावासीले उनलाई घर बाहिर नै भोजन भण्डारा गराउँछन् । सोही कुराको स्मरण गर्दै थारु समुदायमा भजहर मनाउने चलन परम्परादेखि चल्दै आएको डा. चौधरी बताउनुहुन्छ ।

सीताको किम्वदन्तीसँग जोडिएको भजहरमा विस्तारै गुुरुवाहरुले दुुर्गाको पूजा आजा गर्ने चलन जोडिँदै गएको डा. चौधरीले जानकारी गराउनुभयो ।  उहाँका अनुुसार विशेषगरी गर्मी याममा विभिन्न रोग र महामारीको प्रकोप आउने हुुँदा त्यसबाट बच्नका लागि माता सीतासँगै दुुर्गाको पूजा आराधना गर्दै भजहर मनाइने गरिन्छ । यसो गरे सम्पूर्ण महामारीबाट मुुक्त हुुने थारु समुदायको विश्वास छ ।

थारु समुदायको देवी–देवता पुज्ने, गाउँलाई महामारीबाट मुुक्त गर्ने, झारफुक गर्ने, भूतप्रेतलगायत अनिष्टबाट बचाउन हरेक गाउँमा गुरुवा हुन्छन् । गाउँमा दुःख बिमार एवं ठूलो विपत्ति आइपर्दा गाउँका भलमन्साले गुरुवालाई बोलाएर ठीक पार्ने गर्दर्थे । भजहर बसेन भने ठूलो विपत्ति आउने, महामारी र रोगव्याधिले सताउने मान्यता रहेको घोडाघोडी नगरपालिका वडा नं ८ का भलमन्सा दीपेन्द्र चौधरी बताउनुहुन्छ । जति नै ठूलो विपत्ति आइपरे पनि भजहरले निर्मूल पार्ने विश्वास थारु समुदायमा रहेको उहाँले जानकारी गराउनुभयो ।

भजहरसँग विशेष गरेर महिला जोडिने गर्दछन् । महिलालाई खुुसी राख्न सके परिवार र गाउँ समाज नै सुुखी हुुने विश्वासका साथ पनि भजहरलाई हेर्ने गरिन्छ । घरधन्दा र खेतीपातीमा व्यस्त महिला स्वतन्त्र रुपले घुम्न नपाउने अवस्थामा भजहरले सबैलाई एक ठाउँमा जम्मा हुने अवसर जुटाउने गर्दछन् ।

भजहरमा सबै जना जम्मा भएर एक अर्काका सुुख दुुःख साट्ने गरेको भजहरमा सहभागी घोडाघोडी नगरपालिका–३ की सीता चौधरी बताउनुहुन्छ । भजहरको बेला गाउँका सबै महिला दिदीबहीनी एक ठाउँमा जम्मा हुने, स्वतन्त्र रुपमा आफ्ना सुखदुःखका कुरा साटासाट गर्ने, सँगै पकाउने खाने, नाचगान गर्ने र खुला आकाशमुनि सुतेर रमाइलो गर्ने परम्परा रही आएको छ ।  रासस

सुदूरपश्चिममा नाउपाका दुवै दाबी अस्वीकृत, मुख्यमन्त्रीमा दाबी पेस गर्न पुनः आह्वान

धनगढी —सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा दाबी पेस गर्न पुनः आह्वान गरेका छन् । दुई दिनको समय दिएर मंगलबार दाबी पेस गर्न १६८ (२) अनुसार नै पुनः आह्वान गरेका हुन् ।

यसअघि प्रदेश प्रमुख मियाँले दश दिनको म्याद दिएर १६८ (२) अनुसार नै प्रदेशसभा सदस्यलाई आइतबारभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए । त्यसअनुसार नागरिक उन्मुक्तिका दुई जना लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीले बेग्लाबेग्लै समर्थक जुटाएर दाबी पेस गरेका थिए । आइतबार एउटै पार्टीबाट दुई जनाको दाबी पेस भएपछि प्रदेश प्रमुख मियाँले कानुनी परामर्श गर्ने भन्दै दुई दिनको समय लाग्ने भन्दै दुवै दाबीलाई मंगलबारसम्म थाती राखेका थिए ।

मंगलबार पुनः आह्वान गर्दा एउटै दलका दुई जनाको दाबी पेस हुन आएकोले निष्कर्षमा पुग्न नसकिएको प्रदेश प्रमुख कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । नयाँ दाबीका लागि वैशाख ६ गते बेलुका ५ बजेसम्म दाबी पेस गर्न भनिएको छ

एकीकृत समाजवादी, कांग्रेस र राप्रपाको समर्थन जुटाएर मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीपक्षधर प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीले बहुमत सांसदको समर्थन रहेको भन्दै दाबी पेस गरेका थिए ।

अर्कोतिर एमाले, माओवादी केन्द्र र स्वतन्त्र सांसदसहित नागरिक उन्मुक्तिकै रञ्जिता श्रेष्ठपक्षधर सांसद कैलाश चौधरीले पनि दाबी पेस गरेका थिए । एकीकृत समाजवादीले सुदूरपश्चिममा चालेको ‘विद्रोही कदम’ले केन्द्रीय सत्ता गठबन्धनमै हलचल आएको थियो । त्यसपछि सत्तारुढ दलका शीर्ष नेताहरूबीच मंगलबार सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिन सहमत भएपछि एकीकृत समाजवादीले चौधरीका लागि गरेको समर्थनबाट पछि हटेको हो ।

बहुप्रतिक्षित थारु म्युजिक भिडियो “अईना जैना” म्युजिक भिडियो वैशाख ५ गते सार्बजनिक हुने

थारु गीत संगीतको उत्पादन वितरण व्यापकरुपमा भैइरहेको अवस्थामा बहुप्रतिक्षित थारु कथानक म्युजिक भिडियो “अईना जैना” म्युजिक भिडियो भोलि वैशाख ५ गते राम नवमीको अवसरमा सेविल इन्टर्टेन्मेन्ट प्रा. लि. को आधिकारिक युट्युव च्यानल मार्फत सर्वाजानिक हुदैछ । प्रेमिल जोडी विचको चोखो माया, धोखा र वियोगको कथा वस्तु समेतेर भिडियो निर्माण गरिएको छ ।

थारु समुदायको प्रतिनिधित्व गर्ने म्युजिक भिडियोमा प्रीन्स नभनित र स्वयक्छा महतोको अभिनय रहेको छ। यस भिडियोमा छायांकन र सम्पादन रमेश चौधरीको छ भने निर्देशन हिरा चौधरीको रहेको छ।

यस भिडियोको अडियो करिब १ दशक पहिले निर्माण गरिएको हो। जसमा चर्चित गायक प्रमोद खरेलको स्वर रहेको छ भने शब्द संगीत विनय वैधको रहेको छ। वैध राष्ट्रिय थारु कलाकार मंचका केन्द्रिय अध्यक्ष पनि हुन।

पद्मप्रकाशेश्वर मन्दिरमा मूर्ति फिर्ता

एक सय वर्षअघिदेखि टीकापुर नगरपालिका–७, सत्तीस्थित पद्मप्रकाशेश्वर महादेव मन्दिरको मूर्ति फिर्ता भएको छ । अष्टधातुबाट निर्मित तीन आँखा छ हात भएको षोडशी माताको मूर्ति फिर्ता आएको हो । स्कन्ध पुराणमा गरिएको वर्णन अनुसार शिवलिङ्ग र षोडशी माताको मूर्तिका कारण प्रख्यात पद्मप्रकाशेश्वर महादेव मन्दिरको मूर्ति फिर्ता गरिएको हो ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विदुरलाल कायस्थले महादेव मन्दिरमा षोडशी माताको मूर्ति नदेखिएपछि खोजी गर्दा रानी पद्मकुमारी सिंहको घरमा फेला परेको बताउनुभयो । “हामीले विगत १३ वर्षदेखि खोजीनीति गर्दा मूर्ति पत्ता लाग्यो,” उहाँले भन्नुभयो, “सुरक्षाको कारणले होला, पूजा गर्न उहाँले घरमा राख्नुभएको रहेछ, अहिले मन्दिरमै फिर्ता गर्नुभयो ।”

रानी पद्मकुमारीका सन्तानले मूर्ति सौहार्द रूपमा मन्दिरलाई हस्तान्तरण गरेपछि मन्दिरभित्रै स्थापना गरिएको उहाँले बताउनुभयो । मन्दिरमा रहेको शिवलिङ्ग परशुराम नाम गरेका व्यक्तिले स्थापना गरेको विश्वास गरिन्छ । विसं १९६२ देखि १९६५ तिर राजा नरेन्द्रविक्रम सिंहकी कान्छी रानी पद्मकुमारीले मन्दिरको जीर्णोद्वार गर्नुभएको बताइन्छ । कालो पत्थरले बनेको प्राचीन शिवलिङ्ग ५१ इन्च गोलाइ, १८ इन्च लम्बाइ छ । शिवलिङ्गको पिँधको गोलाइ १६५ इन्च र उचाइ ३२ इन्च रहेको छ ।

मूर्तिको सुरक्षा तथा उत्खनन आवश्यक स्कन्ध पुराणमा वर्णित दुर्लभ प्राचीन शिवलिङ्ग रहेको सो मन्दिर पुरातात्त्विक महत्वका दृष्टिकोण महत्वपूर्ण रहेकाले संरक्षण गरिनुपर्ने माग स्थानीयको छ । शिवलिङ्गमा जलाभिषेक गरिने कुवा मन्दिरसँगै जोडिएको राजमार्गले धार्मिक तथा पुरातात्त्विक संरचना पुरिदिएकाले उत्खनन गर्नुपर्ने माग स्थानीय फकिरसिंह कडायतको छ ।

पहिले पनि ५० धार्नीको घन्ट र गजुर चोरी भएको यस मन्दिरमा पछि थपिएका सम्पत्ति र पुरातात्त्विक सम्पदा जोगाउन सुरक्षाको अभाव भएको वडाध्यक्ष यज्ञप्रसाद न्यौपाने बताउनुहुन्छ ।  मन्दिरको महत्व थाहा पाएपछि दान अर्पण गर्नेको सङ्ख्या बढ्दै गएको छ । गत महिना बुढानीलकण्ठ निवासी कृष्ण श्रेष्ठ दुवालले आफ्नो मनोकामना पूरा भएको भन्दै रुद्री पूजा, लाख बत्ती प्रज्वलन गरी एक तोला सुनले बनेको बेलपत्र चढाउनुभएको छ । मन्दिरलाई जग्गा कमी भएपछि महायज्ञ लगाएर चन्दा उठाई जग्गा विस्तार गर्न लागिएको समितिका अध्यक्ष कायस्थ बताउनुहुन्छ । मन्दिरसँग जोडिएको जग्गा खरिदका लागि आर्थिक सङ्कलन गरिएको हो । हालसम्म ११ जनाबाट एक कट्ठा जग्गा किन्ने रकम जुटेको उहाँ बताउनुहुन्छ । पद्मप्रकाशेश्वर मन्दिर नेपाल गुठी संस्थानको मातहतमा रहेको छ ।

विसं १९६७ मा मन्दिर संरक्षणका लागि सात सय बिघा जमिन गुठीका नाममा रहेको पुरातत्व विभागको स्मारिका २०६१ मा उल्लेख छ तर हाल सबै जग्गा व्यक्तिका नाममा दर्ता भइसकेको र मन्दिरका नाममा अढाई कट्ठा मात्रै रहेको छ । दैनिक नित्य पूजा गर्न गुठी संस्थानले १९९९ सालदेखि खर्च दिन थालेको थियो । त्यतिबेला वार्षिक ९२१ रुपियाँ ‘कम्पनी’ पैसा दिएको थियो भने अहिले नौ हजार रुपियाँ दिने गरिएको छ ।

भारतीय भक्तजन आकर्षित 

विसं २०६७ मा विशेष शिव पूजामा उत्तराखण्डका पीठाधिश्वर जगतगुरु शङ्कराचार्य माधव बालाजी, महाराष्ट्र अन्तर्राष्ट्रिय व्यासाचार्य, स्वामी दिनदयाल, बालव्यास नारायण न्यौपाने सहभागी हुनुभएको थियो । २०६९ साल साउनमा उत्तरकाशीका ऋषिहरू निषानन्द महाराजले विशेष शिव पूजा गर्नुभएको थियो भने सोही महिना नेपालका जगत्गुरु बालसन्त मोहनशरणबाट सुरु गरिएको बोलबम धार्मिक यात्रा निरन्तर भइरहेको छ ।

हरेक वर्ष महाशिवरात्रिमा मेला, कृष्ण जन्माष्टमीका दिन १०८ कन्या पूजा, विजया दशमी, चैतेदसैँ, अक्षय तृतीयाका दिन विशेष पूजा हुने गरेको छ । भारतको नैमिसारण्यबाट ऋषिहरू कैलाश मानसरोवर जाँदा पद्मप्रकाशेश्वरस्थित शिवलिङ्गमा जलाभिषेक गरेर जाने गरेको स्कन्ध पुराणमा उल्लेख छ । सेती लोकमार्ग खुल्नेबित्तिकै भारतीय तीर्थयात्रीका लागि मानसरोवर जाने प्रवेशद्वारका रूपमा पद्मप्रकाशेश्वर मन्दिरको महìव अझै बढ्ने सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री रणबहादुर रावल बताउनुहुन्छ ।

ढिकीमा धान कुट्ने चलन हराउँदै

कञ्चनपुर, फागुन ८ गते । धान कुट्ने आधुनिक प्रविधि भित्रिएसँगै कञ्चनपुरका महिलाहरुले धान ढिकीमा कुट्न छाडेका छन् । गाउँघरमा धानमिल सञ्चालनमा आएपछि ढिकीमा धान कुट्न महिलाले छाडेका हुन् । पहिला घरघरमै धान कुट्नका लागि काठका ढिकी बनाइएका हुन्थे ।

हाल ती ढिकीहरु हराउँदै गएका छन् । अर्काेतर्फ ग्रामीण क्षेत्रमा ढिकी राख्ने कार्य नै छाडिएका छन् भने थारु समुदायका केहीका घरमा अझै ढिकी भए पनि धान कुट्नका लागि मिलमा पुग्ने गर्दछन् । एक दशकअघिदेखि ढिकी कुट्ने चलन विस्तारै हराउँदै जान थालेको शुक्लाफाँटा नगरपालिका-२ का हेमराज पाण्डेयले बताउनुभयो ।

“धानमिलमा कुटिएको चामलभन्दा ढिकीमा कुटिएको धानको चामल निकै मिठो र पौष्टिक हुने गरेको थियो”, उहाँले भन्नुभयो, “ढिकीमा धान कुट्दा निकै समय लाग्ने र श्रम गर्नुपर्ने अवस्था थियो, अहिले सहजै एकछिमै मिलमा धान कुट्ने कार्य हुने भएकाले ढिकी राख्ने चलन हटेको छ ।” कृष्णपुर नगरपालिका-२ वाणिकी वसन्ती राना बिहानीको कुखुराको डाँकमै ब्यूँझेर धान कुट्ने पुराना दिनको स्मरण गर्नुहुन्छ ।

“बिहानै ब्यूँझेर धान कुट्थ्यौँ”, उहाँले भन्नुभयो, “धान कुटेर आएका चामल माटोको भकारीमा राख्ने गरिन्थ्यो, ती चामलबाट बनाइएको भात निकै मिठो हुन्थ्यो, अहिले मिलमा कुटेका चामल देख्नमा चम्किला हुने भए पनि त्यति स्वादिलो हुने गरेको छैन ।” महिलाहरुलाई त्यसबेला ढिकी कुट्न निकै परिश्रम गर्नुपर्ने अवस्था रहेको उहाँले उल्लेख गर्नुभयो । दिनभरि घरको काम, राति पूरै नसुतेर ढिकी कुट्नुपर्ने ती पुराना दिन सम्झँदा आजभोलि सपनाझैँ लाग्ने गरेको पवित्रा चौधरीले बताउनुभयो ।

“ढिकीमा दुईदेखि चार जनासम्मले धान कुट्नका लागि काम गर्नुपर्दथ्यो”, उहाँले भन्नुभयो, “दसैँलगायतका चाडपर्वमा विगतमा चामल कुटेर भिजाइ पुनः ढिकीमै पिठो बनाउनुपर्दथ्यो, त्यसबेला थोरै ठाउँमा मात्रै मिल थिए, सबैको पहुँच थिएन, पहुँच भए पनि सबैसँग खर्चको अभाव हुन्थ्यो, त्यसैले घरमै बनाएका ढिकीमा धानबाट चामल र पिठो बनाउथ्यौँ ।”

“चाडपर्व, विवाहलगायतका धार्मिक तथा अन्य अनुष्ठानमा सहभागी हुनेहरुका लागि भने चार-पाँच दिनदेखि नै ढिकीमा धान कुट्नुपर्ने बाध्यता नै हुन्थ्यो”, गीता चौधरीले भन्नुभयो, “हाल पहिलेको तुलनामा महिलालाई घरायसी कार्य गर्न आधुनिक विद्युतीय मिलले सहज बनाइदिएको छ, पुर्खौदेखि प्रयोग हुँदै आएका ढिकी, कोल्हु, जाँतो (चकिया)लगायत हराउँदै गएकामा चिन्तित पनि छु ।”

पहिचान झल्काउने पुराना वस्तुलाई पछिको पिँढीलाई चिनाउनकै लागि पनि जगेर्ना गरेर राख्नुपर्ने उहाँको भनाइ छ । ढिकी बनाउँदा मुसरा, ढिकी, चुक्का, टेक्वा, धुर्ला, टेकुवा, सामलगायत काठबाटै बन्ने गरेको दानसिंह दहितले बताउनुभयो । बलियो काठ सान्नानलगायतबाट ढिकी तयार गरिन्थ्यो । रासस