धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड

ईन्द्रा कुमारी केसी
घोडाघोडी (कैलाली), २१ कात्तिक/
कैलालीको घोडाघोडी नगरपालिका–३ निम्दीका स्वरूप चौधरी शनिबार बिहानै भजनीमा धान बिक्रीका लागि पुगे । सरकारले धानको समर्थन मूल्य तोकी धान खरिद सुरु गरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीको उपकेन्द्र भजनी गोदाममा पुग्नुभएका स्वरुपले त्यो दिन पालो पाएनन् । उनलाई धान बेच्नका लागि चार दिन लाग्यो ।
जिल्लाको भजनी–४ का राजकुमार चौधरीलाई धान बेच्नका लागि चार दिन लाग्यो । सरकारले तोकेको मूल्यमा धान बिक्री गर्न पाइने आशाले किसान उत्साहित छन् । तर खरिद प्रक्रिया ढिलो भई लामो लाइन बस्दा पालो नआउँदा त्यो उत्साह निराशामा बदलिँदै गएको छ । कतिपय किसानले बिहानदेखि बेलुकीसम्म कुर्दा धान बेच्न नपाई घर फर्किनुपरेको छ । कति रातभरै केन्द्र अगाडि बस्छन्, भोलिपल्ट पहिलो पालोमा आफ्नो धान बेच्न सकुन् ।
तीन दिन भयो घर फर्किएको छैन । घोडाघोडीका किसान विष्णु चौधरी भन्छन्, “धान बेच्न यति दुःख कहिल्यै भएको थिएन । बिहानदेखि बेलुकीसम्म लाइनमा बस्दा पालो आउँदैन, रातमा डल्लफ र धानको सुरक्षा गर्न यही बस्नुपर्छ ।” उनी जस्तै धेरै किसान अहिले सरकारी खरिद केन्द्रमा धान बेच्नका लागि दिनरात लाइनमा उभिरहेका छन् । यस वर्ष सरकारले मोटो धानको मूल्य प्रतिक्विन्टल तीन हजार ४६३ तोकेको छ । बजारमा व्यापारीहरूले कम रकममा किन्ने गरेकाले किसान सरकारी मूल्यमा बेच्ने आशामा केन्द्रमा लामबद्ध छन् ।
जिल्लामा कात्तिक ११ गतेदेखि धान खरिद सञ्चालन गर्ने सूचना निकालिएको थियो । मौसमका कारण कात्तिक १६ गतेदेखि धान खरिद सुरु गरेको भजनी खरिद उपकेन्द्रका कर्मचारी भीमबहादुर बुढा बताउँछन् । प्रतिकिसान ५० क्विन्टलका दरले धान खरिद भइरहेको उनले बताए । बुढाका अनुसार खरिदमा ढिलाइ हुनुको प्रमुख कारण पूर्वाधारको कमी हो । उनी भन्छन्, “धान खरिदका लागि एउटा काटामात्र सञ्चालनमा छ । किसानको समस्यालाई मध्यनजर गरी नगरपालिकासँग समन्वय गरी अर्को काटा थप्ने तयारी गरिरहेका छौँ ।”
कैलाली जिल्लाको अधिकांश भूभाग तराईमै पर्छ, जहाँको मुख्य आम्दानीको स्रोत धानलगायत अन्य बाली हो । यहाँका किसानले वर्षभरको मेहेनत यही बालीमा लगाउँछन् । खेतमा पसिना बगाउने उनीहरूका लागि धान बेच्नुमात्र व्यापार होइन, परिवारको जीविकोपार्जनको आधार हो । तर धान बेच्ने पालो नपाउँदा उनीहरू समस्यामा छन् ।
धान बिक्रीमा ढिलाइ हुँदा किसानको आर्थिक अवस्था प्रभावित भएको छ । खेतमा नयाँ बाली लगाउनका लागि रकम चाहिन्छ, तर धान नबेचेसम्म नगद हातमा आउँदैन । कतिपय किसान बाली बेचेर नै घर चलाउँछन् । घोडाघोडीकी रमिता चौधरी भन्छिन्, “धान बेचेपछि तिरौला भनेर सापटी मागी घर खर्च चलाएको छु । लाइनमा बसेको दुई दिन भयो खै कहिले पालो आउँछ ।”
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान उत्पादनको पकेट क्षेत्रलाई आधार मानी १३ वटा खरिद केन्द्रहरू सञ्चालन गरिरहेको छ । जसअन्तर्गत नेपालभरि नै कैलालीबाट धान खरिद सुरु गरेको छ । भजनी, मोहनपुर, सत्ती, गौरीगङ्गा, जोशीपुर र टीकापुर गरी जिल्लाका छवटा खरिद उपकेन्द्रमार्फत धान खरिद गरिरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सुदूरपश्चिम प्रमुख दीपक थापाले जानकारी दिए। सबै उपकेन्द्रहरूमा किसानको लामो लाइन छ ।
कैलालीमा ३५ हजार क्विन्टल धान खरिद गर्ने भनी तोकिएको छ । हिजोसम्म नौ हजार क्विन्टल बढी खरिद भइसकेको छ । सरकारको समर्थन मूल्यमा नै धान खरिद गरिरहेको बताउँदै उनले भने, “अरू ठाउँमा मूल्य कम पाउने गरेका कारण सबै किसान खरिद केन्द्रमै आएका छन् । जसका कारण निकै भीड छ ।”
अर्कै समस्या जनशक्ति र पूर्वाधार हो । प्रदेश कार्यालयमा कर्मचारीको दरबन्दी कम हुन्छ । चार कर्मचारी, अछाम, बाजुरा, बझाङ, कालिकोटबाट ल्याएको बताउँदै थापाले भने, “यस पटक सरकारको बजेटमा नै धान खरिद गरेबापत रकम किसानको खातामा हाल्ने व्यवस्था गरेकाले कागजातहरू मिलानका लागि एक जना कर्मचारी त्यही व्यस्त हुन्छन् । त्यसैले धान खरिदमा केही जटिल भएको छ ।” एक उपकेन्द्रमा दुई जना कर्मचारी खटाइएको उनले बताए ।
बिहान १०ः०० बजेबाट ४ः०० बजेसम्म धान खरिद गर्नुपर्ने भए पनि किसानको चापका कारण बिहान ८ः०० देखि सुरु गरी बेलुका ९ः०० बजेसम्म नै धान खरिद गरिरहेको उनले बताए ।

कक्षा २ पढेका रामदास, डाक्टर होइनन् तर दैनिक बिरामी निको पार्छन्

ईन्द्रा कुमारी केसी,
घोडाघोडी (कैलाली), १७ कार्तिक/

कैलालीको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ। कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन्। यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ।

गाउँका सबैले कठरियालाई स्नेहपूर्वक ‘रामदास डाक्टर’ भनेर सम्बोधन गर्छन्। तर उनी न त डाक्टर न वैद्य नै हुन। जम्मा कक्षा दुईसम्म मात्रै औपचारिक शिक्षा लिएका उनको हातमा भने अनौठो सीप छ, जसले कैयौँ हाडजोर्नी, नसा र मांसपेशीसँग सम्बन्धित बिरामी निको पार्दै आएका छन्।

हड्डी भाँचिएका, नसा च्यापिएका वा मांसपेशी सरेर दुखाइले थलिएका मानिस उनीकहाँ आउँछन्। उनले हातैले छामेर बिरामीको समस्या पत्ता लगाउन्छन। छामेरै भन्छन, ‘यो हड्डी त सरेछ, यो नसा त च्यापिएछ।’ त्यसपछि उपचार सुरु गर्छन्। आजसम्म कति बिरामी निको पारे भन्ने यकिन तथ्याङ्क छैन।

त्यसो त उनले यो सीप संयोगले प्राप्त गरेका होइन। उनका हजुरबुवा गाउँका प्रसिद्ध वैद्य रहेका थिए । बाल्यकालमै हजुरबुवाको उपचार कला हेर्दैहेर्दै उनमा पनि त्यसप्रति गहिरो लगाव सुरु भयो।

हजुरबुवाले बिरामीको हड्डी मिलाउँदा सँगै बसेर हेर्ने र कहिलेकाहीँ आफ्नै हातले बिरामी छाम्न लगाउने गर्थे। त्यही क्रममा हातमा सीप बस्दै गयो। हजुरबुवाको निधनपछि त्यो सीप परिवारमै हराउन नदिन उनले निरन्तर अभ्यास गरे। अहिले त्यही सीप उनको परिचय बनेको हो।

४० वर्ष भन्दा बढी भयो उनले यो सीपको प्रयोगबाट धेरैलाई सेवा दिइरहेको। उनको घरमा दैनिक एक सयभन्दा बढी बिरामी आउँछन्। कतिपय बिरामी त यस्ता हुन्छन्, जसले अस्पतालमा उपचार गर्दा पनि निको भएका हुँदैनन्।

कठरियाको उपचार शैली पनि सरल छ। उनीसँग कुनै औषधि छैन, न त कुनै अत्याधुनिक उपकरण। उनको हात, सीप र अनुभव नै औजार हो। बिरामीलाई छामेर, समस्या भएको ठाउँमा सन्तुलित तवरले दबाएर र सावधानीपूर्वक नसा र हड्डी मिलाउन्छन। उनको उपचारपछि बिरामी तुरुन्तै राहत महसुस गर्छन्।

उनका लागि बिरामी निको पार्नु व्यापार होइन, जिम्मेवारी हो। त्यसैले उनले उपचारको शुल्क निर्धारण गरेका छैनन। बिरामीले आफ्नो गक्षअनुसार पैसा दिन्छन्। उनले धन्यवादसहित ग्रहण गर्ने गरेका छन।

भजनीका भागिलाल चौधरीले आफ्नो अनुभव सुनाउँदै भने, ‘मेरी श्रीमती १२ वर्षदेखि नसा च्यापिएको समस्याले पीडित थिइन् । कति अस्पतालमा लग्यौँ, निको भइनन्। अन्तमा रामदास कहाँ आएपछि पूरै निको भइन्।’ हरेक गाउँमा उनले उपचार गरेका अनेकौँ उदाहरण छन्। उठ्न, बस्न, हिँड्न नसक्ने मानिस पनि उहाँकहाँ आएर निको भएर फर्किएका प्रशस्त उदाहरण छन्।

उपचारमा उनी प्राय आफैँले बनाएका स्थानीय सामग्री प्रयोग गर्छन। कहिलेकाहीँ मेडिकलबाट पनि आवश्यक सामग्री किन्न लगाउन्छन । आफूकहाँ उपचार गर्न आउने अधिकांश बिरामी कमजोर आर्थिक अवस्था भएका हुने उनी बताउन्छन । उनका लागि यस्ता बिरामीको उपचार गर्नु नै धर्म हो। ‘मलाई पैसा होइन, सन्तुष्टि चाहिएको हो,’ उनले भने, ‘उपचार पछि बिरामीले भन्छन् अब म ठिक छु, त्यही नै मेरो सबैभन्दा ठूलो खुशी हो।’

उनी आफ्नो सीप आगामी पुस्ताले सिकुन् भन्ने चाहान्छन । उनले केही स्थानीय युवालाई सिकाउनु पनि भयो, तर उनीहरूले नियमित अभ्यास गरेनन्। उनले भने ‘अब म चाहन्छु कोही कसैले लगन र धैर्यताका साथ यो सीप सिकोस, ताकि म पछि पनि धेरैलाई यसबाट फाइदा पुगोस्।

बैतडीमा ‘ट्याक्सोल’ रसायन निस्कने लौठसल्लाको संरक्षण, क्यान्सरविरुद्ध उपयोगी वनस्पति संकटमा

बैतडी, कात्तिक १४ गते  । क्यान्सर रोगसँग लड्न प्रयोग हुने ‘ट्याक्सोल’ नामको रसायन निस्कने लौठसल्लाको संरक्षण गरिएको छ । लौठसल्ला मासिन थालेपछि वनस्पति विभाग र जिल्ला वन कार्यालय बैतडीले १३९ बोट वरिपरि काँडेतारको बार लगाएर संरक्षण गरेको हो । विश्वमै निकै महँगो औषधीका रूपमा प्रयोग हुने ‘ट्याक्सोल’ नामको रसायन लौठसल्ला प्रशोधन गरेर निकाल्न सकिने बताइएको छ । पछिल्लो समय डोजरले जथाभाबी सडक निर्माण गर्दा यो प्रजाति सङ्कटमा पर्न थालेको छ ।

लौठसल्लाबाट पाठेघर, फोक्सो, स्तन, टाउको, प्रोस्टेट, छाला र अन्न नलीको क्यान्सर निको पार्ने औषधी बन्ने गरेको वनस्पति अनुसन्धान केन्द्र कैलालीका कार्यालय प्रमुख वरिष्ठ वैज्ञानिक अधिकृत गङ्गादत्त भट्टले बताउनुभयो ।

बैतडीको ग्वाल्लेक र सिगास संरक्षित वनमा पाइने लौठसल्लाबाट क्यान्सर रोगविरुद्ध लड्ने रासायनिक तìवका लागि महìवपूर्ण भएकाले बिरुवा संरक्षण गरिएको डिभिजन वन कार्यालय बैतडीका सूचना अधिकारी मदन जोशीले बताउनुभयो ।

स्थानीय तहले जथाभाबी सडक खन्दा वन क्षेत्र मासिन थालेपछि पुरचौडी नगरपालिका–६, ढोल्यामोडमा रहेको वसन्त हरियाली वनमा रहेको लौठसल्ला रहेको चार हेक्टर वन क्षेत्रमा तारबार लगाएर संरक्षण गरिएको उहाँले बताउनुभयो ।

ढोल्यामोडमा ८८ वटा पोलमा काँडेतार लगाएर ८० वटा लाथ्रा र ५९ वटा लौठसल्लाका बिरुवा जोगाइएका छन् । बैतडीको सिगास संरक्षित वन, ग्वाल्लेक संरक्षित वन, सुर्नया गाउँपालिकाका केही स्थानमा लौठसल्ला रहेको डिभिजन वन कार्यालय बैतडीको तथ्याङ्क छ ।

सुदूरपश्चिमका सात जिल्लामै लौठसल्ला 

वनस्पति अनुसन्धान केन्द्र कैलालीले लौठसल्लाबारे अनुसन्धान गर्दा प्रदेशका कैलाली र कञ्चनपुरबाहेक पहाडका सात वटै जिल्लामा लौठसल्ला फेला पारेको छ ।

वनस्पति अनुसन्धान केन्द्र कैलालीका कार्यालय प्रमुख वरिष्ठ वैज्ञानिक अधिकृत भट्टका अनुसार बैतडीको ग्वाल्लेक, सिगास, रौलाकेदार, श्रीभावर, ढोल्यामोड, दार्चुलाको सितोला, बाजुराको शुर्मासरोवर र काणेँ, डडेलधुरको कफालीडाँडा, डोटीको सालिङडाँडा र खप्पड क्षेत्रमा लौठसल्ला रहेको छ ।

वैज्ञानिक भट्टले लौठसल्लाबाट ‘ट्याक्सोल’ नामको रसायन निकाल्न नेपालमै कच्चा पदार्थ (१० डिएबी) तयार गरेर क्यान्सरविरुद्धको किमो तयार गर्न विदेश पठाइने गरेको बताउनुभयो ।

सुदूरपश्चिम प्रदेश सभाको बैठक चाँडै सञ्चालन गर्ने तयारी, मर्मत र उपकरण जडानको गृहकार्य थालियो

धनगढी, कात्तिक १४ गते । सुदूरपश्चिम प्रदेश सभाको बैठक सञ्चालनका लागि गृहकार्य थालिएको छ । जेनजी आन्दोलनका क्रममा प्रदेश सभा भवनमा आगजनीपछि अनिश्चित बनेको सभाको बैठक सकेसम्म चाँडै सञ्चालन गर्नका लागि गृहकार्य थालिएको सभामुख भीमबहादुर भण्डारीले बताउनुभयो ।

प्रदेश सभाको मर्मतबिना बैठक बस्न सम्भव नरहेकाले मर्मत र उपकरण जडान गर्ने सवालमा विभिन्न सहयोगी निकायसँग छलफल भइरहेको उहाँले बताउनुभयो । “युएनडिपी, युएनएफपिए जस्ता संस्थाले गर्न सक्ने सहयोगको बारेमा छलफल भइरहेको छ,” उहाँले भन्नुभयो, “प्रदेश सभा बैठक धेरै विलम्ब नगरी सञ्चालनका लागि प्रदेश सरकारसँग पनि म छलफल चलाउँछु ।”

जेनजी आन्दोलनकारीले भदौ २४ गते प्रदेश सभा भवनसहित प्रदेश सभा सचिवालय, विषयगत समितिका कार्यालय, संसदीय दलका कार्यालयमा आगजानी र तोडफोड गरेका थिए । आगजनी र तोडफोडका कारण दुई महिनादेखि प्रदेश सभा बैठक बस्न सकेको छैन । प्रदेश सभाको बर्खे अधिवेशन जारी रहेका बेला आगजनी भएकाले अधिवेशन अझै जारी छ । चाडपर्वको बिदाका कारण यो बिचमा प्रदेश सभा भवन मर्मतको कार्य हुन नसके पनि अब चाँडै मर्मतको काम सुरु गर्ने सभामुख भण्डारीको भनाइ छ । उहाँले सकेसम्म एक महिनाभित्रै काम सक्ने गरी मर्मत, उपकरण जडानको कार्य अगाडि बढाउने उल्लेख गर्दै थप्नुभयो, “सम्भवतः एक महिनाभित्र प्रदेश सभा बैठक सञ्चालन हुन सक्छ ।”

आगजनीका कारण प्रदेश सभा भवनमा बस्ने ठाउँ नै छैन । कुर्सीसहित विभिन्न उपकरण जलेर नष्ट भएका छन् । बस्ने ठाउँ भएपछि मात्रै प्रदेश सभाको बैठक सञ्चालन हुने सामाजिक विकास समितिका सभापति धर्मराज पाठकले बताउनुभयो ।

प्रदेश सभामा पाँच वटा विधेयक विचाराधीन अवस्थामा छन् । प्रदेश सभा सचिवालयका अनुसार सुदूरपश्चिम प्रदेश जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, दलित सशक्तीकरण ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक, सुदूरपश्चिम प्रदेश बरघर र भलमनसा प्रथा संरक्षण तथा विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक विचाराधीन अवस्थामा छन् । यस्तै टीकापुर विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र केही उद्योग तथा वनसम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक पनि विचाराधीन अवस्थामा छन् । विचाराधीन अवस्थामा रहेकामध्ये दफावार छलफलका लागि दुई वटा विधेयक आफ्नो समितिमा आउने सभापति पाठकले बताउनुभयो ।

दार्चुलाको उच्च हिमाली क्षेत्रमा हिमपात

कृष्णबहादुर धामी

खलङ्गा (दार्चुला), कात्तिक ११ गते । दार्चुलाको उच्च हिमाली क्षेत्रमा मङ्गलबार बिहानदेखि हिमपात भइरहेको छ ।

सोमबार रातिदेखि मौसम बदली भएसँगै  यहाँको व्याँस गाउँपालिका–१ मा पर्ने उच्च हिमाली क्षेत्रमा हिमपात भइरहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वाटर छाङ्रुका गुल्मपति फणिन्द्रबहादुर शाहीले जानकारी दिनुभयो । उहाँकोअनुसार अपि र नाम्पा हिमालमा हिमपात भइरहेको छ ।

हिमाल नजिकै रहेका गाउँहरु टिङ्कर र छाङ्रुमा भने हाल सम्म हिमपात नभएको तथा अत्याधिक चिसो बढेको उहाँले बताउनुभयो । छाङ्रु र टिङ्कर गाउँमा खानेपानीका पाइपहरुमा पानी जमेर पानी आपुर्तीमा केहि समस्या समेत सिर्जना भएको बताइएको छ ।

उच्च हिमाली क्षेत्रमा हिमपात भएसंगै छाङ्रु गाउँको तापक्रम माइनसमा झरेर चिसो ह्वात्तै बढेको उहाँले बताउनुभयो । सदरमुकाम खलङ्गामा समेत चिसो बढेको छ ।

घोडाघोडी लगायत कैलालीका पर्यटकीयस्थलहरूमा पर्यटकको भिड

इन्द्रा कुमारी केसी
घोडाघोडी(कैलाली), १० कार्तिक/
विश्व रामसार सूचीमा सूचीकृत यहाँको घोडाघोडी ताल, चिसापानी र टीकापुर उद्यानलगायतका पर्यटकीयस्थलहरु हिजोआज आन्तरिक पर्यटकले भरिभराउ छन्  । घोडाघोडी ताल क्षेत्रमा प्रवेश गर्न घोडाघोडी सामुदायिक वनले प्रतिव्यक्ति रु १० शुल्क लिने गरेको छ । ताल घुम्नका लागि केही दिनयता दैनिक दुई हजार बढी पर्यटक आउने गरेको घोडाघोडी सामुदायिक वनका अध्यक्ष दीपक शाहले जानकारी दिनुभयो ।


टीकापुर कर्णाली लगायतका क्षेत्रमा वनभोजका लागि आउनेहरू पनि घोडाघोडी ताल घुम्न आउने गरेको उहाँले बताउनुभयो । पहिलेभन्दा यस ताल आसपासमा धेरै परिवर्तन भएको सल्यानबाट घुम्न आउनुभएका महादेव योगीले बताउनुभयो ।
चाडबाडको लामो बिदा भएकाले पनि यहाँका पर्यटकीय गन्तव्यहरूमा पर्यटकको चहलपहल बढेको हो । यहाँ स्थानीय ‘फोटोग्राफर’ले पनि राम्रो आम्दानी गर्न थालेका छन् । घोडाघोडीमा २० भन्दा बढी फोटोग्राफर छन् ।
“तिहारपछि दिनको रु तीन हजार ५०० देखि पाँच हजारसम्म आम्दानी गरिरहेको छु”, फोटोग्राफर प्रेम शाहले भन्नुभयो । पर्यटकको चहलपहलसँगै होटल व्यवसाय पनि फस्टाएको होटल व्यवसायी सुरेश बमले बताउनुभयो । “अरू बेला पनि व्यापार हुन्छ तर तिहार पछि व्यापारमा वृद्धि भएको छ”, उहाँले भन्नुभयो ।
घोडाघोडी तालसँगै जोडिएको ओजुवातालले पनि पर्यटकलाई आकर्षित गरेको छ । घोडाघोडीमा पर्यटकका लागि पैदलमार्ग निर्माण गरिएका छन् । घोड सवारसँगै ढुङ्गामा सयर गर्न पनि पाइन्छ ।
त्यसैगरी जिल्लाको चिसापानीमा पनि हाल दैनिक एक हजार बढी पर्यटक आउने गरेका छन् । कर्णाली नदी र पुल यहाँको आकर्षणको केन्द्र बनेको छ । कर्णाली पुलमा फोटो खिच्ने, टिकटक बनाउनेको भीड लाग्ने गरेको छ । चिसापानीमा कैलाली, कञ्चनपुर लगायत सुदूरपश्चिमका विभिन्न जिल्लासँगै लुम्बिनी प्रदेशका विभिन्न क्षेत्र सँगै भारतीय क्षेत्रका पर्यटक पनि पुग्ने गरेका छन् ।
विगतका वर्षहरू भन्दा यस वर्ष पर्यटकको सङ्ख्या बढेको चिसापानी बजारस्थित लुक होटेलका सञ्चालक शशी लिगलले बताउनुभयो । लिगलका अनुसार पर्यटक बढे संगै व्यापारमा पनि बृद्धि भएको छ ।
सामाजिक सञ्जालका कारण पनि पर्यटकको सङ्ख्या बढेको उहाँको भनाइ छ । टीकापुर उद्यानमा पनि वनभोजका लागि आउनेको भिड छ । राजा महेन्द्रका पालामा बनेको यो उद्यान देशकै ठुलो उद्यान मानिन्छ ।

 

दिल्लीमा लुकेर सामाजिक सञ्जालमा भ्रम फैलाउने बैतडीका प्रकाश चन्द जातीय विभेद मुद्दामा दोषी, प्रहरीको फरार सूचीमा

बैतडी । जिल्ला अदालत बैतडीबाट जातीय विभेदको कसुरमा दोषी ठहर भई ४ महिनाको कैद सजाय सुनाइएका प्रकाश चन्द भारतको दिल्ली गुडगावस्थित बजाज कम्पनीमा बसेर सामाजिक सञ्जालमा भ्रम फैलाउँदै आएका छन् । जता जहाँ गए पनि विवादास्पद क्रियाकलाप गर्ने उनी घरपरिवारको नजरमा समेत घृणित सदस्यका रूपमा सावित भएका छन् ।
दिल्लीमा बसेर प्रकाशले बैतडीका अधिकांश जनप्रतिनिधिहरू — विशेषगरी पञ्चेश्वर गाउँपालिकाका जनप्रतिनिधिहरूको बढी विरोध गर्दै सामाजिक सञ्जालमार्फत भ्रम फैलाउँदै आएका छन् । उनले बैतडीका एक दलित वडाध्यक्षलाई जातीय रूपमा होच्याउनुका साथै तथानाम गालीगलौज गरेपछि उनीविरुद्ध जातीय विभेदको कसुरमा मुद्दा दायर गरिएको थियो । हाल प्रकाश चन्द प्रहरीको फरार सूचिमा छन् ।
बैतडीको पञ्चेश्वर गाउँपालिका–०४, अनमखेत स्थायी घर भएका चन्द हाल दिल्लीमा बस्दै आएका छन् । वि.स २०५४ सालमा एसएलसी पास गरी उच्च शिक्षाका लागि महेन्द्रनगर पुगेका हुन । उनी बैतडीकै एक व्यवसायीको महेन्द्रनगरस्थित घरमा डेरा लिएर बसेका प्रकाशले घरभेटीकै कान्छी श्रीमती ४२ वर्षीया केशरी (नाम परिवर्तन) सँग अनैतिक सम्बन्ध राख्यो ।
उक्त कुरा जेठी श्रीमतीसँग काठमाडौंमा बस्ने घरभेटीले थाहा पाएपछि कान्छीको नाममा रहेको घर बेचिदिए भने, चोरी र लुटपाटको अभियोगमा प्रकाशविरुद्ध प्रहरीमा उजुरी दिए । तर, त्यतिबेला माओवादी जनयुद्ध उत्कर्षमा रहेकाले प्रहरीले पक्राउ भने गर्न सकेन । त्यसपछि प्रकाश र केशरीले भूमिगत शैलीमा बागफाटा स्थित ५ कट्ठा जमिन किनेर खेतीपाती सुरु गरे ।
उनले मुद्दाबाट बच्नका लागि कञ्चनपुर जिल्लाबाट ‘प्रकाश धामी’ नामको दोहोरो नागरिकता समेत लिएको स्रोतको दावी छ ।
खेतीपाती गर्दै कञ्चनपुरको बागफाटामा बस्दै जाँदा प्रकाश र केशरी दुबैलाई रक्सीको लत लाग्यो । लत यति हदसम्म पुग्यो कि पैसा सकिएपछि घरेलु मदिरा बनाएर खान थाले । ठूलो ऋण लागेपछि तिर्नका लागि ५ कट्ठा जमिन बेचिदिए र दुवैजना भारत पसेका हुन् । दिल्लीमा केही समय होटेलमा काम गरेपछि हालसम्म दिल्लीको गुडगावस्थित बजाज कम्पनीमा ‘टुल टेक्निसियन’को रूपमा काम गर्दै आएका छन् ।
उनको फेसबुक आइडीमा भने उनले आफूलाई ‘सफ्टवेयर इन्जिनियर’ भनेर उल्लेख गरेका छन् । तर, १२ कक्षा पनि पास नगरेका प्रकाशका कागजात नक्कली भएको उनलाई नजिकबाट चिनेका व्यक्तिहरू बताउँछन् ।
उनी अहिले थुप्रै फेक आइडी बनाएर दिल्लीबाट बैतडीका जनप्रतिनिधिहरूलाई गाली गर्ने र भ्रामक सामग्रीहरू सामाजिक सञ्जालमा पोस्ट गर्दै आएका छन् ।
जनयुद्धकै समयमा एक पटक प्रकाशको खोजी गर्न उनका बुबा महेन्द्रनगरको बागफाटा पुगेका थिए । बुबा खेतिपातिमा सघाउन पनि थालेका थिए । एकदिन वर्षाको मौसममा बिहानै खेतमा काम गरिरहेको देखेपछि छिमेकीले “यी को हुन् ?” भनेर सोध्दा प्रकाशले जवाफ दिएका थिए — “गाउँबाट नोकर बोलाएका हौँ ।”
बुबालाई ‘नोकर’ भनेर चिनाएपछि तत्कालै बुबा झोला समातेर घर फर्किए । त्यस दिनदेखि बाउछोराबीच बोलाचाल र भेटघाट बन्द भयो । उनका बुबाले अहिले “छोरा मरेको हो” भनी मान्ने गरेका छन् ।
उक्त मुद्दामा दोषी ठहर भई ४ महिनाको कैद सजाय तोकिएका उनी हाल प्रहरीको फरार सूचीमा रहेका छन् । उनलाई ‘इन्टरपोल’ प्रक्रिया मार्फत नेपाल ल्याएर जेल हाल्ने तयारी भइरहेको स्रोतले जनाएको छ ।

कैलालीमा दुई दशकदेखि वन जोगाइरहेका खुमबहादुर

इन्द्रा कुमारी केसी
घोडाघोडी(कैलाली), ९ कार्तिक /
कैलाली मुलुकभरि सबैभन्दा बढी वन क्षेत्र भएको जिल्लामध्ये एक हो । धेरै वन क्षेत्रमध्ये यहाँको भजनी नगरपालिका–२ मा अवस्थित राधाकृष्ण सामुदायिक वन ४४६ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।
सुन्दर हरियाली, ताल तलैयासँगै स्वच्छ वातावरण रहेको वनले हरेकको मन तान्छ । यहाँ पिकनीक खान, बोटमा चढ्न र प्रकृतिसँगै रमाउन आन्तरिक तथा बाह्य पर्यटक आउँछन् । यही हरियालीबीचमा एउटा अनुहार छ, जसले वन संरक्षणमा दुई दशकभन्दा बढी समय विताउनु भएको छ ।
राधाकृष्ण सामुदायिक वनका अध्यक्ष खुमबहादुर खड्काले दुई दशकभन्दा बढी समय वनको संरक्षण, वनजन्य स्रोतको दिगो व्यवस्थापन र समुदायमा सचेतना फैलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ । गाउँ, सहरमा मात्र नभएर जिल्लाभरि उनले वन संरक्षणमा पु¥याएको भूमिकाको चर्चा हुने गरेको छ ।
उमेरले ७० वर्ष पार गरिसक्नुभएका खुमबहादुरले आफ्नो जीवनलाई प्रकृतिसँगको अनन्त सम्बन्धमा समर्पित गरीसक्नुभएको छ । उहाँले जीवनको सुरुवातमा ड्राइभरको पेसा अपनाउनुभयो । करिब २८ वर्षसम्म गाडी चलाउनुभएका उहाँले डडेलधुरामा डिभिजन वन कार्यालय प्रमुख (डिएफओ)सँगको यात्राले जीवनको मार्ग बदलेको बताउँनुहुन्छ ।
‘यात्रा गरिरहँदा रेडियोमा सामुदायिक वनको चर्चा चलिरहेको थियो । त्यही क्षणमा सामुदायिक वन भनेको के हो रु भनेर प्रश्नमा आएको उत्तरले वन संरक्षणप्रति चासो जागाएको हो ’, उहाँले भन्नुभयो ।
विसं २०५० मा भजनीमा गाउँ विकास समितिमा सामुदायिक वनका लागि सहपाठीलाई निवेदन दर्ता गर्न भनी खुमबहादुर आफ्नो पेसाका लागि भजनी घरबाट धनगढी फर्किनुभयो । उहाँलार्ई बोलाउन उहाँका सहपाठी धनगढी पुगेपछि उहाँ फर्कनुभयो ।
सुरुमा सल्लाहकारका रूपमा संलग्न हुनुभयो । भजनी क्षेत्रभरिका अन्य वनमा खटिएको अनुभवले उहाँलाई थप जिम्मेवार र तयार बनायो ।
विसं २०५८ मा खुमबहादुरको पहलमा राधाकृष्ण, पशुपति, माहोन्याल, पूर्वखरौटी, प्रगतिशील र वनदेवी सामुदायिक वन दर्ता भएका थिए । उहाँ राधाकृष्ण सामुदायिक वनको अध्यक्ष बन्नुभयो, त्यसपछि सुरु भयो खुमबहादुरको वन संरक्षणको यात्रा ।
‘गाउँ, टोलटोलमा गएर मानिसलाई वन संरक्षणको महत्त्व बुझाउने काम सजिलो थिएन । धेरैले पहिलो पटक वन संरक्षणको कुरा सुन्ने हुँदा शङ्का देखाउँथे । तर धैर्यता, सरलता र लगनशीलताले विश्वास दिलाउन सके सफल भइँदो रहेछ’, खुमबहादुर भन्नुहुन्छ ।
विसं २०५६ मा राधाकृष्ण सामुदायिक वनको प्रस्तावित अध्यक्ष भएका उनी २०५८ सालमा वन दर्ता भएपछि हालसम्म अध्यक्ष छन् । ‘बीचमा दुई जना अध्यक्ष आउनुभएको थियो’, उहाँले भन्नुभयो ‘तर गाउँलेले फेरी मलाई नै अध्यक्ष बनाउनुभयो । ’
खड्काको जीवनमा चुनौती कम थिएनन् । ‘सङ्कटकालको समयमा, अतिक्रमण हटाएको भन्दै माओवादीले कुटे, मर्यो भनेर छोडिदिए । त्यो दिन मेरो शरीरले सक्दैन जस्तो लाग्यो । सबै भागे तर म भागिनँ । मेरो जिम्मामा वन थियो, त्यसलाई छोड्न सकिन ’, उहाँ सम्झिनुहुन्छ ।
खुमबहादुरको दिनचर्या घरमा बित्दैन । उहाँलार्ई खोज्न परे वनमा जानुपर्छ । बर्सेनि वृक्षारोपण गर्ने, वन क्षेत्रमा निगरानी गर्ने र स्थानीय समुदायलाई वन संरक्षणमा संलग्न गराउने काम उहाँका लागि जीवनको अभिन्न हिस्सा बनेको छ । उहाँ भन्नुहुन्छ, ‘म पैसा कमाउन आएको थिएन, मनको सन्तुष्टि पाउन वनसँग जोडिएको हुँ ।’
उहाँको योगदान केवल राधाकृष्ण सामुदायिक वनमा सीमित छैन । भजनी, लालबोझि, खैलाड, थापापुर र जोशीपुरका गाउँ–टोलमा पनि उहाँका प्रयासले समुदायलाई वन संरक्षणको महत्त्व बुझाएको छ ।
अहिले भजनीमा ४३ वटा सामुदायिक वन दर्ता भइसकेका छन् । यसका लागि खुमबहादुरको भूमिका अमूल्य रहेको स्थानीय बताउँछन् । अतिथि आउँदा पनि जङ्गलमै लगेर खुमबहादुर वृक्षारोपण गराउँनु हुन्छ ।
‘हामीले वन संरक्षणको महत्त्व उहाँबाटै बुझ्यौँ । उहाँ हाम्रो गुरु हो । उहाँ नभए वन यति सुरक्षित हुदैनथ्यो । ’स्थानीय अर्जुन सोवल भन्नुभयो ।
खुमबहादुरले वन संरक्षण र व्यवस्थापनका लागि विभिन्न पाटो अपनाइरहेका छन् ।
पानीको स्रोत र माटो संरक्षणका लागि निर्माण गरिएका स–साना बाँध, ढलान र तालले वनलाई अधिक जीवन्त बनाएका छन् । वृक्षारोपणमा मात्र होइन, वन्यजन्तुको संरक्षणमा पनि खुम बहादुर अघि बढ्नुभएको छ ।
वनमा लोहटिवा ताल छ । तालमा वन्यजन्तु पानी खानका लागि आउने गर्दछन् । ताललाई पर्यापर्यटनसँग पनि जोडिएको छ । जसलाई व्यवस्थापन गरी पिकनिकस्थल, बोटिङ सञ्चालन गरिएको छ । अतिक्रमण हटाइ व्यवस्थापन गरिएको ताल अहिले पर्यटकको नयाँ गन्तव्य बनेको छ । संरक्षणसँगै पर्यापर्यटनलाई अघि बढाइरहेको खुमबहादुरले बताउनुभयो ।
संरक्षणमा बिताएको उनको जीवनले अन्तरराष्ट्रिय ध्यान पनि खिच्यो । निरन्तर प्रयास र योगदानका कारण उहाँलाई सन् २००३ मा ‘अब्राहम अवार्ड’ प्रदान गरियो । त्यो पुरस्कारले उहाँको नाम मात्र होइन, गाउँ र देशलाई पनि गौरवान्वित बनाएको छ । पुरस्कारको दिनको सम्झना गर्दै उहाँले भन्नुभयो, ‘त्यो मेरो व्यक्तिगत जित होइन, त्यो त हाम्रो वनको जित हो । ’
खुमबहादुरसँग कुरा गर्दा उहाँको आँखामा वनप्रतिको माया स्पष्ट देखिन्छ । आज पनि राधाकृष्ण वनमा वृक्षारोपण, वृक्षको सुरक्षा, माटो संरक्षण र वन्यजन्तुको संरक्षणका कार्यक्रम खुमबहादुरको नेतृत्वमा सम्पन्न हुन्छ ।
वन देखाउँदै उहाँ भन्नुहुन्छ ‘पहिले यो ठाउँ रुखविहीन थियो । तर आज हेर्नुस्, सबै फिर्ता आएका छन् ।’ आँखामा गर्व झल्किन्छ, तर त्यो गर्वमा अहङ्कार छैन ।

फूलखेतीबाट मनग्य आम्दानी गर्दै सीताराम

इन्द्रा कुमारी केसी
घोडाघोडी (कैलाली), ३ कार्तिक/
कैलालीको टिकापुर नगरपालिका–१ वनगाउँका सीताराम चौधरीको जीवन अहिले फूलले रङ्गीन बनेको छ । आठ वर्षअघि सुरु गरेको सानो प्रयास आज उहाँका लागि मात्र होइन गाउँकै लागि प्रेरणाको स्रोत बनेको छ ।
वि.सं.२०७४ देखि फूलखेती सुरु गर्नु भएका सीतारामको बारीभरि अहिले सयपत्री र मखमली फूल ढकमक्क फुलेका छन् । उहाँ भन्नुहुन्छ, “एक लाख लागतमा फूलखेती सुरु गरेको थिए । पहिलो वर्ष त नतिजा कस्तो आउला भनेर डर लागेको थियो । तर विस्तारै सिक्दै गएँ र अनुभवसँगै आत्मविश्वास बढ्दै गयो । अब यो मेरो पहिचान नै बनेको छ”, उहाँले भन्नुभयो ।
फूलखेतीले सीतारामलाई केवल आम्दानी मात्र दिएको छैन, जिल्लामा फूल व्यवसायीको रूपमा स्थापित समेत बनाएको छ । अहिले सीताराम पुष्प व्यवसाय प्रशिक्षकको रूपमा स्थापित हुनुहुन्छ । तिहारमा विशेष गरी मखमली र सयपत्रीको माग बढी हुने भएकाले बढीजसो यी फूल उत्पादन हुन्छन् । “फूल बिक्री गर्न समस्या छैन, बरु माग धान्न सकिएको छैन”, तिहारका लागि फुलको माला बेच्न सुरु गरिसकेको बताउदै सीतारामले भन्नुभयो, “प्रतिमाला १३० र प्रतिकिलो ६०० को दरले बिक्री गरिरहेका छाँै ।”
सयपत्री र मखमली फुलबाट एउटा याममा ४ लाख बढी आम्दानी हुने गरेको उहाँले बताउनुभयो । एउटा बोटबाट चार वटासम्म माला बनाउन सकिन्छ । आवश्यकता अनुसार फूल उपलब्ध गराउने सीतारामले फूल खेतीबाट मनग्य आम्दानी हुन थालेपछि व्यवसाय बढाउँदै लैजानुभएको छ । उहाँ भन्नुहुन्छ, “धान, गहुँ र तोरी खेती पनि गरेको छु, तर फूलखेतीबाट सोचे जस्तै आम्दानी भइरहेको छ ।”
दश कट्ठा जमिनबाट व्यवसाय सुरु गर्नु भएका सीतारामले अहिले १५ कट्ठा बढीमा फूलखेती गर्दै आउनुभएको छ । सजावटमा प्रयोग हुने कट फ्लावर ( तारबारे, गुलाफ, जोखेडा र गोदावरी) पनि उहाँले लगाउनुभएको छ । फूल उत्पादनदेखि प्याकिङसम्मको तालिम लिनुभएका सीतारामले फूलखेती सँगसँगै माला, बुकी बनाउने, विवाहको गाडी सजाउने, मञ्च सजाउने कार्यका साथै अरूलाई तालिम दिने समेत गर्नुहुन्छ । उहाँको अनुभवमा प्राकृतिक फूल स्थानीय स्तरमै पाउन थालेपछि अहिले कृत्रिम फूलको प्रयोग घट्दै गइरहेको छ ।
फूल लगाउने, गोडमेल गर्ने तथा टिप्नेदेखि माला उन्ने कार्यमा स्थानीयलाई रोजगारसमेत दिने गरेको सीतारामले बताउनुभयो । कैलाली जिल्लाबाहेक बर्दिया, बाँकेलगायतका जिल्लामा समेत उहाँको ‘इन्द्रेणी पुष्पखेती फार्म’बाट फूल बिक्री हुने गरेको छ । सुरुआतमा गाउँलेको प्रतिक्रियाले उहाँलाई हतोत्साहित गरेको थियो । धेरैले सीतारामलाई ‘फूल बेचेर के कमाइ हुन्छ र’ भन्ने गर्दथे । तर समयसँगै उहाँको प्रयासको मूल्य सबैले देखे ।
“अब धेरैले मलाई पछ्याइरहेका छन् । मेरो खेती हेरेर अन्य किसानले पनि फूलखेती सुरु गरेका छन”, सीताराम भन्नुहुन्छ । उहाँको लक्ष्य अब फूलखेतीलाई अझ व्यावसायिक रूप दिनु हो । तिहारपछि पुष्प व्यवसायी सङ्घ गठन गर्ने योजनामा उहाँ हुनुहुन्छ । अब त यो पेसा केवल आम्दानीका लागि होइन, मेरो पहिचान बनिसकेको छ । टीकापुरमा फूल भन्ने बित्तिक्कै जोकोहीले पनि मलाई सम्झन्छन्”, उहाँले भन्नुभयो, “फूलखेतीले मेरो जीवनलाई रङ्गीन मात्रै बनाएको छैन । आर्थिकरुपमा बलियोसमेत बनाएको छ ।

सरकारले तोकेको समर्थन मूल्यभन्दा हजार सस्तोमा धान बेच्न बाध्य किसानहरू

कात्तिक ३ गते । सरकारले धानको समर्थन मूल्य तोके पनि किसानले सर्मथन मूल्यभन्दा कम मूल्यमा धान बेच्न बाध्य छन् । स्थानीय व्यापारीले धानको मूल्य कम लगाउँदा सर्मथन मूल्यभन्दा एक हजार सस्तोमा किसानहरू धान बेच्न बाध्य भएका हुन् ।

धान बेचेर तिहार खर्च जुटाउने किसानहरू यतिबेला मर्कामा परेका छन् । धान खरिद गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र स्थानीय सहकारीहरूले धान खरिद सुरु नगर्दा व्यापारीहरूलाई कम मूल्यमा धान बेच्न किसानहरू बाध्य भएका हुन् । मूल्य वृद्धिका लागि समय कुर्न भण्डार गर्ने स्थान नभएको र तिहार खर्च जुटाउन गाह्रो भएकाले धान बेच्नु परेको किसानहरू बताउँछन् ।

गुलरिया नगरपालिका–२, पण्डिपुरकी सीता खत्रीले तिहार खर्च नभएर सस्तोमा धान बेचेको बताउनुभयो । उहाँले धानको मूल्य नपाएर प्रतिक्विन्टल दुई हजार पाँच सयका दरले धान बेचेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले मोटा धानको मूल्य तीन हजार चार सयभन्दा बढी तोके पनि किसानले पाएका छैनन् ।”

किसानले सस्तो मूल्यमा धान बिक्री गरिरहँदा पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड राजापुरले धान खरिदको सुरुवात गरेको छैन । गत वर्ष पनि कार्तिक मध्येतिरबाट धान खरिद गरेको कम्पनीले यस वर्ष पनि तिहारपछि धान खरिदको सुरुवात गर्ने जनाएको छ ।

कम्पनीका निमित्त प्रमुख चेतमान कठायतले तिहारपछि राजापुर क्षेत्रका तीन स्थानबाट धान खरिदको सुरुवात गरिने बताउनुभयो । उहाँले यस वर्ष एक लाख क्विन्टल धान खरिद लक्ष्य आएको बताउँदै किसानलाई आत्तिएर धान सस्तो मूल्यमा नबेच्न आग्रह गर्नुभयो ।

गत वर्ष एक लाख क्विन्टल धान खरिदको लक्ष्य भए पनि किसानले धान बेच्न नल्याउँदा ३७ हजार क्विन्टल मात्र खरिद गर्न सकिएको निमित्त प्रमुख कठायतले बताउनुभयो । सरकारले यस वर्ष मोटा धान प्रतिक्विन्टल तीन हजार चार सय ६३ रुपियाँ, मध्यम धान प्रतिक्विन्टल तीन हजार छ सय २८ रुपियाँ तोकेको छ ।

टिकापुरका सीताराम चौधरी : फूलखेतीबाट गाउँमा प्रेरणाको सुगन्ध

घोडाघोडी (कैलाली), कात्तिक ३ गते । कैलालीको टिकापुर नगरपालिका-१ वनगाउँका सीताराम चौधरीको जीवन अहिले फूलले रङ्गीन बनेको छ । आठ वर्षअघि सुरु गरेको सानो प्रयास आज उहाँका लागि मात्र होइन गाउँकै लागि प्रेरणाको स्रोत बनेको छ ।

वि.सं.२०७४ देखि फूलखेती सुरु गर्नु भएका सीतारामको बारीभरि अहिले सयपत्री र मखमली फूल ढकमक्क फुलेका छन् । उहाँ भन्नुहुन्छ, “एक लाख लागतमा फूलखेती सुरु गरेको थिए । पहिलो वर्ष त नतिजा कस्तो आउला भनेर डर लागेको थियो । तर विस्तारै सिक्दै गएँ र अनुभवसँगै आत्मविश्वास बढ्दै गयो । अब यो मेरो पहिचान नै बनेको छ”, उहाँले भन्नुभयो ।

फूलखेतीले सीतारामलाई केवल आम्दानी मात्र दिएको छैन, जिल्लामा फूल व्यवसायीको रूपमा स्थापित समेत बनाएको छ । अहिले सीताराम पुष्प व्यवसाय प्रशिक्षकको रूपमा स्थापित हुनुहुन्छ । तिहारमा विशेष गरी मखमली र सयपत्रीको माग बढी हुने भएकाले बढीजसो यी फूल उत्पादन हुन्छन् । “फूल बिक्री गर्न समस्या छैन, बरु माग धान्न सकिएको छैन”, तिहारका लागि फुलको माला बेच्न सुरु गरिसकेको बताउदै सीतारामले भन्नुभयो, “प्रतिमाला १३० र प्रतिकिलो ६०० को दरले बिक्री गरिरहेका छाँै ।”

सयपत्री र मखमली फुलबाट एउटा याममा ४ लाख बढी आम्दानी हुने गरेको उहाँले बताउनुभयो । एउटा बोटबाट चार वटासम्म माला बनाउन सकिन्छ । आवश्यकता अनुसार फूल उपलब्ध गराउने सीतारामले फूल खेतीबाट मनग्य आम्दानी हुन थालेपछि व्यवसाय बढाउँदै लैजानुभएको छ । उहाँ भन्नुहुन्छ, “धान, गहुँ र तोरी खेती पनि गरेको छु, तर फूलखेतीबाट सोचे जस्तै आम्दानी भइरहेको छ ।”

दश कट्ठा जमिनबाट व्यवसाय सुरु गर्नु भएका सीतारामले अहिले एक बिघा पाँच कट्ठामा फूलखेती गर्दै आउनुभएको छ । सजावटमा प्रयोग हुने कट फ्लावर ( तारबारे, गुलाफ, जोखेडा र गोदावरी) पनि उहाँले लगाउनुभएको छ । फूल उत्पादनदेखि प्याकिङसम्मको तालिम लिनुभएका सीतारामले फूलखेती सँगसँगै माला, बुकी बनाउने, विवाहको गाडी सजाउने, मञ्च सजाउने कार्यका साथै अरूलाई तालिम दिने समेत गर्नुहुन्छ । उहाँको अनुभवमा प्राकृतिक फूल स्थानीय स्तरमै पाउन थालेपछि अहिले कृत्रिम फूलको प्रयोग घट्दै गइरहेको छ ।

फूल लगाउने, गोडमेल गर्ने तथा टिप्नेदेखि माला उन्ने कार्यमा स्थानीयलाई रोजगारसमेत दिने गरेको सीतारामले बताउनुभयो । कैलाली जिल्लाबाहेक बर्दिया, बाँकेलगायतका जिल्लामा समेत उहाँको ‘इन्द्रेणी पुष्पखेती फार्म’बाट फूल बिक्री हुने गरेको छ । सुरुआतमा गाउँलेको प्रतिक्रियाले उहाँलाई हतोत्साहित गरेको थियो । धेरैले सीतारामलाई ‘फूल बेचेर के कमाइ हुन्छ र’ भन्ने गर्दथे । तर समयसँगै उहाँको प्रयासको मूल्य सबैले देखे ।

“अब धेरैले मलाई पछ्याइरहेका छन् । मेरो खेती हेरेर अन्य किसानले पनि फूलखेती सुरु गरेका छन्”, सीताराम भन्नुहुन्छ । उहाँको लक्ष्य अब फूलखेतीलाई अझ व्यावसायिक रूप दिनु हो । तिहारपछि पुष्प व्यवसायी सङ्घ गठन गर्ने योजनामा उहाँ हुनुहुन्छ । अब त यो पेसा केवल आम्दानीका लागि होइन, मेरो पहिचान बनिसकेको छ । टीकापुरमा फूल भन्ने बित्तिक्कै जोकोहीले पनि मलाई सम्झन्छन्”, उहाँले भन्नुभयो, “फूलखेतीले मेरो जीवनलाई रङ्गीन मात्रै बनाएको छैन । आर्थिकरुपमा बलियोसमेत बनाएको छ ।” रासस 

बाजुराका किसानले स्याउ बिक्रीबाट एक करोड २० लाख आम्दानी

शेरबहादुर सार्की
बाजुरा, असोज ३१ गते । 
बाजुराका किसानले स्याउ बिक्री गरेर एक करोड २० लाख आम्दानी गरेका  छन् । यहाँको हिमाली, स्वामिकार्तिक खापर, जगनाथ, बुढीनन्दा, खप्तड छेडेदह गौमुलका किसानहरु  स्याउ उत्पादन गरी देशका विभिन्न सहरमा बिक्री गर्दै आएका छन् ।

यहाँका किसानले यो वर्षमा पनि गाउँमै उत्पादन गरेको अर्गानिक स्याउ देशका विभिन्न सहरमा बिक्री गरेर झण्डै एक करोड २० लाख रुपियाँ आम्दानी गरेका हुन् ।

यहाँ एक वर्ष राम्रो स्याउ फल्ने र अर्को वर्ष अति कम फल्ने गर्छ । अधिल्लो वर्षमा स्याउ राम्रो उत्पादन भएको थियो भने यो वर्ष अलि त्योभन्दा कम स्याउ उत्पादन भएको किसान बताउँछन् ।

गत भदौ १५ गतेदेखि स्याउ पाक्न सुरु भएको थियो । तर बाटो बन्द भएकोले त्यो स्याउ समयमै बिक्री गर्न लागि बजारसम्म पुर्‍याउन नसकेपछि घाटा बेर्होनु परेको बुढीनन्दा नगरपालिका स्याउ किसान मानबहादुर रावतले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यहाँका स्याउ किसानको मुख्य समस्या भनेकै बाटो र बजारीकरण हो । यहाँ किसानले  प्रत्येक वर्षमा स्याउ राम्रो उत्पादन गर्छन् । तर त्यो उत्पादन गरेको स्याउ बाहिर लानका लागि प्रत्येक वर्षमा बाटो हुँदैन । त्यसैले किसानलाई यी दुई समस्या नहुने हो भने उनीहरुले अन्य खेती छोडेर पनि स्याउ उत्पादन गर्थे ।”

गत वर्षमा पनि स्याउ पाकेर सकिने बेलामा बाटो खुल्यो । यो वर्षमा पनि त्यसै भयो । यता कर्णाली करिडोरको बाटो खुलेको भएर किसानलाई सहज भयो । त्यतिदेखि स्याउ बजारमा बिक्री गर्दा पनि यहाँका किसाने दुई चार लाख रुपियाँ आम्दानी गरेको रावतले बताउनुभयो ।

यो वर्षमा स्वामिकार्तिक खापर गाउँपालिकाका किसानले मात्र ४० लाख बराबरको स्याउ बिक्री गरेको स्वामिकार्तिक खापर गाउँपालिका कृषि विकास शाखा प्रमुख विनोद शाहीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यहाँ झण्डै दुई हजारभन्दा बढी घरधुरी छ । त्यसमा झण्डै १६ सय परिवारले स्याउ लगाउँछन् ।” यहाँ यती बेला १२ ट्रक स्याउ कर्णाली करिडोरदेखि सुर्खेत, नेपालगञ्ज धनगढीलगायतका सहरमा बिक्री हुँदा किसाने ४० लाख आम्दानी गरेको शाहीले बताउनुभयो ।

बाजुराको हिमाली, स्वामिकार्तिक खापर, जगनाथ, बुढीनन्दा नगरपालिकाका स्याउ राम्रो उत्पादन हुन्छ । यहाँका बुढीगङ्गा, खप्तड छेडेदह, बडिमालिका र गौमुलमा स्याउ उत्पादन हुने गरेको भए पनि यहाँभन्दा बढी स्याउ मल्लो क्षेत्रमा हुन्छ ।

बुढीनन्दा, स्वामिकार्तिक र जगनाथ गाउँपालिकामा यहाँ अन्य स्थानीय तहभन्दा बढी राम्रो स्याउ उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

बाजुरामा झण्डै पाँच सय चार हेक्टर जमिनमा स्याउ खेती हुने गरे पनि उत्पादन भने दुई सय हेक्टरमा मात्र हुने गरेको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहनीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो वर्षमा बाजुरामा एक सय पचास मेट्रिक टन स्याउ उत्पादन भएको छ । गत वर्षभन्दा यो वर्ष अलि कम उत्पादन भएको हो । यो वर्ष बाजुराका स्याउ किसानले स्याउ बिक्री गरेर झण्डै एक करोड पचास लाखभन्दा बढी रकम प्राप्त गरेको साहनीले बताउनुभयो ।