बर्दीबासमा यात्रुबस दुर्घटना : २ को मृत्यु, २६ घाइते

रवीन्द्र उप्रेती

बर्दिबास, असोज १७ गते । बर्दीबास -१० खयरमारामा अहिले विहान यात्रु बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १३ महिलासहित २६ जना घाइते भएका छन् ।

घाइतेहरुलाई बर्दीबासस्थित शुभ स्वस्तिक अस्पतालमा भर्ना गरिएको छ । अस्पतालका चिकित्सकले दिएको जानकारीअनुसार घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर छ ।

जिल्ला ट्राफिक प्रमुख लक्ष्मीराज जोशीका अनुसार बसको ठक्करबाट खयरमारा १० का ६५ वर्षिय पैदलयात्रु चुल्हाई चौधरीको घटनास्थलमै मृत्यु भएको छ । त्यस्तै उपचारको क्रममा बसमा सवार ईश्वरपुर १२ का १० वर्षिय प्रमिस खडकाको शुभ स्वस्तिक अस्पतालमा मृत्यु भएको छ ।

अस्पताल प्रमुख प्रदीप कार्कीका अनुसार बालक खडकाको टाउकोमा गहिरो चोट लागेको छ । जिल्ला ट्राफिक प्रमुख जोशीकाअनुसार खयरमाराबाट काठमाडौंतर्फ जाँदैगरेको ना ६ ख १४६४ नम्बरको यात्रुबस आज विहान बर्दीबास १० खयरमारास्थित लक्ष्मीनारायन माध्यमिक विधालयको पर्खाल भत्काउँदै नरिवलको रुखमा ठोकिएर दुर्घटना भएको हो ।

दुर्घटनाको कारण स्पष्ट हुन सकेको छैन । प्रत्यक्षदर्शीका अनुसार तीव्र गतिका कारण चालकले सन्तुलन गुमाउन गएका कारण दुर्घटना भएको हुनसक्छ । ट्राफिक प्रमुख जोशीले बसका सबै स्टाफ फरार रहेकाले उनीहरुको खोजी भइरहेको बताउनुभयो । दुर्घटनाबारे थप विवरण आउनेक्रम जारी छ ।

खर्च कटौतीको निर्णयले सुदूरपश्चिममा दुई अर्ब बचत

अविनाश चौधरी

धनगढी, असोज १६ गते। खर्च कटौतीको निर्णयले सुदूरपश्चिम प्रदेशमा करिब दुई अर्ब रुपियाँ बचत भएको छ। जेनजी आन्दोलनको क्रममा प्रदेश संरचनाका विभिन्न कार्यालय र मन्त्रालयमा क्षति भएपछि सरकारले खर्च कटौती गर्ने निर्णय गरेको थियो।

प्राथमिकताबिहीन खर्च कटौती गर्ने निर्णयले दुई अर्ब रुपियाँ बचत भएको मुख्यमन्त्रीका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्मर बमले जानकारी दिनुभयो।

बचत रकमले क्षति भएका मन्त्रालय र कार्यालयका पुननिर्माणमा सहयोग पुग्ने जनाइएको छ। भदौ २४ गते प्रदर्शनकारीले प्रदेश सभा, प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, आर्थिक मामिला मन्त्रालय लगायतका सरकारी कार्यालयमा आगजनी र तोडफोड गरेर क्षति पु¥याएका थिए।

खर्च कटौतीका लागि प्रदेश सरकारले मातहतका निकायबाट उपभोक्ता समितिमार्फत सञ्चालन हुने आयोजना पनि कार्यान्वयन नगर्ने नीति लिएको छ। यसैगरी, छपाइ तथा प्रकाशनतर्फ ७० र बैठक भत्ता, भ्रमण भत्ता, अनुगमन तथा मूल्याङ्कन, तालिम, गोष्ठी, सेमिनार लगायतमा ५० प्रतिशत कटौती गर्ने प्रदेश सरकारले निर्णय गरेको छ।

अनुभव आदान–प्रदान, अन्तरप्रदेश भ्रमण, दिवस तथा उत्सव मनाउने जस्ता कार्यक्रम पनि नगर्ने सरकारले निर्णय गरेको छ। यी विभिन्न निर्णयले धेरै रकम बचतमा सहयोग पुगेको बमले उल्लेख गर्नुभयो।

दशैँ मिलन तथा प्रथम खुल्ला डे–पेनाल्टी सुटआउट फुटबल प्रतियोगिता २०८२ हुने

कैलाली ।
दशैँको अवसर पारेर कैलालीमा दशैँ मिलन तथा प्रथम खुल्ला डे–पेनाल्टी सुटआउट फुटबल प्रतियोगिता २०८२ हुने भएको छ। प्रतियोगिता असोज १४ गते बिहान ११ बजेबाट घोडाघोडी नगरपालिका–१ जनकपुर गाउँस्थित मैदानमा सुरु हुने आयोजकले जनाएको छ।

आयोजक सुखी युवा क्लब र जनकपुर गाउँ समाजका अनुसार प्रतियोगितामा सहभागिता जनाउनका लागि इन्ट्री शुल्क रु १,००० तोकिएको छ। टोलीले पहिलो चरणको खेल नसकिँदै पुनः रि-इन्ट्री गर्दा शुल्क रु ७०० मात्र लाग्नेछ। प्रत्येक टिममा अधिकतम ६ जना खेलाडीको नाम दर्ता गर्न पाइने व्यवस्था गरिएको छ।

प्रतियोगितामा विजेता हुने टोलीले नगद रु १०,५०० सहित बाख्रा प्राप्त गर्नेछ भने द्वितीय हुने टोलीले रु ५,५०० सहित बाख्रा पाउनेछ। यस्तै, तृतीय हुने टोलीलाई रु २,५०० सहित बाख्रा र चौथो हुने टोलीलाई रु १,५०० सहित ४ केजी बोइलर उपलब्ध गराइनेछ।

प्रतियोगिताको मुख्य प्रायोजक घोडाघोडी इट्टा उद्योग, जोशीपुर–७ घैला रहेको आयोजकले जानकारी दिएको छ।

विरहुवा सामुदायिक वनबाट घोडाघोडी–७ वडा कार्यालयलाई सहयोग

कैलाली, घोडाघोडी ।
जेन जि आन्दोलनका क्रममा आगजनी भएर सामग्री नष्ट भएको घोडाघोडी नगरपालिका–७ नं वडा कार्यालयलाई सामुदायिक सहयोग प्राप्त भएको छ। वडा कार्यालयलाई श्री विरहुवा सामुदायिक वन उपभोक्ता समूह करैचाले १२ वटा प्लास्टिकका कुर्सी हस्तान्तरण गरेको हो।

समूहका पदाधिकारी तथा उपभोक्ताहरुले वडाको तत्कालीन आवश्यकता बुझी सामुदायिक उत्तरदायित्वस्वरूप सहयोग गरेको जनाइएको छ।

वडा नं ७ का वडाध्यक्ष जुगराम चौधरीले सामुदायिक वन उपभोक्ता समूहप्रति आभार व्यक्त गर्दै यस्तो सहयोगले वडा कार्यालयको नियमित सेवा सञ्चालनमा सहज हुने बताए।

गड्डाचौकी नाकामा भारतीय नम्बर प्लेटका सवारी साधनमा ‘टाइम कार्ड’ प्रणाली लागू

भवानीदत्त भट्ट

कञ्चनपुर, असोज ७ गते । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सीमा नाका गड्डाचौकी भएर महेन्द्रनगर आउने भारतीय नम्बर प्लेटका सवारी साधनमा ‘टाइम कार्ड’ प्रणाली लागु गरेको छ । गड्डाचौकी नाका भएर नेपाली यात्रु बोकेका भारतीय नम्बर प्लेटका सवारी साधनले ‘टाइम कार्ड’ का आधारमा नेपाल प्रवेश गर्न पाउने भएका हुन् ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले चाडपर्वलाई मध्यनजर गर्दै टाइम कार्डका आधारमा भारतीय सवारी साधनले नजिकका सहर सम्म यात्रुहरू छोड्न पाउने व्यवस्था मिलाइएको बताउनुभयो ।

यसअघि गत साउन महिना यता सुरक्षा संवेदनशीलताको कारण देखाउँदै जिल्ला प्रशासन कार्यालयले गड्डाचौकी नाका भएर भारतीय सवारी साधन नेपाल प्रवेशमा पूर्णतया रोक लगाएको थियो ।

रोजगारीका लागि भारतमा रहेका नेपालीहरू चाडपर्व मनाउन कञ्चनपुर आउने क्रम बढ्दै गए पनि नाकामा भारतीय नम्बर प्लेटका गाडीहरू प्रवेश गर्न नपाउँदा उनीहरूले झन्डै २ किलोमिटर पैदल आउनुपर्ने बाध्यता थियो । पिठ्युँमा सामान बोकेर पुलदेखि नेपाल तर्फ पैदल आउँदा सास्ती बेहोर्दै आएका नेपालीहरूले केही सहजता भएको बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले भन्सार महसुल ऐन, २०८१ बमोजिम भारतीय नम्बर प्लेटका सवारी साधनलाई नजिकको बजार सम्म आउने जाने कार्यका लागि टाइम कार्ड प्रणाली लागु गरिएको बताउनुभयो ।

भारतबाट सवारी बोकेर ल्याएका सवारी साधनले छोटो समयका लागि नजिकको बजार महेन्द्रनगर, सुडा वा दैजी सम्म छोड्न पाउने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रनाउ बोहराले बताउनुभयो । तर नेपालबाट भने ती सवारी साधनले यात्रुहरू भारत तर्फ बोक्न नपाउने प्रनाउ बोहराले बताउनुभयो ।

चितवनको तुइनखोलामा भीषण सुक्खा पहिरो, नारायणगढ–मुग्लिन सडक अनिश्चितकालका लागि बन्द

७ असोज, काठमाडौं । तुइनखोलामा भयंकर सुक्ख पहिरो खसेसँगै नारायणगढ–मुग्लिन सडकखण्ड अनिश्चितकालका लागि बन्द भएको छ ।

मंगलबार दिउँसो ३:२० बजे खसेको भयंकर सुक्खा पहिरोले सडक समेत भासिने जोखिम बढेको चितवनको एसपी गोविन्द पुरीले जानकारी दिए ।

एसपी पुरीले अनलाइनखबरसँग भने, ‘तुइनखोलामा अत्यन्तै ठूलो पहिरो खसेको  छ । सुक्खा पहिरो खसेका कारण सडक नै भासिने जोखिम बढेको छ । जसका कारण तत्कालै सडक खुल्ने कुनै सम्भावना छैन ।’

सडक खुल्न कति दिन लाग्ने भन्ने कुनै निर्क्योल  गर्न नसकिने अवस्था रहेको उनको भनाइ छ ।

यसविषयमा निर्णय  लिन सडक विभागको टोलीसहित सुरक्षा समितिको बैठक अहिले बसिरहेको एसपी पुरीले बताए ।

चितवनको इच्छाकामना गाउँपालिका-५ तुइनखोलास्थित सडकमा माथिबाट अहिले पनि निरन्तर सुख्खा पहिरो खसिरहेकाले सडक नै भासिन सक्ने  जोखिमका कारण सवारीसाधनलाई  फिर्ता गरेर वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरिएको उनले बताए ।

ठूलो सुक्खा पहिरो सडकमाथिबाट निरन्तर खसिरहेकोले पन्छाउन पनि कठिनाइ भएको उनले बताए ।

 

सुदूरपश्चिम प्रदेश लगानी सम्मेलन अन्योलमा: आगजनीपछि आयोजनासम्भावना शून्य

धनगढी, असोज ६ गते  । सुदूरपश्चिम प्रदेश सरकारले आगामी मङ्सिरमा आयोजना गर्ने भनिएको सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलन अन्योल बनेको छ ।  जेनजी आन्दोलनका क्रममा प्रदेशअन्तर्गतका भौतिक संरचना ध्वस्त पारिएपछि प्रदेश लगानी तथा विकास सम्मेलन अन्योल बनेको हो । प्रदेश सरकारले आउने मङ्सिर १ र २ गते सुदूरपश्चिम प्रदेश विकास तथा लगानी सम्मेलन धनगढीमा आयोजना गर्ने निर्णय गरेको थियो । लगानी सम्मेलनका लागि विगत तीन वर्षदेखि तयारी हुँदै आएको थियो ।

मुलुकमा उत्पन्न विषम परिस्थितिका कारण अब लगानी तथा विकास सम्मेलन नै नहुने वातावरण सिर्जना भएको छ । आर्थिक मामिला राज्यमन्त्री प्रकाशबहादुर बमले अब लगानी तथा विकास सम्मेलन हुने सम्भावना नरहेको उल्लेख गर्नुभयो । “पछिल्लो परिस्थितिका कारण सम्मेलन आयोजना गर्ने अवस्था छैन,” उहाँले भन्नुभयो, “यस्तो विध्वंस देखिसकेपछि विदेशीहरू लगानी गर्न आउँदैनन् ।”

सुदूरपश्चिम प्रदेशको समृद्धिका लागि स्वदेशी तथा विदेशी लगानी भिœयाउने उद्देश्यका साथ प्रदेश सरकारले प्रदेश लगानी तथा विकास सम्मेलन आयोजना गर्ने जमर्को गरेको थियो तर दुई÷तीन वर्षको तयारी अब औचित्यहीन बन्ने लगभग निश्चित छ । परिस्थिति अनुसार चल्नुपर्ने कारणले अब लगानी सम्मेलन आयोजनाको सम्भावना नरहेको राज्यमन्त्री बमको जिकिर छ । “धेरै कुराले अप्ठ्यारो हुने भएकाले अब लगानी सम्मेलन हुँदैन,” उहाँले भन्नुभयो ।

सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलनको तयारीस्वरूप प्रदेश सरकारले गएको जेठ २१ गते प्रिसम्मेलन पनि आयोजना गरेको थियो । प्रदेश सरकारले लगानी तथा विकास सम्मेलनका लागि विभिन्न नौ वटा क्षेत्र पनि पहिचान गरेको थियो । त्यस्तै लगानी तथा विकास सम्मेलनका लागि मौजुदा केही कानुन संशोधन र केही नयाँ कानुन निर्माणका लागि गृहकार्य अगाडि बढाइएको थियो ।

लगानीमैत्री वातावरण बनाउन नयाँ कानुन निर्माण र पुराना कानुन संशोधनभन्दा पनि अब सम्मेलन नै आयोजना गर्ने वातावरण नरहेको लगानी तथा विकास सम्मेलन आयोजक समिति अन्तर्गतको नीति तथा कानुन परिमार्जन सिफारिस उपसमितिका संयोजक डा. ताराप्रसाद जोशीले बताउनुभयो । “मुलुकको यो अवस्था देखिसकेपछि विदेशी लगानी गर्न आउलान् जस्तो मलाई लाग्दैन,” उहाँले भन्नुभयो, “त्यसकारण सम्मेलन सम्भवतः हुँदैन ।”

आन्दोलनकारीको आगजनीबाट सुदूरपश्चिम प्रदेश सभासहित, मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, विभिन्न मन्त्रालय नष्ट भएका छन् । पुनर्निर्माणपछि मात्रै प्रदेश सभा सञ्चालन हुन सक्ने अवस्थाका कारण तत्काल कुनै पनि नयाँ कानुन बनाउने वा पुराना कानुन संशोधन गर्न सकिने सम्भावना पनि छैन । सभामुख भीमबहादुर भण्डारीले प्रदेश सभा ९० प्रतिशत ध्वस्त भएका कारण पुनर्निर्माणबिना प्रदेश सभा बैठक सञ्चालन हुन नसक्ने बताउनुभएको छ ।

कैलालीमा २ लाख नागरिकका राष्ट्रिय परिचयपत्र जलेर नष्ट

अविनाश चौधरी

धनगढी, असोज ५ गते । कैलालीमा दुई लाख नागरिकका राष्ट्रिय परिचयपत्र जलेर नष्ट भएको छ । जेनजी आन्दोलनको क्रममा सरकारी कार्यालयमा आगजनी गरिएपछि राष्ट्रिय परिचयपत्र जलेर नष्ट भएको हो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार फिल्डको एक लाख ६० हजार र जिल्ला प्रशासन कार्यालयमा रहेको ४० हजार राष्ट्रिय परिचयपत्रलाई आन्दोलनकारीले जलाएका छन् ।

छापिएका राष्ट्रिय परिचयपत्रहरू विभिन्न पालिकाको वडाबाट पनि वितरणको कार्य चलिरहेको थियो । जलेर नष्ट भएका परिचयपत्रहरू सरकारले पुनः छापेर पठाउने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताउनुभयो ।

“परिचयपत्र जले पनि विवरणहरू सुरक्षित छ” उहाँले भन्नुभयो, “जलेका परिचयपत्र सरकारले पुनः छापेर पठाउँछ ।” जिल्ला प्रशासन कार्यालयमा रहेको पुरानो भवनबाट राष्ट्रिय परिचयपत्रको काम हुँदैआएको थियो ।

राणाकालमा बनेको सो भवन आगजनीबाट नष्ट भएको छ । भवन नष्ट भएपछि राष्ट्रिय परिचयपत्रसहित त्यससँग सम्बन्धित कागजात, उपकरण जलेर नष्ट भएको जोशीले जानकारी दिनुभयो ।

वन पैदावार बिक्री रोक्काको निर्णय: अनियमितता नियन्त्रण कि सरुवा विवादको ढाकछोप ?

कैलाली, ३ असाेज /

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले डिभिजन वन कार्यालय कैलाली र पहलमानपुर मार्फत हुने वन पैदावारको लिलाम बिक्री-वितरण तत्काल रोक्न निर्देशन दिएको छ। भदौ ३० गते उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले अत्यन्त जरुरी भन्दै लेखिएको पत्र बाहिरिएको छ । मन्त्रालयका सचिवले पठाएको पत्रमा “अनियमितता नियन्त्रण” लाई प्रमुख कारणका रूपमा उल्लेख गरिए पनि, यस निर्णयको पछाडि गहिरो सरुवा विवाद र आन्तरिक शक्ति संघर्षले काम गरेको स्रोतको दाबी छ। यस घटनाले अहिले प्रदेश सरकारको वन व्यवस्थापनमाथि गम्भीर प्रश्नचिह्न खडा गरेको छ।

विवादको चुरो: डिभिजनल वन अधिकृतको सरुवा

हालैको डिभिजनल वन अधिकृतहरुको सरुवा प्रक्रियापछि कञ्चनपुरमा कार्यरत डिभिजनल वन अधिकृत रामविचारी ठाकुरलाई कैलाली, कैलालीका कृष्णदत्त भट्टलाई पहलमानपुर र पहलमानपुरका रामचन्द्र कडेललाई कञ्चनपुर सरुवा गरिएको थियो। अवधि नपुग्दै निजामती सेवा नियमावली विपरित दस महिनामै सरुवा गरिएको भन्दै भट्ट र कडेलले उच्च अदालत दिपायलमा रिट दिएका थिए । उच्च अदालतले रिट उपर प्रारम्भिक सुनुवाई गर्दै भदौ ५ गते उक्त सरुवा निर्णय कार्यान्वयन नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गरेको थियो ।

अदालतको आदेश पश्चात् मुख्यमन्त्री कार्यालयले समेत भदौ ९ गते तीनवटै डिभिजन वन कार्यालयलाई पत्र लेख्दै सरुवा निर्णय कार्यान्वयन नगर्नु भनेको थियो ।

जेनजेड आन्दोलनका कारण अनिश्चित बनेको अदालतको सुनुवाईको फाईदा उठाउदै यता मुख्यमन्त्रीले नै सरुवा कार्यान्वयन गर्न अनेक दबाब दिईरहेका छन् । ठाकुर भदौ ६ गते नै कैलालीमा हाजिर समेत भए । अदालतको अन्तरिम आदेश पश्चात् उनी हाल न त कञ्चनपुरमै हाजिर भएका छन् न त कैलालीबाटै आफ्नो ठाँउ छाडेका छन्। हाल उनी कहाँ हाजिर छन् भन्ने कुरा सम्बन्धित मन्त्रालय र मुख्यमन्त्री कार्यालय समेत अनभिज्ञ छ । स्रोतका अनुसार, ठाकुरलाई जसरी पनि कैलालीमै यथावत राख्नुपर्ने चर्को दबाब मन्त्रालयमा परेको थियो। यसै दबाबका कारण सचिवमार्फत वन पैदावार रोक्का गर्ने पत्र काटिएको र यसमा मुख्यमन्त्रीकै प्रत्यक्ष निर्देशन तथा संरक्षण रहेको गम्भीर आरोप लागेको छ। “यो निर्णय प्रशासनिक सुधारका लागि नभई, डिभिजनल वन अधिकृत कृष्णदत्त भट्ट र रामचन्द्र कडेललाई दबाबमा पार्ने रणनीति मात्र हो,” नाम उल्लेख नगर्ने शर्तमा स्रोतले दाबी गर्यो। उनका अनुसार, सचिवले वन पैदावारको बाह्य बिक्री वितरण रोक्ने निर्णय लिएर एकातर्फ वन क्षेत्रमा अनियमितता व्याप्त रहेको स्वीकार गरेका छन् भने अर्कोतर्फ आफ्नो पदीय शक्तिको दुरुपयोग गर्दै सरुवा विवादलाई ढाकछोप गर्ने प्रयत्न गरेका छन्। अनियमितता भएको भए सम्बन्धित कर्मचारीलाई कारबाही गर्ने ओहोदामा बसेका सचिवले नै यसरी अनियमितताको नाममा वन पैदावार रोक्का गरेपछि यो विषय थप जटिल र विवादित बनेको छ।

सामुदायिक र साझेदारी वनमा चिन्ता:

वन पैदावार रोक्काको यो आकस्मिक निर्णयले अहिले सामुदायिक र साझेदारी वन उपभोक्ता समूहहरूलाई गम्भीर समस्यामा पारेको छ। वन पैदावारको नियमित आपूर्ति अवरुद्ध भएपछि स्थानीय सामुदायिक र साझेदारी वन समूहहरु र वन पैदावार व्यवसायीहरूले चर्को असन्तुष्टि जनाउन थालेका छन्। उनीहरूले तत्काल यो निर्णय सच्याउन माग गर्दै वैकल्पिक व्यवस्थाका लागि सरकारलाई दबाब दिने तयारी गरिरहेका छन्।

मन्त्रालयभित्रै तीव्र आलोचना:

मन्त्रालयभित्रै सचिवको यो कदमलाई लिएर तीव्र आलोचना सुरु भएको छ। अधिकांश कर्मचारीहरूले यस निर्णयलाई “राजनीतिक निर्देशनअनुसारको प्रशासनिक निर्णय” भन्दै यसले मन्त्रालयको निष्पक्ष कार्यसम्पादनमाथि गम्भीर असर पुर्याएको बताएका छन्। उनीहरूका अनुसार, यस प्रकारको निर्णयले कर्मचारीतन्त्रमा राजनीतिक हस्तक्षेपलाई बढावा दिने र दीर्घकालमा वन व्यवस्थापनमा नकारात्मक प्रभाव पार्ने निश्चित छ। वन पैदावार रोक्काको यो निर्णयले केवल अनियमितताको प्रश्न मात्र नउठाएर प्रदेश सरकारको कार्यशैली, कर्मचारी सरुवामा हुने राजनीतिक हस्तक्षेप र यसका कारण उत्पन्न हुने दूरगामी असरहरूलाई समेत सतहमा ल्याएको छ।

“जेनजी आन्दोलनपश्चात कैलालीको यातायात, नापी र मालपोत कार्यालय आंशिक रुपमा सञ्चालन”

युवा पुस्ता (जेनजी) आन्दोलनको क्रममा आगजनीबाट क्षति भएको कैलालीको यातायात व्यवस्था कार्यालयले आजबाट केही सेवा सुचारु गरेको छ ।

आगजनीपछि हप्ता दिनसम्म सेवा दिन नसकेको सो कार्यालयले सरसफाइ र मर्मतपछि केही सेवा पुनः सुरु गरेको हो । सवारीसाधन नवीकरण, दर्ता, कर सङ्कलन तथा रुट परमिट, जाँचपासको काम सुरु भएको अधिकृत श्याम जोशीले जानकारी दिनुभयो ।

सवारीचालक अनुमतिपत्रको काम सुचारु गर्न भने अझै केही दिन लाग्ने जनाइएको छ । चालक अनुमतिपत्र सम्बन्धीको कुनै पनि काम सुचारु हुन नसकेको जोशीले बताउनुभयो । आगजनीबाट यातायात व्यवस्था कार्यालयमा करिब डेढ करोडको क्षति भएको जनाइएको छ ।

त्यस्तै, नापी कार्यालयको सेवा पनि आंशिक रुपमा सुचारु भएको छ । सो कार्यालयमा आगजनीका साथै कम्प्युटर लगायतका सामग्री तोडफोड गरिएको थियो । मालपोत कार्यालयको सेवा सुचारु भएपछि नापीले पूर्ण रुपमा सेवा दिने मालपोत अधिकृत जनकराज भट्टले बताउनुुभयोे ।

यसैबिच, मालपोत कार्यालयको सेवा सुचारु गर्न भने अझै एक हप्तासम्म समय लाग्न सक्ने जनाइएको छ । आगजनी र तोडफोड भएको कार्यालयमा मर्मतको काम चलिरहेको मालपोत अधिकृत प्रेमबहादुर दौल्यालले जानकारी दिनुभयो ।

संविधान दिवस २०८२: टुँडिखेलमा मूल समारोह, झाँकी कार्यक्रम स्थगित

३ असोज, काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८:३० बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना तय भएको छ । समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्नेछिन् ।

अहिलेको विशेष राजनीतिक परिस्थितिमा दिवसका अवसरमा झाँकीलगायत कार्यक्रम भने स्थगन भएका छन् ।

नेपाली जनताको लामो बलिदानीपूर्ण र लामो संघर्षको उपलब्धिस्वरुप संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते घोषणा भएको थियो । मुलुकमा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाले अथक मिहिनेत र लामो विवादपछि ‘नेपालको संविधान, २०७२’ जारी गरेको थियो ।

विसं २०७२ असोज ३ गते राति नयाँबानेश्वरस्थित तत्कालीन संविधानसभा बैठकस्थल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले संविधान जारी भएको घोषणा गरेका थिए ।

संविधान दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, विभिन्न राजनीतिक दलका शीर्ष नेता लगायतले शुभकामना दिएका छन् ।

कैलालीमा ५६ लाखभन्दा बढी मूल्यबराबरको भन्सार छलीका सामान बरामद

कैलाली —  कैलालीका विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद गरिएको छ ।  धनगढी उपमहानगरपालिका–४ र टीकापुर नगरपालिका–९ भैयावाडास्थित नहर नजिक भारतबाट अवैध रूपमा भित्र्याइएका ५६ लाखको ८३ हजार ५६० बराबरको सामान बरामद गरिएको हो।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलाली मातहतको संयुक्त टोलीले बुधबार गस्तीका क्रममा बेवारिसे अवस्थामा रहेका ती सामान फेला पारेको हो ।

बरामद गरिएका सामानमा मोबाइल, स्मार्ट घडी, एयरफोन, पावर ब्यांक, पेन ड्राइभलगायतका सामग्री रहेका छन्।