अछाममा बाघको आक्रमण: एक जना गम्भीर घाइते, स्थानीय त्रसित

एकेन्द्र महता
अछाम, साउन १८ गते । 
अछाममा बाघको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन् । जिल्लाको ढकारी गाउँपालिका– ४ घर भई हाल कैलालीको मोहन्याल गाउँपालिका–१ बस्ने ४९ वर्षीय धर्म सिंह थापा शनिबार दिउँसो बाघको आक्रमणमा परि गम्भीर घाइते भएका हुन् ।

थापा ससुराली दाउन्मोराबाट आफ्नो घर भिरमुड फर्किँदै गर्दा बसन्त सामुदायिक वनअन्तर्गतको बुकखोला डाँडामा दिउँसो करिब ३ बजे बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । आक्रमणका क्रममा थापाको दुवै गाला, टाउको र बायाँ हातको पाखुरामा गहिरो चोट लागेको बताइएको छ ।

उपचारका लागि घाइते थापालाई जिल्ला अस्पताल मंगलसेन पुर्‍याइएको थियो । थापा अचानक भएको बाघको आक्रमणमा परे पछि सो क्षेत्रमा स्थानीय बासी त्रसित बनेका छन् ।

सर्पदंशमा अझै झारफुकको भर, उपचारमा ढिलाइले ज्यान जाने जोखिम

अविनाश चौधरी

धनगढी, साउन १६ गते । कैलालीको ग्रामीण क्षेत्रमा सर्पदंशको उपचार गर्न नगहर गुरुवाको भर पर्ने परिपाटी अझै कायमै छ ।

सर्पले डसेका बिरामीलाई उपचारका लागि बेलैमा अस्पताल नपुर्‍याए अकालमै ज्यान जाने गरे पनि ग्रामीण क्षेत्रमा अझै झारफुकमा विश्वास गर्ने कार्य भइरहेको छ । उपचारको लागि तुरुन्त अस्पताल वा सर्पदंश उपचार केन्द्र लग्नुपर्ने चेतनाको विकास र नजिक अस्पताल नहुँदा नगहर गुरुवाको भर पर्ने कार्य भइरहेको हो ।

कतिपयले अस्पताल वा सर्पदंश उपचार केन्द्र नजिक नभएका कारण झारफुकबाट उपचारका लागि नगहर गुरुवाको भर पर्नुपर्ने बाध्यता छ । कतिपय भने अज्ञानताको कारणले नगहर गुरुवा कहाँ पुगिरहेका छन् ।

विषालु सर्पले टोकेमा चिकित्सकले आफ्नो निगरानीमा एन्टिस्नेकभेनम दिएर उपचार गर्ने गर्दछन् । त्यस्तै, सर्पदंशका बिरामीलाई भेन्टिलेटरमा राखेर उपचार गर्न आवश्यक हुने गर्दछ । तर, अस्पतालको पहुँचभन्दा अलि टाढा रहेका र अज्ञानतामा जेलिएका बासिन्दा भने सर्पदंश उपचारका लागि नगहर गुरुवाको झारफुकमा भर परिरहेका छन् । झारफुकमा भर पर्दा कतिपय बिरामीको ज्यानसमेत गइरहेको छ ।

कैलालीको लक्कर, बनकट्टा, बेनौली, दुधिया, पृथ्वीपुर, टप्पा, जोशीपुर लगायतका गाउँमा नगहर गुरुवाहरु रहेका जनाइएको छ । यी गुरुवाहरुले आफूकहाँ आएका सर्पदंशका बिरामीलाई झारफुकसहित विष चुसेर उपचार गर्दै आएका छन् । कैलारी गाउँपालिका–२ लक्कर गाउँका नगहर गुरुवा रामप्रसाद पछलडङ्ग्याले जति विषालु सर्पले डसे पनि समयमा आएका बिरामीलाई आफूहरुको समूहले निको पार्ने गरेको जिकिर गर्नुभयो । विगत ५० वर्षदेखि आफ्नो समूहले सर्पले टोकेमा विष चुसेर उपचार गर्दै आएको जनाउँदै उहाँले अहिलेसम्म धेरैलाई ठीक पारेको उल्लेख गर्नुभयो । “कैलालीमा हामी दुई सय जति नगहर गुरुवाले विष चुसेर उपचार गर्ने कार्य गर्दै आएका छौं”, पछलडङ्ग्याले भन्नुभयो ।

कैलालीमा सेती प्रादेशिक अस्पताल धनगढी, मालाखेती अस्पताल, अत्तरिया, टीकापुर अस्पताल, टीकापुर र गौरीगङ्गा नगरपालिकाको बडैपुरस्थित नेपाली सेनाको राष्ट्रिय विकास गण दल ब्यारेखस्थित बडैपुर सर्पदंश उपचार केन्द्रमा सर्पदंशको उपचार हुँदै आएको छ । सर्पदंशको उपचार सुविधा रहेका अस्पताल र उपचार केन्द्र प्रायः सहरी र सुविधा भएको क्षेत्रतिरमात्रै छन् । गाउँघरतिर सर्पले डसेमा बिरामीहरु अस्पताल नगई उपचारका लागि आफूहरुकहाँ नै आउने गरेको कैलारी गाउँपालिका–६ बेनौलीको नगहर गुरुवाका अगुवा तेजराम चौधरीले बताउनुभयो । उहाँले चार दशकदेखि यो काम गर्दै आएको जनाउँदै विष चुसेर कैयौंको ज्यान बचाइसकेको उल्लेख गर्नुभयो ।

सेती प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डा. शेरबहादुर कमरले सर्पदंशका बिरामीलाई उपचारका लागि सकेसम्म चाँडै पायक पर्ने अस्पतालमा नै पुर्‍याउन आग्रह गर्नुभएको छ । झारफुकमा भरपर्दा सर्पदंशका धेरै बिरामीले अकालमै ज्यान गुमाउने गरेको उहाँको भनाइ छ ।

कञ्चनपुरमा देखिएको जनावर चितुवा हुनसक्ने निष्कर्ष, बाघ खोजी टोली रित्तो हात फिर्ता

भवानीदत्त भट्ट

कञ्चनपुर, साउन १६ गते । कञ्चनपुरमा बाघको खोजीका लागि निस्किएको हात्तीसहितको टोली बेलौरीबाट फिर्ता भएको छ । बुधबार साँझदेखि बाघको खोजीमा निस्किएको तीन हात्तीसहितको टोली शुक्रबार दिउँसो रित्तो हात फिर्ता भएको हो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको कार्यालयले जिल्लास्थित बेलौरी नगरपालिका-९ आदर्श नगर र प्रगतिटोलमा देखिएको बाघको खोजीका लागि तीन हात्तीसहितको टोली परिचालन गरेको थियो । खोजीका लागि ‘रुपकली’ नामक पोथी हात्ती र दुई वटा भाले हात्ती (लव प्रसाद र सिद्ध प्रसाद) गरी तीन हात्तीसहितको टोली बेलौरी पठाइएको निकुञ्ज कार्यालयका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले बताउनुभयो । हात्तीसहितको टोलीले प्रगति टोल र आदर्शनगर हुँदै नजिकको उखुबारीमा दुई दिनसम्म खोजी गरेको थियो ।

बाघको कुनै सङ्केत समेत फेला नपरेपछि शुक्रबार उक्त क्षेत्रमा चितुवा हुनसक्ने भन्दै टोली फिर्ता बोलाइएको सूचना अधिकारी वाग्लेले बताउनुभयो ।

बेलौरी नगरपालिका–९ का वडाअध्यक्ष किसनसिंह रानाले यस क्षेत्रमा देखिने चितुवा, बाघले स्थानीय त्रसित बनेका बताउनुभयो । बाघको खोजीका लागि आएको टोली पनि फिर्ता भएको बताउनु हुँदै अध्यक्ष रानाले जनावरबाट सुरक्षित रहन समय–समयमा वडा कार्यालयले सूचना नै जारी गरेर जनचेतना फैलाउँदै आएको बताउनुभयो ।

यसअघि गत असार पहिलो साता स्थानीय शङ्कर भट्टको गोठमै पसेर चितुवाले बाख्रा मारेको थियो । मङ्गलबार दिउँसो वडा नम्बर–९ स्थित आदर्शनगर र प्रगति टोलमा–२ डमरुसहित बाघ देखापरेको थियो । स्थानीयले बाघ देखेपछि शुक्लाफाँटा निकुञ्जको कार्यालयलाई खबर गरेका थिए ।

बुधबार साँझ बेलडाँडीमा बास बसेको हात्तीसहितको टोली बिहीबार राति बेलौरी नगरपालिका-९ कुण्डास्थित वैजनाथ मध्यवर्ती उपभोक्ता सामुदायिक वनमा बास बसेको थियो । स्थानीय, सशस्त्र प्रहरी, जनपद प्रहरी तथा जनप्रतिनिधि सँगै बाघ देखिएको क्षेत्र र वरिपरिको क्षेत्रमा हात्ती लगेर खोजी गरिए पनि नभेट्टाएको टोलीमा सहभागी निकुञ्जका पञ्च चिकित्सक आभास श्रेष्ठले बताउनुभयो ।

शुक्रबार दिउँसो स्थानीय जनप्रतिनिधि, सशस्त्र प्रहरी, जनपद प्रहरीबिच भएको छलफलका क्रममा यस क्षेत्रमा चितुवा हुनसक्ने आशङ्का गरिएको उहाँले बताउनुभयो । चितुवाले मानवीय क्षति नगर्ने र घरपालुवा, बाख्रा कुकुरमा आक्रमण गर्ने भएकाले सुरक्षित रहन आग्रह गरिएको उहाँले बताउनुभयो । तर खोजीका क्रममा केही पनि नभेट्टिएपछि चितुवा हुनसक्ने निष्कर्षसहित टोली निकुञ्जको कार्यालयमा फिर्ता भएको उहाँले बताउनुभयो ।

सुदूरपश्चिमका १३ क्याम्पसलाई विश्वविद्यालयको आङ्गिक बनाउन माग

बैतडी, साउन ११ गते। बैतडीका दुईसहित सुदूरपश्चिमका १३ क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस बनाउन माग गरिएको छ।

बैतडीको पुर्चौडी बहुमुखी क्याम्पस हाट र गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेज, दार्चुलाको शङ्करपुर बहुमुखी क्याम्पस पस्तीसहित सुदूरपश्चिमका १३ क्याम्पसलाई आङ्गिक बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाइएको अनेरास्ववियुका निर्वतमान उपाध्यक्ष गोविन्द गिरीले बताउनुभयो ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त १३ क्याम्पसलाई आर्थिक वर्ष २०८२/८३ मा सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिकको रुपमा समायोजन गरिदिन आग्रह गरिएको ध्यानाकर्षण पत्रमा उल्लेख छ।‘सत्यसित नलड्ने र शक्तिसित नझुक्ने’ समाज निर्माणमा शिक्षाको भूमिका अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्दै शिक्षा क्षेत्रमा लगानी वृद्धि गर्न सरकारको ध्यानाकर्षण गराइएको उल्लेख गरिएको छ ।

एमाले सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्टको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले कञ्चनपुरको भानु बहुमुखी क्याम्पस दोधरा चाँदनी र कृष्ण वैजनाथ बहुमुखी क्याम्पस झलारी, अछामको अछाम बहुमुखी क्याम्पस, डोटीको केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पस, कैलालीको लम्की बहुमुखी क्याम्पस र घोडाघोडी बहुमुखी क्याम्पसलाई आङ्गिक बनाउन माग गरेको छ ।

यस्तै बझाङको बझाङदीप बहुमुखी क्याम्पस र सुनकुडा बहुमुखी क्याम्पस, डडेल्धुराको भीमदत्त बहुमुखी क्याम्पस, कञ्चनपुरको महाकाली बहुमुखी क्याम्पस बेलौरीलाई सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पसमा समायोजन गर्न माग गरिएको छ।सुदूरपश्चिम प्रदेश भौगोलिक रूपमा विकट र विकासमा पछाडि परेको क्षेत्र भएकाले शिक्षामा गरिएको लगानीले बसाइसराइ नियन्त्रण, स्थानीय रोजगारीको सृजना र उत्पादनमुखी अर्थतन्त्रतर्फको यात्रा सहज बनाउने निर्वतमान उपाध्यक्ष गिरीले बताउनुभयो।

रञ्जिता श्रेष्ठले कार्यवाहक अध्यक्षमा शिव बास्तोलालाई तोकिन्

काठमाडौं : नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरा निवासी शिव बास्तोलालाई दिएकी छन्।

भ्रष्टाचारसम्बन्धी विवादस्पद अडियो प्रकरणमा मुछिएपछि रेशम चौधरीले पक्षले उनलाई जिम्मेवारीबाट हट्न दबाब दिँदै आएको थियो। शुक्रबारमात्रै अध्यक्ष श्रेष्ठलाई केन्द्रीय समितिको बैठक बोलाउन २४ घन्टे अल्टिमेटम दिइएको थियो।
अध्यक्ष श्रेष्ठले भने स्वास्थ्यको कारण देखाउँदै हालः पार्टीमा पूर्णरूपमा सक्रिय हुन नसकेको उल्लेख गरेकी छन्।
‘मेरो स्वास्थ्य अवस्था विगत केही दिनदेखि असहज रहेको र मेरो हालको अस्वस्थताको कारण पार्टीको गतिविधिहरूमा पूर्णरूपमा सक्रिय हुन असमर्थ रहेको व्यहोरा अवगत गराउन चाहन्छु। मेरो स्वास्थ्य अवस्थाका कारण पार्टीको दैनिक कार्य सञ्चालन र महत्वपूर्ण निर्णय प्रक्रियामा मेरो भौतिक उपस्थिति सम्भव नदेखिएकाले पार्टीको कार्यप्रवाहमा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले यो निर्णय गरिएको छ,’ अध्यक्ष श्रेष्ठले पत्रमा उल्लेख गरेकी छन्।

null

कैलालीकाे लौटिहुवा ताल पर्या–पर्यटनको नयाँ गन्तव्य बन्दै

ईन्द्रा कुमारी केसी

घोडाघोडी (कैलाली), ७ साउन/
कैलालीको भजनी नगरपालिका–२ स्थित राधाकृष्ण सामुदायिक वन क्षेत्रमा रहेको लौटिहुवा ताल केही वर्ष अगाडिसम्म अस्तित्वमा थिएन । सुकुम्बासीले अतिक्रमण गरी बस्ती बसेको यस क्षेत्रमा अतिक्रमित संरचना हटाएर सामुदायिक वनका रूपमा संरक्षण गर्दै ताल निर्माण गरेपछि यो क्षेत्र पर्या–पर्यटनको नयाँ गन्तव्य बन्दै गएको छ ।

घामले पानीमा तरङ्ग खेलाइरहेको छ । तालको वरिपरि हरियाली वातावरणले अझै सौन्दर्य थपेको छ । आन्तरिक पर्यटक बोटमा चढेर तालमा रमाइरहेका छन् । यसरी रमाउने पर्यटकको सङ्ख्या दिनहुँ बढ्दै गएको छ ।

सामुदायिक वनका अगुवाहरूले एक दशकअघि अतिक्रमण हटाएर ताल निर्माण गरेपछि अहिले आन्तरिक पर्यटकका लागि यो ताल पर्या–पर्यटनको नयाँ गन्तव्य बन्दै गएको राधाकृष्ण सामुदायिक वनका अध्यक्ष खुमबहादुर खड्काले बताउनुभयो । “तत्कालीन समयमा अतिक्रमण हटाउन त्यति सहज थिएन । अतिक्रमण हटाएको भन्दै मरणासन्न हुनेगरी कुटपिट गरेको याद ताजै छ”, उहाँले भन्नुभयो ।

खड्काले सुकुम्बासीलाई किन हटाएको भन्दै घरमा आएर आफूमाथि कुटपिट भएको स्मरण गर्नुभयो । उहाँ यस सामुदायिक वनको स्थापना (२०५६) देखि अध्यक्षका रूपमा हुनुहुन्छ । उहाँले भन्नुभयो, “सुरुआतमा म अध्यक्ष भएँ । बीचमा अरू पनि आए तर गाँउलेले फेरि मलाई अध्यक्ष बनाउनुभयो ।” वन संरक्षणप्रतिको निरन्तर पहलका कारण तीन दशकदेखि वनमा कार्यरत रहेको खड्काले जानकारी दिनुभयो । अतिक्रमण, छाडा चरिचरण र बर्सेनि वन डढेलोका वारिपारि गाउँ देखिने वन अहिले घना हरियालीमा परिणत भएको उहाँको भनाइ छ ।

अहिले यो वनमा भारतको दुधुवा हुँदै आउने पाटबाघले डमरुहरू हुर्काउने गरेका अध्यक्ष खड्काले जानकारी दिनुभयो । अहिले वन चित्तल, बँदेल, गोहोरो, अजिङ्गरलगायत विभिन्न चराचुरुङ्गीको सुरक्षित बासस्थान हुनुका साथै लौटैया तालमा यी वन्यजन्तु पानी पिउन आउने गरेकाे उहाँले उल्लेख गर्नुभयो ।

उहाँका अनुसार समूहले वनका खाली ठाउँमा बर्सेनि वृक्षारोपण गर्दै आएका छन् । वनमा बाँस, कुरिलो, सर्पगन्धालगायतका गैरकाष्ठ प्रजातिको रोपण गरिएको जनाउँदै उहाँले संरक्षणप्रतिको गहिरो लगाव र निरन्तरताको पहलका कारण सन् २००३ मा आफूलाई ‘अब्राहम कन्जरभेसन अवार्ड’पनि प्राप्त भएको बताउनुभयो । उक्त सम्मानले आफूलाई वन संरक्षणमा थप उत्साहित बनाएको उहाँले धारणा राख्नुभयो ।

खाली गरिएको उक्त क्षेत्रमा सानो ड्याम बनाएर प्राकृतिक रूपमा पानी जम्मा गर्नेगरी ताल बनाइएको खड्काले जानकारी दिनुभयो । “पहिले यहाँ माछापालनमा मात्रै प्रयोग हुन्थ्यो । तर हामीले ताललाई जगेर्ना गर्ने र पर्यटनसँग जोड्ने सोच बनाएर योजनाबद्ध विकास गरेका छौँ”, उहाँले भन्नुभयो । योजनाबद्ध विकाससँगै पर्यटन प्रवद्र्धनमा केन्द्रित भएपछि आज लौटैया ताल आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको अध्यक्ष खड्काले बताउनुभयो । उहाँका अनुसार तालको किनारैकिनार तारबार गरिएको छ ।

अहिले तालमा तीनवटा डुङ्गा (बोट) सञ्चालित छन् । यो ताल विद्यार्थी, स्थानीय बासिन्दा, वृद्धवृद्धा सबैको रोजाइमा पर्ने गरेको उहाँको भनाइ छ ।
विद्यार्थीका लागि रु १५ मा डुङ्गा चढ्न पाउने व्यवस्था गरिएको जनाउँदै पार्क निर्माण समितिका अध्यक्ष अर्जुन सोबले ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क सुविधा दिने गरिएको बताउनुभयो । उहाँका अनुसार अन्य व्यक्तिलाई रु ३० शुल्क तोकिएको छ ।

सोबले भन्नुभयो, “दैनिक दुई सयभन्दा बढी पर्यटक यहाँ आउँछन् । सबैले पालो पाउँदैनन्, कहिलेकाहीँ डुङ्गा चढ्न नपाएर फर्किनेहरू पनि हुन्छन् ।” डुङ्गा सञ्चालन पछि दैनिक रु तीन हजारसम्म आम्दानी भइरहेको जनाउँदै उहाँले डुङ्गा सयर गर्न बढी विद्यर्थी आउने गरेका बताउनुभयो ।
सामुदायिक वनको आम्दानी बढेसँगै स्थानीयलाई रोगजारीको अवसर पनि सृजना भएका वनका अध्यक्ष खड्काले बताउनुभयो । “वनभित्र फोटो खिच्नका लागि फोटोग्राफरलाई महिनाको रु दुई हजार १०० लिनेगरी व्यवस्था गरिएको छ । नगरपालिका र वडामा दर्ता गरी फोटोग्राफरले फोटो खिच्न पाउने निर्णय गरिएको छ, जसका कारण स्थानीय युवाले रोजगारी पाएका छन्”, उहाँले भन्नुभयो ।

तालको नजिकै बन्न थालेको थारू सङ्ग्र्रहालयले लौटैया तालको महत्व बढाएको छ । सङ्घीय सरकारले रु ९० लाख र प्रदेश सरकारले रु १० लाख बजेटमार्फत सङ्ग्रहालयको संरचना निर्माण गरेको भजनी नगरपालिका–२ का वडाध्यक्ष दुर्गाबहादुर पुनले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “वडा कार्यालयमार्फत पनि केही रकम सहयोग गरेका छौँ । डुङ्गा सयरको सुविधासहित पार्क सञ्चालनमा आइसकेको छ । सङ्ग्रहालयको घर बन्न बाँकी छ ।”

पर्या–पर्यटनसँगै थारू कला, संस्कृतिको संरक्षणका लागि सङ्ग्रहालय बनाउन लागिएको  वडाध्यक्ष पुनले बताउनुभयो ।

उहाँका अनुसार हाल सङ्ग्रहालयको संरचना निर्माण अन्तिम चरणमा पुगेको छ । “भवन बन्दै छ, तर भित्र राखिने परम्परागत सामग्री, थारू जीवनशैली झल्काउने पुराना औजार र लुगाकपडा अझै सङ्कलन हुन बाँकी छ”, वडाध्यक्ष पुनले भन्नुभयो, “सङ्ग्रहालय बनेपछि लौटैया ताल आउनेहरूले डुङ्गा सयरका साथै थारू संस्कृति पनि नजिकबाट देख्न पाउनेछन् । यसले पर्यटकको चहलपहल झन् बढाउने छ ।”

वनका अध्यक्ष खड्काले अहिले ताल छ बिघा क्षेत्रमा फैलिएको जनाउँदै सामुदायिक वन समितिले यसलाई २० बिघासम्म विस्तार गर्ने योजना अघि सारेको बताउनुभयो । कैलालीको यो सानो ताल आजभोलि सामुदायिक वनहरूमा पर्या–पर्यटनको सफल उदाहरण बन्दै गएको छ ।

यहाँ वनभोज खानआउनेहरूका लागि रु आठ सयमा भाडा, दाउँरा, पानीलगायत सामग्रीको व्यवस्था सामुदायिक वनले गर्दै आएको उल्लेख गर्दै वडाध्यक्ष पुनले यसबाट वनको आम्दानी बढ्नाका साथै स्थानीयलाई रोजगारी सृजना भइरहेको बताउनुभयो ।

राधाकृष्ण सामुदायिक वनका अध्यक्ष खड्काले भन्नुभयो, “हामीले भर्खरै डुङ्गा सञ्चालन गरेका छौँ । यसलाई कम मूल्यमा सुविधा लिन पाउने व्यवस्था गरेका छौँ र आम्दानी पनि भइरहेको छ । त्यसैबाट वनको संरक्षणका साथसाथै फोहरमैला व्यवस्थापन र पर्या–पर्यटनका थप पूर्वाधार निर्माणमा लगानी गर्नेछौँ ।”

वनमा पर्या–पर्यटनका क्षेत्रमा पूर्वाधार विस्तार गर्न थालिएको बताउँदै उहाँले सुरुआतमै आन्तरिक पर्यटकको रोजाइमा परेकाले आगामी दिनमा विस्तृत योजना बनाएर कार्यान्वयन गरिने उल्लेख गर्नुभयो । वन ऐन र नियमावलीमा सामुदायिक वनमा पर्या–पर्यटन सञ्चालन गर्न सकिने प्रावधान रहेको जनाउँदै उहाँले सरकारले ‘सामुदायिक वनमा पर्या–पर्यटन सञ्चालन कार्यविधि’ समेत जारी गरेकाले सोहीअनुसार आगामी योजना निर्माण गरिने उल्लेख गर्नुभयो ।

‘गुरही’ पर्व श्रावण १३ गते घोडाघोडीमा भव्य रूपमा मनाइने

घोडाघोडी (कैलाली)
थारू समुदायले परापूर्वकालदेखि मनाउँदै आएको मौलिक सांस्कृतिक तिहुवार(पर्व)‘गुरही’ यस वर्ष श्रावण १३ गते कैलाली घोडाघोडी नगरपालिका–१, सुखडचोकमा भव्य रूपमा मनाइने भएको छ । नेपालमा हरेक वर्ष थारु सामुदायले नाग पञ्चमीकै दिन गुरही पर्व मनाइने गरिन्छ । उक्त कार्यक्रम घोडाघोडी नगर भलमन्सा कार्यसमितिको आयोजनामा कैलालीको  मध्यवर्ती क्षेत्र घोडाघोडीको सुखड मेनचौकमा नगर स्तरिय गुरही असरैना कार्यक्रम–२०८२ हुने भएकोछ ।
खेतीपाती सकिएपछि धानबालीमा कीरा नलागोस् भन्ने जनविश्वासका साथ मनाइने यो तिहुवारमा बालबालिकाले रंगीचंगी कपडाबाट गुरिया (गुरही) बनाएर बबीयो (बन्कस)सोता बनाई गाउँको चोकमा गुरही असरैना चलन छ । साँझपख गाउँका दाजुभाइ र दिदीबहिनीहरू चौतारामा भेला भएर सामूहिक रूपमा गुरही सेलाउने परम्परा रहिआएको छ ।
घोडाघोडी नगर भलमन्सा कार्यसमितिका नगर सचिव अमन चौधरीका अनुसार, गुरही सांस्कृतिक पर्व मात्रै होइन, आपसी सद्भाव र सामूहिक चेतनाको प्रतीक पनि हो । गुरहीसँगै ल्याइएको गेडागुडी, भुजा आदिलाई बाँडेर नाचगान गर्ने र रमाइलो गर्ने चलन यस तिहुवार(पर्व)सँग जोडिएको छ ।
यस वर्ष कैलालीका अन्य थारू बस्तीहरूमा पनि सामूहिक रूपमा गुरही पर्व मनाउने तयारी भइरहेको छ भने स्थानीय तहहरूले सार्वजनिक बिदा दिने तयारी समेत गरेका छन ।

१६ वर्षपछि पनि हलिया मुक्ति घोषणालाई गिज्याउँदै बझाङका पूर्वहलिया — अधुरो प्याकेज, अपूरो न्याय

सुरेश धामी 

 बुङ्गल (बझाङ), साउन ६ गते । “सरकारले हलियामुक्त घोषणा गरेको १६ वर्ष बित्यो, तर हामी अझै पनि साहूका घरमा मजदुरी गरिरहेका छौँ,” थलारा गाउँपालिका–८ का ४० वर्षीय मोहन नेपालीले गुनासो गर्नुभयो ।

उहाँले हलियामुक्त पुनर्स्थापना कार्यक्रमका लागि प्रमाणीकरण भएर क वर्गमा परेर पनि आफूले अहिलेसम्म कुनै पनि सुविधा नपाएको र अहिलेसम्म पनि अरूको घरमा काम गरेर गुजारा चलाउनु परेको बताउनुभयो । उहाँ जस्तै बझाङका सयौँ हलिया अझै पनि कानुनी पुनर्स्थापनाको पर्खाइमा छन् ।

२०६५ साल भदौ २१ गते नेपाल सरकारले हलिया प्रथा अन्त्यको ऐतिहासिक घोषणा गरिएको थियो । त्यस घोषणासँगै सरकारले हलिया प्रथाको अन्त्य मात्र नभई हलियाका सबै ऋण मिनाहा गर्ने, पुनर्स्थापनाका लागि आवास, शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको थियो । व्यवहारमा ती योजना कार्यान्वयन हुन सकेका छैनन् ।

कार्यान्वयन भएन 

२०७० सालमा सरकारले मुक्त हलियाको पुनर्स्थापनाका लागि कार्यविधि पारित गर्दै प्याकेज सार्वजनिक गर्‍यो । जस अनुसार देशभरका मुक्त हलियाको तथ्याङ्क सङ्कलन, वर्ग पहिचान, परिचयपत्र वितरण, प्रमाणीकरण, जग्गा खरिददेखि घर निर्माणसम्मका कार्य थालिएका थिए ।

बझाङमा पनि यो कार्यक्रमअन्तर्गत १५९ परिवारले जग्गा खरिद र घर निर्माण दुवै सुविधा पाएका थिए । ९० वटा घर निर्माण गरिएको थियो भने ३८७ परिवारका लागि मात्र जग्गा खरिद गरियो । साथै, दुई हजार ८६ परिवारका घर मर्मत गरिएको थियो । यसरी जम्मा दुई हजार ७१३ जना मुक्त हलिया परिवार सरकारले ल्याएको प्याकेजबाट लाभान्वित भएको राष्ट्रिय हलिया महासङ्घ बझाङका अध्यक्ष चक्रबहादुर सार्कीले जानकारी दिनुभयो । तर अहिलेसम्म पनि ती प्याकेज अन्तर्गतका अधिकांश कार्यक्रम अधुरा छन्, कतिपय काम सुरुवातमै अलपत्र परेका छन् । बाँकी २१७ मुक्त हलिया परिवार स्थानीय तहबाट सुविधा पाउने गरी सिफारिस भएर पनि सरकारी प्याकेजमा समेटिन सकेका छैनन् ।

कानुनविहीन स्थानीय तह 

२०७६ साल जेठ ६ गतेको मन्त्रीपरिषद्को निर्णय अनुसार मुक्त हलियाको पुनर्स्थापनाको जिम्मेवारी स्थानीय तहलाई दिइएको थियो तर बझाङका १२ मध्ये ११ वटा स्थानीय तहले अहिलेसम्म कार्यविधि नै निर्माण गर्न सकेका छैनन् ।

थलारा गाउँपालिकाले मात्रै कार्यविधि बनाएको भए पनि बजेटको अभाव देखाउँदै त्यसलाई कार्यान्वयनमा लैजान सकेको छैन । अन्य पालिकाले भने कार्यविधि निर्माण गर्ने तत्परता समेत देखाएका छैनन् । राष्ट्रिय हलिया महासङ्घका महासचिव मङ्गल सार्कीका अनुसार बझाङ जिल्लामा कुल दुई हजार ९४५ मुक्त हलिया प्रमाणीकरणमा परेका छन् । जसमध्ये दुई हजार ८४८ परिवार पुनर्स्थापनामा समेटिएका छन् । तीमध्ये ४० परिवार गैरदलित समुदायका हुन् भने बाँकी सबै दलित समुदायका रहेका छन् ।

१२ वटा स्थानीय तहमध्ये बढी जयपृथ्वी नगरपालिकामा ४८५ जना मुक्त हलिया परिवार सरकारको पुनस्र्थापना प्याकेजमा समावेश भएका छन् । बुङ्गल नगरपालिकामा २९९ परिवार, थलारा गाउँपालिकामा ३६४ खप्तडछान्नामा ३४२, केदारस्युँमा २८९, छबिसपाथिभेरामा २५१, दुर्गाथलीमा २३८, मस्टामा २०१, सुर्मामा १४७, तलकोटमा १९६, बित्थडचिरमा १३३ र साइपालमा तीन मुक्त हलिया परिवार सरकारको पुनर्स्थापनाको कार्यक्रममा छनोट भएका थिए । स्थानीय तहमा प्रमाणीकरण गरिएका २१७ मुक्त हलिया परिवार अझै पुनर्स्थापना प्याकेजमा समावेश हुन सकेका छैनन् ।

अधुरो प्याकेज, अपूरो न्याय 

सार्कीका अनुसार कतिपय मुक्त हलिया परिवारले सुकुमवासीका रूपमा जग्गा त पाएका छन् तर रोजगारी, शिक्षा र आधारभूत सेवा नपाउँदा पुनर्स्थापना पनि निष्क्रिय बन्दै गएको छ ।

उहाँ भुन्नुहुन्छ, “सरकारी प्याकेज अधुरो, अपूरो र अपुग छ । त्यही भएर कतिपय पुनर्स्थापना परिवार फेरि बस्ती छाडेर भारत जान बाध्य छन् ।” पूर्वहलियाका धेरै बालबालिकाले अझै पनि शिक्षामा पहुँच पाएका छैनन् । विद्यालय टाढा हुनु, अतिरिक्त शुल्क तिर्न नसक्नु र पोषण अभावले गर्दा उहाँहरूको शिक्षामा गम्भीर असर परेको छ ।

स्वास्थ्य र रोजगारको अवस्था पनि उस्तै दयनीय छ । कतिपय गाउँमा सिप विकास तालिम, स्वास्थ्य सुविधा तथा आर्थिक सहायता नपाउँदा जीवनयापन कठिन भएको पीडितको गुनासो छ ।

अझै हलिया जीवन 

बझाङका तल्कोट, मस्टा, जयपृथ्वी, छबिसपाथीभेरा, थलारा, केदारस्युँ, बुङ्गल, दुर्गाथलीलगायतका गाउँमा हलिया समस्या अझै पनि गहिरो छ । यी गाउँमा एक हजार दुई सयभन्दा बढी हलिया परिवारको बसोबास रहेको अनुमान छ । यहाँ २०६५ सालको हलिया मुक्ति घोषणा अझै पनि व्यवहारमा लागु नभएको स्पष्ट देखिन्छ । पुनर्स्थापनाको नाममा गरिएका सरकारी घोषणापूर्व हलियाका लागि ‘अधुरो न्याय’ बनेका छन् ।

कानुन बनाइएन, योजना कार्यान्वयन भएन र हलियाको जीवन फेरि पुरानै चक्रमा फसिरहेको छ । आज पनि हलियाहरूले, हलियाको काम गरिरहेर बस्नुपर्ने बाध्यताले १६ वर्षअघिको हलिया मुक्ति घोषणालाई गिज्याइरहेको छ ।

कैलालीका स्थानीय तहको बजेट खर्च प्रगति: चालु तर्फ अग्रसर, पुँजीगतमा सुस्त

धनगढी, साउन ६ गते । जनताको घरदैलोसम्म विकासको जिम्मेवारी बोकेका कैलालीको स्थानीय तह विकास अर्थात् पुँजीगत बजेट खर्च गर्नमा पछाडि देखिएका छन् । चालु बजेट खर्च प्रगति राम्रो गरेका स्थानीय तहले पुँजीगत बजेट भने चालुको तुलनामा कम खर्च गरेका हुन् । पालिकाले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को वित्तीय प्रगति विवरण अनुसार प्रायः सबै स्थानीय तहको चालु बजेट खर्च प्रगति बढी र पुँजीगत बजेट खर्च प्रगति कम रहेको छ । पालिकाले बजेट पनि चालुमा बढी र पुँजीगतमा कम विनियोजन गरेका थिए ।

पुँजीगत बजेट एक अर्ब १६ लाख विनियोजन गरेको धनगढी उपमहानगरपालिकाले ६२ करोड ९९ लाख (६२.८९ प्रतिशत) खर्च गरेको छ । यो पालिकाले चालुतर्फ एक अर्ब २१ करोड ६१ लाख रुपियाँ बजेट विनियोजन गरेको थियो । जसमध्ये एक अर्ब एक करोड ६२ लाख खर्च भई वित्तीय प्रगति ८३.५६ प्रतिशत पुगेको छ । कुल दुई अर्ब २१ करोड ७८ लाख बजेट धनगढी उपमहानगरपालिकाको थियो । जसमध्ये एक अर्ब ६४ करोड ६२ लाख (७४.२२ प्रतिशत) खर्च भएको छ ।

२२ करोड ५८ लाख पुँजीगत बजेट विनियोजन गरेको मोहन्याल गाउँपालिकाले १७ करोड ७० लाख (७८.३७ प्रतिशत) खर्च गरेको छ । चालुतर्फ भने ३२ करोड ७५ लाख रुपियाँ विनियोजन गरिएको थियो । जसमध्ये २९ करोड ४३ लाख (८९.८६ प्रतिशत) बजेट खर्च गरिएको छ ।

बर्दगोरिया गाउँपालिकाले पुँजीगत बजेट १३ करोड ९३ लाख (७५.१४ प्रतिशत) खर्च गरेको छ । पुँजीगततर्फ १८ करोड ५३ लाख विनियोजन गरेको यो पालिकाले चालुतर्फ भने ३१ करोड ६९ लाख रुपियाँ बजेट विनियोजन गरेको थियो । चालु बजेट २९ करोड ४५ लाख (९२.९५ प्र्रतिशत) खर्च गरिएको छ ।

त्यस्तै २१ करोड ७३ लाख पुँजीगततर्फ विनियोजन गरेको गौरीगङ्गा नगरपालिकाले १३ करोड ३८ लाख (६१.६१ प्रतिशत) मात्रै बजेट खर्च गरेको छ । चालुतर्फ भने विनियोजित कुल ५२ करोड ५९ लाखमध्ये ४५ करोड ८८ लाख (८७.२५ प्रतिशत) बजेट खर्च गरिएको छ ।

यसै गरी जोशीपुर गाउँपालिकाले १८ करोड ४५ लाख पुँजीगत बजेटमध्ये १३ करोड चार लाख (७०.६७ प्रतिशत) खर्च गरेको छ । यो पालिकाले चालु बजेट भने २९ करोड ६८ लाख (८६.२२ प्रतिशत) खर्च गरेको छ । चालुतर्फ कुल ३४ करोड ४२ लाख रुपियाँ बजेट विनियोजन भएको लेखा अधिकृत दिपेश तिमिल्सिनाले जानकारी दिनुभयो ।  टीकापुर नगरपालिकाले पुँजीगततर्फ ४२ करोड ४६ लाख विनियोजन गरेकामा ५७.८५ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । चालुतर्फ भने कुल ६१ करोड चार लाखमध्ये ८६.०६ प्रतिशत रुपियाँ बजेट खर्च गरिएको छ ।

लम्कीचुहा नगरपालिकाले चालुतर्फ ७२ करोड दुई लाख रुपियाँ विनियोजन गरेकामा ८४.४३ प्रतिशत र पुँजीगततर्फ ३९ करोड ६२ लाख विनियोजन गरेकामा ७७.६४ प्रतिशत बजेट खर्च गरेको छ । गोदावरी नगरपालिकाले चालुतर्फ ७८ करोड ९१ लाख रुपियाँ विनियोजन गरेको थियो ।

जसमध्ये ८५.९८ प्रतिशत बजेट खर्च गरेको छ । गोदावरीले पुँजीगततर्फ ४४ करोड ७० लाख विनियोजन गरेको थियो, जसमध्ये ७७.३ प्रतिशत खर्च गरेको जनाइएको छ । भजनी नगरपालिकाले चालुतर्फ ४९ करोड २८ लाख रुपियाँ बजेट विनियोजन गरेकामा ८६.५६ प्रतिशत खर्च गरेको छ । पुँजीगततर्फ भने २२ करोड २७ लाख रुपियाँ मात्रै बजेट रहेको थियो । जसमध्ये ७१.५१ प्रतिशत बजेट खर्च भएको लेखापाल रवीन्द्र देउवाले जानकारी दिनुभयो ।

यसै गरी जानकी गाउँपालिकाले चालुतर्फ विनियोजित ४२ करोड चार लाखमध्ये ९२.५२ प्रतिशत बजेट खर्च गरेको छ । पुँजीगततर्फ १९ करोड ४१ लाख रुपियाँ बजेट छुट्याइएको थियो । जसमध्ये ७४.७८ प्रतिशत खर्च गरिएको छ । गाउँपालिकाको कार्यालयले गत वर्षको तुलनामा बजेट खर्च प्रगतिमा सुधार गरेको प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीले बताउनुभयो ।

नेपाल र बंगलादेशबीच उपाधि भिडन्त आज साँझ, च्याम्पियन बन्ने होड

४ साउन, काठमाडौं । नेपाली यू-२० महिला फुटबल टोली साफ यू-२० महिला च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यसहित बंगलादेश पुगेको थियो ।

अब नेपालले घरेलु टोली बंगलादेशविरुद्ध च्याम्पियनसिपको अन्तिम खेल खेल्दैछ र यो नेपालका लागि फाइनल जस्तै हुनेछ । राउण्ड रोविन लिगको अन्तिम खेल भएपनि नेपालका लागि भने यो अघोषित फाइनल नै हुनेछ ।

किनभने बंगलादेशलाई पछि पार्दै च्याम्पियन बन्नका लागि नेपाललाई जितको विकल्प छैन । बंगलादेश भने बराबरीले मात्र पनि च्याम्पियन बन्नेछ ।

हाल बंगलादेश ५ खेलबाट १५ अंक जोडेर शीर्ष स्थानमा छ । बंगलादेशले खेलेको पाँचवटै खेल जितेको छ । यस्तै नेपालले ४ जित र १ हराबाट १२ अंक जोडेको छ र दोस्रो स्थानमा छ । नेपालले भुटान र श्रीलंकालाई दुई-दुई खेलमा पराजित गर्दा बंगलादेशसँग भने पराजित भएको थियो ।

अन्तिम खेलअघि नेपालभन्दा बंगलादेशले ३ अंक बढी जोडेको छ । त्यसैले अंक बराबरी गर्न पनि नेपालले अन्तिम खेलमा बंगलादेशलाई हराउनुपर्नेछ । त्यसो भएमा नेपालले बंगलादेशलाई भेट्टाउने छ । यस्तोमा च्याम्पियन बन्न गोल अन्तर निर्णायक हुनेछ ।

५ खेलमा नेपालले कूल ३० गोल गर्दा बंगलादेशले २४ गोल गरेको छ । दुवै टिमले समान ४ गोल व्यहोरेका छन् । नेपाल र बंगलादेशबीच हेड टु हेडमा बंगलादेशले पहिलो खेल ३-२ ले जितेको थियो । अहिलेसम्म बंगलादेश हेड टु हेडमा पनि अघि छ र हेड टु हेड गोलअन्तरमा पनि एक गोलले अघि छ ।

यदि नेपालले अन्तिम खेलमा बंगलादेशलाई दुई गोल अन्तरले पराजित गर्न सकेमा स्वत: च्याम्पियन बन्नेछ । यदि नेपालले एक गोल अन्तरले बंगलादेशलाई हराएमा दुवैको अंक बराबर हुनेछ भने हेड टु हेडमा पनि गोल अन्तर बराबर हुनेछ । यस्तो अवस्थामा समग्र गोल अन्तर हेरिनेछ ।

नेपालले एक गोल अन्तरले मात्र जितेपनि समग्रमा नेपालको गोल अन्तर धेरै हुनेछ । त्यसैले अन्तिम खेल नेपालका लागि ‘डु अर डाई’ (गर या मर) नै हुनेछ ।

नेपालले यसअघि भुटानलाई पहिलो खेलमा ६-१ ले पराजित गरेको थियो भने दोस्रो खेलमा बंगलादेशसँग ३-२ ले पराजित भएको थियो । त्यसयता नेपालले लगातार तीन खेल जित्दा कुनै गोल बेहोरेको छैन । श्रीलंकालाई दुवै खेलमा ७-० ल पराजित गरेको नेपालले पछिल्लो खेलमा भुटानलाई ८-० ले हराएको थियो ।

उता बंगलादेशले श्रीलंकालाई पहिलो खेलमा ९-१ ले हराउँदै सानदार सुरुवात गरेको थियो । बंगलादेशले तीनवटै विपक्षीसँग गोल खाएको छ । दोस्रो खेलमा नेपाललाई ३-२ ले र तेस्रो खेलमा भुटानलाई ४-१ ले हराउँदा बंगलादेशले गोल खाएको हो । त्यसपछि बंगलादेशले भुटानलाई ३-० र श्रीलंकालाई ५-० ले पराजित गरेको थियो ।

नेपाली टोलीका कप्तान बिर्सना चौधरीले च्याम्पियन बन्नकै आएको र च्याम्पियन बनेर नै नेपाल फर्कने लक्ष्य रहेको सुनाएकी छन् । ‘टिमवर्कले जित्ने हो । मिहिनेत गरेर खेले जितिन्छ, बिर्सनाले भुटान विरुद्धको पछिल्लो खेलमा ८-० को जित हात पारेपछि भनिन्, ‘हाम्रो लक्ष्य भनेकै च्याम्पियन बनेर जाने हो ।’

बिर्सनाले बंगलादेश विरुद्ध उत्कृष्ट प्रदर्शन गर्नुपर्ने बताइन् । ‘हामीले उनीहरूलाई कमजोर नठानी प्रतिस्पर्धा गर्नुपर्छ । यसअघि उनीहरूले २ गोल गर्दा पनि हामीले फर्काउन सक्यौँ । भुटानसँग जस्तै खेल्न सके हामीले बंगलादेशलाई जित्न सक्छौँ ।’

बंगलादेशविरुद्ध बदला लिने लक्ष्य

यसअघि लिग चरणमा नेपाल बंगलादेशसँग ३-२ ले पराजित भएको थियो । उक्त खेलमा नेपालले पहिलो हाफमै दुई गोल बेहोरेको थियो । तर दोस्रो हाफमा रातो कार्डले खेल परिवर्तन गर्दा नेपालले दुई गोल फर्काएको थियो । दुवै टोलीका एक-एक खेलाडीले रातो कार्ड पाएपछि खेलको अवस्था फेरियो । नेपालले लगातार दुई गोल गर्दै खेल २-२ को बराबरीमा ल्याएको थियो ।

तर अन्तिम समयमा नेपाल सम्हालिन सकेन । इन्जुरी टाइमको पनि अन्तिम मिनेटमा नेपालले गोल खाएपछि हार बेहोर्न बाध्य भएको थियो । त्यसबेला ७ मिनेटको इन्जुरी टाइम थप गरिएपनि ११ मिनेटको खेल भएको थियो ।

नेपाली यू-२० महिला टिमका मुख्य प्रशिक्षक याम प्रसाद गुरुङले बंगलादेशविरुद्धको पहिलो खेलको विश्लेषण गरेर अन्तिम खेलमा रणनीति बनाउने बताएका छन् ।

‘अन्तिम खेल महत्वपूर्ण छ । यसअघि बंगलादेशसँग दुई गोल कसरी खायो । के गल्ती भयो त्यो अध्ययन गरेर नयाँ रणनीति बनाउनेछौं’ गुरुङले भनेका छन् । गुरुङले स्ट्राइकिङ लाइनमा केही परिवर्तन गर्ने संकेत देखाएका छन् ।

विशेषगरी नेपालका लागि पूर्णिमा राई र मिना देउबाले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । यस्तै सेनु परियार, समिक्षा मगर, वर्षा ओली, सुक्रिया मियाले पनि उनीहरूलाई राम्रो साथ दिइरहेका छन् ।

नेपाली टोलीका कप्तान मिडफिल्डर बिर्सना चौधरीले पनि नेपालको बलियो पक्ष स्ट्राइकर रहेको र अन्य क्षेत्रमा केही सुधार गर्नुपर्ने बताएकी छन् । ‘हाम्रो स्ट्राइकर राम्रो छ । मिडफिल्डमा डिफेन्समा अली काम गर्नुपर्नेछ’ बिर्सनाले भनेकी छन् ।

कप्तान बिर्सनाले पनि प्रशिक्षकले भनेजस्तै यसअघि बंगलादेश विरुद्ध खेल्दा भएको गल्तीलाई सुधार गर्दै अन्तिम खेलमा राम्रो प्रदर्शन गर्नुपर्ने बताएकी छिन् ।

नेपाल र बंगलादेशबीच अन्तिम खेल सोमबार ढाकास्थित बसुन्धरा किंग्स एरेनामा साँझ पौने ७ बजे हुनेछ ।

 

टिकापुरकी जानकीको बिछोड र बेचैनी: वैदेशिक रोजगारीपछि बढ्दै मानसिक समस्या

दुर्गा देवकोटा 

टीकापुर, साउन ५  गते ।  कैलालीको टीकापुर– २ कोठारपुर एक महिलाले दुई महिनाको अन्तरमा छोरी र श्रीमान् दुबै गुमाउनुभयो । प्रेम विवाह गरेर गएकी छोरीको मृत्यु भएको दुई महिनामै वैदेशिक रोजगारीका लागि साउदीमा रहेका श्रीमान्को पनि मृत्यु भयो । छोरीले पोइली घरमा हिंसासहन नसकेर आत्महत्या गरेपछि विचलित भएकी जानकीका साउदीमा रहेका श्रीमान् पनि उच्च रक्तचापका कारण बितेपछि उहाँको संसार उजाडियो ।

उहाँले आफूलाई सम्हाल्न सक्नुभएन । साउदीमा तीन वर्ष कमाएर फर्केर केही दिन घर बसेर फर्किएका श्रीमान् गएको डेढ वर्षपछि ४० वर्षको उमेरमा उतै अस्ताए । विपन्न परिवारकी उहाँलाई स्नातकसम्म पढाएकी छोरी, त्यसैमाथि कमाउने श्रीमान् गुमाएपछि तनाव व्यवस्थापन गर्न नसक्दा मानसिक समस्या सुरु भयो । धेरै लामो समयसम्म उहाँ तनावमा रहनुभयो । तनाव व्यवस्थापन गर्न नसक्दा उहाँको भोक, निन्द्रा सबै हरायो । महिला स्वास्थ्य स्वयम् सेविकाको सहयोगमा टीकापुर नगरपालिकाका मनोसामाजिक परामर्शकर्ता मीना कुँवरसँग उहाँको भेट भयो । कुँवरले  मनोपरामर्श र हौसला दिनुभयो । दशौँ पटकसम्मको भेटघाट गर्नुभयो । उहाँका मनका सबै व्यथा सुनिदिनुभयो । पालिकाको समन्वयमा विदेशमा रहेको कम्पनीले रु तीन लाख, सरकारले बिमा वापतको रु सात लाख रकम उपलब्ध भयो । घरको तनावले ९ कक्षा पढ्दै गरेका छोराले पनि तनाव व्यवस्थापन गर्न नसकेर पढाइ छोडे । उनका छोरा हाल भारतको सुरतमा कमाउन गएका छन् ।

‘‘जग्गा जमिन छैन, आम्दानी पनि छैन, पढेलेखेको पनि छैन, भएको घर पनि पानी पर्दा चुहिन्छ’’, उहाँले भन्नुभयो, ‘‘सहयोगी कोही छैनन्, धेरै तनाव भयो, निन्द्रा हरायो, टीकापुर मात्र होइन उपचारका लागि नेपालगञ्जसम्म गए, निन्द्रा लाग्ने औषधिसमेत खानुप¥यो ।’’मनोसामाजिक परामर्शदाता कँुवरले दर्जनौँं पटक भेटेपछि मन शान्त भएको उहाँको भनाइ छ । ‘‘क्षतिपूर्ति पाएको त्यही रकमले अहिले घरखर्च चलेको छ, त्यो रकम सकिए के गरौँला भन्ने पिर छ’’, उहाँ भन्नुहुन्छ, ‘‘उहाँ आम्दानी हुने खालको काम भएको भए हुन्थ्यो जीवन चलाउन सहज हुन्थ्यो ।’’

कोठारपुरकै अर्की महिलाका श्रीमान् विदेशमा हुनुहुन्छ । श्रीमान् विदेश गएपछि घरायसी कामको सबै जिम्मेवारी उहाँकै काँधमा आइप¥यो । घरायसी काममा घरबाहिर जाँदा वा घरमा पुरुष आफन्त आउँदा छिमेकी तथा आफन्तले श्रीमान्लाई गलत कुरा लगाइदिँदा उहाँलाई श्रीमान्ले आशङ्का गर्न थाल्नुभयो । उहाँलाई श्रीमान्ले रकम नपठाउने, नानाथरि भन्न थाल्दा उहाँलाई मानसिक तनावले झेल्यो । ‘‘धेरै तनाव भएपछि आफू पनि मर्छु र बच्चालाईसमेत मार्छु भन्नेसम्मको सोच आउँथ्यो, कामकाज सबै छोडे, मानिसँग बोल्न छोडे, बच्चा पनि राम्ररी स्याहारिन’’, उहाँ भन्नुहुन्छ, ‘‘मनोसामाजिक परामर्शकर्ताले परामर्श दिएपछि मन हलुङ्गो भयो । त्यसपछि सम्हालिए र अहिले सिलाइकटाइको काम गरिरहेकी छु ।’’

अहिले आत्मबल बढेको र घरसल्लाह गर्दा मेलमिलाप भएको र परिवारमा शान्ति छाएको उहाँ बताउनुहुन्छ । मानसिक स्वास्थ्य स्वायवलम्बन समूहका सदस्य निशादेवी कडायत अहिले पनि समाजमा मानसिक समस्या भएकाहरु लुकेर बसेकाले भविष्यमा विकराल अवस्था आउन सक्ने बताउनुहुन्छ । ‘‘मैले पनि मानसिक समस्या झेलेँ, म आफैँ स्वास्थ्य समस्या समधान गर्नुपर्छ भनी सक्रिय भएँ’’, उहाँ भन्नुहुन्छ, ‘‘तर समुदायमा मनोसमस्या लुकाएर बसेका धेरै छन्, समस्या भएकालाई उपचारमा ल्याउन नसके घरघरमा मनोरोगी भेटिनेछन् ।’’

मनोसामाजिक परामर्शकर्ता कुँवर मनोसामाजिक समस्या थुप्रै खालका रहेका र आफूले घरमै र टोल विकास संस्थामा समूहमा राखेर सयौँलाई सेवा दिने गरेको बताउनुहुन्छ । आव २०८१/ ८२ मा टीकापुरमा वैदेशिक रोजगारीसँग सम्बन्धित ३० जना मनोसामाजिक समस्यै भएकालाई सेवा दिएको जानकारी कुँवरले दिनुभयो । यसमा साइकोसिस भएका ५, डिप्रेसन भएका नौ, पिर चिन्ता तनावमा रहेका सात, आघात भएका चार, घरेलु हिंसामा परेका दुई र लाञ्छना एक र आत्महत्याको जोखिममा रहेका दुई जनालाई मनोपरामर्श सेवा दिइएको छ । पालिकाले आमा समूह, टोल विकास संस्था तथा अन्य समूहमा समेत गएर मनोसामाजिकसम्बन्धी समूह परामर्श सेवा प्रदान गर्दै आएको छ । जसले मनोसमस्या भएकालाई समयमै समाधान खोजिनुपर्छ भन्ने सचेत बनाएको छ ।

वैदेशिक रोजगारीपछि रोजगारीमा गएका वा परिवारका सदस्यमा देखिने मनोसमस्यालाई निवारणका लागि पालिकाले प्राथमिकता दिएको छ । टीकापुरमा टीकापुर अस्पतालसहित नारायणपुर स्वास्थ्य चौकी र विजयनगर सहरी स्वास्थ्य केन्द्रमा मनोसामाजिक उपचार सेवा सञ्चालनमा छ । टीकापुरमा सय बढी मनोसामाजिक समस्या भएका नागरिकको उपचारपछि स्वास्थ्य सुधार भएको पालिकासँग तथ्याङ्क छ । अर्का मनोसामाजिक परामर्शकर्ता खम्ब परियार स्वास्थ्य संस्था र घरभेट गरी मनोसामाजिक परामर्श दिन गरिएको बताउनुहुन्छ ।

‘‘मानसिक स्वास्थ्य समस्या भएका वा परिवारका सदस्यलाई जीविकोपार्जनमा पनि सघाएका छौंँ’’, उहाँ भन्नुहुन्छ, ‘‘पालिकामा गठन भएका मानसिक स्वास्थ्य स्वावलम्बन समूहमाफर्त १४ जनाले बाख्रापालन, तरकारी खेती, सिलाइकटाइ, बङ्गुरपालन जस्ता आयमूलक काम गरिरहेका छन् ।’’यसका साथै इलाका प्रहरी कार्यालय टीकापुरले पनि मनोसमस्याकै कारण आत्महत्या बढेको जनाउँदै आत्महत्या न्यूनीकरण कार्यदल गठन गरी विद्यालय तथा समुदायमा सचेतना जगाउने काम गरिरहेको छ ।

पालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले मानसिक स्वास्थ्य सेवाबारे नागरिकलाई अझैँ सचेतना फैलाउन आवश्यक रहेको बताउनुभयो । ‘‘मानसिक स्वास्थ्य नीति पालिकाले पारित गरिसकेको छ । अब यसैमा टेकेर धेरै काम गर्नुपर्ने छ’’, उहाँ भन्नुहुन्छ, ‘‘स्वास्थ्य सेवा विस्तारका लागि बजेट अभाव छ । मनोसमस्यालाई तीनै तहका सरकारले प्राथमिकता दिनुपर्छ ।’’

नगर प्रमुख रामलाल डगौरा थारु मानसिक स्वास्थ्यलाई प्राथमिकता दिएर काम गरिरहेको बताउनुहुन्छ । ‘‘मानसिक स्वास्थ्यमा पर्याप्त लगानी भएको छैन, पालिकामा सञ्चालित प्रवासी कामदार तथा तिनका परिवारको मानसिक स्वास्थ्य र मनोसामाजिक स्वास्थ्यलाई प्राथमिकता दिने गरी काम गरिरहेका छौँ ’’, उहाँ भन्नुहुन्छ, पालिकामा रहेका विषयगत शाखासँग समन्वय र छलफल गरेर मानसिक स्वास्थ्य उपचारलाई प्राथमिकता दिने गरी काम गर्ने प्रयासमा छौँ । पालिकाका हरेक स्वास्थ्य संस्थामा मनोसामाजिक उपचार सेवा दिने प्रयास गर्नेछौँ ।’’

परामर्श नै पहिलो उपचार हुने भएकाले स्वास्थ्य, शिक्षा र टोल विकास संस्थासँग जोडेर मानसिक स्वास्थ्यका क्षेत्रमा काम गर्ने बताउनुभयो ।।भेरी अस्पताल, नेपालगञ्जका कन्सल्टेन्ट साइक्याट्रिस्ट चिकित्सक लीला देवकोटाले व्यक्तिको मन र समाजसँगकोसम्बन्ध सुमधुर भएमा मानसिक स्वास्थ्य ठिक छ भनेर बुझ्न सकिने बताउनुभयो । ‘‘मनोसामाजिक अवस्था ठिक हुन, समाजका धेरै कुराले असर गर्छ, मानिसले एउटै घटनालाई फरक फरक तरिकाले बुझ्ने र लिने गर्छ, यो सबै मानसिक अवस्थाका कारण हो भन्ने बुझ्नुपर्छ’’, उहाँ भन्नुहुन्छ, ‘‘हामीले गरेका हरेक कार्य समाजले स्वीकार्छ भने हाम्रो मनोसामाजिक स्वास्थ्य राम्रो भएको मान्न सकिन्छ । मानसिक स्वास्थ्य समस्या भएको मानिसको सोचाइ, भावना व्यवहारमा असामान्य परिवर्तन आउने र त्यसले तनाव उत्पन्न गराउँछ ।’’

विश्व स्वास्थ्य सङ्गठनका अनुसार हरेक चारजनामध्ये एक जनालाई मानसिक स्वास्थ्य समस्या हुन्छ । आत्महत्याको प्रमुख कारण मानसिक स्वास्थ्य समस्या भएको चिकित्सकहरु बताउँछन् । नेपालमा ९० प्रतिशत मानसिक स्वास्थ्य समस्या भएका मानिसहरु उपचारबाट टाढा रहेको मनोचिकित्सक देवकोटाको भनाइ छ । अहिलेको अवस्थामा बच्चा, वयस्क, ज्येष्ठ नागरिक सबैलाई मानसिक समस्या देखिएकाले मानसिक समस्या भएकालाई मनोविमर्श र औषधि सेवन गराएर निको गर्नुपर्ने उहाँको भनाइ छ ।  रासस

जाजरकोटमा बालबालिका दुर्व्यवहार र हराउने घटनामा वृद्धि, तीन वर्षमा ७२ जना हराए

सहदेव बस्नेत

जाजरकोट, साउन ५ गते । जाजरकोटमा बालबालिका दुर्व्यवहारका घटना बढ्दै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सबै निकायवाट बालबालिका सम्बन्धी काम गर्दे आएको भएता पनि दुर्व्यवहारका घटना बढ्दै जानु चुनौती रहेको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी बसन्त कुमार शर्माका अनुसार विगत तीन वर्षको तथ्याङ्क हेर्दा आर्थिक वर्ष २०७९/०८० मा १३ वटा घटना घटेको पाइएको छ । जसमा जवरजस्तीकरणीका ७, अभद्र व्यवहार ३ र ज्यान मार्ने उद्योग १ रहेका छन् । त्यस्तै २०८०/०८१ मा जवरजस्ती करणीका १३ वटा घटना घटेका छन् ।

यसैगरी २०८१/०८२ मा १६ वटा घटना घटेको पाइएको छ जसमा जवरजस्ती करणीका ९ वटा, जवरजस्तीकरणी उद्योगका ६ र अभद्र व्यवहारका एक घटेका छन् । यो तथ्याङ्क हेर्दा बढी जसो बालिकामाथि जवरजस्ती करणीका घटनाहरु बढ्दै गएको पाइएको छ ।

त्यस्तै, विगत तीन वर्षमा जाजरकोटमा ७२ जना बालबालिकाहरु हराएको र सबै जना फेला परेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।  आर्थिक वर्ष २०७९/०८० मा १० जना बालक र १७ जना बालिका गरी २७ जना हराएका थिए । ०८०/०८१ मा १० जना बालिक र ६ जना बालिका गरी १६ जना हराएका थिए ।

त्यस्तै,  आर्थिक वर्ष २०८१/०८२ मा सात जना बालक र २२ जना बालिका गरी २९ जना हराएको छन् । तर हराएका सबै बालबालिकाहरु फेला पारी अभिभावकहरुलाई बुझाई सकिएको डिएसपी शर्माले जानकारी दिनुभएको छ । हराउने बालबालिकाहरुमा भागेर काला पहाड जाने तथा देशकै अन्य जिल्लाहरुमा जाने गरेको प्रहरीको भनाइ रहेको छ ।