राजकाँडाबाट ४८ थान चिरान काठ बरामद

घोडाघोडी (कैलाली), २३ पुस/
कैलालीको मोहन्याल गाउँपालिका–५ अन्तर्गत पर्ने राजकाँडाबाट अवैध रूपमा लुकाइछिपाइ राखिएको ४८ थान चिरान काठ बरामद गरिएको छ ।  सब डिभिजन वन कार्यालय चिसापानीका प्रमुख पूर्ण कुमार बिष्टको नेतृत्वमा गएको गस्ती टोलीले नियमित अनुगमनका क्रममा आज दिउसो ४ बजे ४५.७१ क्यु फिट बराबरको ४८ थान चिरान काठ बरामत गरेको हो ।
गस्तीका क्रममा शंकास्पद देखिएपछि खोजतलास गर्दा वन क्षेत्रमा लुकाइ राखिएको अवस्थामा चिरान काठ भेटिएको सब डिभिजन वन कार्यालय चिसापानीका प्रमुख पूर्ण कुमार बिष्टले जानकारी दिनुभयो ।
लुकाइछिपाइ राखेको काठ कस्को हो भन्ने बारे अनुसन्धान भइरहेको बिष्टले बताउनुभयो ।

कैलालीको बुट्का बाबा मन्दिरमा माघी मेला २०८२, पुस ३० देखि पाँच दिन सञ्चालन

सुखड, पुस २२ गते ।
कैलालीको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको घोडाघोडी नगरपालिका–७ कृतिपुरस्थित बुट्का बाबा मन्दिरमा यस वर्ष पनि माघी सङ्क्रान्ति तीर्थ मेला आयोजना हुने भएको छ । “भाषा, धर्म, संस्कृति तथा पर्यटन प्रवर्द्धन, पवित्र धार्मिक स्थल बुट्का बाबाको संरक्षण” भन्ने मूल नाराका साथ माघी सङ्क्रान्ति तीर्थ मेला–२०८२ सञ्चालन गर्न लागिएको हो ।
बुट्का बाबा मेला व्यवस्थापन समिति र घोडाघोडी मिडिया सञ्चार समूहले मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत मेलाबारे जानकारी गराएका हुन् । समितिका अनुसार मेला पुस ३० गतेदेखि माघ ४ गतेसम्म पाँच दिन सञ्चालन हुनेछ ।
मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहनेछ भने थारु समुदायको मौलिक संस्कृति झल्काउने परम्परागत नृत्य, भेषभूषा तथा खानाका परिकारहरूको विशेष प्रदर्शन गरिने मेला व्यवस्थापन समितिका संयोजक अमन चौधरीले जानकारी दिए । साथै मेलामा थारु संस्कृति झल्किने सांस्कृतिक कार्यक्रमसँगै स्थानीय उत्पादन तथा उपभोग्य वस्तुका एक सयभन्दा बढी स्टलहरू रहने आयोजकले जनाएको छ ।
स्थानीय जानकारहरूका अनुसार २०२१ सालमा भूमि ऐन लागू भएपछि सो क्षेत्रमा बस्ती विकास भएसँगै बुट्का बाबा मन्दिरमा नियमित पूजाआजा तथा मेला लाग्दै आएको हो । बुट्का बाबा मेलामा कैलालीसहित बर्दिया, दाङ, कञ्चनपुर लगायतका जिल्लाबाट हजारौँ श्रद्धालु आउने गरेका छन् । यसका साथै भारतको तिकुनिया, पलिया लगायतका क्षेत्रबाट समेत भारतीय नागरिकहरू मेला भर्न आउने गर्छन् ।
वर्षौँदेखि लाग्दै आएको यस मेलाले थारु जातिको धार्मिक तथा सांस्कृतिक पहिचानलाई उजागर गर्दै आएको मेला व्यवस्थापन समितिका संयोजक रामबहादुर चौधरीले बताए । बुट्का बाबा मन्दिर पौराणिक किंवदन्तीअनुसार भगवान् शिवको शक्तिपीठका रूपमा चिनिन्छ । माघ महिनामा यहाँ दर्शन गर्नाले मनोकामना पूरा हुने जनविश्वास रहँदै आएको छ ।
स्थानीयका अनुसार थारु भाषामा रुखको जरालाई ‘बुट्का’ भनिन्छ । भगवान् शिवले ध्यान गरेको स्थल भएकाले यस स्थानको नाम बुट्का बाबा रहन गएको विश्वास गरिन्छ । वर्षमा एकपटक लाग्ने यस मेलाले स्थानीयवासीको आयआर्जनमा समेत टेवा पुर्‍याउँदै आएको छ । गाउँको बीच भागमा रहेको यस तीर्थस्थलमा व्यापारका लागि टाढा–टाढाबाट व्यापारीहरू आउने गर्दछन् ।

नेपालको पहिलो वर्ड स्याङ्चुरी घोडाघोडीमा जलपंक्षी गणना सुरु

इन्द्रा कुमारी केसी

घोडाघोडी (कैलाली), १९ पुस/
नेपालको पहिलो वर्ड स्याङ्चुरी घोडाघोडी सिमसारमा जलपन्क्षीहरुको गणना सुरु भएको छ । जैविक विविधताले निकै नै महत्त्वपूर्ण क्षेत्र मानिने घोडाघोडीमा चरा संरक्षण नेटवर्क कैलालीको टोली आजबाट गणना कार्यमा खटिएको छ । २१ गते सम्म घोडाघोडीमा जलपंक्षी गणना हुनेछ ।
चरा संरक्षण नेटवर्क कैलालीले विगत लामो समयदेखि घोडाघोडी ताल क्षेत्रमा चराको अध्ययन, अवलोकन, खोज तथा अनुसन्धान गर्दै आइरहेको छ ।

घोडाघोडीमा जलपंक्षी हिउँद र वर्षा गरी प्रत्येक वर्ष दुई पटक गणना गरिन्छ । सोही अनुरूप यस पटक पनि जलपंक्षी गणना सुरु गरिएको चरा संरक्षण नेटवर्क कैलालीका उपाध्यक्ष नवराज न्यूरेले जानकारी दिनुभयो । न्यूरेका अनुसार गणनाले उनीहरूको अवस्था र चुनौती पत्ता लगाई स्थानीय समुदाय र सरोकारवाला निकायलाई संरक्षणमा सहभागी गराउन महत्त्वपूर्ण भूमिका खेल्ने गर्दछ ।
चरा संरक्षण नेटवर्क कैलालीका सचिव राम कुमारले यहाँ जलपंक्षीको सङ्ख्या घट्दै गएको जानकारी दिनुभयो ।
गणनाको उद्घाटन गर्दै घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक रावतले घोडाघोडीमा जलपंक्षीको सङ्ख्या घट्दै जानुको कारण चोरी सिकारी नियन्त्रण गर्न नसक्नु रहेको बताउनुभयो । उहाँले घोडाघोडीमा रहेका जलचर ,थलचर र जीवजन्तुहरूको संरक्षणका लागि संरक्षणकर्मी मात्र नभएर समुदायलाई पनि जोड्नुपर्ने बताउनुभयो ।
डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख जनक पाध्याले सिमसार क्षेत्र घोडाघोडी प्राकृतिक सम्पत्ति रहेकाले यसलाई सबै मिलेर जोगाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, घोडाघोडी क्षेत्र जैविक विविधताले भरिएको क्षेत्र हो, चराहरूको वासस्थानलाई पनि बचाउँदै जैविक विविधतालाई संरक्षण गर्दै यहाँ संरक्षणका कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ ।
चराहरूको संरक्षणका लागि उनीहरूको बास स्थान जोगाउनुपर्ने घोडाघोडी नगरपालिकाका प्रवक्ता घनश्याम ओझाले बताउनुभयो । वर्ड सेन्चुरी घोषणामा मात्रै सीमित नराखी त्यसलाई सबै मिलेर संरक्षण गर्नुपर्ने उहाँको भनाइ थियो ।
नेपालमै सबैभन्दा धेरै ताल तलैया भएको जिल्लाका रूपमा कैलाली चिनिन्छ । त्यसमध्ये घोडाघोडी ताल नेपालको तराई क्षेत्रमा रहेको सबैभन्दा ठुलो प्राकृतिक ताल हो । घोडाघोडी ताल क्षेत्रमा घोडाघोडीसहित २४ वटा ताल छन् । जसमध्ये घोडाघोडी र नकरोड ताल चराको वासस्थानका लागि सबैभन्दा उपयुक्त रहेको चरा संरक्षण नेटवर्क कैलालीका अध्यक्ष दयाराम चौधरी बताउनुहुन्छ । यहाँ ११ ओटा सामुदायिक वनहरु जोडिएका छन् ।
घोडाघोडीमा पछिल्लो समय जलपंक्षीको सङ्ख्या घट्दै गएको छ । अध्यक्ष चौधरी भन्नुहुन्छ, पहिले २ हजार २२ सयको हाराहारी जलपंक्षी भेटिन्थे तर अहिले ११ सयको हाराहारीमा भेटिन्छन् ।
अघिल्लो वर्ष ११ सय जलपंक्षी गणना भएको बताउँदै उहाँले भन्नुभयो, हिउँद भन्दा वर्षामा अझै थोरै भेटिन्छन् । वर्षामा जताततै पानी भएकाले पनि जलपंक्षी अन्यत्र जान्छन् ।
“घोडाघोडीको सूचक प्रजातिको रूपमा रहेको हरिहाँसको सङ्ख्यासमेत घट्दै गएको छ । बच्चा कोरल्ने र हुक्राउनका लागि सुरक्षित स्थान मानिएको घोडाघोडीमा हरिहाँसको वासस्थान असुरक्षित बन्दै, आहारा घट्दै गएपछि यसको सङ्ख्या घट्दै गएको छ,” अध्यक्ष चौधरीले बताउनुभयो ।
घोडाघोडी क्षेत्र रैथाने र आगन्तुक चराको महत्त्वपूर्ण वासस्थान भएकाले २०७८ फागुन २७ मा सुदूरपश्चिम प्रदेश सरकारले नेपालकै पहिलो चरा अभय आरण्य क्षेत्र घोषणा गरेको थियो । यहाँ तीन सय ८१ प्रजातिका चरा पाइन्छन् ।

नयाँ थारु प्रेमगीत ‘स्वर्ग के परी’ सार्वजनिक

धनगढी, पुस १८ गते ।
थारु भाषाको नयाँ प्रेमगीत ‘स्वर्ग के परी’ सार्वजनिक भएको छ। Saya Music Station को युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतले प्रेम, भावना र रोमान्टिक अभिव्यक्तिलाई समेटेर दर्शक–श्रोताको ध्यान आकर्षित गरेको छ।

गायक: बसन्त महतो, गायिका: अनु चौधरी, गीतकार: बसन्त महतो, संगीत संयोजन पुष्कर महतो, निर्देशक: सावन, क्यामरा/एडिट: राज गुप्ता, मेकअप: अनुमा चौधरी, र अभिनय: लक्ष्मण दंगौरा तथा अनुमा चौधरीको रहेको छ।

गीतमा प्रेमिकालाई स्वर्गबाट आएको परीको रूपमा चित्रण गरिएको छ, जसले प्रेमको कोमलता र भावनात्मक गहिराइ उजागर गर्दछ। सांगीतिक पक्षमा परम्परागत र आधुनिक शैलीको संयोजन गरिएको यस गीतले थारु समुदायको मौलिकता झल्काउनुका साथै नयाँ पुस्तालाई लक्षित गरेको देखिन्छ।

https://youtu.be/JS3WVmfoMVE

थारु समुदायको गर्व : नायक संगत थारुका भान्जा पाइलट बने

धनगढी, कैलाली ।
थारु समुदायका लागि गर्वको विषय बनेको छ । थारु समुदायका नायक संगत थारुका भान्जा, धनगढी उपमहानगरपालिका–५ हसनपुर निवासी मिलन चौधरी पाइलट बन्न सफल भएका छन् ।

२४ वर्षको उमेरमै पाइलट बन्न सफल मिलन चौधरीले फिलिपिन्सस्थित एक प्रतिष्ठित उड्डयन प्रशिक्षण संस्थाबाट पाइलटसम्बन्धी अध्ययन पूरा गरी पाइलटको आधिकारिक प्रमाणपत्र प्राप्त गरिसकेका छन् । अब हवाईजहाज उडाउन योग्य भएका छन् ।

सामान्य परिवारमा जन्मिएका मिलन चौधरीको यो सफलता थारु समुदाय मात्र नभई सुदूरपश्चिम क्षेत्रकै लागि प्रेरणादायी बनेको छ । सीमित स्रोत–साधनका बाबजुद निरन्तर मेहनत, लगनशीलता र आत्मविश्वासका कारण उनले आफ्नो बाल्यकालको सपना पूरा गर्न सफल भएका हुन् ।

कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना हुने, बाजुराका दुर्गम बासिन्दामा खुसी

बाजुरा, पुस १४ गते । बाजुराको पूर्वीउत्तर क्षेत्र कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना हुने भएपछि दुर्गमका स्थानीयमा खुसी छाएको छ ।

सरकारले सुदूरपश्चिम प्रदेशका चार जिल्लासहित देशभरका नौ स्थानमा नयाँ इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेसँगै जिल्लाको बुढीनन्दा नगरपालिका १ कोल्टीमा पनि नयाँ इलाका प्रशासन कार्यालय स्थापना हुने भएपछि यती बेला यहाँका स्थानीयमा खुसी छाएको हो ।

गत शुक्रबारमा मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयअन्तर्गतको संगठन संरचना तथा दरबन्दी तेरिज स्वीकृत गर्दै उक्त निर्णय गरेसँगै सुदूरपश्चिम डोटीको विपीनगर, दार्चुलाको गोकुलेश्वर बैतडीको मेलौलीर बाजुराको कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना गरिने भएको हो ।

सरकारको यो निर्णयले यती बेला बाजुराका दुर्गम गाउँ बस्तीका स्थानीयको मुहारमा निकै खुसी छाएको हिमाली गाउँपालिका –६ का स्थानीय रामबहादुर रावतले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पहिला पैदल यात्रामा दुई चार दिन हिँडेर नागरिकता बनाउन सदरमुकाम मार्तडीमा जानु पथ्र्यो । त्यहाँ समय पालो नपाउँदा घण्टौ लाइनमा बस्नु पथ्र्यो । अब कोल्टीमा इलाका प्रशासन स्थाना हुने भए पनि हाम्रो त्यो सबै समस्या हट्ने आश पलाएको छ ।’’

दुर्गमका स्थानीयहरुलाई नागरिकता बनाउदा मार्तडी आउन र जान मात्र आठ यहाँका स्थानीयलाई कम्तीमा पनि १० देखि १५ हजार रुपियाँ खर्च हुन्थ्यो । कोल्टीमा इलाका प्रशासन स्थापना हुने भएपछि हाम्रो त्यो रकम खर्च गर्नु पर्ने समस्या पनि अन्त्य हुने भएको रावतले बताउनुभयो ।

बाजुराको पूर्वी उत्तर क्षेत्रमा हिमाली स्वामिकार्तिक खापर, जगनाथ र बुढीनन्दा नगरपालिका पर्छ । यहाँका स्थानीयलाई योभन्दा पहिला नागरिकता राष्ट्रिय परिचय पत्र जग्गा जमिनको कारोवार गर्दा दुई–चार दिनको पैदल यात्रामा मार्तडी आउनुपर्ने समस्या हुने गरेको थियो ।

यहाँका नौ वटै स्थानीय तहका स्थानीयले यस्ता काम कार्यका लागि मार्तडी नै आउनु परेकाले यहाँका सरकारी कार्यालयहरुमा नागरिकको निकै घुइँचो लाग्ने गर्थ्यो । कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना हुने भए पनि अब भने यहाँका दुर्गमका स्थानीयलाई निकै सहज हुने भएको हो ।

‘‘मन्त्रिपरिषदले निर्णय गरिसकेको छ भने अब केही प्रक्रिया गर्न बाँकी छन् । ती सबै प्रक्रिया पूरा भएपछि केही दिन भित्र बुढीनन्दा नगरपालिका –१ को कोल्टीमा इलाका प्रशासन कार्यालय स्थाना हुने छ ।’’ जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले भन्नुभयो ।

सुदूरपश्चिम प्रदेश स्थानीय सेवा ऐन कार्यान्वयनमा अन्योल, सर्वोच्चमा २० रिट

धनगढी, पुस १४ गते । सुदूरपश्चिम प्रदेश सरकारले यसै वर्ष बनाएको सुदूरपश्चिम प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन कार्यान्वयनमा समस्या देखिएको छ । ऐनमा भएकोे विभिन्न व्यवस्थाविरुद्ध रिट परेपछि ऐन कार्यान्वयनमा समस्या देखिएको हो । ऐनमा भएको व्यवस्था अनुकूल नभएको जिकिर गर्दै कर्मचारीले नै सर्वोच्च अदालतमा उजुरी दिएका छन् ।

मुख्य न्यायाधिवक्ताको कार्यालयका अनुसार ऐनमा भएको विभिन्न व्यवस्थाविरुद्ध सर्वोच्च अदालतमा २० वटा रिट परेका छन् । ऐेन संशोधनको माग गर्दै कर्मचारीले सर्वोच्च अदालतमा रिट निवेदन दिएका सूचना अधिकारी सत्यराज पडालले जानकारी दिनुभयो । उहाँले रिटका कारण ऐन सहज रूपमा कार्यान्वयनमा समस्या रहेको उल्लेख गर्नुभयो ।

प्रदेशको आर्थिक मामिला तथा कानुन मन्त्रालयले सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० चैत १७ गते प्रदेश सभा सचिवालयमा दर्ता गरेको थियो । लामो छलफल, बहसपछि विवादबिच गत असारमा विधेयक पारित गरिएको थियो ।  प्रदेश प्रमुखले प्रमाणीकरणसमेत गरिसक्नुभएका स्थानीय सेवा ऐनमा फेरि झमेला खडा भएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । ऐन संशोधन माग गर्दै कर्मचारीले सर्वोच्च अदालतमा रिट दिएपछि स्थानीय सेवा ऐनमा फेरि झमेला सुरु भएको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले बताउनुभयो ।

“कर्मचारीको विभिन्न समूहबाट ऐन संशोधनको माग आएको छ,” उहाँले भन्नुभयो, “सरकारमा रहेकाले सीमित व्यक्तिलाई फाइदा पुग्ने गरी ऐन बनाउँदा समस्या आइप¥यो ।” सचिव बोगटीले सर्वोच्च अदालतले माग गरेको राय प्रदेश सभा सचिवालयले लेखेर पठाइसकेको जानकारी दिनुभयो ।

यो ऐन निर्माणका क्रममा ऐनको पक्ष र विपक्षमा विभिन्न पक्षबाट आन्दोलन भएको थियो । करारका कर्मचारीलाई स्वतः स्थायी बनाउने किसिमले सरकारले ऐन बनाइरहेको भन्दै विद्यार्थीले विरोध जनाएका थिए । स्थानीय तहमा कार्यरत करारका कर्मचारीले भने ऐनको पक्षमा आन्दोलन गरेका थिए । यसै गरी थारू समुदायले आरक्षण कोटा बढाउन माग गर्दै आन्दोलन गरेका थिए ।

रामजानकी मन्दिर प्राङ्गणमा माघी मेला, धार्मिक र सांस्कृतिक प्रवर्द्धनमा जोड

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा यसपर्ष पनि माघी मेला संचालन हुने भएको छ । बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ को आर्थिक सहयोगमा रामजानकी सेवा समाज सुगरखालको आोजना तथा कैलाली ईभेण्ट मिडियाको सह आयोजनामा यसपटक पनि माघी धार्मिक तिर्थ मेलाको आयोजना गरिने भएको हो ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै आयोजक रामजानकी सेवा समाज बर्दगोरिया ६ सुगरखालका अध्यक्ष तथा मेला संयोजक चक्र बहादुर कठरियाले यस ठाउँको प्रचारप्रसारका लागि र बर्दगोरिया गाउँपालिकाको सबैभन्दा टाढा पर्ने यस ठाउँलाई चिनाउन तथा यस ठाउँको समग्र बिकास निर्माणमा दबाद दिनको लागि यो माघी मेला सञ्चालन गरिने वहाँले बताउनु भयो । बिशेषगरी यहाँ बर्षौ देखिको मुल समस्या बाटोको र दुई छिमेकी पालिका जोड्ने मोटर पुल निर्माणका लागि स्थानिय देखि प्रदेश र संघ सरकारलाई पहल तथा दबाब दिनका लागि बिगत २ बर्षदेखि यो मेला निरन्तर सञ्चालन गरिरहेको वहाँले बताउनु भयो । भेषभुषा, भाषा कला सस्कृतिको सम्मान ,यसको पहिचानका साथै बर्दगोरिया ६ मा रहेको धार्मिक ,सास्कृतिक तथा पर्यटकीय क्षेत्र भक्तिनिया अस्थानको प्रवर्द्धनमा टेवा पुर्याउने मुख्य उदेश्य सहित मेला संचालन गरिने मेला संयोजक कठरियाले जानकारी दिनुभयो ।

यस्तै वडा अध्यक्ष रामकृष्ण डगौरा थारुले यो मेलाले बर्दगोरिया गाउँपालिकाको पिछडिएको सुगरखाल, जोकाहीलाई चिनाउनमा मेलाले ठुलो भुमिका निर्वाह गरेको जिकिर गर्नुभयो । बिगतमा यो सुगरखाल भन्ने बित्तिकै मोह न्यालको साबिक सुगरखाल गाबिसलाई सम्झिने गरिन्थ्यो तर यो निरन्तर २ बर्ष देखि सञ्चालन हुर्दै आएको मेलाले यस ठाउँलाई चिनाउनमा ठुलो भुमिका खेलेको बताउनु भयो । यसैगरि बिशेषतः यहाँका स्थानिय रहनसहन, कलासँस्कृति, परम्परा तथा भेषभुषालाई पनि प्रर्दशन तथा स्थानिय परिकारहरुलाई यस मेला मार्फत बजारीकरण तथा प्रबद्र्धन गर्नमा सहज हुने अपेक्षा गएिको बताउनु भयो ।

रामजानकी धार्मिक क्षेत्रको प्रचार प्रसार गर्ने र आन्तरिक पर्यटनको प्रवद्र्धन, आपसी सद्भावका निम्ति आयोजना गर्न लागिएको मेलाको विशेष गरी थारु समुदायको नयाँ बर्षका रुपमा लिदै आएको माघी पर्वको अवसर पारी माघ २ गते उद्घाटन गरिनेछ । मेला सञ्चालनका लागि ब्यापारिक स्टल दर्ता पनि खुल्ला गरिएको आयोजकले जनाएको छ ।

बर्दगोरिया गाउँपालिका वडा नम्बर ६, स्थित रामजानकी मन्दिरको प्राङ्गण ,सुगरखालमा हुने मेलामा विभिन्न स्ट्ल ,राष्ट्रिय तथा स्थानीय कलाकारहरुका साथै विभिन्न झाकीहरुको समेत प्रस्तुती रहने छ ।

माघ २ गतेदेखि संचालन हुने मेला ४ दिनसम्म संचालन हुने जनाइएको छ ।

राहतपछि रोजगारीको पहल: सहिद दीपक साउदको घरमा सरकारी टोलीको पहुँच

गोकर्ण दयाल

बैतडी, पुस १० गते । जेनजी पुस्ताको आन्दोलनमा सहिद हुनुभएका बैतडीका दीपकसिंह साउदको घरमा प्रमुख जिल्ला अधिकारीसहितको सरकारी टोली पुगेको छ ।

सरकारले उपलब्ध गराएको १५ लाख रुपियाँ राहत पाइसकेको घरपरिवारलाई थप रोजगारी दिन घर परिवारको शिक्षाको अवस्था बुझ्न प्रमुख जिल्ला अधिकारीको टोली घरमै पुगेको हो ।

बुधबार प्रुमख जिल्ला अधिकरी पुण्यबिक्रम पौडेलसितको टोलीले जेनजी पुस्ताका सहिद दीपकसिंह साउदको घर शिवनाथ गाउँपालिका –२, शर्माली पुगेर घर परिवारको अवस्था अवलोकन गरेको छ ।

प्रुमख जिल्ला अधिकारी पौडेलले सहिद दीपकका घर परिवारलाई सरकारले उपलब्ध गराएको १५ लाख रुपियाँ यसअघि जिल्ला प्रशासन कार्यालयमार्फत परिवारको खातामा जम्मा गरिसकेको बताउनुभयो ।

परिवारलाई थप के कस्तो रोजगारी दिन सकिन्छ भन्ने उद्देश्यले भेटघाट गर्न घरमै गएको उहाँले बताउनुभयो । सरकारी वा व्यावसायिक संस्थानमा तत्काल रोजगारी दिने विषयमा परिवारसँग छलफल भएको उहाँले बताउनुभयो ।

भेटको क्रममा जिल्ला प्रशासन कार्यालयले जेनजी पुस्ताको आन्दोलनमा सहिद भएका दीपकसहितका सहिदको नामावली राखिएको फ्रेम आमा लक्ष्मीदेवी साउदलाई ससम्मान उपलब्ध गराउनुभयो । सहिदको नामवली भएको फ्रेम ग्रहण गर्दा भावुक हुँदै लक्ष्मीले छोराको सपना पूरा गर्न राज्यका सबै निकायलाई ध्यान दिन आग्रह गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी पौडेलले राज्यले सहिद परिवारलाई तत्काल रातह उपलब्ध गराए पनि परिवारको अवस्थाअनुसार थप रोजगारी र पेन्सन उपलब्ध गराउने निर्णय गरेको स्पष्ट पार्नुभयो । उहाँले जिल्लास्तरबाट सञ्चालन हुने कृषि, पशुपालन र अन्य आयमुलक कार्यक्रममा सहिद परिवारलाई प्राथमिकता दिइने बाउनुभयो ।

सहिद दीपकको घर परिवारलाई गाउँपालिकाबाट पनि एक लाख रुपियाँ राहत उपलब्ध गराउने निर्णय भएको शिवनाथ गाउँपालिका–२, का वडाध्यक्ष सुरेन्द्र साउदले बताउनुभयो । उहाँले केही दिनभित्र सहिद परिवारलाई रकम हस्तान्तरण गरिने जानकारी दिनुभयो ।

हिम्मत र संघर्षको उडान: थारु समुदायकी पहिलो महिला पाइलट टीका चौधरी सम्मानित

अविनाश चौधरी

धनगढी, पुस १० गते । थारु समुदायबाट पहिलो महिला पाइलट बन्न सफल कैलालीको टीका चौधरीलाई आज धनगढीमा सम्मान गरिएको छ ।

बातचित घरले चौधरीलाई सम्मान गरेको हो । बातचित घरका बरघरिया ठाकुर करिया प्रधानले चौधरीलाई सम्मानपत्र हस्तान्तरण गर्नुभयो । धनगढी उपमहानगरपालिका–१३ कैलाली गाउँकी २१ वर्षीया चौधरीले दक्षिण अफ्रिकाबाट प्राइभेट पाइलटको लाइसेन्स प्राप्त गर्नु भएको छ । यद्यपि, पाइलट तालिम पूरा गर्नका लागि उहाँले अझै एक सय घण्टाको एकल उडान बाँकी रहेको छ ।

आफूले पाइलट तालिम पूरा गर्न अझै छ महिनासम्म लाग्न सक्ने चौधरीले बताउनुभयो । बिदामा आउनु भएकी उहाँले पाइलट तालिम गाह्रो रहने गरेको उल्लेख गर्दै आफूले हिम्मत, संघर्ष गरेर तालिम पूरा गर्ने क्रममा रहेको उल्लेख गर्नुभयो ।

थारु समुदायबाट चौधरीले पाइलट बन्नु सिङ्गो समुदायका लागि गर्वको विषय रहेको बातचित घरका बरघरिया करियाप्रधानले बताउनुभयो ।

मुख्यमन्त्री शाहद्वारा स्वामी रामदेव र आचार्य बालकृष्णसँग सुदूरपश्चिमको धार्मिक पर्यटन विकासबारे छलफल

अविनाश चौधरी

धनगढी, पुस ९ गते। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले स्वामी रामदेव र आचार्य बालकृष्णसँग धार्मिक पर्यटन विकासको सवालमा छलफल गर्नुभएको छ।

स्वास्थ्योपचारको सिलसिलामा भारतको दिल्ली गएको बेला उहाँले दुवै जनासँग सुदूरपश्चिममा धार्मिक पर्यटन विकासको सवालमा छलफल गर्नु भएको हो। त्यस क्रममा मुख्यमन्त्री शाहले धार्मिक पर्यटन विकासका लागि सहयोग गर्न आग्रह गर्नुभएको थियो।

स्वास्थ्यमा समस्या देखिएपछि उहाँ उपचारका लागि भारतको नयाँ दिल्ली जानू भएको थियो। मुख्यमन्त्री शाह एकचरणको उपचार पश्चात स्वदेश फर्कनु भएको छ। नयाँ दिल्लीस्थित म्याक्स अस्पतालमा उपचार गराएर उहाँ मङ्गलबार स्थलमार्ग भएर स्वदेश फर्कनु भएको हो। दायाँ खुट्टाको हड्डी र नसासम्बन्धी समस्याबाट ग्रसित उहाँ एकसाता अगाडि उपचारको लागि दिल्ली प्रस्थान गर्नु भएको थियो।

मुख्यमन्त्रीका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्मर बमका अनुसार शाहले यसअघि, धनगढीको सेती प्रादेशिक अस्पताल र काठमाडौंको वीर अस्पतालमा उपचार गराउनु भएको थियो।